मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रोशनीले सडक झिलिमिली, उद्यमी रोशनको जिन्दगी पनि

आइतबार, २७ साउन २०७५, १० : १६
आइतबार, २७ साउन २०७५

खल्तीमा जम्मा ७ हजार ५ सय रुपियाँ थियो । व्यावसायमा गर्न पर्याप्त पैसा नभए पनि उनमा देशमै केही गरेर देखाऔँ भन्ने सपना थियो । त्यही सपनालाई यथार्थमा बदल्ने अठोटका साथ उनी सानो लगानीबाट विज्ञापन र सप्लायर्स व्यावसायमा होमिएका थिए । उनी अर्थात् रोशन श्रीवास्तव– जो सिर्जनात्मक सोच, निरन्तरको मिहिनेत र लगनशीलताले आज एक स्थापित युवा उद्यमीका रूपमा दरिएका छन् ।

रोशन सार्वजनिक निजी साझेदारी अवधारणामार्फत काठमाडौं महानगरपालिकाका सडक झिलिमिली बनाउने अभियानका एक हस्ती हुन् । महानगरभित्रका सौर्यबत्तीमा मात्रै उनको कम्पनीले ५२ करोड रुपियाँ लगानी गरेको छ । 

जम्माजम्मी ७ हजार ५ सय रुपियाँ लगानीबाट व्यवसाय सुरु गरेका रोशन आज करोडौँको कारोबार गर्ने हैसियतमा पुगेका छन् । घर, गाडी र चैनको जिन्दगी जिउने बनेका छन् । आखिर उनी कसरी सफल भए ? रोशन भन्छन्, ‘सफलताका लागि स्पष्ट भिजन चाहिन्छ । म गर्न सक्छु भन्ने इच्छाशक्ति र आँटेको काम गरेरै छाड्ने आत्मविश्वास भए ढिलो–चाँडो सफलता नजिक पुग्न सकिन्छ ।’

त्यही मन्त्रसहित निरन्तर काममा जुट्दा आफू अहिलेको अवस्थासम्म आइपुगेको उनी बताउँछन् । 

पृष्ठभूमि
रोशन २०५७ मा रौतहटबाट उच्च शिक्षाका लागि काठमाडौं आएका हुन्, जतिखेर उनलाई कलेजको फी तिर्नै धौधौ हुन्थ्यो । कलेजमा ८०० रुपियाँ फी तिर्न नसक्दा प्लसटुको परीक्षा नै छुटेको सम्झना उनमा ताजै छ । कतिपय रात उनले भोकै पनि कटाए । घरको आर्थिक अवस्था कमजोर हुँदा अध्ययनका लागि पैसा आफैले जुटाउनुपर्ने थियो तर हिम्मत हारेनन् । रकम जुटाउनकै लागि उनले एक विज्ञापन एजेन्सीमा जागिर खाए । उनका लागि त्यो काम जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । 

रोशनले त्यहाँ जागिर मात्र खाएनन्, काम गरे र सिके पनि । त्यही कमाएर जम्मा गरेको ७ हजार ५ सय र सिकेको सीपलाई उपयोग गर्दै उनी २०५९ सालमा आफ्नै व्यावसायमा हामफालेका थिए ।


 
सङ्घर्षका ती दिन...

रोशनले होर्डिङबोर्डको विज्ञापन व्यवसाय सुरु गरे, सँगै सप्लासर्यको काम पनि । कामका लागि धेरै सरकारी र निजी क्षेत्रका कार्यालय धाए उनी । तर धेरैजसोले विश्वासै गर्दैनथे । विश्वास गरिहाले पनि अनेकन झमेला निकालिरहन्थे । तर उनले हरेश खाएनन् । कुनै दिन कसो सफल नहोइएला भन्ने आशा पालेर उनी निरन्तर काममा जुटिरहे । रोशन भन्छन्, ‘सुरुमा काम गर्दा बाधा धेरै भए, फाइनल्ली सबै खुड्किलो पार गर्दै अहिलेको अवस्थासम्म आइपुगेको हुँ ।’ 

अहिले उनको कम्पनी बीके ट्रेडर्सले राजधानी काठमाडौंसहित देशभर सप्लायर्सका साथसाथै पोल विज्ञापन र होर्डिङबोर्ड विज्ञापनको ब्यापार  गर्दै आएको छ । बीके ट्रेडर्स यो क्षेत्रको एक अग्रणी कम्पनी बन्न सफल भएको प्रवन्ध निर्देशक रोशनको दाबी छ ।

सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत बीके ट्रेडर्सले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर राजधानीका विभिन्न स्थानको सडकमा सौर्यबत्तीमा लगानी गरेको छ । महानगरपालिकासँगको सम्झौताअनुरूप कम्पनीले ठमेल, क्षेत्रपाटी, बालाजु, नयाँ बानेश्वर, माइतीघर, ज्ञानेश्वर, गौशाला, मैतीदेवी, पुतलीसडक, शङ्खमुल, कलङ्की, कोटेश्वरलगायतका क्षेत्रका सडकका १२८५ पोलमा सौर्यबत्ती जडान गरिसकेको छ । सौर्यबत्ती जडान सहमतिअनुसार महानगरपालिकाले बीके ट्रेडर्सबाट प्रतिपोल ८ हजार ७ सय रुपियाँ आम्दानी गरेको रोशनले बताए । उक्त पोलमा कम्पनीले विभिन्न कम्पनीका होर्डिङबोर्ड राख्ने गरेको र त्यसबाट करोडौंको कारोबार गर्छ । यो परियोजनाको १० वर्षसम्म सञ्चालन अधिकार बीके ट्रेडर्सले पाउने सम्झौता छ । 

पोल एडको कन्सेप्ट

लामो समय होर्डिङबोर्ड विज्ञापनका क्षेत्रमा काम गर्दा रोशन आफ्नो क्षेत्रमा स्थापित भइसकेका थिए । कामकै सिलसिलामा २०७२ सालमा उनले पोल एडको अवधारणासहित काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सौर्यबत्ती जडान गर्ने महत्वकाङ्क्षी प्रस्ताव अघि बढाएका थिए । उनको योजना २०७३ मा काठमाडौं महानगरपालिकाबाट स्वीकृत भएसँगै गत आर्थिक वर्षमा मात्रै परियोजनाको काम सम्पन्न भएको थियो । अहिले काठमाडौंका विभिन्न स्थानका १२८५ वटा पोलमा राखिने विज्ञापन र अन्य होर्डिङबोर्ड ब्यापारमार्फत उनको कम्पनीले वार्षिक ६ करोडको हाराहारीमा कारोबार गर्दै आएको छ । यद्यपि बैङ्कबाट समेत करोडौंको ऋण लिएर काम गरिएकाले लोन पनि उत्तिकै रहेको उनी सुनाउँछन् । 

पोल एडको कन्सेप्ट मुलुक लोडसेडिङको मारमा रहेको बेला आएको थियो । ‘कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रमुख भएर नआउँदासम्म मुलुक लोडसेडिङको मारले आक्रान्त थियो ।  रातको बेला राजधानीका मुख्य सडक नै अन्धकारमय हुन्थ्यो ।  त्यस्तो बेला सडक झिलिमिली बनाऔँ र  त्यसबाट व्यापार पनि गरौँ भन्ने सोचका साथ यो कन्सेप्ट आएको हो’, रोशनले प्रष्ट पारे ।

‘फुच्चे’को पगरी पाउँदाको त्यो दिन...

व्यावसाय थाल्दाका दिनमा आफू कलिलै उमेरको भएकाले धेरैले विश्वासै नगरेको उनी सुनाउँछन् । आजकै दिनमा पनि यति ठूलो लगानी गरेको सुन्दा कतिपय मानिस आश्चर्यचकित हुने गरेको उनले भेटेका छन् । ‘सुरुमा व्यावसाय गर्दा धेरैले विश्वास गरेनन् । कतिपय स्थानमा प्रोपोजल लिएर जाँदा भर्खरको फुच्चे रहेछ, यसले काम गर्न के सक्ला भने’ रोशन सुनाउँछन्, ‘जतिबेला म पोल एडको काम गर्दै थिएँ, त्यतिबेला पनि त्यसै भनियो तर टेन्डर मैले नै पारेँ । मेरो ट्यालेन्ट त त्यहाँ देखियो नि ।’ 

यति सानो (३२ वर्ष) उमेरमै आफू कम्पनीको मालिक बनेको तर कतिपय मानिसले आफूलाई कम्पनी मालिकको हो भनी विश्वास नगर्ने अनुभव रोशनसँग छ । मैतीदेवीमा गत वर्ष सोलार पोलका निर्माणका क्रममा महानगरपालिकाका कर्मचारीलाई नै आफू कम्पनीको सञ्चालक भएको भनी विश्वस्त गराउन उनलाई सकस परेछ । 

महानगरपालिकाका केही कर्मचारीले काममा अवरोध गर्दै कामदारलाई साहुजी बोलाउन भनेछन् । रोशन त्यहाँ पुग्दा ती कर्मचारीले कम्पनी मालिक हो भनी नपत्याएको उनले रोचक अनुभव सुनाए । हुन त काम गर्ने क्रममा सरकारी कर्मचारीको विभिन्न असहयोग पनि भोगेको उनी सुनाउँछन् । तर काया हेरेर केही मानिसले अपत्यार गरे पनि रोशनको कम्पनीमा अहिले ३२ जना पूर्णकालीन कर्मचारी छन् भने सयौँले अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् । 

एमबीएसम्मको अध्ययन पूरा गरेका रोशन आगामी दिनमा धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने महत्वकाङ्क्षी प्रोजेक्ट ल्याउने योजनामा रहेको बताउँछन् ।  देशव्यापी सञ्चालन हुने परियोजनाबाट रोजगारीका साथै सरकारले अघि सारेको आर्थिक समृद्धिको योजनालाई सफल बनाउन सहयोगी बन्ने उनको सोच छ । जसमा अन्य युवालाई पनि समेटेर लैजाने उद्देश्य छ ।

युवालाई सुझाव

इच्छाशक्ति, इमानदारिता र लगनशीलता भए देशमै केही गर्न सकिने उनको तर्क छ । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा रातोपाटीको स्टुडियोमा पङ्क्तिकारसँग गफिँदै गर्दा रोशनले युवाहरूलाई सुझाव दिए, ‘पहिलो कुरा विदेश नजानुस् । खाडी मुलुक त झन् जाँदै नजानुस् । आफ्नै देशको माटो प्यारो हुन्छ । तपाईं जतिसुकै विदेशमा बस्नुस् तपाईं एक न एक दिन यो माटोमा फर्कनै पर्छ । अर्काको माटोमा पसिना बगाउनुुभन्दा आफ्नो ठाउँमा आफैं गरौं ।’ 

आफूसँग भएको स्रोत साधनलाई उपयोग गरी इमानदार र लगनशील भए एक न एक दिन लक्ष्यमा पुगिने उनको भनाइ छ । यद्यपि राज्यले पनि युवालाई प्रोत्साहित हुने गरी नीति बनाउनुपर्नेमा रोशनले जोड दिए । ‘पहिलेको तुलनामा अहिले राज्यले केही लचक नीतिहरू पनि ल्याएको छ । त्यसलाई युवाले भरपुर उपयोग गर्नसक्नुपर्छ’, उनले भने, ‘युवाहरूमा पनि केही गरौँ भन्ने अठोट हुनुपर्छ पनि  । काम गर्नुस्, सफल अवश्य भइन्छ ।’ सरकारले अघि सारेको आर्थिक समृद्धिको एजेन्डा युवा परिचालनबाटै सम्भव हुने भन्दै सरकार यसबारेमा गम्भीर भएर लाग्नुपर्नेमा समेत उनको जोड छ । 

युवाहरूमा  सकेसम्म चाँडो पैसा कमाउनुपर्छ भन्ने मानसिकता देखिन्छ  । तर कुनै पनि सफलता हात पार्न धैर्य हुनुपर्छ । रोशनले जस्तै स्पष्ट भिजनका साथ कुनै पनि काम अविचलित र लगनशील भएर गर्ने हो भने जो कसैको जिन्दगीमा पनि उज्यालो कसो नछाउला ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप