शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कमरेड केपी कसरी बने ‘ओली बा’ ?

बुधबार, २३ साउन २०७५, १२ : ०५
बुधबार, २३ साउन २०७५

काठमाडौँ– पूर्वी नेपालको जिल्ला झापा र सुदूरपश्चिमको जिल्ला हो कञ्चनपुर । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली झापाका र प्रतिनिधिसभा सांसद एवम् नेकपाका युवा नेतृ निरुदेवी पाल कञ्चनपुरकी हुन् ।

तर पनि ओली र पालबीच गजबको सम्बन्ध छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली सांसद पाललाई ‘छोरी’ भन्छन् भने पाल ओलीलाई ‘बा’ । पाल ओलीलाई ‘बा’ भन्ने तत्कालीन एमाले पङ्क्तिकी पहिलो नेतृ हुन् । प्रधानमन्त्री ओलीका भने आफ्नै छोराछोरी चाहिँ छैनन् । 

यस्तै, सम्बन्ध छ प्रधानमन्त्री ओली र पूर्वमन्त्री एवम् सांसद महेश बस्नेतबीच । सांसद बस्नेतले ओलीलाई एक्लै भेट्दा होस् वा सार्वजनिक कार्यक्रममा नै किन नहोस् ‘बा’ भनेर सम्बोधन गर्छन् । उनका अनुसार ओलीले पाललाई धर्मपुत्री र बस्नेतलाई धर्मपुत्र भन्ने गरेका छन् । हाल नेकपाका युवा नेताहरू, जसको पृष्ठभूमि पूर्व एमालेको छ, उनीहरू धेरैले प्रधानमन्त्री ओलीलाई ‘बा’ भन्छन् । अनौपचारिक कुराकानीमा तत्कालीन एमालेका धेरैजसो युवा नेता तथा कार्यकर्ताले ‘ओली बा’ भन्ने गर्छन् । यो यस्तो विषय हो, जसबारे एमालेको केन्द्रीय कमिटीमा पनि बहस भएको थियो । ओली र माधवकुमार नेपालबीच सवालजवाफ पनि । 

जब निरुले ‘बा’लाई फोन गरिन्

साउन १५ गते राति बानेश्वरमा अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल ताकेर मोबाइल लुटेको दाबी गरेपछि सांसद पाल फेरि चर्चामा आइन् । उनले पार्टीको संसदीय दलको वैठक र संसदमा समेत घटनाको विवरण सुनाइन् । 

सांसद पालले यो घटना संसदमा भनेकी थिइन्, ‘संसदीय सुनुवाइ समितिको बैठकमा गइस् भने तेरो बाउ खड्गे ओलीले पनि तेरो लास पाउँदैन । यति बोल्यो अनि त्यो कता गयो थाहा भएन । मेरो मोबाइल पनि खोस्यो । आफ्नो ज्यानभन्दा ठूलो मोबाइल भएन म घरतिर गएँ ।’ 

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई सांसदले पालले संसदकै बैठकमा ‘बा’ भनेपछि फेरि एकाएक ‘ओली बा’को शब्द चर्चामा आयो । पेस्तोल प्रकरणपछि सांसद पालले सुरक्षा गार्डसमेत लिइन् । तर अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल ताकेर मोबाइल लुटेको खबर सांसद पालले प्रहरीलाई भन्दा पहिला प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी थिइन् । घटनाभएपछि सबैभन्दा पहिला उनी घर गएको र प्रधानमन्त्री ओलीलाई फोन गरेको विभिन्न मिडियालाई बताएकी छिन् । पालका अनुसार उनले फोन गर्दा गृहमन्त्री रामबहादुर थापा पनि बालुवाटारमै थिए । पालले गृहमन्त्रीलाई पनि घटनाबारे जानकारी दिइन् । पालले मिडियालाई दिएको जानकारीअनुसार उनले सुरुमा उक्त घटना तत्काल सार्वजनिक नगरिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेकी थिइन् । यस विषयमा थप काम अर्को दिन गर्ने विषयमा प्रधानमन्त्री ओलीसँग त्यस दिन कुराकानी भएको पालको भनाइ थियो । 

धर्मपुत्र प्रसङ्ग

यसअघि औपचारिक कार्यक्रममा सांसद बस्नेतले ओली ‘बा’ भनेको प्रसङ्गले पनि उस्तै चर्चा पाएको थियो । २०७२ को २७ साउनमा काठमाडौँको प्रज्ञा प्रतिष्ठानको हलमा ‘म महेश’ पुस्तक विमोचन कार्यक्रम थियो । तत्कालीन उद्योगमन्त्री बस्नेतको संस्मरण विमोचनमा तत्कालीन एमाले अध्यक्ष ओली प्रमुख अतिथि थिए । 

विमोचन कार्यक्रममा बस्नेतले आफूलाई सबैले केपी ओलीको धर्मपुत्र भन्ने गरेको प्रसङ्ग सुनाए । बस्नेतले त्यसबेला भनेका थिए– ‘हामी सबैजना उहाँलाई ‘बा’ भन्छौँ । उहाँका छोराछोरी पनि छैनन् । उहाँलाई ‘बा’ भनेर सम्बोधन गर्ने पहिलो व्यक्ति चाहिँ निरु पाल हो । एमालेभित्रै निरु पाललाई उहाँकी धर्मपुत्री र मलाई धर्मपुत्र भन्ने गरेको सुन्छु । मलाई उहाँको धर्मपुत्र भनिएकोमा आपत्ति छैन ।’

बस्नेत यतिमा मात्र रोकिएनन् र अरू नेताप्रति गुनासो गरे । उनले पार्टीकै अरू नेताहरूबारे भनेका थिए, ‘मैले चाहेर पनि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिकिन सकेको छैन । केपी ओली ‘बा’ हो भने माधव नेपाल ठूलोबा, बामदेव गौतम साँइलो ‘बा’ हो । तर चाहेर पनि ठूला बाको माया पाउन सकेको छैन । म जति नजिक जान्छु, उहाँका आसेपासेहरूले छेकिदिन्छन् ।’ 

त्यसपछि बल्ल बस्नेतले ओलीसँगको आफ्नो भावनात्मक सम्बन्धबारे सुनाएका थिए, ‘म माओवादीको ज्यादतिविरुद्ध लड्दा मेरो दुईवटा औँला फुटेका थिए । त्यसका लागि लामो समय उपचार गर्नुप¥यो । कुनै नेताले तेरो औँला के भयो भनेर सोध्नुभएन । तर केपी ओलीले फोन गर्नुभयो । मलाई उहाँ मेरो आफ्नै अभिभावक जस्तै लाग्यो ।’

त्यसबेला ओलीले पनि महेश बहुप्रतिभाशाली भएको बताएका थिए । ओलीले महेशबारे भनेका थिए, ‘केपी ओलीले महेश बस्नेतलाई माया गर्छ भन्ने सबै नेपालीलाई थाहा छ । त्यसैले केपी ओलीले यो पुस्तक पक्कै पढ्यो भन्ने सोच्नु होला तर पढेको छैन । तर मलाई यति विश्वास छ, महेशले कुनै पनि गलत लेखेको छैन । त्यो लाग्यो भने साथीलाई फोन लगाएर सोधे हुन्छ ।’

कसरी सुरु भयो ‘बा’

माओवादी शान्ति प्रक्रियामा आएपछि त्यसको युवा सङ्गठन वाईसीएल चर्चामा थियो । बेला–बेला कानुन हातमा लिएको भनेर उसको आलोचना पनि हुनथ्यो । हुन त तत्कालीन एमालेमा युवा सङ्गठनको नाम प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ थियो । २०४६ को आन्दोलनपछि बनेको यो सङ्गठनको सुरुमा ओलीले नै नेतृत्व गरेका थिए । जब पहिलो संविधानसभामा चुनावमा तत्कालीन एमालेको हार भयो । एमालेको युवा सङ्गठनमा युथ फोर्स बनाइयो । वाईसीएलसँग लडन बनाइएको यो सङ्गठनको नेतृतव महेश बस्नेतले गरेका थिए । माओवादीको बर्चस्व रोक्न युथ फोर्स गठन भयो । त्यसको अभिभावकत्व ओलीले गरे । युथ फोर्सको हौसला बढाउन ओली अभिभावकका रूपमा प्रस्तुत भए । 

महेश बस्नेतका अनुसार सुरुमा तत्कालीन युवा सङ्घको केन्द्रीय सदस्य निरु पालले ओलीलाई ‘बा’ भन्न थालेकी हुन् । ओली त्यसरी प्रस्तुत हुँदा केही युवाहरूले ओली कमरेडको सट्टा ओली ‘बा’ भन्न थाले । युवा सङ्घका केही युवाहरूले ओलीलाई ‘बा’ भन्न रुचाइरहे । कार्यकर्ताहरू ओलीलाई देख्ना साथ ओली ‘बा’ भन्न पुग्थे । त्यहीँबाट ओली ‘बा’ सुरुवात भयो । अहिले कसैले नजिकिएर ‘ओली बा’ भन्छन् । कसैले सुनेको भरमा ‘ओली बा’ भन्छन् । कसैले कमरेड भनेर सम्बोधन गर्छन् । तर अहिले पार्टीमा ओली कमरेड भन्दा पनि बा भन्दै सम्बोधन गर्ने क्रम बढ्दो छ । 

बैठकमै ‘बा’ भनेको भन्दै विरोध

‘बा’ शब्द एमालेको बैठकमै एक पटक बहसको विषय भयो । एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच चर्काचर्की परेको थियो । नेता नेपालले ओलीलाई देवत्वकरण गर्न खोजिएको र पार्टी कोटरीबाट चलिरहेको आरोप लगाएपछि ओलीले आफूलाई देवत्वकरणमा रूचि नरहेको बताएका थिए । नेता नेपालले ओलीलाई उनी निकट कार्यकर्ताले ‘बा’ भन्ने गरेकोमा समेत आपत्ति जनाउँदै त्यस बैठकमा भनेका थिए, ‘बा होइन कमरेड भन्नुपर्यो । पार्टीलाई कोटरीबाट होइन, संस्थागत ढङ्गले चलाउनुपर्यो ।’ ओलीको जवाफ थियो, ‘मैले पुत्रवत व्यवहार गरेँ हुँला । पुत्रिवत् व्यवहार गरेँ हुँला । त्यसकारण बा भने होलान्, के गर्ने त ? कसैकसैलाई ‘आमा’ भनेको पनि सुनिन्छ ।’ 

तत्कालीन एमालेमा अष्टलक्ष्मी शाक्यलाई ‘आमा’ भन्नेहरू पनि थिए । ओलीले यही सङ्केत गरेका थिए । 

सांसद निरु पाल– मनमोहन सबैका बा हुन हुने केपी ओलीलाई बा भन्न नहुने ? 

म युवा सङ्घको केन्द्रीय सदस्य थिएँ । केपी ओली संस्थापक हुनुहुन्थ्यो । संस्थापक भनेको गार्जेन नै हो । एउटा त्यो प्रसङ्गमा मैले उहाँलाई बा भनेको हो । अर्को, कुरा मनमोहन अधिकारीलाई सारा दुनियाँले बा भन्छ । अनि केपी ओली पनि मनमोहन बा जस्तै हो । अहिले सिङ्गो कार्यकर्तालाई संरक्षण गर्नेदेखि लिएर, देशलाई नयाँ उचाइमा पुर्याउने, विकृति विसङ्गतिको अन्त्य गर्ने यी सबै कुरालाई हेर्दा उहाँ पनि बा नै हो । मनमोहन सबैका बा हुने तर केपी ओली किन बा हुन नसक्ने भनेर मैले बा भनेको हुँ । उहाँले कार्यकर्तालाई गर्ने माया, संरक्षण त्यो त गार्जेनले मात्रै गर्छ । त्यो भएर मैले उहाँलाई बा भनेको हुँ । अब अहिले त बा पार्टीमा ब्रान्ड नै भइसक्यो । अब उहाँका छोरछोरी नभएको भएर पनि होला सिङ्गो युवा कार्यकर्ताले बा भन्दा रमाउनु पनि हुन्छ होला । पार्टीभित्रै पनि कम्युनिस्ट पार्टीमा बा भन्ने भनेर लखेट्ने गर्छन् । कमरेड भन्नुपर्छ भनेर कुरा उठाउँछन् ।

पूर्वमन्त्री तथा नेकपाका युवा नेता महेश बस्नेत–हामीले सधैँ अध्यक्षलाई ‘बा’ भन्छौँ 

पहिला पहिला पार्टीमा मित्र भन्ने चलन थियो । पछि कमरेड भन्न सुरु भयो । ६५ को हाराहारीतिर दाइ, दिदी प्रचलन आयो । ‘बा’ शब्द पार्टीमा युवा सङ्घबाट आएको हो । युवासँगको केन्द्रीय सदस्य निरु पालले ‘बा’ भन्नु लाग्नुभयो । त्यसपछि युवासँगका धेरैले ‘बा’ भन्न थाले । पार्टीमा अन्य केही नेताहरूले पनि उहाँलाई ‘बा’  भन्न लाग्नुभयो ।

कोही त झण्डै उहाँकै उमेरकाले पनि भन्छन् । अष्टलक्ष्मी शाक्यलाई ‘आमा’ भन्छन् । राष्ट्रपतिलाई दिदी भन्छौँ । हामीले सधैँ अध्यक्षलाई ‘बा’ भन्छौँ । बा भन्दा उहाँ रमाउनु हुन्छ । आफ्नो बच्चाबच्ची नभएर पनि होला, उहाँ रमाउनु हुन्छ । अहिले पार्टीभित्र दोस्रो तेस्रो पुस्ताका नेताहरूले बा भन्ने प्रचलन बढेको छ । आनन्द पोखरेललगायतका नेताहरू पनि ‘बा’ भन्छन् । मैले अभिभावक जस्तै भएर ‘बा’ भनेको हो । 

सांसद, मना केसी– ठ्याक्कै ‘बा’कै व्यवहार गर्नुहुन्छ 

खास त नजिकबाट उहाँलाई बुझ्दा ठ्याक्कै ‘बा’कै व्यवहार गर्नुहुन्छ । भेट्दा वा फोनमा कहिले काहीँ कुरा हुँदा पनि नातिनातिना कहाँ छन् ? उनीहरूलाई कस्तो छ ? ल छोरी आएकी छ, खाना नास्ता खुवाएर पठाउनु है भन्नु हुन्छ । जतिबेला पनि छोरीको व्यवहार गर्ने गर्नुहुन्छ । कहिलेकाहीँ सम्माननीय प्रधानमन्त्रीज्यू भनिसकेपछि ‘बा’ नभन्दा कस्तो कस्तो हुन्छ ।

फोनमा, अनौपचारिक भेटमा अहिले पनि ‘बा’ भन्ने गर्छु । कहिलेकाहीँ झुक्किएर औपचारिक कार्यक्रममा पनि ‘बा’ भनिन्छ । मलाई पनि छोरी भनेर बोलाउनु हुन्छ । आफ्नै बाजस्तै व्यवहार गर्नुहुन्छ, त्यसैले बा भन्छु । 

नेकपाका केन्द्रीय सदस्य निरज आचार्य – म बा भन्दिनँ, कमरेड भन्छु

‘बा’ चाहिँ किन भन्छन्, त्यो त थाहा छैन । म कहिल्यै पार्टीका अध्यक्षलाई बा भन्दिनँ, कमरेड भन्छु । केपी ओली अध्यक्ष हुनुपूर्व युवा सङ्घमा ओली कमरेडलाई ‘बा’ भनेको सुन्नमा आयो ।

खासगरी केपी कमरेडले उहाँकोमा नियमित भेट्न गइरहने, व्यक्तिगत ढङ्गले नजिक भएकाहरूलाई मेरी छोरी, छोरा, यो ठूली छोरी भनेर सम्बोधन गरेको अरूले बा भन्न लागेका होलान् जस्तो मलाई लाग्छ । कतिपय आफूसँग नजिक हुने कार्यकर्तालाई संरक्षण गर्ने, माया गर्ने, नजिक बनाउने कला उहाँसँग थियो । पार्टी नेता कार्यकर्ताको मात्र सम्बन्ध होइन कि अनौपचारिक सम्बन्धजस्तो छोरीछोरा भनेर सम्बोधन गर्ने, उहाँसँग नजिक भइरहने मान्छेहरूले बा भन्न सुरु गरेका हुन् ।

त्यसपछि सुनेको भरमा ‘बा’ भन्नेहरूको पङ्क्ति बढ्यो । कम्युनिस्ट पार्टीमा कल्चरको हिसाबले पनि ‘बा’ भन्ने संस्कारलाई राम्रो मानिदैन । पार्टीको नेतालाई सम्मान गर्दा कमरेड भनेर भन्छौँ, त्यो हाम्रो संस्कार हो । पार्टीमा सिनियर जुनियर सबैलाई सम्मान गर्दा कमरेड भनेर सम्बोधन गर्ने प्रचलन छ । सामान्यतया कम्युनिस्ट पार्टीभित्र बा, आमा, दिदी, बहिनी भन्ने चल्दैन । पछिल्लो पटक केही हाम्रा साथीहरूले बा, आमा भन्ने गर्नुभएको छ । 

ओलीको पनि रुचि छ तर बेला बेला दिक्क हुन्छन् 

केही समय कम चर्चामा रहेको ‘ओली बा’ यतिबेला फेरि बढेर आयो । जब ओली दोस्रो पटक प्रधानमन्त्री बने, तत्कालीन एमालेका ओली समूहका सबैजसो युवाले उनलाई ‘ओली बा’ भन्छन् । यी युवा नेताहरूका अनुसार कार्यकर्तालाई छोरा छोरी भन्न रुचाउँछन् । सुरुवात प्रधानमन्त्री ओली आफैले गर्ने गरेको ती नेताहरूको भनाइ छ । भेटघाटमा आफ्ना निकटका कार्यकर्तालाई छोराछोरी भनेर पहिला आफै सम्बोधन गर्ने गर्छन् ओली । 

प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार उनी बिरामी हुँदा वा एक्लो महसुस गर्दा निकटस्थका बालबच्चासँग रमाउन शौखिन छन् । तर प्रधानमन्त्री हुँदा त्यस्ता शौख पूरा हुँदैन । बरु बा भन्दै हैरान पार्नैहरू धेरै बढेका छन् । ‘बा’ भन्दै लाभका लागि धेरै नेता कार्यकर्ता उनको सचिवालयमा पुग्छन् । कहिलेकाहीँ त ओली आफूलाई बा भन्नेहरूबाट आजित पनि हुन्छन् । 

अहिले प्रधानमन्त्रीलाई बा भन्दै भेट्न जाने धेरै छन् । अन्य नेता, कार्यकर्ताजस्तै कतिपय उद्योगी, व्यापारी र ठेकेदारसमेत प्रधानमन्त्री ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्छन् । 

ओली पहिलो पटक प्रधानमन्त्री भएर बालुवाटार छिरेलगत्तै ‘बा–बा’ भन्दै धेरै मान्छे नजिकिएका थिए । तर अहिले भने ओली त्यस्ता ‘छोराछोरी’बाट सजग भएको उनको सचिवालयका एक कर्मचारी बताउँछन् । ‘अहिले ‘बा’ भन्दै भेट्न आउनेहरूलाई पहिला जस्तो सहज छैन । बा भनेर चाहिने भन्दा धेरै फाइदा लिन खोजेपछि उहाँ आफैले छोराछोरी भनेकाहरूबाट पनि बेलाबेला टाढिने प्रयास गर्नुहुन्छ ।’ ती कर्मचारीले भने । 

कम्युनिस्टमा ‘कमरेड’, काँग्रेसमा ‘दाइ’

कम्युनिस्ट पार्टीमा मुख्यतः पार्टीका नेता कार्यकर्तालाई सम्मान गरेर बोल्ने शब्द हो ‘कमरेड’ । विषेश गरेर नेतृत्व तहमा कमरेड शब्द निकै प्रयोग हुन्छ । सामान्य कार्यकर्ता पनि एक आपसमा कमरेड शब्दले सम्बोधन् गर्छन् । सामान्य शिष्टाचारका रूपमा कम्युनिस्टहरू ‘अभिवादन कमरेड’ भन्न रुचाउँछन् । तर आजभोलि शिष्टाचारको भाषा बदलिएको छ । काङ्ग्रेसभित्र नेता कार्यकर्तालाई सम्बोधन गर्दा ‘दाइ’ शब्द बढी प्रयोग भएको सुन्नमा आउँछ । पार्टीभित्र दाइ, भाइ, दिदी, बहिनी भन्दै सम्बोधन गर्दा आत्मीयता बढ्ने गरेको काङ्ग्रेस निकट नेताहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप