रेबिजः सुई लगाउने नयाँ तरिका सुरु

person access_timeसाउन २, २०७४ chat_bubble_outline0

काठमाडौँ – शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालले जनावर टोकेपछि लगाउने रेविजविरुद्धको सुई लगाउने नयाँ तरिका सुरु गरेको छ । 

अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले आइतबारदेखि छालाभित्रसम्म मात्रै लगाउने तरिका अपनाइएको बताए । पहिले पाखुराबाट भित्र मासुसम्म लगाउने गरिन्थ्यो । उनले भने, ‘यो तरिका विदेशमा पहिलेदेखि नै प्रचलनमा छ, हामीले पनि धेरै अघि सुरु गर्ने सोच बनाए पनि विभिन्न कारणले सुरु गर्न सकिएको थिएन ।’ अस्पतालका अनुसार पहिलेको तरिकाले १ एमएलको सुईले एक जनालाई हुन्थ्यो, अब भने यही सुईले पाँच जनालाई लगाउन पुग्छ । 

अस्पतालका वरिष्ठ अहेव सरिता गौतमले दुई वर्षभन्दा कम उमेरका बालबालिका, ज्येष्ठ नागरिक, शरीरको प्रतिरोधात्मक क्षमता कम भएका र कडा खालका रोग लागेका व्यक्तिलाई भने पुरानै तरिकाले मासुभित्रै सुई लगाउनुपर्ने बताए। पुरानो तरिकामा दुवै पाखुरामा ०.५÷०.५ एमएल गरी १ एमएल लगाउर्ने पर्ने भए पनि नयाँ तरिकामा दुवै पाखुरामा ०।१÷०।१ गरी ०२ एमएल मात्रै दिइन्छ । 
टेकु अस्पतालमा हरेक दिन १५० भन्दा बढी नयाँ बिरामी र करिब ५०० पुराना बिरामी रेविजविरुद्धको सुई लगाउन आउँछन् । जनावरले टोकेकै दिन, तीन, सात, १४ र २८ दिनमा रेबिजको सुई लाउनुपर्छ । नयाँ तरिकाले सुई लगाउँदा भने १४ औँ दिनमा लगाउनु नपर्ने डा पुनले बताए । अस्पतालको तथ्याङ्कअनुसार हरेक वर्ष रेबिजका कारण करिब १५ जनासम्म बिरामीको मृत्य हुने गरेको छ । 
धनुष्टंकारको उपचारमा समस्या 
बाइकको चक्काले खुट्टामा काट्दा अमलाचौर नगरपालिका– १२ बाग्लुङका टीकाराम पौडेललाई सामान्य चोट हो भन्ने लाग्यो । नजिकैको अमलाचौर स्वास्थ्य चौकीमा जाँदा चिकित्सकले १३ वटा टाँका लगाइदिए तर लगाउनैपर्ने टिटानसको सुई भने नभएको भन्दै लगाइएन । 

स्वास्थ्य चौकीमा टिनानसको सुई नभएपछि पौडेलले अन्यत्र स्वास्थ्य संस्थामा गई सुई लाउने पनि सोच्नु भएन । त्यसको असर तीन दिन नबित्दै देखिन थाल्यो । घटना वैशाख १५ गतेको थियो । असर भने १८ गतेबाटै देखिन थालेको थियो । ज्वरो आउने, मुख बांगो हुने, बाउन नमिल्ने, हातखुट्टा कक्क्रक्क परेर चलमलाउनै नमिल्ने भएपछि परिवारले उनलाई पोखरास्थित अञ्चल अस्पतालमा पु¥यायो तर बीसको उन्नाइस भएन । 

उनलाई वैशाख २० गते काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइयो । त्यहाँ ल्याएपछि टिटानस अर्थात् धनुष्टंकार भएको पुष्टि भयो । त्यहाँ सघन कक्ष नहुँदा उपचार नहुने भएपछि वैशाख २१ गते पाटन अस्पतालमा पठाइयो । त्यहाँ सघन उपचार कक्षको शय्या नं ५ मा भेन्टिलेटर लगाई उपचार भइरहेको छ । 

टिनानस टि ‘कष्ट्रिडियम’ नामक ब्याक्टेरियाबाट व्यक्तिमा सङ्क्रमण हुन्छ । मानिसलाई कतै चोटपटक लाग्यो, काट्यो भने माटो, खिया लागेको फलाम, जनावरको मलमूत्रबाट यो ब्याक्टेरिया सजिलै मानिसमा सर्ने चिकित्सकको भनाइ छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा पुन टिटानस सङ्क्रमण भएको लक्षण जति छिटो देखियो त्यति नै छिटो मृत्यु हुने सम्भावना भएको बताउँछन् । उनले भने, ‘हुनतः निर्माण उद्योग, खेतबारीमा काम गर्ने व्यक्तिलाई चोट पटक लागिरहने भएकाले यसको जोखिम बढी हुन्छ, अरुलाई पनि चोटपटक लाग्दा तुरुन्तै कि २४ घण्टाभित्र टिटानसको सुई लगाइहाल्नुपर्छ ।’ 

संक्रमणको तीन हप्तामै यसको लक्षण देखा परिसक्छ । बच्चामा लगाएको टिटी खोपले उमेर बढ्दै जाँदा कम काम गर्ने भएकाले चोट लाग्नेबित्तिकै टिटी सुई लाउनैपर्छ । समयमै टिटी खोप लगाउन नपाइएपछि बुबाको अवस्था गम्भीर भएको उहाँका छोरा रामले बताए । उपचारका क्रममा करिब रु २० लाख बढी औषधिमै सकिएको उनले बताए । 
‘हामीले अस्पतालमा आर्थिक क्षमता कम भएकाका लागि अस्पतालमा १० प्रतिशत श्यया निःशुल्क हुन्छ भन्ने सुनेका थियौँ तर यहाँ आउँदा सघन उपचार कक्षमा यस्तो सुविधा छैन भन्ने जवाफ आयो’, पौडेलले भने, ‘सबै पैसा तीन महिना बुबाको उपचारमा सकियो, अब बाँकी उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको छ ।’ अब सरकारलाई सहयोग गरिदिन बिरामीको ज्यान बचाइदिन उहाँका आफन्त आनन्द गौतमले बताए । उपचारमा सहयोग गर्न प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागलगायत सबैतिर धाउँदा पनि कुनै सहयोग नपाएको गौतमको दुखेसो छ । 

पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले बिरामीको सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेकाले महँगो परेको बताए । ‘निःशुल्क गर्ने विषयमा मैले आफ्नो टिमसँग छलफल गर्नुपर्छ, अस्पतालले आफैँ आम्दानी गरी चल्नुपर्ने भएकाले एकै जनालाई धेरै ठूलो रकम निःशुल्क गर्न पनि समस्या हुन्छ तर मन्त्रालयले केही पहल गरिदियो भने सजिलो हुन्छ’, उनले भने । 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ