शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

९५ वटा सामुदायिक विद्यालयहरुलाई प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने अनुमति

सोमबार, २८ साउन २०७५, १९ : ०५
सोमबार, २८ साउन २०७५

काठमाडौं– सरकारले थप ९५ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने अनुमति दिएको छ ।  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी) को सोमबार बसेको बैठकले थप ९५ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो । 

प्रविणता प्रमाण पत्रसम्मको अध्ययन हुने गरी प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न थप ९५ वटा सामुदायिक विद्यालयलाई पनि अनुमति दिने निर्णय गरिएको सिटिइभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिए । सरकारले यसअघि २ सय १७ वटा सामूदायिक विद्यालयलाई प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने अनुमति दिइसकेको छ ।

सदस्यसचिव वाग्लेले काठमाडौंमा पत्रकार सम्मेलन गरी ८ वटा आंगिक बहुप्राविधिक शिक्षालयहरुलाई पनि पूर्वाधारको विकास गरी कार्यक्रम विस्तार गर्न अनुमति दिइएको जानकारी दिए । 

सिटिईभीटीले साझेदार संस्थाहरुलाई पशुविज्ञान तर्फको ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गर्न पनि अनुमति दिएको छ । त्यसैगरी सिटिईभीटीले ओखलढुंगा सामुदायिक अस्पतालमा ३ वर्षे नर्सिङ कोर्ष सञ्चालन गर्न आवश्यक पूर्वाधार निरीक्षण गर्न कार्य दल पनि गठन गरेको छ । कार्य दलले निरीक्षण गरेपछि सो अस्पतालमा ३ वर्षे डिप्लोमा नर्सिङ कोर्ष संचालन हुने पनि सदस्य सचिव वाग्लेले बताए । 

सिटिईभीटीले २ वर्ष भित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने प्रधानमन्त्री केपी ओलीको घोषणा अनुसार तयारीको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारेको छ । सदस्य सचिव वाग्लेले सबै प्रदेशमा आवश्यक्ता अनुसार प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने तयारीको कामलाई पनि अघि बढाइएको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप