मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तपार्इंले छुटाउनुभयो कि, आजका मुख्य १० समाचार

सोमबार, २८ साउन २०७५, १९ : २७
सोमबार, २८ साउन २०७५

काठमाडौं । आज सोमबार । रातोपाटीबाट दुई सयको हाराहारीमा समाचार प्रकाशित भए । 

ओली सरकारका ५ महिने उपलब्धी, राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा, राष्ट्रपति अपहरण गर्नेलाई १५ वर्ष कैद, सांसद धम्क्याउनेलाई ७ वर्ष जस्ता समाचार चर्चामा रहे । 

रातोपाटी डटकममा उनीहरुबारे प्रकाशित भएका समाचारहरु पाठकहरुले धेरै रुचाए । त्यसमध्ये मुख्य बनेका १० समाचार यहाँ प्रस्तुत गरिएको छ ।

रातोपाटीका पाठकहरुले पढ्न छुटाउनुभयो कि भनेर यहाँ समाचार राखिएको छ । तीमध्ये प्रमुख समाचारको लिंक यसरी प्रस्तुत गरिएको छ । 

ओली सरकारका ५ महिने उपलब्धि : सुन तस्करलाई कारबाहीदेखि सिन्डिकेट अन्त्यसम्म (पूर्णपाठ)

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले ५ महिने उपलब्धि सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका काम समेटेर ७४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको हो ।

ओली नेतृत्वको सरकारले प्रमुख सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, सिण्डिकेटको अन्त्य,  विकास निर्माणमा ढिलासुस्तीको अन्त्य, औचित्यहीन भ्रमण नियन्त्रणमा रोक लगायतका विषयलाई उपलब्धि भएको जनाएको छ । 

जन्म दिने आमा, नागरिकता दिने बाबु ?

नेपालको अन्तरिम संविधान, २०६३ ले पहिलो पटक वंशजको आधारमा नागरिकता पाउन बाबु वा आमा नेपाली नागरिक भएको हुनुपर्ने प्रावधान राख्यो । 

यसअघि बाबु र आमा नेपाली नागरिक हुनुपर्ने प्रावधान थियो । यो व्यवस्था अनुसार संविधानतः आमाको नाम र ठेगानाबाट मात्रै पनि सन्तानले नागरिकता पाउने अवस्था भयो । तर यसको व्यावहारिक कार्यान्वयनमा भने निकै समस्या आयो । 

आमाको नामबाट नागरिकता लिन धेरैले न्यायालय गुहारे पनि । अनि न्यायालयले पनि नागरिकता दिन निर्देशन गर्यो । तर पनि सहज रूपमा यो व्यवस्था कार्यान्वयन हुन सकेन । यसलाई केवल नागरिकता प्रमाणपत्रमा आमाको नाम थप गरिने व्यवस्थाको रूपमा उपयोग गरियो । 

अर्थमन्त्रीको ६ महिना : उपलब्धिभन्दा आक्रोश बढी

काठमाडौं । २५ साउनमा प्रधानमन्त्रीसँग भएको छलफलका क्रममा प्रदेश नम्बर ५ का सत्तारुढ दलकै सांसदहरूले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा नै माग गरे ।

अर्थमन्त्रीले जनताको माग सम्बोधन गर्न नसकेको भन्दै दाङबाट निर्वाचित सांसद मेटमणि चौधरीले खुलेरै उनको राजीनामा मागेका थिए ।  

पछिल्लो समय अर्थमन्त्रीका उपलब्धिभन्दा बढी कमजोरीका बारेमा चर्चा हुने गरेको छ । आफ्नै पार्टीभित्र पनि खतिवडालाई नरुचाइएको चौधरीले अर्थमन्त्रीको राजीनामा मागेकाले पनि प्रष्ट पार्छ । 

ममाथि ठाडो अन्याय भयो, लडाइँ जारी छ : झलनाथ खनाल

एमाले–माओवादी एकतासँग जोडिएका दुईवटा विषयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई बेला–बेला झस्काउँछ । पहिलो घटना– एमाले–माओवादीबीच पार्टी एकता हुँदा उनी चीनमा थिए । 

त्यसैले पार्टी घोषणा समारोहमा सहभागी हुन पाएनन् । एकता सभामा सहभागी हुन नपाएका खनाललाई दोस्रो झड्का त्यसबेला लाग्यो जब एकीकृत पार्टीमा उनको बरियता तोकियो । 

तत्कालीन एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो बरियतमा रहेका खनाल एकीकृत पार्टीमा दुई अध्यक्ष र माधव नेपालपछि चौथो बरियतामा धकेलिए । खनाल एकीकृत पार्टीमा आफ्नो तेस्रो बरियता हुनुपर्ने पक्षमा छन् । 

राष्ट्रपति अपहरण गर्नेलाई १५ वर्ष कैद : सांसद धम्क्याउनेलाई ७ वर्ष

काठमाडौँ । नेपालका राष्ट्रपतिको अपहरण १ सुन्दै अपत्यारिलो र अविश्वनीय कुरा । उच्च सुरक्षा सर्तकताका साथ अत्याधुनिक हात हतियारसहितका दर्जनौँ सुरक्षाकर्मीको घेराभित्र रहने राष्ट्रपतिलाई अपहरण गर्न सक्ने कसको हिम्मत ? 

अपहरण गर्ने आँट त के सायदै कसैले यसको कल्पना पनि गर्न नसक्ला । तर भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको नेपालको नयाँ कानुनले भने राष्ट्रपतिको सुरक्षामाथि चुनौती दिनेलाई कानुनी कारवाहीको मापदण्ड तोकेको छ । 

अघिल्लो वर्ष असोज ३० गते प्रमाणिकरण भएर आउँदो भदौ १ गतेदेखि प्रचलनमा आउन लागेको मुलुकी अपराध संहिता ऐन २०७४ मा यस्तो नयाँ कानुनी व्यवस्था गरिएको हो । यो ऐनले अति उच्च पदस्थ व्यक्तिमाथि हुने विभिन्न कसुर र त्यसउपर कसुरदारमाथि हुने सजाय तोकेको छ ।

राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

जनकपुर । सशस्त्र प्रहरी थमन विकको हत्याका आरोपी समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् । 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता एवम्  महोत्तरी जिल्ला संयोजक समेत रहेका शर्मा पार्टीकै सुझावका आधारमा आज अदालतमा हाजिर भएका थिए ।

उच्च अदालत जनकपुरले साउन १५ गते राज्यमन्त्री शर्मालाई पक्राउ गर्न महोत्तरी जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको थियो । पत्र पाएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई खोजी गरिरहेको थियो । 

‘दुई चोक्टा मासु पोखिएको निहुँमा मात्र मेरो श्रीमान् मारिएका होइनन्’

भक्तपुर । गत असार १५ गते भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ जितपुरमा हत्या भएका उमेश कार्कीको परिवारले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । 

घटना भएको ४५ दिन बितिसक्दापनि प्रहरीले सबै अपराधी पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले आक्रोश व्यक्त गरेको हो । 

भक्तपुरमा पत्रकार सम्मेलन गर्दै मृतक उमेशकी श्रीमती अनिता कार्कीले भनिन्, ‘मेरो श्रीमानले केवल दुई टुक्रा मासु पोखिदिएकाले मात्र मारिएका होइनन् ।’

मलेशियाले भन्यो– हाम्रो समस्या नेपाली कामदार होइनन्, बिचौलिया हुन्

काठमाडौं । मलेशियाले नेपाली श्रमिक सम्बन्धमा छिट्टै नेपालसँग आपसी समझदारीमा हस्ताक्षर हुने बताएको छ । 

राजधानी क्वालालाम्पुरमा भएको एक कार्यक्रममा मलेशियाका मानव संशाधन मन्त्री एम. कुलशेगरनले यस्तो बताएका हुन् । सो क्रममा उनले नेपाल र मलेशियाबीच एमओयु गर्ने तयारी अन्तिम चरणमा पुगेको पनि बताए । 

एमओयु निर्माणमा आफूहरुले नेपाल सरकारबाट पनि सल्लाहसुझाब पाएको कुलशेगरनले बताए । उनले एमओयुले हाल नेपाली श्रमिकहरुलाई लिएर रहेको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

आफैले भोगेकाहरूको अनुभव : दौडले मानसिक रोग हटाउँछ

एजेन्सी । हाइपर एक्टिभिटी डिसअर्डर (एडीएचडी) बाट ग्रसित हुँदा वृत्तचित्र फोटोग्राफर मार्टिन एबरलिन ३० वर्षका मात्र थिए । उनले दौडेर आफ्नो समस्यालाई हल गर्ने विचार गरे । मार्टिन दौडसँग आफ्नो पुरानो नाता रहेको बताउँछन् ।

“दौडले मेरा सोचहरू नियन्त्रण गर्न सहयोग पु¥याएको छ । यसले मलाई जीवनमा मैले ध्यान दिनुपर्ने कुरातर्फ नजर पु¥याउन सहयोग गरेको छ,” उनले भने ।

यी फाटोग्राफरले आफूजस्तै कुद्नेहरूको कथा सङ्कलन गर्न चाहे । यसबाट उनी अरू दगुर्नेहरूमा कसरी यसप्रति आकर्षण आयो र यो कसरत तिनको पूर्व अनुभव र स्वास्थ्यसँग कसरी जोडिएको छ भन्ने जान्ने उनको उद्देश्य थियो ।

चिनियाँ सम्झौता तोड्दै मलेसियाका प्रधानमन्त्री महाथिर

पुत्रजया– मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनियाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर रहेका छन् ।

एसोसिएटेड प्रेस (एपी) का संवाददातालाई दिएको एक अन्तर्वार्तामा ९३ वर्षीय प्रधानमन्त्री महाथिरले रोहिङ्ग्या मुस्लिम समुदायमाथि म्यान्मारले गरेको व्यवहार अन्यायपूर्ण रहेको बताए । तीन महिनाअघि निर्वाचित भएर सत्तामा पुनरागमन गर्नुभएका महाथिरले चीन भ्रमणमा जानुअघि यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

महाथिरले भने, ‘म चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न चाहन्छु र चीनको लगानीलाई पनि स्वागत गर्दछु, तर यस्ता परियोजना मलेसियाका निम्ति हितकर हुनु पर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप