शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तपार्इंले छुटाउनुभयो कि, आजका मुख्य १० समाचार

मङ्गलबार, २९ साउन २०७५, १९ : ३०
मङ्गलबार, २९ साउन २०७५

काठमाडौं । आज मंगलबार । रातोपाटीबाट दुई सयको हाराहारीमा समाचार प्रकाशित भए । 

म्यानपावर व्यवसायीलाई मन्त्री विष्टको जवाफ,कसले रोक्यो निगमको ‘वाइडबडी’को उडान ?, मेडिकल काउन्सिलमा बढी उजुरी, प्रहरी काइदाः ढुङ्गाले हानेर बम डिस्पोज जस्ता समाचार चर्चामा रहे । 

रातोपाटी डटकममा प्रकाशित भएका समाचारहरु पाठकहरुले धेरै रुचाए । त्यसमध्ये मुख्य बनेका १० समाचार यहाँ प्रस्तुत गरिएको छ ।

रातोपाटीका पाठकहरुले पढ्न छुटाउनुभयो कि भनेर यहाँ समाचार राखिएको छ । तीमध्ये प्रमुख समाचारको लिंक यसरी प्रस्तुत गरिएको छ । 

म्यानपावर व्यवसायीलाई मन्त्री विष्टको जवाफ : ४० जनाको अनुहार हेरौं कि ४० लाख युवाको ?

काठमाडौं–श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीहरुको धरौटी रकम कुनै हालतमा नघटाउने अडान लिएका छन् । 

सोमबार मन्त्रालय पुगेका व्यवसायीहरुको टोलीलाई आफू कुनैपनि हालतमा धरौटी रकम घटाउन नसक्ने जानकारी गराएको मन्त्रालयलका एक उच्च अधिकारीले बताए । 

मन्त्री विष्टले व्यवसायीलाई ‘तपाईँहरु कालीमाटीको साग पसलेजस्तो हुनुभयो, तपाईँहरुकै कारण कैयौं युवा अलपत्र पर्ने अवस्थासम्म आएको’ भन्दै हप्काएको मन्त्रालयका ती अधिकारीले बताए । 

‘लाइसेन्स नभएका डाक्टरले उपचार गरिरहेका छन् भन्ने विषयमा मेडिकल काउन्सिलमा बढी उजुरी’

हाम्रो मेडिकल काउन्सिलको इथिकल कमिटी रहेको छ । त्यहाँ विभिन्न ठाउँबाट आउने गुनासोलाई लिने हो । व्यक्तिगत, इमेल, नाम परिवर्तन गरेर र कसैले आफ्नै नाममा उजुरी दर्ता गराउने गरेका छन् । कुनै पनि उपचारको बारेमा भएको गुनासो यसरी काउन्सिलमा आउँछन् ।

त्यसपछि सम्बन्धित व्यक्तिलाई हामीले सुरुमा घटनाको क्लियर गर्न जानकारी गराउछौँ । दोस्रो उपचारको क्रममा केके भएको भन्ने बारेमा जहाँ उपचार भएको हो त्यो ठाउँबाट पूर्ण विवरण माग्छौँ । त्यसपछि   छलफल गरेर विज्ञको कमिटी गठन गर्छाैं ।

उहाँहरूले छानविन गरेर सत्यतथ्य प्रमाणित गर्ने प्रयास गर्नुहुन्छ । विज्ञ समितिबाट आएको रिपोर्टका आधारमा निणर्य गर्दै आइरहेका छौँ ।

कसले रोक्यो निगमको ‘वाइडबडी’को उडान ? : दिल्ली उडाउँदा घाटा मात्रै

काठमाडौँ । यतिबेला नेपाल एअरलाइन्ससँग जम्मा १३ वटा विमान सञ्चालनमा रहेका छन् । १३ वटामध्ये हाल ४ वटा विमानले विदेशी गन्तव्यमा उडान भरिरहेका छन् भने बाँकी विमानले स्वदेशी भूमिमा सेवा दिइरहेको छ ।

हाल थाइल्यान्ड, मलेसिया, दोहा, हङ्कङ र दुबईमा उडान भरिरहेको छ । तर निगमसँग अन्तर्राष्ट्रिय उडान भर्नका लागि आवश्यक मात्रामा विमान नभएको भन्दै सर्वत्र आलोचना हुन थालेपछि निगमले भर्खरै मात्र २ वटा वाइडबडी विमान पनि खरिद गर्यो । 

२ सय ७४ सिट क्षमताका दुईवटा वाइडबडी ए ३३०–२०० विमान काठमाडौँमा आइसकेको छ । निगमको दुईवटा वाइडबडीमध्ये पहिलो वाइडबडी ‘अन्नपूर्ण’ विमान गएको असार १४ गते काठमाडौँमा अवतरण गरेको थियो । 

प्रहरी काइदा : ढुङ्गाले हानेर बम डिस्पोज (फोटो)

ललितपुर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा मंगलबार दिउँसो ललितपुरको ज्वागलको व्यस्त सडकमा प्रेसर कुकर बम फेला परेको छ ।

प्रत्यक्षदर्शीका अनुसार एक व्यक्तिले सडकमा बम राखेर ज्वागलबाट युएन पार्कतर्फ भागेका थिए । बम फेला परे लगत्तै शुरुमा नेपाल प्रहरीले बमलाई बीच सडकबाट सुरक्षित स्थानतर्फ लगेको थियो ।

त्यसपछि ढुङ्गाले हानेर बमलाई निस्क्रिय पार्ने प्रयास गरिएको थियो । लगत्तै, त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली आएर बमलाई निष्क्रिय बनाएको थियो । सेनाका अनुसार बममा अति प्रज्वलनशील मानिने सल्फर पाउडर र सिसाका टुक्राहरु रहेको थियो ।

मोदी आउँदा पशुपति धर्मशालाको उद्धघाट्न हुन्छ : राजदुत पुरी

काठमाडौं । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधिन रहेको पशुपति धर्मशालाको उद्धघाट्न गर्ने बताएका छन् ।

भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदुत पुरीले यही अगष्ट ३० र ३१ तारिख काठमाडौंमा हुने विमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्धघाट्न गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन् । 

उनले भने, ‘हाम्रो प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशाला उद्धघाट्न गर्ने कार्यक्रम छ । यो खुशीको कुरा हो । तीर्थयात्रीहरुलाई बस्नको लागि अत्यन्तै सहज हुन्छ ।’

अब 'इम्प्लोई' होइन 'इम्प्लोएर'

उच्चस्तरीय शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने परिपाटीको निरन्तरताका साथै विदेशमा पढ्न गयो भने उच्च वर्गको भइने सोचको विकास नेपालमा ह्वात्तै बढेको छ । नेपाली शिक्षाको गुणस्तरमा खोट लगाएर विदेशिनुभन्दा नेपालमा पनि गुणस्तरीय शैक्षिक केन्द्रहरू छन् भनेर बुझ्नु जरुरी छ । 

शिक्षाको क्षेत्रमा नेपालले ठूलै फड्को मारिसकेको छ । जुन कुनै शिक्षाका लागि विदेश हानिनुपर्ने अवस्था अहिले छैन । नेपालमा खुलेका धेरै शैक्षिक संस्थाहरूले विदेशमा गएर ठूलो रकम खर्चेर आर्जन गर्ने ज्ञान र सीप नेपालमै उपलब्ध गराइरहेका छन् ।

यस्तै मध्यको एक हो इस्लिङ्टन कलेज । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर स्वदेशमा नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने कलेजहरूको हुलमा अग्रपङ्क्तिमा उभिएको छ इस्लिङ्टन कलेज । काठमाडौँको कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले व्यवस्थापन तथा आईटी शङ्कायमा स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कोर्सहरू अध्यापन गराइरहेको छ । 

‘म वकिल हुँ, श्रीमती डीएसपी छिन्’ भन्दै लाखौँ ठगी

काठमाडौँ । नुवाकोट जिल्लाको बेलकोट–७ स्थायी घर भएका मनोहर तिवारी पेसाले कानुन व्यवसायी हैनन् । तर सधैँजसो कालोकोटमा सजिएर छातीको दायाँतर्फ नेपाल बार एसोसिएसनको लोगोसमेत लगाएर अदालत चहार्दै हिँड्ने तिवारीले ठगी धन्दा नै चलाएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । 

लामो समयदेखि ‘म वकिल हुँ, न्यायाधीशलाई भनेर मुद्दा जिताउँछु’, भनेर ठगी गर्दै आएका तिवारी अहिले महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । 

अदालत परिसरमा भेटिएकालाई ‘मुद्दा मिलाउँछु’ भन्दै भ्रम सिर्जना गरेर ठगी गरेपछि पीडितले पैसा मागेको खण्डमा तिवारीले ‘मेरो श्रीमती डीएसपी छिन्, तलाई थुनाएर जेलसमेत हालिदिन्छु’ भन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

३ वर्षमा ४ हजार किलो सुन तस्करी भएको गृहमन्त्रीको खुलासा

काठमाडौं– नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन नेपालका तस्करी भएको जानकारी दिएका हुन्।

मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न समूहलाई पनि कारबाहीको दायरामा ल्याइएको बताए ।

गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुवही रहेको पनि छानबीनबाट पत्ता लगाइएको भन्दै ३३ किलो सुन तस्करीका लागि गठित छानबीन समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानबीनको दायरामा ल्याएको दाबी गरे ।

अबदेखि पतिले जबरजस्ती ‘करणी’ गरे पत्नीले सम्बन्धविच्छेदको निर्णय लिनसक्ने !

काठमाडौं–पति–पत्नीबीचको सम्बन्ध र दायित्व कस्तो हुनुपर्ला ? यसको जवाफ हुन्छ–‘आपसी सद्भाव र प्रेममय हुनुपर्छ ।’ 

आगामी भदौ १ बाट लागु हुने गरी तयार भएको मुलुकी देवानी संहिता ऐनमा पनि पत्नीको सम्बन्ध र दायित्वको रुपमा आपसी सद्भाव हुनुपर्नेमा जोड दिइएको छ । 

ऐनको विवाहको परिणामसम्बन्धी व्यवस्था अन्तर्गत दफा ८५ मा कुनै पुरुष र महिलाबीच विवाह भएमा त्यस्तो वैवाहिक सम्बन्ध कायम रहेसम्म निजहरू एक अर्काको पति र पत्नीको रूपमा रहेको मानिने उल्लेख छ । यस्तै दफा ८६ को पति र पत्नीको सम्बन्ध र दायित्व महलको उपदफा  (१) मा पति र पत्नी बीच आपसी पे्रम र सद्भाव हुनु पर्ने उल्लेख गरिएको छ । 

मुलुकी ऐन : स्वास्थ्यकर्मीलाई दण्ड कि पुरस्कार ?

स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र हो । जनस्वास्थ्यसँगको विषय भएकाले पनि यस्तो भएको हो । प्रत्येक दिन हजारौँको सङ्ख्यामा बिरामी चेकअप र उपचार गर्नका लागि अस्पताल जाने गर्छन् । तीमध्ये कति बिरामीको स्वास्थ्य अत्यन्तै नाजुक भई बचाउन नै मुस्किल हुनसक्छ ।

यस्तो अवस्थामा अहिले बन्दै गरेको कानुनले उपचारका क्रममा मृत्यु भएमा स्वास्थ्यकर्मीलाई कारवाहीका प्रावधान राखेको छ । यही प्रावधानलाई लिएर चिकित्सक सङ्घले उक्त प्रवधान नहटाए सम्पूर्ण शैक्षिक प्रमाणपत्र मेडिकल काउन्सिलमा बुझाएर स्वास्थ्य क्षेत्रमा हड्ताल गर्नेसम्मका विरोधका कार्यक्रम घोषणा गरेको छ ।  


चिकित्सक तथा अस्पतालसम्बन्धी भइरहेका आक्रमण कुनै नयाँ होइनन् । आफन्तको मृत्यु भएमा चिकित्सकको लापरवाहीका कारण जनाउँदै अस्पता तोडफोड र स्वाथ्यकर्मीमाथि हातपात हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप