बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीको उच्च जोखिममा सदरमुकाम दुनै

सोमबार, ०२ साउन २०७४, १३ : ४१
सोमबार, ०२ साउन २०७४

डोल्पा - प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै डोल्पा सदरमुकाम दुनै बजार बाढीको उच्च जोखिममा पर्दै आएको छ । 

दुनै बजारको छेउमै रहेको भेरी नदीमा आजभोलि दैनिक झण्डै साढे एक लाख क्युबिक फिटभन्दा धेरै पानीको बहाव बड्ने गरेपछि दुनै बजार बाढीको उच्च जोखिम देखिएको हो । 

समुद्री सतहबाट दुई हजार ८५ मिटर उचाइमा रहेको दुनै वर्षेनी वर्षाको समयमा उच्च जोखिममा रहने गरे तापनि दिगो हिसाबमा जोखिम न्यूनीकरणका लागि ध्यान जान सकेको छैन् । 

सुख्खा भू–भाग रहेको दुनैमा पानी कम पर्ने गरे तापनि उच्च हिमाली भू–भागबाट हिँउ पग्लेर पानी धेरै आउने भएको कारण वर्षायाममा दिनहुँ भेरी नदीको बहाव उच्च हुने गरेको स्थानीयवासी योगेन्द्र बुढाले बताउनुभयो । 

दुई हजार ७०० जनसंख्या रहेको सदरमुकाम दुनैका बासिन्दा वर्षायामसँगै बाढीले बगाउने डरले चैनको निन्द्रा नपर्ने गरेको बुढाको भनाइ छ । 

दैनिक भेरी नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीयवासी बारम्बार त्रसित हुने गरेका छन् । चारैतिर उच्च पहाड र सुख्खा पाखा भएका कारण ती नांगा पाखाबाट अत्यधिक पानी परेको अवस्थामा बाढीपहिरो आएमा दुनै बजार खतरामा पर्ने भन्दै स्थानीयवासी ओम रोक्कामगरले चिन्ता व्यक्त गर्नुभयो । समयमै विपत् न्यूनीकरण गर्न दीर्घकालीन हिसाबमा नसोच्ने हो भने सदरमुकाम दुनैमा दार्चुलामा जस्तै घटना नदोहोरिएला भन्न नसकिने मगरको भनाइ छ । 

दुनैका स्थानीयवासीले जोखिमको बेवास्ता गर्दै हिँउदमा भेरि नदीको छेउबाटै तटबन्धन गरेर भए पनि घर बनाउने कार्य जारी राखेका छन् । 

हिँउदमा त्यसरी बनाइएका घर धेरै जोखिममा पर्ने गरेका छन् । वर्षात्को समयमा पानीको मात्रा बढेसँगै नदी किनारामा जग भएका झण्डै ७० घर बाढीको उच्च जोखिममा रहेको सरोकारवाला बताउँछन् । 

किनारमा भएका घर जोखिममा भएकाले त्यसरी जोखिम मोलेर बसोवास नगर्ने प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले आग्रह गर्नुभयो । 

सदरमुकामको पूरै बस्ती जोखिममा भएपछि संरक्षणको लागि भन्दै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय डोल्पाले विभिन्न ठाउँमा भेरी नदीको किनारामा तटबन्द गर्ने काम गरेको छ । 

“दुनै बजारको जोखिम न्यूनीकरण गर्ने भन्दै अहिलेसम्म करोडौँ रकम खर्च भइसकेको छ, तर पनि त्यहाँको जोखिम जस्ताको तस्तै छ, उचित अनुगमनको अभाव तथा अपनत्वको भावना नहुँदा सरकारी रकम बालुवामा पानी खन्याए जस्तै भएको छ” जनसरोकारका विषयमा काम गर्दै आएको संस्था ‘मिसन नेपाल’ डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले भन्नुभयो । 

विपत् व्यवस्थापन गर्ने नाउँमा विभिन्न समिति गठन गर्दै करोडौँ रकम घोटाला हुँदा सम्बन्धित निकाय मौन रहनु गम्भीर चासोको विषय भएको अध्यक्ष केसीको भनाइ छ । जिल्लामा भइरहेको विकृति, विसंगति, भ्रष्टाचारका विषयमा कदम उठाइरहेकाले यसका लागि जिल्लास्थित नागरिक अगुवा, पत्रकार तथा सचेत नागरिक सहयोगको खाँचो रहेको उहाँको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप