बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँच महिनामा सरकारबिरुद्ध पाँच पार्टी सडकमा

बुधबार, २३ साउन २०७५, ०९ : ३२
बुधबार, २३ साउन २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरुद्ध पछिल्ला दिनमा प्रदर्शन बढ्दै गएको छ । कतिपय प्रदर्शनका क्रममा प्रदर्शनकारी* र प्रहरीबीच झडप समेत भएका छन् ।

ओली नेतृत्वको सरकारका काम कारवाही जनहितमा नभएको भन्दै सडकमा दिनहुँ बढ्दै गएको प्रदर्शनकारीको सङ्ख्याले जनताले शक्तिशाली सरकारप्रति राखेको भरोसा क्रमशः घट्दै गएको छ भने विपक्षीहरुको पक्षमा जनमत क्रमशः बढ्दै गएको छ । यद्यपि दुई तिहाई बहुमत रहेकाले गणितीय आधारमा सरकार अझै सुरक्षित छ । 

नेपालको इतिहासमै ५ वर्षका लागि स्थायी र शक्तिशाली सरकार बनेको भएपनि सरकारको कामकारवाही र निर्णयका विरुद्ध लगातार सडकमा प्रदर्शन हुँदै जाँदा सत्तापक्षले आफुविरुद्ध ‘घेरावन्दी’ हुन थालेको महसुस गरेको छ भने विरोधीहरुको मनोबल उच्च हुन थालेको छ । 

५ महिना, ५ पार्टी सडकमा
अहिलेसम्म ओली नेतृत्वको सरकारविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित ५ वटा पार्टी सडकमा गइसकेका छन् । जसमा काँग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), साझा विवेकशील पार्टी र नयाँ शक्ति पार्टी छन् । काँग्रेसबाहेकका यि पार्टीहरुको संसदमा नगन्य उपस्थिति रहेपनि बाहिर भने उनीहरुको धेरथोर जनमत देख्न सकिन्छ । वर्तमान सरकार बनेको ५ महिनाको अवधिमा ५ वटा पार्टी सरकारको विपक्षमा गैसकेका छन् ।

छुट्टा–छुट्टै आन्दोलन 
प्रारम्भमा यी पार्टीहरुले छुट्टा–छुट्टै र आ–आफ्नै तरिकाले आन्दोलन गरिरहेका छन् । यसरी भएका आन्दोलनमा त्यति धेरै जनमत भने देखिसकेको छैन । जसले गर्दा सरकारले पनि उनीहरुले गर्ने आन्दोलनप्रति खासै चासो दिएर असन्तुष्टहरुका माग सम्बोधन गर्ने या आन्देलन नै गर्न नपर्ने किसिमको वातावरण बनाउने रणनीति बनाएको छैन । 

कसले कहिले गरे सरकार विरोधी प्रदर्शन ?

साउन १५, काँग्रेस 

संसदमा प्रमुख प्रतिपक्ष बनेको नेपाली काँग्रेसले साउन १५ गते मंगलबार देशभर सरकारविरुद्ध प्रदर्शन गर्यो । काँग्रेसले सरकारले मनोमानी काम गरिरहेको भन्दै ७७ वटै जिल्लामा खबरदारीस्वरुप प्रदर्शन गरेको हो ।

ओली नेतृत्वको सरकार बनेयता, प्रतिपक्षले पार्टीमा निर्णय नै गरेर एकसाथ देशभर विरोध प्रदर्शन गरेको यो नै पहिलो पटक थियो । तर, यसभन्दा अघि काँग्रेसका भातृ संगठनहरुले छिटपुट विरोध प्रदर्शन नगरेका भने होइनन् । १५ गतेको विरोध प्रदर्शनमा विभिन्न जिल्लामा पुगेर काँग्रेसका शीर्ष नेताले सरकारले सर्वसत्तावादी सोँच तत्काल नत्यागे रुँदै सत्ता छोड्न सरकार बाध्य हुनुपर्ने स्थिति आउन सक्ने चेतावनी नै दिएका थिए । 

साउन १६, राप्रपा प्रजातान्त्रिक 

काँग्रेसले सरकारविरोधी प्रदर्शन गरेको भोलिपल्ट नै अर्को पार्टी पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले केपी ओली नेतृत्वको सरकार निरंकुश भएको भन्दै काठमाडौँमा प्रदर्शन गर्यो ।


सो पार्टीले काठमाडौँको माइतिघरमा जम्मा भएर प्रदर्शनसहित बबरमहल हुँदै बानेश्वर पुगेर सभा नै गर्यो । सभालाई अध्यक्ष राणासहितका नेताले सम्बोधन गर्दै वर्तमान सरकार निरंकुश बन्दै गएको, जनतामाथि अत्याधिक कर बृद्धि गरेको, महंगी नियन्त्रण गर्न नसकेको तथा महिलाहिंशाका घटना न्युनिकरणमा सरकारको ध्यान नपुगेकाले विरोधमा उत्रनु परेको बताए । प्रदर्शनमा सहभागि राप्रपा कार्यकर्ताले एकीकृत कर प्रणाली खारेज गर्नुपर्ने राज्यकोषमाथिको लुट बन्द गर्नुपर्ने प्राकृतिक विपद तथा व्यवस्थापन र उद्धारको काम तत्काल गर्नुपर्ने जस्ता नारा लगाएका थिए । 

साउन २२, राप्रपा 

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारविरुद्ध प्रदर्शन या आन्दोलन गर्ने संस्थागत निर्णय नगरेको भएपनि सोही पार्टीको भगिनि संस्था राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा  साउन २२ गते विरोध प्रदर्शन गरेको छ । यो प्रदर्शनका क्रममा प्रदर्शनकारीले मुलुकमा शान्तिसुरक्षा कमजोर भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रदर्शनका क्रममा उनीहरुले महिला र बालबालिकामाथि भएका श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कारका घट्ना नियन्त्रणमा सरकारलाई बिशेष ध्यान दिन दवाव दिएका थिए । काठमाडौको माइतीघर मण्डलामा र्यालीसहित प्रर्दशन गरेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत मागे ।

त्यसक्रममा प्रर्दशनकारीहरुले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

साउन ५, नयाँ शक्ति पार्टी 
असार दोस्रो साताबाट चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको माग पुरा गराउन पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराई नेतृत्वको नयाँशक्ति पार्टी नेपालले काठमाडौँको माइतिघर मण्डलामा प्रर्दशन गर्यो । त्यसवेला केसीको मागमा सरकार गम्भीर नभएको भन्दै सरकारलाई दबाव दिन केसी समर्थकहरु प्रदर्शनमा उत्रिएका थिए ।

उक्त सरकारविरोधी प्रदर्शनमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई पनि सहभागी भएका थिए । उक्त प्रदर्शनमा अभिनेत्री मनिषा कोइराला, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की समेत सहभागि बनेका थिए । 

असार १६, साझा विबेकशील साझा


सरकारले साउन १ बाट माइतिघर मण्डलालगायतका स्थानमा प्रदर्शन गर्न नपाउने निर्णयगरेसँगै त्यसको विरोधमा प्रतिपक्ष लगायत अन्य पार्टीहरुले विरोध गरे । सोही क्रममा असार १६ गते माइतिघर मण्डलामा विरोधमा उत्रिएको विवेकशील साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ नै गर्यो । त्यसवेला सो पार्टीका सहअध्यक्ष उज्जल थापासहितका नेता कार्यकर्ता पक्राउ परेपछि अध्यक्ष रविन्द्र मिश्रले स्वतन्त्रतापूर्वक सभा सम्मेलन गर्न पाउने नागरिकको अधिकार कुण्ठित गरेको भन्दै सरकारी व्यवहारलाई अधिनायकबादी चरित्रको संज्ञा दिएका थिए । 

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्–सरकार आफ्नै गतिमा हिँड्छ
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सरकारकाविरुद्ध भइरहेका आन्दोलन आफ्नो अस्तित्व देखाउन प्रचारका लागि मात्रै भएका हुन् ।

‘भइरहेका आन्दोलनहरु ‘आन्दोलनका लागि आन्दोलन’ जस्ता मात्रै छन्। कुनै जेनियुन माग भन्दा पनि आफ्नो अस्तित्व देखाउनका लागि गरेका आन्दोलनलाई सरकारले ध्यान दिइरहनुपर्ने आवश्यक्ता पनि छैन,’ सल्लाहकार अर्यालले रातोपाटीसँग भने, ‘सरकार आफ्नो योजना, गति र उद्देश्यमा हिँडिरहेको छ ।’ यद्यपि उनले सबैलाई आन्दोलन गर्ने अधिकार भएको बताए । ‘कसैलाई के कुरामा चित्त नबुझेको हुन सक्छ, उसले अधिकार प्रयोग गरेर आन्दोलन या प्रदर्शन गर्छ, त्यो स्वभाविक हो,’ अर्यालको भनाई छ । 

*सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप