शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कथाः न्यायको अवसान

शनिबार, २६ साउन २०७५, ०९ : ०४
शनिबार, २६ साउन २०७५

-निर्मला न्यौपाने  
 
मैले ‘सञ्जु’ फिल्म नहेरेर ठूलो घाटा भएको उसले बतायो ।
‘कसरी शब्दकोश बढ्छ, कसरी कल्पना शक्ति बढ्छ ? आफूलाई अलि मर्डनाइज गर्नुहोस् । तपाईं लेख्नुहुन्छ, देख्न सक्नुप¥यो नि ! प्रत्येक स्रष्टा पहिले द्रष्टा हो । देख्छ, त्यसबारे सोच्छ, अनि लेख्छ । बैनी, पूरै विश्वको विकासक्रम र मान्छेको चाख हामीले बुझ्नुपर्छ... !’ कक्षा कोठाबाट निस्केदेखि गेटसम्मै उसले मलाई सम्झायो ।

दाइ, लोकतान्त्रिक धारामा छन् । म बामपन्थी हुँ । राजनीतिमा रल्लिएर ढिलो क्याम्पस पढ्न आएछन् । साथी भइयो । लेख्ने नाताले नजिक नजिक भइयो । ‘चन्द्रसूर्य स्पर्श रेस्टुरेन्ट’ चलाउँछन् । उद्योगपतिका छोरा । बाबु ठूलै लेखक पनि हुन् । ६० रोपनी जग्गामा रिसोर्ट खोल्दा २० रोपनी सार्वजनिक जग्गा मिचेछन् । शरण भारीले आफ्नै स्वार्थका लागि तालको मापदण्ड पनि  भुसुक्कै घटाउने षड्यन्त्र रचेको समाचार छ । मान्छे जति अग्लो उचाइबाट खस्छ, उसलाई उति नै बढी चोट लाग्छ । बाबुको अपराधमा छोरा पनि बदनाम भए । उसको साहित्यिक र सामाजिक अभियन्ताको छवि निकै धमिलियो । ऊ बाबुको कामले निकै लज्जित छ । मसँग दुखेसो पोख्छ । मेरो दुःखमा सहानुभूति प्रकट गर्न खोज्छ र कुरो खोतल्छ । म घाउ कोट्याउन चाहदिनँ । 

बरुण दाइको थुपै्र पटकको ढिपीले म उहाँको रेस्टुरेन्टमा पसेँ । क्याम्पस गेट अगाडि उनको कारमा बस्दा  निकै सङकोच लाग्यो । म पछिल्लो सिटमा बस्न खोजेँ, उनले अगाडिको ढोका खोले । थोरै बेरको ड्राइभिङपछि मुख खोले, ‘बैनी, ट्याक्सीको पछाडि बस्ने हो । कारमा अगाडि बस्नु पर्छ, नत्र त मान्छेले कार मालिकलाई ड्राइभर  भन्ठान्छ !’

भव्य भवनको सिँढी उक्लिँदा पनि सङ्कोचले थिचिरह्यो । पाँच तले भवनको सबैभन्दा माथिको रेस्टुरेन्ट । छतको बार्दलीबाट हेर्दा पूरै सहर देखिँदोरैछ । दृश्यावलोकनको इन्जोय गरँे । दाइले बाहिरै कुर्सीटेबल  मगाए । दाइ, अविवाहित पुरुष । म भखरै डिभोर्स गरेर बसेकी युवती । दाइको दाउ के हो, म मायाजालमा नफस्ने निधोमा छु । 

‘बैनी ब्युटिफुल, त्योभन्दा बढी स्विटी एन्ड लभ्ली तर अलि आइसोलेटेट हुनुहुन्छ... !’ उसले कुराको थालनी ग¥यो । मसँग प्रतिउत्तरको कुनै शब्द भएन । अलि ढिलो कुरा बुभ्mछु । ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा क्वाइँ गर्छ’ भन्छन् । मेरा पति हुन आएको पूर्वप्रेमी पनि यस्तै मीठा मीठा कुरो गथ्र्यो । ऊ कम्युनिस्ट तर लभ गर्न सुपर फास्ट रैछ । यो मान्छे त काङ्ग्रेस !
‘के सेवा गरौँ बैनी, के खाऊँ ?’

उसले मेनु अगाडि सार्दै मेरो मौनता तोड्न खोज्यो । म दुर्गम गाउँबाट एकैचोटि ठूलो सहरमा आएकी । मासु–चिउराभन्दा स्तरीय खाजाको मलाई खासै जानकारी नै छैन । स्वास्थ्य विज्ञान केही पढेकी छु । तेलदार र मसलेदार खानुहुन्न भन्ने चेत छ । मैले मेनु हेरिनँ ।
‘दाइको  विचार... ! म चिल्लोपिरो खाँदिनँ !’ मैले भनेँ ।
‘तपाईंका नेता त पिरै खान्छन् रे ?’

‘खै दाइ, मेरो नेता के–कस्तो खान्छन्, तपाईंहरू जान्नु हुन्छ, मलाई क्यै पत्तो हँुदैन ।’
‘शान्ति वार्ता तयारीका लागि ०६२ सालमा रोल्पा पुगेका बामदेव गौतमले धेरै पिरो नखान प्रचण्डलाई सुझाएका थिए भन्ने ०६३ सालतिरै सुवास देवकोटाले लेखेका छन् !’
‘मैले पढेकी छैन !’
‘मार्सी चामलको भिडियो त हेर्नुभयो ?’

‘हेरेँ दाइ तर पाउना बोलाएर ख्वाएको फोटो सार्वजनिक गर्ने मान्छे धेरै फन्टुस हो । ठूला मान्छेसँग फोटो खिचेर फेसबुकमा राख्दै आफ्नो ठालुपनको प्रचारबाजी गर्न दलालहरू खप्पिस हुँदारहेछन्  ।’
‘दिल्लीबाट फर्काइएका चेलीहरूबारे के भन्नुहुन्छ ?’
‘म आफै तिनीहरू जस्तै हुँ । म पनि छोरी पढाउन मौका पाए विदेश जान्थेँ । चेलीहरूको कुनै गल्ती छैन दाइ, उद्धार गर्ने गद्ददारहरूले बद्नामी बढाइदिए !’
‘पेपरमा, रातोपाटीमा लेख्नु होला नि ?’
‘लेख्नैपर्ने विषय हो । यस्ता विषय त प्रशस्त आइरहेकै छन् । तपाईं हामी समाजशास्त्रका विद्यार्थी, हाम्रो समाज अत्यन्तै जटिल अवस्थामा छ । गणतन्त्र लागू गर्ने दुईतिहाईको सरकार छ । गणतन्त्र मुर्दावादको नारा पनि उर्लिंदैछ ।’

‘काङ्ग्रेसको दुईतिहाई टिकेन, माओवादीको टिकेन, के नेकपाको टिक्ला ?’
‘अरू वाम र मधेस समेटिँदै जाने अनि काङ्ग्रेसले साँचो अर्थको लोकतान्त्रिक अभ्यास थाल्ने हो भने टिक्छ नत्र टिक्दैन ।’
‘देश अर्को आन्दोलनतिर धकेलिँदै गएको बताइन्छ नि ?’

‘हो, सीके लालजीहरूको अभियान त्यही छ । जनजातिहरू कस्सिएकै छन् । वसन्त बस्नेतको लेख पढँे, ‘आन्दोलनलाई राज्यले आधार दिइरहेको’ भनेका छन् । एक वरिष्ठ अधिवक्ताको लेख पढेँ, ‘राज्यका समग्र निकाय कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाप्रतिको जनविश्वास पूरै रसातलमा पुगेको’ बताएका छन् ।  केन्द्रीय नीतिबारे उस्तो मेसो पाउँदिनँ । स्थानीय सरकारमा मनपरीतन्त्र छ । विप्लवका कार्यकर्ताहरू त्यहाँ पुगे भने तेस्रो जनआन्दोलन अवश्यम्भावी छ ।’

‘सन् १६४९ जनवरी ३० का दिन बेलायतमा राजा चाल्र्स प्रथमको टाउको काटियो । सन् २००१ जुन १ मा नेपालका राजा वीरेन्द्रको वंशनाश गरियो । ज्ञानेन्द्र राजसिंहाशनबाट गलहत्तिए । एघारै वर्षपछि बेलायतमा पुनः राजतन्त्र ब्युँताइयो । चाल्र्स द्वितीयले टुहुरो भएपछि दुःख भोगेझैँ हाम्रा ज्ञानेन्द्र पनि जीवनको कटु अनुभवहरू भोगेर व्यावहारिक भएहोलान् । फेरि राजा हुने मौका पाए भने राम्रै गर्छन्  कि ?’
‘खै दाइ, म त त्यस्तो सम्भावना पटक्कै देख्दिनँ ।’
‘यौन र प्रेमबारे बैनीको विचार ?’
‘जीवनका लागि दुवै आवश्यक छन् ।’

‘यौन त क्याच्च मोबाइलको स्विच अन गर्दा पनि धेरै बुझ्न सकिन्छ । प्रेमलाई कसरी बुभ्mनु हुन्छ ?’
‘अस्ति असारको मध्यतिर मेरी सङ्गीनीले फेसबुकमा लेखिन्, ‘प्रेमको अर्थ तिमीसँगै बुझेँ, बाँचुञ्जेल भुल्दिनँ !’ यसले मलाई निकै गम्भीर बनायो । दुई तीनवटी स्वास्नी बटुल्ने मरिसकेका श्रीमानलाई ऊ किन यति प्रेम गर्छे ? मलाई लाग्यो, बाँचुन्जेल उसको श्रीमान्ले उप्रतिको कर्तव्य पूरा गरेछ । प्रेम र कर्तव्य एकअर्काका पूरक रहेछन् । यसैले हाम्रा पुर्खाले उखान बनाएछन्, ‘छोड्नेसितको नाता मर्छ, मर्नेसितको नाता मर्दैन ।’ 
‘अरू क्यै थपुँ ?’
‘पर्दैन दाइ !’ मैले गिलासको पानी रित्याएँ ।
‘बैनी, अलि फिल्महरू हेर्नोस्, सञ्जु त हेर्नैपथ्र्यो .....।’
‘दाइले फूलमाया फिल्म हेर्नुभो ?’ मेरो प्रतिप्रश्नमा ऊ अलि हच्क्यो ।
‘अहँ, के नेपाली फिल्म हो ?’  

‘हो, तपाईंहरू ‘आमालाई बेच्नु हुँदैन लाटा’ पढ्नु हुन्छ । फिल्म बनाउनु होला तर सन्तान बेच्नु हुँदैन भन्नेमा उति चनाखो हुनुपरेको छैन ।  किनभने आमाले सन्तान बेच्दिनन् । पोखराबाट काठमाडौँ पुगेकी फूलमायाले सारा मिडियासँग खुलेर भनिन्, ‘मैले सात हजारमा छोरी बेचेँ !’ यस्तो फिल्म पनि हामीले हेर्नुपर्छ दाइ, समाज उन्नतिको काम फूलमायाबाटै थाल्नुपर्छ नत्र व्यवस्था फेरिन्छ, जनताको अवस्था फेरिँदैन ।’

म उठेँ, आँखामा झलल्ल फूलमाया आइन् । लङ्गडी र मगन्ती फूलमाया गर्भवती भइरहन्छिन् । यौनविकृत मानसिकताका पुरुषहरुले नै तिनलाई गर्भधारण गराउँछन् । लाग्छ, यस्तै मान्छेहरूले ५, १० रुपियाँको कमाइ बटुल्न फूलमायालाई बोक्छन्  । यस्तै मान्छेहरूले करोडौँ कुम्ल्याउन गङ्गामायालाई बोक्छन्, अनि न्यायको अवसान भइ नै रहन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मला न्यौपाने
निर्मला न्यौपाने
लेखकबाट थप