शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अबदेखि पतिले जबरजस्ती ‘करणी’ गरे पत्नीले सम्बन्धविच्छेदको निर्णय लिनसक्ने !

बुधबार, ३० साउन २०७५, ०७ : ००
बुधबार, ३० साउन २०७५

काठमाडौं–पति–पत्नीबीचको सम्बन्ध र दायित्व कस्तो हुनुपर्ला ? यसको जवाफ हुन्छ–‘आपसी सद्भाव र प्रेममय हुनुपर्छ ।’ 

आगामी भदौ १ बाट लागु हुने गरी तयार भएको मुलुकी देवानी संहिता ऐनमा पनि पत्नीको सम्बन्ध र दायित्वको रुपमा आपसी सद्भाव हुनुपर्नेमा जोड दिइएको छ । 

ऐनको विवाहको परिणामसम्बन्धी व्यवस्था अन्तर्गत दफा ८५ मा कुनै पुरुष र महिलाबीच विवाह भएमा त्यस्तो वैवाहिक सम्बन्ध कायम रहेसम्म निजहरू एक अर्काको पति र पत्नीको रूपमा रहेको मानिने उल्लेख छ । यस्तै दफा ८६ को पति र पत्नीको सम्बन्ध र दायित्व महलको उपदफा  (१) मा पति र पत्नी बीच आपसी पे्रम र सद्भाव हुनु पर्ने उल्लेख गरिएको छ । 

यस्तै आपसी समझदारीबाट अन्यथा व्यवस्था भएकोमा बाहेक पति र पत्नी सँगै बसी पारिवारिक जीवन स्थापना गरी जीवनयापन गर्नु पनि उल्लेख गरिएको छ । 

यस्तै उपदफा ४ मा  पति र पत्नीले एक अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नु पर्ने भन्दै पत्नी पतिकै घरमा बस्नुपर्ने भनिएको छ ।  ऐनमा भनिएको छ, ‘ पति र पत्नीले आपसी समझदारीमा छुट्टै बासस्थान निर्धारण गरेकोमा बाहेक पत्नीको वासस्थान पतिको घरमा कायम भएको मानिनेछ ।’

सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था
देवयानी संहिता एनेको दफा ९३ मा सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था गरिएको छ । जसमा पती पत्नी  दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सकिने उल्लेख छ ।  पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पतिपत्नीको सम्बन्ध विच्छेद हुन सक्ने उल्लेख सो दफामा गरिएको छ । 

दफा ९४ मा पतिले  विभिन्न ४ अवस्थामा सम्बन्ध विच्छेद गर्न सक्ने उल्लेख गरिएको छ । यस्तो अवस्थामा पतिले पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछन् । 

पतिले सम्बन्ध विच्छेद गर्न चाहे तीन वर्ष वासोभन्दा बढी समयदेखि अलग बसेमा,  पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्ध बिच्छेद गर्न सक्नेछन् । तर कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा भने पतिले यो छुट पाउँदैनन् । 

पत्नीले सम्बन्ध विच्छेद गर्न चाहेमा पत्नीले पनि विभिन्न ६ अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेदको निर्णय लिन सक्नेछिन् । 
यो छुट ऐनको दफा ९५ ले दिएको छ । 

जसमा लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा

मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा  र पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा पनि सम्बन्ध बिच्छेदको छुट दिएको छ ।

यसैगरी पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पनि पत्नीलाई सम्बन्ध बिच्छेदको छुट दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप