देवानी संहितामा यस्तो छ अन्तरदेशीय धर्मपुत्र–धर्मपुत्रीको व्यवस्था
काठमाडौं– मुलुकी (देवानी) संहिता ऐन २०७४ को परिच्छेद ९ मा अन्तरदेशीय रूपमा धर्मपुत्र वा धर्मपुत्री स्वीकार गर्न सकिने व्यवस्था छ ।
‘कुनै विदेशीले नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको कुनै नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा स्वीकार गरेमा अन्तरदेशीय रूपमा धर्मपुत्र वा धर्मपुत्री स्वीकार गरेको मानिनेछ’, ऐनको दफा १८८ मा भनिएको छ ।
तर, दफा १८९ मा अनुमति नलिई धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने व्यवस्था गरिएको छ । यसको अर्थ कसैले पनि अनुमतिविनै धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने छैन ।
ऐनको उपदफा १ मा कुनै विदेशीले नेपाल सरकारको अनुमति नलिई कुनै नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको कुनै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा राख्न नपाउने व्यव्स्था गरिएको छ ।
सोही दफाको उपदफा (२) मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालमा अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री स्वीकार गर्न सकिने गरी खुल्ला गरिएका मुलुकका नागरिक वा दम्पतीलाई मात्र यस परिच्छेद बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति दिइनेछ भन्ने उल्लेख गरिएकाले सरकारले खुला गरेका मुलुकका नागरिकले मात्र यो सुविधा प्रयोग गर्न पाउने छन् ।
धर्मपुत्र धर्मपुत्रीका लागि ध्यान दिनुपर्ने
ऐनको दफा १९० मा धर्मपुत्र वा धर्मपुत्री दिँदा बालबालिकाको सर्वाेत्तम हित सुनिश्चित गर्नुपर्ने उल्लेख छ । त्यस्तै उपदफा (१) मा विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न दिनुअघि नेपाल सरकारले बालबालिकाको सर्वाेत्तम हित, निजको मानव अधिकारको संरक्षण र त्यस्तो बालबालिका अपहरण, बेचबिखन वा अन्य कुनै किसिमले दुरुपयोग हुने वा नहुनेतर्फ विचार गर्नुपर्ने भनिएको छ । (२) उपदफा (१) बमोजिम विचार गर्दा कुनै बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न दिन उचित देखिएमा मात्र यस परिच्छेद बमोजिम धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न अनुमति दिइनेछ ।
धर्मपुत्र वा धर्मपुत्रीका रूपमा दिन सकिने बालबालिका
बालगृहमा कम्तीमा छ महिना बसेका बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन सकिनेछ । यसका साथै बाबु र आमा दुवैको मृत्यु भई कसैको संरक्षणमा नरहेको अनाथ बालबालिका, स्वेच्छाले त्यागेका बालबालिका पनि धर्मपुत्र धर्मपुत्री बस्न पाउनेछन् । त्यसका लागि ऐनले निर्दिष्ट गरेको हुनुपर्ने छ ।
धर्मपुत्र वा धर्मपुत्री लिन सक्ने विदेशी
ऐनको दफामा १९२ दफामा धर्मपुत्र वा धर्मपुत्री लिन सक्ने विदेशी नागरिकबारे खुलाइएको छ ।
यसमा कुनै विदेशीलाई नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको कुनै बालबालिका धर्मपुत्र वा धर्मपुत्रीका रूपमा ग्रहण गर्न अनुमति दिन सकिनेछ भनिएको छ । त्यसमा विवाह भएको दस वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पती, पैँतालीस वर्ष उमेर पूरा भई पचपन्न वर्ष उमेर ननाघेकी अविवाहित, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला, पैँतालीस वर्ष उमेर पूरा भई पचपन्न वर्ष उमेर ननाघेको अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुष हुनुपर्ने उल्लेख छ ।
यस्तो अवस्थामा विदेशीले धर्मपुत्र धर्मपुत्री राख्न पाउँदैनन्
होस ठेगानमा नभएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा नेपाल वा सम्बन्धित मुलुकको अदालतबाट कसुरदार ठहरिएको भएमा पाउने छैन । तर उपदफा ३ को (१) मा जुनसुकै कुरा लेखिएको भए पनि कुनै विदेशी मुलुकको कानुनमा त्यस्तो देशको नागरिकले एकभन्दा बढी बालबालिका धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने व्यवस्था भएमा निजले छोरा छोरी भए पनि धर्मपुत्र वा धर्मपुत्री राख्न सक्नेछ ।
त्यस्तै नेपाली नागरिकलाई धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न निषेध गरेको वा धर्मपुत्र वा धर्मपुत्रीको हक र प्राकृतिक रूपमा जन्मेका छोरा छोरीको अधिकारमा विभेद भएको मुलुकको व्यक्तिले नेपालबाट धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न सक्ने छैन ।
अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड
कुनै बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा ग्रहण गर्न अनुमतिका लागि सिफारिस गर्ने प्रयोजनका लागि केन्द्रीय निकायको रूपमा कार्य गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी एक अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड गठन गर्न वा कुनै सरकारी निकायलाई त्यस्तो काम गर्ने गरी तोक्न सक्नेछ । यस्तो ‘बोर्ड’ भन्नाले अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड सम्झनुपर्नेछ ।
धर्मपुत्र वा धर्मपुत्री पाउन निवेदन दिनुपर्ने
नेपाली नाबालक वा नेपालमा बसोबास गरेका विदेशीका कुनै नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा ग्रहण गर्न चाहने व्यक्तिले दफा १९२ बमोजिम योग्यता पुगेको विदेशी वा दम्पतीले नेपालस्थित आफ्नो देशको राजदूतावास र त्यस्तो राजदूतावास नभए नेपालको निमित्त तोकिएको राजदूतावास वा धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न अनुमति दिने सम्बन्धित मुलुकको केन्द्रीय निकायमार्पmत बोर्डमा निवेदन दिनु पर्नेछ । त्यसका लागि आवाश्यक कागजपत्र देखाउनुपर्ने छ । त्यसरी निवेदन परेमा छनौट समितिले निर्णय गर्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण