लेख्न सकिन भने जेलमा बस्नु मेरा लागि धेरै राम्रो हो : अरुन्धती रायको अन्तर्वार्ता

person access_timeसाउन २, २०७४ chat_bubble_outline0

मेरो वामपन्थ पार्टीको वामपन्थ होइन 


अरुन्धती राय भारतकी मात्र नभएर दक्षिण एसियाकै सार्वाधिक चर्चित लेखिका तथा सामाजिक अभियन्ता हुन् । भारत प्रशासित कस्मिर तथा माओवादी प्रभावित क्षेत्रहरूमा सरकारी दमनको खुलेर विरोध गर्ने लेखिकाले लामो समयदेखि गरिब, आदिवासीको पक्षमा लेख्ने र बोल्नै गर्दै आएकी छन् । आफ्नो पहिलो उपन्यास ‘द गड इज इस्मोल थिङ्ग्स’ले बुकर पुरस्कार जितेको २० वर्षपछि ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस’ (The Ministry of Utmost Happiness) उपन्यास लेखेकी उनको यो पुरानो अन्तरवार्ता हामीले ‘कबाडखाना डटकम’बाट लिएका हौँ । 

भारतीय समाजलाई तपाईं कुन दृष्टिकोणबाट हेर्नु हुन्छ ?

कुनै पनि समाजबारे दुई वाक्यमा कुरा टुङ््ग्याउन सकिँदैन । एउटा लेखक समाजबारे कुरा गर्दागर्दै आफ्नो सम्पूर्ण जीवन बिताइदिन्छ । तर मलाई लाग्छ दक्षिण अफ्रिकामा जुन प्रकारको रङ्गभेद हुन्थ्यो भारतमा पनि त्यस्तै छ । त्यहाँ तपाई काला–गोराहरूको भेदलाई नाङ्गो आँखाले देख्न सक्नुहुन्थ्यो तर यहाँ त्यसरी नै खुट्टयाउन अलिक अप्ठ्यरो पर्छ । तर, यो पनि रङ्गभेदकै प्रकार हो । 

तपाईं कैयौं पटक समाजको सर्वहारा वर्गको पक्षमा उभिएको देखिनुहुन्छ, यसको पछाडि के कारणहरू रहे ?

मेरो विचारमा दुई किसिमका मानिसहरू हुन्छन् । पहिलो, जसको शक्तिशाली मानिसहरूसँग नेचुरल एन्लाइटमेन्ट (प्राकृतिक अन्तरघुलन) हुन्छ र दोस्रो प्रकारका मानिसहरू ती जोसँग केही पनि छैन । जनतासँग शक्ति त अथाहा छ । तर मुलुकमा जे हुँदैछ, त्यसलाई कसरी सही ठाउँमा ल्याउन सकिन्छ, त्यसको सही विधि बुझ्न सकिएको छैन । यदि कोही प्रधानमन्त्री नै बन्यो भने पनि त्यसले यी सबै कुरा सुधार्न सक्दैन । मलाई माथिबाट कुनै सुधार हुन्छ भन्ने लाग्दैन, सुधार तल्लो तहदेखि मात्र सम्भव छ । 

गान्धीवादी माहोलको प्रतिरोध अब काम लाग्दैन । यसलाई पूरै ओभर ल्याप गर्ने गरी एनजीओ/आईएनजीओ आइसकेका छन् । तिनीहरूले मानिसलाई कि त फुटाइदिन्छन् कि किन्छन् । मलाई लाग्छ, यदि कुनै आमूल परिवर्तनकारी समाधान खोजिँदैन भने समग्र मुलुकमा अपराध बढेर जान्छ ।

अहिले मुलुकको विकास दर १० प्रतिशतको वरपर छ । सरकारी तथ्याङ्कमा २६ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि छन्, प्रत्येक वर्ष अर्बपति मानिसहरूको सङ्ख्या बढ्दै छ । सेन्सेक्सले सधैँ नयाँ रेकर्ड कायम गर्ने गरी उचाइमा छ, विदेशी पुँजीको प्रवाह पनि राम्रो रहेको छ । यो पूरै सञ्जाललाई तपाईंले कसरी हेर्नुभएको छ ?

यो जे हुँदैछ, त्यो ठीक होइन । यी कुराहरू तिनीहरूलाई राम्रो लाग्दैछ होला जो, निजी कम्पनीका सीईओ हुन्, जसको स्टक एक्सचेन्ज निकै बढी रहेको छ । यसलाई कसरी रोक्ने भन्ने प्रश्नको उत्तर खोजिनुपर्नेछ । मलाई लाग्छ गान्धीवादी माहोलको जुन प्रतिरोध हो, त्यो अब काम लाग्दैन । यसलाई पूरै ओभर ल्याप गर्ने गरी एनजीओ/आईएनजीओ आइसकेका छन् । तिनीहरूले मानिसलाई कि त फुटाई दिन्छन् कि किन्छन् । यस्तो वातावरणलाई परिवर्तन गर्ने हल के हो ? समाधानको कुनै विधि छ कि छैन ? हामीलाई केही थाहा छैन । मलाई लाग्छ यदि कुनै आमूल परिवर्तनकारी समाधान खोजिँदैन भने समग्र मुलुकमा अपराध बढेर जान्छ ।  

सरकारका नीतिहरू समाधानको सट्टा जनताको हितविपरीत कसरी जाँदै छ ?

आज तपाईं जेसुकै गर्नुस्, सरकार, प्रहरी र सेनाले दमन गरिहाल्छ । पहिले इस्लामिक आतङ्कवादको नाम लिइन्थ्यो । तर उनीहरूले इस्लामिक आतङ्कवादमा सबैलाई समेट्न सकिँदो रहेनछ भनेर बुझे । मुसलवान बाहेकका अन्यलाई कसरी थुन्ने त ? भन्दा अब जो मान्छे इस्लामिक आतङ्कवादको श्रेणीमा पर्दैन्, ती सबैलाई माओवादी आतङ्कवादी बनाइदिने गरिएको छ । त्यसकारण राज्यका लागि आतङ्कवादको दायरा बढ्दैछ । 

अहिले छत्तीसगढमा जे–जस्तो हुँदैछ, त्यस्तै कोलम्बिया जस्ता मुलुकमा पनि भएको थियो । त्यहाँ सरकार आफैले एउटा पिपुल मिलिसिया (भारतमा सलमा जुडुम र नेपालमा माओवादी प्रतिकार समूह भने जस्तै) उभ्याइदियो र विद्रोहीहरूसँग तिनीहरूलाई भिडायो र गृहयुद्धको जस्तो अवस्था सृजना गर्यो । जब सबै मानिसहरू छद्म युद्ध हेर्दै थिए, त्यति नैबेला एउटा ठूलो कम्पनीले आदिवासीहरूको क्षेत्रमा गएर खनिज उत्खनन् गर्न थाल्यो । ठ्याक्कै त्यस्तै आज छत्तीसगढमा हुँदैछ । मानिसहरूलाई रणभुल्लमा पार्न यिनीहरू (सरकार) निकै सिपालु छन् । 

हालैका दिनमा एउटा कुराको निकै चर्चा छ, सीईओलाई २५ करोड तलब दिइनु हुन्छ कि हुँदैन । यसमा के तर्क दिइएको छ भने यदि उनको तलब न्यून भयो भने बैङ्कको पुनर्संरचनाको प्रक्रिया बन्द हुन्छ । तपाईं आफै भन्नुस आज कुनै ठूलो कम्पनीको सीईओ पदमा कुन वर्गको मान्छे विराजमान छ ।    

अमेरिकाप्रति मलाई कुनै चाख छैन । साँच्चै भनौँ भने मलाई लतारेर लगे पनि म फर्किएर आउँछु । यति यान्त्रिक जीवन बिताउन त के मैले सोच्नसमेत सक्दिन ।

पछिल्लो डेढ–दुई दशक यता हाम्रो मुलुकमा उपभोक्तावादी संस्कृति निकै हावी भएर जाँदैछ तपाईंको बुझाइमा समाजमा यसको कस्तो असर परिरहेको छ ?

केही दिनअघि पत्रिकामा एउटा ठूलो विज्ञापन सपिङ रिवोल्युसन (खरिद क्रान्ति)का सम्बन्धमा आएको थियो । मलाई लाग्छ भारतमा उदारीकरणको जुन नीति आएको छ, यसले मध्यम वर्गलाई विस्तार गरेको छ । आज हाम्रो मुलुकमा धनी–गरिबको बीचको खाडल बढ्दै गइरहेको छ । धनी झनै धनी हुँदैछन् भने गरिब झनै गरिब । उदाहरणका लागि एक सय जनालाई गाँस, बास, कपास, पानी र यातायातको सुविधा दिइन्छ, जब कि अधिकांश मानिसहरू यसबाट वञ्चित नै रहन्छन् । 

तर यदि तपाईं कुनै नयाँ आर्थिक नीति ल्याउनुहुन्छ, जसको माध्यमबाट २५ जनालाई असाध्यै धनी बानाउनुहुन्छ र बाँकी ७५ जना मानिसहरूबाट सबै कुरा खोस्नुहुन्छ भने यसको दीर्घकालिन प्रभाव सजिलै बुझन् सकिन्छ । हाल भारतीय बजारहरूको निर्माण नै यसरी गरिँदैछ कि अधिकांश मानिसहरूबाट खोसेर केही मानिसहरूलाई सुम्पिन सकियोस् । अब बुझ्नुपर्नेहुन्छ यिनीहरूले उपभोगको वस्तु कहाँबाट ल्याउँदै छन् । 

यदि तपार्इंले भारतको नाप–नक्सा हुर्नुभयो भने थाहा पाउनुहुन्छ । जहाँ जङ्गल छ त्यसको तल खनिज–सम्पदा छ । अब तपाईंसँग विकल्प छ । जङ्गल काटेर मास्ने हो भने, जहाँ धेरै पैसा पनि छ तर यसले ५० वर्षमा जम्मै मुलुक सुक्छ । हाम्रा मुलुकका प्रधानमन्त्री हुन् अथवा मोन्टेक सिंह अहलुवालिया अथवा पी चीतम्बरम यिनीहरूसँग कुनै उपयुक्त नीति छैन, मात्रै देखाउने तथ्याङ्क छन् । योभन्दा खतरानाक के हुन सक्छ ? तपाईंले बिना कुनै ऐतिहासिक साहित्य अवलोकन, सामाजिक दृष्टिकोणले हेर्नुको सट्टा तथ्याङ्कको भरमा अगाडि बढ्दै हुनुहुन्छ ।  

एकातिर अमेरिकी नीति मानवताको खिलाफमा देखिन्छ तर अर्कातिर प्रत्येक मानिस अमेरिका जाने अवसर गुमाउन चाँहदैन, यस्तो किन ?

अमेरिकाकाप्रति मलाई कुनै चाख छैन । साँच्चै भनौँ भने मलाई लतारेर लगे पनि म फर्किएर आउँछु । यति यान्त्रिक जीवन बिताउन त के मैले सोच्नसमेत सक्दिन । तर यदि तपाईं कुनै गाउँको दलित हो भने तपाईंले त्यहाँ समानरूपमा पानी खान पाउनु हुन्न । कसैका अगाडि जान तपाईंलाई निषेधित गरिएको छ भने त्यति नै बेला तपाईंलाई अमेरिका जाने अवसर आए तपाईं किन नजाने ? तर पनि अमेरिका धेरै जसो नेताहरूका र उच्च पदस्त कर्मचारीहरूका केटाकेटीहरू नै जान्छन् । तर सत्य के हो भने यो खतरनाक प्रवृत्ति हो ।  

कसरी खतरनाक ठान्नु हुन्छ ?
यदि तपाईं १६ अथवा १८ वर्षको युवालाई अमेरिका पठाउनुहुन्छ भने उसको पूरै दिमाग या उसले सोच्ने शैली नै फेरिन्छ । त्यस्तो कुनै जेलमा होइन, विश्वविद्यालयहरूमा हुन्छ । त्यहाँ उनीहरूको ‘ब्रेन वास’ गरिन्छ । यो अमेरिकी नीति नै हो । पहिला युवाहरूलाई आफ्नोमा प्रशिक्षण दिने र पछि उनीहरूको प्रयोग आफ्नो हितमा गर्ने । 

जस्तो सन् १९७३ मा आईएमएको खिलाफ चिलीमा जुन ‘कू’ भयो । यसभन्दा अघि अमेरिकाले त्यहाँका युवाहरूलाई सिकागो स्कुल अफ इकोनोमिक्समा भर्ना गर्यो । छात्रवृत्ति दिएर यिनीहरूको दिमागमा ‘न्यु कन्जर्भेटिब फ्री मार्केट आइडियोलोजी’ भर्योे । अनि के थियो त्यसपछि अमेरिकीहरूले चिलीको जसरी दोहन गरे, त्यो सबैलाई थाहा छ । भारतमा पनि मुख्यतः कुलीन वर्गका बालबच्चा अमेरिका जान्छन् । जसका बाउ–हजुरबाउ यहाँ मन्त्री, ब्युरोक्रेट अथाव ठूला बिज्नेसम्यान छन् । यसरी नै यो पूरै चक्र घुमिरहेको छ । 

पहिले इस्लामिक आतङ्कवादको नाम लिइन्थ्यो । पछि उनीहरूले इस्लामिक आतङ्कवादमा सबैलाई समेट्न सकिँदो रहेनछ भनेर बुझे । मुसलमान बाहेकका अन्यलाई कसरी थुन्ने त ? भन्दा अब जो मान्छे इस्लामिक आतङ्कवादको श्रेणीमा पर्दैन, ती सबैलाई माओवादी आतङ्कवादी बनाइदिने गरिएको छ ।

भारतीय लेखनको वर्तमान समयलाई तपाईंले कसरी हेर्नुभएको छ ?

भारतीय लेखन भनेको के हो ? मैले यसलाई मान्दिन । के जसले अङ्गे्रजीमा लेख्छन् तिनी अलग हुन् ? हिन्दी अथवा भोजपुरीमा लेख्नेहरूमा यस्तो छैन । अङ्ग्रेजीका भारतीय लेखकहरू कथालाई घुमाई फिराई गरेर पाठकलाई सन्देहमा पार्ने गर्छन् ।

भारतीय ‘भाषाई’ लेखनको भविष्य कस्तो देख्नु हुन्छ ?

भारतीय ‘भाषाई’ लेखनको भविष्य क्षेत्रमा निर्भर गर्छ । तर मलाई लाग्छ भाषाई लेखनको वातावरण पूरै फेरिँदै छ । कुलीन वर्ग समाजदेखि पूरै अलग्गिएको छ । नम्र वर्ग उसको नजिक पुग्नै सक्दैन । यस्तोमा दुवैको बीच संवादहीनताको स्थिति छ । दुवैसँग कुनै भाषा नै बाँकी छैन र जब तपाईंलाई लेख्नुपर्नेहुन्छ तब दुवैलाई बुझ्नु पर्नेहुन्छ । यस्तो परिस्थितिका बीच तपाईंले भाषाई लेखनको भविष्य कसरी देख्न सक्नु हुन्छ । 

कस्तो लाग्छ भने, कुलीन वर्गका केटाकेटी समाजसँग पूरै काटिएका छन् । यसको के कारण हुन सक्ला ?

तपाईंले ठीक भन्नुभयो, आजका कुलीन वर्गका केटाकेटी पूरै समाजसँग काटिएका छन् । केही दिनअघि यसै वर्गकी एउटी केटीले मसँग भनी– अरुन्धती तिम्रो किताब ‘द अल्जेब्रा अफ इन्फिनिट जस्टिस’ मैले भाइलाई पढ्न दिएको त उसले बडो अचम्म गरी आदिवासीहरूको विषयमा भन्यो, ‘भारतमा यस्ता खाले प्राणी बस्छन् र ?’

भन्नुको अर्थ यो होइन कि ती केटाकेटी खराब हुन् अथवा मनदेखि नै बैमान छन् । तर समाजदेखि काटिएका छन् । मलाई लाग्छ आज त्यस्तो खालको संसारको निर्माण गरिँदैछ । जहाँ गाडी, पत्रिका, क्याम्पस, अस्पताल, शिक्षा आदि सबै यस्ता वर्गका लागि भिन्दै छ । त्यसैले कुलीन वर्ग आज खोस्नेहरू मात्र भएका छन् । तपाईंले यिनीसँग कुनै किसिमको आशा गर्न सक्नु हुन्न । 

तपार्इं अमेरिका, अस्ट्रेलिया जस्ता मुलुकमा गएर त्यहाँका सरकारका नीतिविरुद्धमा लेखिराख्नु हुन्छ, यस्तो लेख्ने साहस तपाईंले कसरी देखाउन सक्नु भएको ?

जब ९/११ को घटना भयो, त्यसबेलादेखि मैले यस घटनामा धेरै नै सोच–विचार गरेँ । त्यसपछि मैले निर्णय गरेँ, यदि म लेखका हुँ भने मैले यसमा लेख्नुपर्छ । यदि लेख्न सकिन भने जेलमा बस्नु मेरा लागि धेरै राम्रो हो । यो निर्णय मैले फ्याटै गरेँ र लेखेँ । तर भारतमा धेरै नै लोलो–पोतो दल्ने मान्छे छन् । यहाँ जर्ज डब्ल्यु बुसका खिलाफ लेख्ने मान्छे सारै थोरै छन् ।

जब कि अमेरिकाविरुद्ध बोल्ने धेरै भेटिन्छन् । भियतनामको युद्धका विरुद्ध अमेरिकामा जति विरोध भयो, त्यो एउटा मिसाल हो । सैनिकहरूले आफ्नो मेडल फर्काइदिए । के भारतमा यस्तो सम्भव छ ? कस्मिरको मुद्दामा सेनाले केही पनि बोलेन । यो स्थिति आउनुभनेको दुःखद हो ।

न्यायपालिकालाई लिएर तपाईंको भनाइ निकै चर्चामा रह्यो । मुलुकमा न्यायिक सक्रियताको बाबजुद न्यायिक ढाँचा जर्जर छ भन्ने तपाईंलाई लाग्छ  ?

मलाई लाग्छ प्रजातन्त्रमा सबैभन्दा खतरनाक संस्था न्यायपालिका हो । किनकि यसले आफूलाई जिम्मेवारीबाट मुक्त राखेको छ । ‘कन्टेम्ट अफ कोर्ट’ (अदालतको मानहानी) ले सबैलाई तर्साइदिएको छ । तपाईं यसका खिलाफ केही पनि गर्न सक्नुहुन्न । प्रेसले पनि केही गर्न सक्दैन । तपाईंले आदेशहरू हेर्नुभयो भने थाहा पाउनुहुन्छ, अदालतले कति गैरजिम्मेवार ढङ्गले निर्णय गर्छ । प्रजातन्त्रमा न्यायपालिका यति शक्तिशाली हुनु ठीक होइन ।  

जल, जङ्गल र जमिनको मुद्दामा तपाईं निकै काम गर्नु हुनुहुन्छ, जसरी जङ्गल बहुराष्ट्रिय कम्पनीहरूलाई दिइँदै छ र आदिवासीलाई उनीहरूको अधिकारदेखि वञ्चित गरिँदैछ । यसको भविष्य तपाईंले कुन रूपमा देख्नु हुन्छ ?

एउटा किताब छ ‘कोलैप्स’ । यसमा एउटा इस्टर आइल्यान्डका बारे लेखिएको छ । जुन प्रशान्त महासागरमा छ । त्यहाँका ठूला–ठूला रुखहरू त्यहाँ रहने मानिसले आफ्नो परम्पराका रूपमा काट्ने गर्दथे । जब कि उनलाई थाहा थियो सामुद्री आँधीबाट त्यही रुखले उनीहरूलाई जोगाउथ्यो । तरपनि उनीहरूले एउटा–एउटा गरेर रुखहरू काटे र अन्ततः समुद्री आँधीले त्यो आइल्यान्ड नै नष्ट भयो । 

झण्डै–झण्डै भारतमा पनि त्यही स्थिति देखिँदैछ । सरकार छोटो समयको फाइदाका लागि बहुराष्ट्रिय कम्पनीलाई खनन्को अनुमति दिँदैछ र यी कम्पनीहरूले अन्धाधुन्ध प्राकृतिक संसाधनको दोहन गरिरहेका छन् । जसको प्रभाव हामीले केही वर्षपछि देख्नेछौँ । मानव र जानवरमा यही भिन्नता हुन्छ । जनावर भविष्य देख्दैनन् र मानव भविष्य देख्न र त्यसबारे सोच्न सक्दछन् । तर यहाँ समस्या के हो भने सरकार लामो भविष्यको चिन्ता नगरेर छोटो भविष्यमा रमाइरहेको छ । 

मलाई लाग्छ प्रजातन्त्रमा सबैभन्दा खतरनाक संस्था न्यायपालिका हो । किनकि यसले आफूलाई जिम्मेवारीबाट मुक्त राखेको छ । ‘कन्टेम्ट अफ कोर्ट’ (अदालतको मानहानी) ले सबैलाई तस्र्याइदिएको छ । प्रजातन्त्रमा न्यायपालिका यति शक्तिशाली हुनु ठीक होइन ।

आज बहुराष्ट्रिय कम्पनीहरूले खनन गरे बापत यिनीहरूलाई मोटो रकम दिइरहेका छन् । यो कुरा सत्य हो । तर आजभन्दा पचास वर्षपछिको भविष्य के हुने ? एउटा वेदान्त नामको कम्पनी ओडिसामा बक्साइट निकाली रहेको छ । जबकि त्यसले त्यसो गरेबापत त्यहाँ विकासको कुरा पनि गरिरहेको हुन्छ । तर जहाँ बक्साइटको भन्डार छ, त्यहीँबाट ओडीसावासीलाई पानी उपलब्ध हुने गरेको छ । अब तपार्इं आफै भन्नुस्, त्यसलाई सिध्याउँदै गर्दा त्यहाँ पानीको कमी हुन्छ कि हुँदैन ? त्यसैले सरकारले छोटो समयको फाइदाका लागि लामो समयको नोक्सान हुने नीतिमा लिइरहेको छ । 

हतियार र बमको बलमा दुनियामा दादागिरी देखाउने राष्ट्रहरूको खिलाफ विश्व जनमत किन तयार हुन सकिरहेको छैन ?

पुँजीवादी समयमा सबै आआफ्नो फाइदामा लागेका छन् । कसैको विरुद्ध उभिँदा फाइदा हुँदैन भन्ने सोच सबै राष्ट्रमा ब्याप्त छ । तर यो त ‘सर्ट टर्म भिजन’ हो । वास्तवमा यसको फाइदा केही शक्तिशाली राष्ट्रहरूले उठाइरहेका छन् ।  

हालै अमेरिका र भारतका बीच भएको परमाणु सम्झौतालाई यहाँले कसरी हेर्नु भएको छ ?

भारत र अमेरिका बीच भएको परमाणु सम्झौतालाई हेर्दा लाग्छ, हाम्रा नेताहरूले अदूरदर्शिता नै देखाए । उनलाई के थाहा छैन भने जो–जसले अमेरिकासँग सम्झौता गरे पछि उनीहरूको हालत के भयो । अमेरिकाले अब एउटा यस्तो नीति बनाउँछ जसले भारतको पूरै अर्थव्यवस्थालाई नै नियन्त्रण गर्न सकोस् । फेरि भन्छन् एनराँनको सम्झौतामा हस्ताक्षर गर, नभए यो दिदैँनौ त्यो दिदैनौँ । एवम रीतले अमेरिका भारतमा हावी हुन्छ ।  

आतङ्कवाद हिजोभन्दा आज धेरै डरलाग्दो मुद्दा बनिसकेको छ । यस चुनौतीसँग सामना गर्न दुनियामा जेसुकै पहल हुँदैछन् । त्यसमा मुलुकहरूको आपसी गुटबन्दी नै धेरै देखिन्छ । आतङ्कवादको चुनौतीसँग सामना गर्ने कारगर तरिका के हुन सक्छ ?

तपाईंले यसलाई जति रोक्ने प्रयास गर्नुहुन्छ, त्यति बढ्दै जान्छ । इस्लामिक मुलुकहरूको सबै तेलमा नियन्त्रण गरिँदैछ । हरेक वस्तुलाई निजीकरण गरिँदैछ । यदि तपार्इंले कसैको संसाधनमाथि कब्जा गर्नुहुन्छ भने त्यसका खिलाफ विद्रोह त हुन्छ नै । यससँग सामना गर्न सरकारहरूले आफ्नो नीतिमा आत्मचिन्तन गर्ने आवश्यकता छ । भारतकै स्थिति हेर्ने हो भने छत्तीसगढमा ६ सय गाउँका मानिसलाई हटाएर एउटा सैन्य क्याम्प खडा गरिएको छ । 

हजारौँ मानिसलाई घरबारविहीन बनाउने उद्देश्य के हो ? असली आतङ्कवादी उनीहरू हुन्, जसले नन्दीग्रामबाट मानिसलाई भगाउँदै छन् । कलिङ नगरमा गोली चलाइरहेका छन् । जहाँसम्म विश्वस्तरमा आतङ्कवादको समस्यासँग जुध्ने कुरा छ । मलाई लाग्छ यसका लागि कुनै गम्भीर प्रयासहरू भइराखेकै छैनन् । सबैल आआफ्नो लाभको प्रकृति हेरिकन आतङ्कवादको खिलाफ कारवाही गर्ने हुन् । 

तपाईंका विचारमा वामपन्थी प्रभाव धेरै झल्किन्छ । यसको कारण के हो ?

मेरो वामपन्थ पार्टीको वामपन्थ होइन । सोच विचार गर्ने जुनसुकै मानिसमा वामपन्थको प्रभाव देखिन्छ । यो कुरा गर्न मलाई कुनै पनि सन्देह छैन । सरकारका नीतिका बारेमा कहिलेकाहीँ सोच्दा मलाई लाग्छ, म त पागलखाना जान्छु होला । 

तपाईं गान्धीसँग कुन रूपमा प्रभावित हुनुहुन्छ ?

केही कुराहरूमा गान्धीसँग सारै प्रभावित छु । तर गान्धीको जातिका सन्बन्धमा जुन विचार थिए, त्यसमा म असहमत छु । मलाई गान्धीका आर्थिक विचार धेरै प्रासङ्गिक लागे । तर सरकारले उनको विचारलाई चटक बनाइदिएको छ । यो त गान्धीको विचारलाई उडाउनु जस्तै हो । राजनीतिज्ञले यतिबेला गान्धीको नामको प्रयोग आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न गर्छन् । जहाँ फाइदा हुन्छ, त्यहाँ गान्धीको नामको दुरूपयोग गर्नपछि पर्दैनन् । 

तपाईं आफ्नो लेखन र रचनात्मक आन्दोलनमा हिस्सेदारीलाई लिएर आगामी वर्षमा के प्रतिबद्धता गर्नुहुन्छ ?

म कसैलाई अगाडिको बाटो देखाउँछु, यस्तो वचन म दिन सक्दिनँ । म नियम बनाएर कुनै काम गर्दिनँ । समयअनुसार निर्णय लिने गर्छु । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ