बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अढाई दशक गुफामा बस्नेको अद्भूत कथा

शनिबार, २६ साउन २०७५, १३ : ४२
शनिबार, २६ साउन २०७५

कुसुम भट्टराई
 

    सन् १७६४ को प्रसंग । रुसमा जारकी पत्नी यकातेरीना द्वितियाले बर्लिनका एक व्यापारीसँग २२५ वटा चित्रहरुको संग्रह किनेर दरबारमा ल्याइन् । राजधानी पिटर्सबर्गको शीत प्रासाद (वीन्टर प्यालेस)को शान्त भवनमा ती चित्रहरु टाँगिए । त्यो भागलाई फ्रान्सेली भाषाको शब्द प्रयोग गरेर ‘हर्मिताज’ नामाकरण गरियो । हर्मीताजको अर्थ हो, आश्रम । ‘हर्मित’ भनेको जोगी, जोगीको आश्रम हर्मिताज । 
  

 हर्मिताजको अवलोकन गर्न त्यसबेला राजपरिवारका सदस्य र उनका पाहुनाले मात्र पाउँथे । १७ फरवरी १८५२ मा आएर मात्र सबैका लागि हर्मिताजको ढोका खोलियो । अहिले त हर्मिताज संग्राहलय विन्टर प्यालेसका ६ वटै भवनमा फैलिएको छ र बितेका डेढ सय वर्षमा त्यहाँ विश्वभरिका अनेकौं कला संग्रह गरिएको छ । यसमा विश्व संस्कृतिका लगभग तीस लाख स्मारक राखिएका छन् । त्यो ग्यालरी कति विशाल छ भने एक दुई दिनमा घुमेर सकिँदैन । पूरै एक महिना घुम्यो भने मात्र सबै  ग्यालरीमा पुग्न सकिन्छ । त्यो विश्वकै ठूलो ग्यालरी हर्मिताजमा पुग्दा नेपाली कलाकार मनुजबाबुमा पनि आश्चर्यको कुनै सीमा रहेन । 
    
अब खलिन जिब्रानको कुरा गरौं । उनी विश्वप्रख्यात साहित्यकार र चित्रकार । लेबनानको बथरी नगरमा ६ जनवरी १८८३ मा एक सम्पन्न परिवारमा जन्मिएका जिब्रान १२ वर्षको उमेरमै माता पिताका साथ बेल्जियम, फ्रान्स, अमेरिका आदि देशमा घुम्दै १९१२ मा न्यूयोर्कमा स्थायी बसोबास गर्न थाले । उनी बोस्टन नगरमा अढाई वर्षसम्म बालबालिकाको पब्लिक स्कूलमा पढे । त्यसपछि एक रात्री स्कूलमा एक वर्ष पढेर उनले लेबनानको ‘मदरस्तुल हिकमत’ नाम गरेको स्कूलमा बाँकी अध्ययन पूरा गरे । 

    कलाकार मनुजबाबु मिश्रले २००६ सालमा एकै वर्ष परिवारका सात सदस्य गुमाएका थिए । खलिलको पनि उस्तै व्यथा रहेछ । सन् १९०२ ताका खलिल जिब्रानले पनि आफ्नी बहिनी, भाइ र आमालाई गुमाएका रहेछन् । करिब एक वर्षभित्र परिवारका तीन सदस्यको निधनले जिब्रानमा शोक छायो । त्यो शोकले उनलाई आत्मकेन्द्रीत बनायो र त्यसले उनलाई कलातर्फ डो¥यायो । 
सन् १९०८ मा उनले पेरिसको फाइन आर्टस् एकेडमीमा मूर्तिकलाको शिक्षा प्राप्त गरे । अनि, आजीवन चित्रकला, मुर्तीकला र साहित्यको सेवामा बिताए । 

    मनुजबाबु जब लेबनानमा खलिल ज्रिबानको निवासमा पुगे, त्यो ग्यालरीमा पुग्दा उनी छक्क परेका थिए । जिब्रानका कलाकृति देखेर मनुजबाबु निकै प्रभावित भएका थिए । जिब्रानको साहित्यले भन्दा पनि उनका कलाले मनुजबाबुलाई बढि आकर्षित गरेको रहेछ । ती महान् कलाकारको निवासको नाम पनि ‘हर्मिताज’ नै रहेछ ।

 
  

 अर्का जर्मन लेखक गुन्टर ग्रास (हाल दिवंगत)ले सन् १९९९ को नोबेल पुरस्कार जिते । मनुजबाबुझैं गुन्टर ग्रास पनि कवि, उपन्यासकार, निबन्धकार, नाटककार, जिवनीकार, मुर्तिकार, चित्रकारलगातका  सकेजति विधामा हात हाल्ने । मनुजबाबुले झैं उनले पनि आफ्ना धेरै किताबका कभर आफैले डिजाइन गरेका रहेछन् । ‘द टिन ड्रिम’, ‘क्याट एन्ड माउस’, ‘डग इयर्स’, ‘टु फार अफिल्ड’, ‘पिलिङ द ओनियन (जीवनी), ‘हवाट मस्ट बी सेड’ (कविता संग्रह)का सजर्क गुन्टरलाई भेट्ने धोको थियो, मनुजबाबुको । त्यसका लागि उनी जर्मनीको म्याकलिनवर्गको लुवेक शहरस्थित गुन्टरको घरमै पुगेका थिए । तर, भेट हुन सकेन । बहुमुखी प्रतिभाका धनि ती कलाकारको घर पनि ग्यालरीजस्तै थियो र जसको नाम थियो– हर्मिताज । 

    विश्वकलासँग आफ्नो साइनो जोड्ने एउटा उपयुक्त सेतु बन्यो, मनुजबाबुका लागि हर्मिताज शब्द ।
 अनि त उनले पनि आफ्नो निवासलाई पनि कला संग्राहलयकै रुप दिएर नाम राखे, हर्मिताज । 

हुन त २०४६ सालदेखि २०७२ सालको वैशाखसम्म मनुजबाबु फरक–फरक भवनमा बस्दै आए । तर जुन भवनमा सरे पनि उनले ‘हर्मिताज कला कुटी’ साथै लिएर गए ।
  

 २०४६ सालपछि मनुजबाबु गुफा पसे । उनले घरबाट बाहिर ननिस्कने प्रण गरे । अब उनी एकान्तमा सिर्जना गर्ने र अरुलाई पनि कलाको ज्ञान दिने काममा लाग्न थाले । विश्वविद्यालयमा छँदा नै उनमा कला क्षेत्रमा काम गर्ने एउटा स्वतन्त्र संस्थाको आवश्यकता महशुस भइरहेको थियो । राजनीतिकरण र बेथितिले भरिएको विश्वविद्यालयबाट उम्किएर फेरि कला आकाशमा स्वतन्त्र कावा खान चाहन्थे उनी । तर, त्यसका लागि अरुसँग हारगुहार गर्नुभन्दा आफ्नै पहलमा केहि गर्ने सोच बनाए र आफूसँग पुख्र्यौैली सम्पत्तिका रुपमा रहेको बौद्धको तीन रोपनी जमिन बेचेर उनले पुख्र्यौली घरभन्दा केहि पर २०४६ सालतिरै एउटा भव्य घर निर्माण गरे । त्यो घर उनको कला सपनाको उन्नत बिपना थियो । त्यो १९ कोठे घरको सबैभन्दा माथिल्लो तलामा ठूलो हल थियो । ४० फिट लम्बाई र १४ फिट चौडा । त्यसैलाई उनले ‘हर्मिताज’ नामाकरण गरेका थिए । 

    हर्मिताजलाई उनी सर्जकहरुको आश्रम बनाउन चाहन्थे । हर्मिताज सपना उनको उपन्यास ‘स्वप्न सम्मेलन’मा पनि व्यक्त भएको छ । 

उपन्यासको उनको हर्मिताजमा किरात राजा यलम्बर, अरनीको, सेक्सपियर, महाकवि लक्ष्मी प्रसाद देवकोटा, अरस्तु, फिडियस आदि महान् आत्माहरुको भेला भइरहन्छ र उनीहरु कला, विज्ञान, संस्कृति र सौन्दर्यका बारेमा बहस गरिरहन्छन् । राज्यले उपेक्षित गरेका या समूदायहरुले मूर्ति र सालिकमा सीमित गरेर कैदीझैं बनाएका ती महान् ‘सुकुम्बासी कलाकार आत्मा’हरुको आश्रय थलो अर्थात् स्वप्न कुटी थियो, हर्मिताज । 

महात्मामण्डलमा रहेका आत्माहरुको जक्सन थियो, हर्मिताज । उनी यस पृथ्वीलोकमा पनि हर्मिताजलाई कला, साहित्य र संगीतको त्यस्तै केन्द्र बनाउन चाहन्थे । 

    हर्मिताजको मुख्य उद्देश्य थियो, कलाअनुरागी र प्रतिभासम्पन्न विद्यार्थीलाई निःशुल्क कला शिक्षा प्रदान गर्ने, साहित्य, कला र संगीतसँग सम्बन्धित कार्यक्रमका लागि कला ग्यालरी निःशुल्क उपलब्ध गराउने,  विदेशका कुनै नाम चलेका कलाकार आउँदा निःशुल्क बस्न र कलाभ्यास गर्न दिने, विदेशीका लागि एक महिनाका लागि पाहूना कक्ष उपलब्ध गराउने । भान्छा, डायनिङ, ट्वाइलेट, बेड र फर्निचर भएको र लबिपनि भएको त्यस्ता तीनवटा अतिथि कक्ष बनाइए । त्यो पनि युरोपियन शैलीमा । 
 

   अर्को उद्देश्य थियो, किराती (तामाङ, शेर्पा, राई र लिम्बु) कलाको पुनरुत्थानको पहल । किरातले यो देशमा लामो समय शासन गरेका थिए । त्यस अवधिमा यलम्बरदेखि गस्तीसम्म २९ जना राजाले राज्य गरे । एउटै वंशका २९ जना राजाले राज्य गरेको इतिहास अरु कसैको छैन । लिच्छवी, मल्ल, शाह वंशको त्यति लामो शासन भएन । २९ जना राजाले शासन गरेको ठाउँमा कलाको कति विकास भयो होला ? त्यो अहिले कहाँ छ ? पक्कै पनि राजा भएको ठाउँमा राजदरबार हुन्छ, राजाले पूजा गर्ने देउताको मन्दिर हुन्छ, राजाको देउता र जनताको देउता फरक हुन्छ । भाइ भारदार हुन्छन् । तिनका घर हुन्छन् । त्यो इतिहासमा कतै ‘मेन्सन’ गरिएन । किरात भएकाले नलेखिएको हुनसक्छ । किनकी इतिहास त जित्नेले लेख्ने हो । जातीयताका कारण पनि हुनसक्छ या पछिका कला संस्कृतिसँग उनीहरुको कला संस्कृतिलाई मिसाइएको पनि हुनसक्छ । 

    किरातको सातौं पुस्तासम्म किरातकै रगत हुन्छ । त्यसैले किराती विद्यार्थीलाई कलाकार बनाउने हो भने उनीहरुको हराएको कला पुनरुत्थान हुनसक्छ भन्ने सोच बनाए, मनुजबाबुले । उनले राई, लिम्बु, तामाङ र शेर्पा समुदायबाट कलामा रुचि राख्नेहरुलाई निःशुल्क पढाउन थाले । विद्यार्थीको संख्या बढ्दै गयो । बीस पच्चीस जना भए । पछि त अरुले पनि पढाउनुप¥यो भन्न थाले । विद्यार्थी ४० जनासम्म पुगे । 
    उनले हर्मिताजको कक्षामा ठिमीबाट किनेर ल्याएर लामो लामो सुकुल ओछ्याएका थिए ।  त्यो देखेर कोहि दयालु आएर भन्थे, ‘यहाँको फर्निचरको व्यवस्था म गर्छु ।’ कोहि ‘कुसन म पठाइदिन्छु’ भन्दै आए । मनुजबाबु भने कसैको सहयोग लिनै नमान्ने । उनले विद्यार्थीका अभिभावकलाई भने, ‘यहाँ जे छ, त्यसैमा सन्तुष्ट हुनुहुन्छ भने मात्र पढ्न पठाउनुस् ।’ अरुबाट सहयोग र सुविधा लिनेतिर उनी गएनन् । कक्षा पनि निःशुल्क । त्यो क्लास थोरै समयमै प्रख्यात भयो । भक्तपुरका विद्यार्थी पनि आउन थाले । बाहुन, क्षेत्री, नेवारले पनि अनुरोध गर्न थाले । त्यसरी भर्ना गर्न थाल्दा ४ सय विद्यार्थी हुन जाने भए । अनि उनले तीस जनाभन्दा बढी बिद्यार्थी भर्ना नलिने सूचना जारी गरे । तर कला अनुरागीहरुसँग भावनात्मक सम्बन्धका कुराहरु आए ।

 उनले हार्नै नसक्ने पात्रहरु आए । विद्यार्थीको संख्या बढ्दै गयो । धेरैलाई सिकाउँदा सिकाउँदा उनी त शिथिल पो हुन थाले । आम्दानी कतैबाट छैन, निःशुल्क संचालन गर्नुपर्ने । विद्यार्थी गएपछि शौचालयदेखि ग्यालरीसम्म आफैंले सफा गर्नुपर्ने । 
  

 अवस्था कस्तो हेर्नुस् त । एकातिर यो देशको मुर्धन्य कलाकार आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर कला विद्यालय निर्माण गरी निःशुल्क कक्षा संचालन गरिरहेको छ, प्राचीन ऐतिहासिक किरात कलाको पुनरुत्थान गरेर मुलुकको मौलिक कलाको श्रीवृद्धि गर्ने जाँगर देखाइरहेको छ, उता देशको कला निकाय, शैक्षिक निकाय, शासक, प्रशासक सत्ताको चाकडीमा लिप्त छन् । नेपालजस्तो विविध जाति, धर्म, भाषा, संस्कृति र प्राचिन परम्परा भएको, शाक्त र शैव धर्मावलम्बीहरुको मुहान, सनातन धर्मको आदि थलो, शिव र बुद्धको तपोभूमि, आदिम मानव सभ्यताको एउटा केन्द्रले परम्परादेखि आजसम्म विकास भएका कलाको खोज, अनुसन्धान र संरक्षण गर्नुपथ्र्यो । 

स्कुलतहदेखि कला शिक्षालय हुनुपथ्र्यो । उच्च तहमा कला कलेजहरु खोलिनुपथ्र्यो । त्यतातर्फ नेताहरुलाई कुनै चासो थिएन । ‘सर्पहरु गीत सुन्दैनन्’ भने झैं उनीहरुले कलाको मर्म नै बुझिरहेका थिएनन् । 
त्यस्तोमा मनुजबाबु एक्लै हर्मिताजमा शिक्षा दिइरहेकै थिए, भिडिरहेकै थिए । 
  

 २०५४–२०५५ सालतिर उनको त्यो हर्मिताज सपना पनि भताभुंग भयो । उनी संसारमा थिए, संसारभित्रको गृहस्थीमा थिए, परिवारको मोहको बन्धनमा थिए, कर्मको सनासोले उनलाई च्यापेको थियो, त्यसबाट फुत्त भागेर आफ्नो सपनाको महल सजाउन पनि त उनले कहाँ पाउँथे र ? छोराहरु ठूला भइसकेका थिए । दाजु भाइको जात । त्यही अंशका लागि कौरव र पान्डव दाजुभाइबीच त्यत्रो महाभारत भयो । पाण्डवले बसबास जानुप¥यो । आफ्ना छोराहरु पनि पछि अंशका लागि कलहमा नफसुन भनेर होला, उनले छोराहरुलाई यथोचित समयमै सबैलाई चित्त बुझाएर अंशबण्डा गरिदिए । 
हर्मिताज भएको एक रोपनी जमिनसहितको १९ कोठे भवन जेठा छोरा रवीन्द्र मिश्र (विवेकशील साझा पार्टीका संयोजक) र पुख्र्यौली दुई तले भवनसहितको दुई रोपनी जमिन कान्छा छोरा रोशन मिश्रलाई भाग लगाइदिए । कलाकार भएर मात्र उनले सुख पाउनेवाला त थिएनन् । उनी कसैका पति थिए, कसैका दाइ थिए अनि कसैका पिताजी पनि थिए । 

पिताको अन्तिम व्यवहारिक र कानूनी भूमिका पनि उनले बखुबी निर्वाह गरिदिए । 
    हरेक नयाँ पुस्तालाई आफ्नै तरिकाले जीवन जिउने चाहना हुन्छ । पुस्तान्तरको भेद रहिरहन्छ । जेठा छोरा रवीन्द्र आफ्नो भागमा पाएको ‘हर्मिताज’ बेचेर भैंसेपाटीतिर सरेछन् । मनुजबाबुलाई त्यसले बडा चोट पु¥याएछ । उनलाई आफ्नो सपना, भावना नै बेचिएजस्तो भएछ । पेन्टिङ बिक्दा चित्त दुख्दैनथ्यो, तर हर्मिताज बेचिदा दिल दुखेछ । उनले छोरालाई त्यो नबेच्न आग्रह गरेकै थिए । तर हरेकको जीवन जिउने आफ्नै रहर, शैली र प्राथमिकता हुने गर्छन् ।

 मनुजबाबु र रवीन्द्रको मात्र हैन, पुस्तान्तरले सिर्जना गर्ने मतभेद हरेक परिवारमा हुँदोरहेछ । 
  

 खासमा क्रम विकासको सिलसिला हुनुपथ्र्यो, अघिल्लो पुस्ताले दशौं तहसम्म पु¥याएको चिजलाई अर्को पुस्ताले बाह्रौंतहसम्म पु¥याउने । विकासको अर्थ यो होइन कि अघिल्लो पुस्ताले दशसम्म पु¥याएकोलाई समुल नष्ट गरेर नयाँ शिराबाट एकबाटै फेरि सुरु गर्ने । अघिल्लो पुस्ताको कुरा परिमार्जन गर्दै अघि बढ्नु नै विकास हो । तर नेपालमा त मनुजबाबुको पुस्ताले गरेको कुरालाई ‘बुढाले गरेको भएन’ भनेर भत्काउने प्रवृत्ति छ । हरेक छोरो आउँछ, बाउले बनाएको भताभुंग पार्छ र नयाँ बनाउँछ । सरकारमा पनि अघिल्लो नयाँ मन्त्री आउँछ, उसले अघिल्लो मन्त्रीले गरेको काम मेटाइदिन्छ । त्यस्तो प्रवृत्तिले गर्दा हामी जहाँको तहीँ हुने मनुजबाबुको ठहर छ । 
                                
    ‘पहिलो हर्मिताज’ भवन जेठो छोरालाई अंशमा दिएपछि मनुजबाबुले पुख्र्यौली घरनेरको गाइको गोठ रहेको टहरोलाई डेन्टिङ पेन्टिङ गरेर आफ्नो जोगी कुटी अर्थात दोश्रो हर्मिताज खडा गरे । कुटीमै बाथरुम, वासरुम, चिया पकाउन मिल्ने केतली र बेडको व्यवस्था थियो । साँच्चीकै त्यो जोगीकै कुटीजस्तै थियो । दुई दशकसम्म उनी त्यही कुटीमा रहे । कला सिर्जना गरे । त्यो कुटीमा रहँदाको अवधि नै उनका लागि बडा स्वर्णीम अवधि बन्न पुग्यो । उनले त्यही कुटीमा कलाको ओथारो बसेर सिर्जनाका धेरै अन्डा पारे, कोरले । 
 

   हुन त त्यो कुटी सुविधा सम्पन्न थिएन । कहिले रसाउँथ्यो, कहिले चुहिन्थ्यो । वर्षामा भिजेका गाह्राहरु कुनै पनि बेला भत्किने हो कि भन्नेभय छाइरहन्थ्यो, उनको मनमा ।  ‘हर्मिताजको छानो’ शीर्षकको निबन्धमा उनले त्यसबारेमा विस्तृत लेखेका छन् । भित्रि छत त निकै दयनिय थियो । थोत्रा जुटका टाट, भकारी, मान्द्रो, गुन्द्री, सिमेन्टको धोक्रा, प्लास्टिकका टुक्रा र पुराना तन्नाका टालाटुलीले टालिएका हुन्थे । गर्मीमा उखरमाउलो गर्मी, जाडोमा छानोको जस्तापाता चिसिएर फ्रिजमै बसेजस्तो कठयांग्रिने जाडो ।

पुरानो टायलले छाइएको गाइ बाँध्ने त्यो गोठलाई अलि विस्तार गरी उनले छानामा जस्तापाता राखेका थिए । हुन त त्यसबेला मनजुबाबुले दाइ भनेर मान्दै आएका जनकलाल शर्माले सलामी परेका धुरीका दुबै पाटामा एक–एकवटा हरियो पारदर्शी जस्तापाता हाल्ने सल्लाह पनि दिएका थिए । बजारमा हरियो पाइएन, सेतै ल्याएर हालियो । सेतो जस्तापाताले उज्यालो प्रशस्त दिए पनि बाहिरको तापक्रमलाई भित्र दुई गुना बढाएर पठाउँदोरहेछ । गर्मी र जाडोबाट बच्न उनले भित्रपट्टीबाट जस्ताको पारदर्शी भागलाई टाटका टुक्राहरु गाँसेर छोपिदिए । भयो के भने जस्ता र टाटको बीचको भागमा पछि मुसाले वस्ती नै बसाएछन् । मनुजबाबु त्यो छाप्रोमा एक्लै सुत्थे । जब रात पथ्र्यो, एकान्तमा घरको धुरीमा गड्यौला वा भमरा खस्यो भने पनि इराकमा अमेरिकाले स्कड र पेट्रोइट मिसाइल खसाए झैं आवाज आउँथ्यो । मनुजबाबु झस्किएर जाग्थे । मुसाको आवाजले त्यस्तै सास्ती । वर्षा याममा पानी पर्दा त्यो जस्ताको छानोको आवाजले कोठामा आफैंले बोलेको आफंैले नसुन्ने अवस्था सिर्जना हुन्थ्यो । 

    बीचबीचमा उनी कला प्रदर्शनीका क्रममा युरोपतिर जाँदा पत्नी रमलालाई आफ्नो कुटीमा सुतिदिन र संग्राहलयको हेरबिचार गरिदिन भन्थे । तर, जस्ताको होहल्ला, मुसाको भागदौडका कारण रमला त्यो छाप्रोमा सुत्न सक्दिनथिन् । जब उनी स्वदेश फर्कन्थे, आफ्नो कुटीमा छिर्दा देख्थे, चारैतिर मुसाकै साम्राज्य विस्तार भएको । दोश्रो पटक युरोप भ्रमणबाट फर्कँदा उनको हैसियत ‘रोयल एक्ज्यूकेटिभ क्लास’बाट विमानमा भ्रमण गर्ने खालको थियो, घर आउँदा भने उनी आफ्नो झुप्रोको हिलो सम्याउने बाउसेमा परिणत हुन्थे । उनले त्यसबेला आफ्ना ¥याकमा वर्षेझरीको पानी पसेको र गाह्रो भत्किनका लागि कोण बदलिसकेको पाउँथे । अनि कोठा सफा गर्ने र गाह्रो ठिक ठाउँमा ल्याउने काममा  आफंै जोतिन्थे । 
 

   हर्मिताजको त्यो चुहिने छानो बदल्दाको क्षणबारे उनले निबन्धमा यसरी लेखेका छन्, ‘मेरा लागि हर्मिताजको छानो बदल्नु सजिलो कुरा थिएन । यसभित्र आफंैलगायत धेरै बौद्धिक वर्गलाई मिठो लाग्ने थुपै्र पौष्टिक पदार्थहरु थिए तर धेरैका लागि बेकारका कलाकृति एवं पुरातात्विक वस्तु पनि थिए । धुरी मर्मत गर्ने क्रममा सुत्ने ओछ्यानलगायत सम्पूर्ण सामान लगेर बगैंचामा थुपार्नु परेको थियो । झन्डै दश दिनसम्मको छानो फेर्ने प्रक्रियामा चार रात म पूर्ण रुपले छानोबिनाको बनवासी बनमान्छे बन्न पुगेको थिएँ । धुलैधुलोले पुरिएको ओछ्यानमा के निद्रा लाग्थ्यो ? खुला आकाशभित्रका चमत्कारी चहलपहल र विचित्रानुष्ठानमा आँखा गाडेर नै रात छर्लंग भइदिन्थ्यो ।’ 
    
बेला बेलामा बगैचाले भरिएको र कलाहरुले सजिएको त्यो संग्राहलयमा कला प्रदर्शनी हुन्थे । एकपटक ‘गार्डेन एक्जिविसन’ पनि भयो । त्यसबेला उनको कला प्रदर्शनीका बारेमा नेपाल टेलिभिजनका लागि जीवनाथ धमलाले वृत्तचित्र पनि बनाए । उता नेटिभीकै कविताराम श्रेष्ठ पनि आफैंले क्यामराम्यान लिएर आए । त्यो एक्जिविशन सकिएपछि मनुजबाबुकै जीवनीमा आधारित उनी आफैंले लेखेका ‘मेरो कथाका कथाकार’ शीर्षकको पुस्तक पनि सबैलाई बाँडिएको थियो । 

    हो, गुफा पसेपछि उनका धेरै मौका गुमे । उनलाई विश्वविद्यालयमा डिनदेखि क्याम्पस चिफसम्मको प्रस्ताव आएको थिए, तर उनी जागिर खान गएनन् । जागिर नखाने, कतै नियुक्तिमा नजाने सोच बनाइरहेका मनुजबाबु समक्ष २०५१ सालतिर एकाएक प्रज्ञा प्रतिष्ठानबाट प्रज्ञा परिषद्मा बस्नुप¥यो भनेर आग्रह आयो । प्रज्ञामा उपकूलपति मदनमणि दीक्षितको टोली बन्दैथियो । प्राज्ञ बनिदिन तात्कालिन मन्त्री गोविन्दराज जोशीले पनि उनलाई निकै अनुरोध गरे । एक दिन उनले मदनमणि दीक्षितलाई स्पष्ट शब्दमा भनिदिए, ‘प्राज्ञ भएर म बस्दिन । नाउँ जहाँ जहाँ राख्नुछ राख्नुस्, तर म यो ढोकाबाट बाहिर जान्न । म यो ढोकाबाट बाहिर ननिस्कने किरिया हालेर बसेको हुँ, त्यसैले म जान्न ।’ आखिर प्रज्ञा परिषदमा उनको नाम आयो, धेरैले बधाई दिए । पछि प्राज्ञसभामै राखे । त्यसबेला पनि मनुजबाबु प्रज्ञा प्रतिष्ठान गएनन् ।
 

   पाँच वर्षमा उनले एक पटक प्रज्ञा प्रतिष्ठानमा पाइला हालेनन् । एक पटक आँगनसम्म पुगेका रहेछन् । त्यो पनि अर्कै कामका सन्दर्भमा । पश्चिमाञ्चलमा निबन्ध गोष्ठी हुँदैरहेछ । रमेश विकललाई उनी ‘दाइ दाइ’ भन्ने । एक दिन विकलले सोधे, ‘बाहिर टुरमा जाने हो ?’ धनुषचन्द्र गौतम र जनकलाल शर्माका साथ जाउँ भनेर उनले गरेको आग्रहलाई मनुजबाबुले हार्न सकेनन् । ‘हुन्छ जान्छु’ भने । त्यसकै लागि मोटर चढ्न उनी प्रज्ञाप्रतिष्ठान अगाडिको चौरसम्म पुगेका रहेछन् । त्यहीँबाट गाडी चढेर महेन्द्रनगर गए, निबन्ध प्रतियोगितामा सहभागी भए । त्यसबाहेक उनी धरानमा स्वामी प्रपन्नाचार्यको मुर्ती अनावरण गर्न गए । धरानबाटै विशेष अनुरोध आएकाले मदनमणि दीक्षित, नगेन्द्रराज शर्मा र मनुजबाबुको टोली गएको थियो । यी दुई कार्यक्रमबाहेक उनी आफ्नो हर्मिताजबाट कहिँ गएनन् । घरमा बस्दाको फाइदा के भयो भने नीजि काम धेरै गरे । चित्र धेरै बनाए, किताब लेखे । 
 

   अब मनुजबाबुको जीवनमा अर्को नमिठो पल आउँछ । त्यतिका वर्षसम्म बसेको कला कुटी भत्किने खण्ड खातिर आइलाग्छ । कान्छा छोरा लन्डनबाट फर्किएपछि उनले त्यहाँ आफ्नो लागि आधुनिक शैलीको घर बनाउने सुर कसेपछि मनुजबाबुको त्यो कलाकुटी पनि भत्काइन्छ । यो चाँही २०७१ सालको उत्तरार्धको प्रसंग हो । त्यतिबेला पनि उनको मन कुँडिएको थियो । रोएको थियो । पुराना भत्काउने र नयाँ बनाउने नयाँ पुस्ताको संस्कारको चपेटामा त्यो सिर्जनाको मन्दिर पनि प¥यो । 
  

 त्यसपछि उनी केहि महिना पुख्र्यौली घरको साँघुरो कोठामै बसे । त्यो उनको तेश्रो हर्मिताज, कला कुटी थियो । हुन त जीवनमा हर्मिताजका छाना चुहिदा उनी कतिपटक बनमान्छे झैं खुला आकाशमै रात काटेका मानिस । साँघुरो, अँध्यारो, अप्ठयारो, असजिलो, आराम नभएको ठाउँले नै के फरक पाथ्र्यो र ? कस्ता कस्ता कष्ट र संकट भोगेको, विपत्ति देखेका, युद्धदेखि प्राकृतिक विपत्तिका विभत्स दृश्य देखेका मनुजबाबुलाई आफ्नो जीवनमा आउने उतारचढाव सामान्य लाग्दै आए । 
 

   २०७२ साल वैशाख १२ गतेको महाभूकम्प जाँदा उनी त्यही अँध्यारो कोठामा स्केच कोरिरहेका थिए । उहि नियमित कोर्ने स्केच । एकाएक हल्लिन थाल्यो । उनी भागेर बाहिर आए । धन्न भूकम्पमा उनको पुरानो र नयाँ दुबै घर सुरक्षित रहे । भूकम्पकै दिनदेखि उनी त्यहाँबाट सरेर कान्छा छोराले बनाएको आधुनिक सुभ्र भवनको पहिलो तलामा सरे । अब बाँकी जीवन त्यही नै उनको हर्मिताज भयो । 

उनको पछिल्लो हर्मिताज सुविधासम्पन्न भए पनि मनुजबाबुको दिमागबाट त्यो छाप्रोवाला हर्मिताजको मोह विम्ब अझै हटन सकेन ।  तैपनि नयाँ हर्मिताजमा अन्तिम समयसम्म कला कोर्न घात्लिइरहे ।  
    मनुबाबुले हजारौं स्केच बनाए । तैल चित्र बनाए । ती चित्रहरु यतिबेला भिल्लको देशका मणि झैं भएका छन् । उनको कलाकुटी हर्मिताजमा विदेशीहरु कहाँ कहाँबाट चित्र हेर्न आउँछन्, तर स्वदेशमा भने त्यसको कुनै कदर छैन । मनुजबाबुका धेरै चित्रहरु जर्मनी, इटली, फ्रान्स, डेनमार्क, ग्रीस, अमेरिका र जापानसम्म पुगेका छन् । उनले प्रकृतिको अध्ययनतर्फ बढी झुकाव राखे भने मान्छेको अनुहार चित्र पनि धेरै बनाए । उनले युरेपेलीहरुका सयौं मुहार चित्र बनाए । उनले कसैको पनि मुहार चित्र फोटो हेरेर बनाएनन् । जे जति मुहार चित्र बनाए, सम्बन्धित पात्रलाई आफू सामुन्ने राखेर नै बनाए । 

    मनुजबाबुको कलाको महत्ताबारे चर्चित पत्रकार, टेलिभिजनकर्मी जीवनाथ धमलाले आफ्नो पुस्तक व्यक्ति–व्यक्तित्वमा लेखेका छन्, ‘चित्रकला–साधना मनुजबाबुको आफूलाई पोख्ने माध्यम अटुट रुपमा रहेकै छ । वर्तमानसम्म आइपुग्दा उहाँलाई यो राष्ट्रले कति चिन्यो त वा, कति चिन्न बाँकी छ, त्यसलाई उल्लेख गर्नु आवश्यक नहोला, तर सम्भवतः यो देशले भन्दा धेरै उहाँलाई विदेशले चिनेको छ ।

वास्तवमा जहाँ कलाको पूजा हुन्छ, त्यहाँ स्वतः कलाकार पूजिएको हुन्छ । जहाँ कुनै पनि सिर्जनालाई श्रद्धाभन्दा बढी उपेक्षा गरिन्छ, त्यहाँ स्रस्टा पनि ओझेलभित्रै बस्न चाहन्छ । अझ कलाकारको हृदयलाई निश्छल परिवेश चाहिन्छ, अनि मात्र उ त्यहाँ अडिरहन मन पराउँछ । कलाकार एउटा देशले जन्माएको हुन्छ, तर उसका जीवन्त कलाकृति मानव मात्रको साझा सम्पत्ति बन्दछन् । 

मनुजबाबुका चित्रहरु देशका संग्रहालयहरुमा पनि केही होलान्, तर ग्रीस, इटाली, जर्मनी आदि देशका संग्रहालयहरुमा भने धेरै हुन सक्छन् ।’ 

    साहित्यकार कृष्णचन्द्रसिंह प्रधानका शब्दमा मनुजबाबुको हर्मिताज गुप्तबास एउटा तपस्या नै हो ।         
मनुजबाबुजस्ता उर्जाशील सर्जक पाएर नेपालको साहित्य र कला दुवै क्षेत्र समृद्ध भएका छन् । यी दुबै क्षेत्रमा गर्व गर्न लायक उच्च प्रतिभा हुन्, मनुज ।’


(भट्टराई साउन २३ मा निधन भएका मनुजबाबुको जीवनीमा आधारित पुस्तक ‘हर्मिताज’ का लेखक हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप