शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेस्टिनेटको खारेजी : के हुन्छ स्वास्थ्य परीक्षणको नयाँ विधि ?

बुधबार, ३० साउन २०७५, १३ : ४९
बुधबार, ३० साउन २०७५

काठमाडौँ । मलेसिया सरकारले मङ्गलबार साँझ बेस्टिनेट कम्पनीलाई खारेज गरेको घोषणा ग¥यो । मलेसिया सरकारसँग यसअघि अनुमति लिएर सञ्चालनमा आएको बेस्टिनेट एसडीएन बीएचडी कम्पनीलाई मलेसिया सरकारले निलम्बन गरेपछि नेपालमा यसको अस्तित्व के हुन्छ भन्ने सवाल उठ्न थालेको छ । 

सुरुमा मलेसियाको इमिग्रेसनमा सन् २००४ देखि यो कम्पनीले काम गरेको थियो । तत्कालीन समयमा मलेसियाको इमिग्रेसनमा मात्रै काम गरेको यस कम्पनीले सन् २०१५ देखि नेपाल, बङ्गलादेश, इन्डोनेसियालगायतका देशमा समेत काम गर्न थाल्यो । यस कम्पनीले यस्तो जाल फिँजायो कि मलेसियामा रोजगारीका लागि जाने प्रत्येक कामदारले बायोमेडिकल गराएर मात्रै जानुपर्ने बाध्यकारी व्यवस्था ल्याइदियो । यो व्यवस्थालाई त्यहाँका तत्कालीन प्रधानमन्त्री र मानव संशाधन मन्त्रीले स्वीकृति दिए । 

त्यसलगत्तै नेपालमा मेडिकल व्यवसाय गरिरहेका केही व्यवसायीहरूलाई लिएर बेस्टिनेट कम्पनीले नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणको विधि भित्र्यायो । नयाँ व्यवस्था आएलगत्तै मलेसियामा जाने कामदारहरूले आफ्नो स्वास्थ्य परीक्षण गराउँदा ४ हजार ५ सय रुपियाँ तिर्नुपर्ने भयो । जबकि त्यसभन्दा पहिले स्वास्थ्य परीक्षण गर्नका लागि जम्मा २ हजार ६ सय रुपियाँ भए पुग्थ्यो ।

तत्कालीन समयमा बेस्टिनेट कम्पनीका मालिक बङ्गलादेशी नागरिक अमिनले नेपाल स्वास्थ्य व्यवसायी महासङ्घका केही पदाधिकारीलाई हातमा लिएर मलेसियामा जाने कामदारहरूको स्वास्थ्य परीक्षणका लागि बायोमेडिकल भित्र्याउने डिजाइन सुनाएका थिए । तत्कालीन समयमा महासङ्घका अध्यक्ष प्रवीन तिवारी, महासचिव कैलाश खड्कालगायतको समूहले बायोमेडिकल ठीक भन्दै त्यसलाई नेपालमा भित्र्याए । जब नेपालमा बायोमेडिकल भित्राए, त्यसपछि यो सिस्टम नभएका अन्य व्यवसायीले मलेसियामा जाने कामदारको स्वास्थ्य परीक्षण गराउन नपाउने भए र ८ लाखदेखि ४० लाखसम्म लिएर ३९ वटा मेडिकल सेन्टरलाई बायोमेडिकल गराउन बेस्टिनेटले स्वीकृति दियो । 

१ लाखको सामानलाई ८ लाखको बिल

२०७२ असारमा बायोमेडिकल भित्र्याउने क्रममा थोरैमा पनि प्रतिसंस्था ८ लाख रुपियाँ शुल्क लिइएको थियो । तर त्यो पैसा कसरी मलेसिया पुग्यो र नेपालमा बायोमेडिकलमा प्रयोग हुने सामानहरू कसरी भित्रिए, त्यसको कुनै हिसाब छैन । 

बायोमेडिकल सञ्चालनका लागि ल्याइएको सफ्टवेयर बेस्टिनेट कम्पनीले निःशुल्क उपलब्ध गराएको थियो । महासङ्घकै वरिष्ठ उपाध्यक्ष जीवनकुमार केसीका अनुसार बायोमेडिकलको सफट्वेयर निःशुल्क आएको बताउँछन् । केसीकै भनाइलाई महासङ्घका पूर्वअध्यक्ष प्रवीन तिवारी पनि स्वीकार गर्छन् । तर सफ्टवेयर निःशुल्क आउँदा हार्डवयरकै लागि यति धेरै पैसा किन दिइयो त ? 

बेस्टिनेट कम्पनीले डेलको एउटा आई फाइभ कम्प्युटर, एउटा मोनिटर, एउटा स्क्यानर र प्रिन्टरको काम गर्ने टु इन वान प्रिन्टर, एउटा फिङ्गरप्रिन्ट लिने मेसिन र एउटा वेभ क्यामेरा उपलब्ध गराएको छ । जसको बजार मूल्य अधिकतम १ लाख १० हजार पर्छ । तर १ लाख १० हजारभन्दा बढी नपर्ने यी सामानकै लागि ८ हजार डलर तिरिएको छ । 

तत्कालीन समयमा बेस्टिनेटसँग ‘डिल’ गरेका महासङ्घका पूर्वअध्यक्ष प्रवीन तिवारीलाई हामीले सोध्यौँ, वस्तुको मूल्यभन्दा बढी रकम कुन शीर्षकमा किन तिरिएको हो ? उनी भन्छन्, ‘आफ्नो वस्तुको मूल्य आफैले राख्न पाउने हो । मैले कुनै सामान सर्भिससहित बेच्छु भने त्यसमा आफैले मूल्य निर्धारण गर्न पाउने कुरा हो ।’

त्यतिबेला मलेसियामा जाने कामदारको स्वास्थ्य परीक्षण ३९ वटा मात्रै संस्थाले गराउन पाउने भएपछि अन्य स्वास्थ्य व्यवसायीले आन्दोलन गरेका थिए । बेस्टिनेट कम्पनीले धेरै पैसा पाउने कम्पनीहरूलाई मात्रै यसको सिस्टम र सफ्टवेयर दिएको थियो । 

नेपाल सरकारको मापदण्ड पूरा भएका अन्य संस्थालाई भने प्रवेश नै नदिई बायोमेडिकलमा सिन्डकेट कायम गरिएको थियो ।

६० लाख तिर्नेले के गर्लान् ?

वार्षिकरूपमा रोजगारीका लागि विदेशिने कामदारमध्ये करिब ३० प्रतिशत कामदार मलेसियामा मात्रै जान्छन् । गत आर्थिक वर्षकै तथ्याङ्क हेर्ने हो भने पनि १ लाखभन्दा बढी कामदार त मलेसियामा मात्रै गएका छन् । प्रतिव्यक्ति ४ हजार ५ सय रुपियाँ लिँदा गत आर्थिक वर्षमा मात्रै १ लाख ४ हजार २ सय ९ जना युवाहरू रोजगारीका लागि मलेसियामा पुगेका छन् । ती युवाहरूको स्वास्थ्य परीक्षण शुल्कबाट ४६ करोड ८९ लाख ४० हजार शुल्क उठाइएको छ । यो शुल्क ३९ वटा स्वास्थ्य संस्थालाई भाग गर्दा सरदरमा प्रतिसंस्था १ करोड २० लाख रुपियाँको कारोबार हुन्छ । 

तर प्रतिकामदार ४ हजार ५ सय शुल्क लिए पनि त्यो शुल्कमध्ये आधाभन्दा कम शुल्क मात्रै मेडिकल सेन्टरले पाउँछन् । ४ हजार ५ सय शुल्कमध्ये केही रकम सरकारी कर, १ हजार रुपियाँ बेस्टिनेट कम्पनीलाई, १ हजार रुपियाँ वेलफेयर फन्डमा जम्मा गर्नुपर्छ । वेलफेयर फन्ड भन्नाले सांसद मन्त्री, राजनीतिक दल र मिडिया किन्ने फन्ड भएको अन्य स्वास्थ्य व्यवसायीको आरोप छ । बाँकी रकमले सामान, भाडा, कर्मचारी आदिलाई पालेर प्रतव्यक्ति करिब ४ सय रुपियाँ मात्रै खुद नाफा हुने यस्ता मेडिकल सेन्टरका सञ्चालकहरू बताउँछन् । 

मलेसिया रोजगारीको स्वास्थ्य परीक्षणमा सिन्डकेट कायम भएपछि केही मेडिकल सेन्टरले सामान र घुस गरी करिब २ करोड खर्च गरेर मेडिकल सेन्टर खोलेका थिए । जसमध्ये ६० लाख रुपियाँ त बायोमेडिकलका लागि आवश्यक सामान तथा घुसबापत खर्च गरेका थिए । 

तर यतिबेला नेपाल सरकारले मात्रै होइन, मलेसिया सरकारले पनि बेस्टिनेटको अस्तित्व सकिएको बताएलगत्तै अब यस्ता मेडिकल सेन्टरको भविष्यसमेत अन्योल बनेको छ । 

यस्तो थियो नेपालमा बेस्टिनेटको कमाउ धन्दा

मलेसियाको बेस्टिनेट कम्पनीले नेपालमा बायोमेडिकल र माइग्राम्सका नाममा पैसा उठाइरहेको थियो । बायोमेट्रिक स्वास्थ्य परीक्षण भनेर नेपाली मेडिकल सेन्टरलाई सिस्टम र आफ्टर सेल्स सर्भिसका नाममा प्रतिसंस्था करिब ८ लाख रुपियाँ एकमुष्ठ लिएर गएको थियो । त्यसपछि प्रत्येक कामदारको स्वास्थ्य परीक्षणको शुल्कबाट पनि प्रतिकामदार करिब १ हजार नेपाली रुपियाँ कमिसन लिने गरेको थियो । 

त्यसबाहेक बेस्टिनेट कम्पनीले माइग्राम्सको नामबाट प्रतिकामदार १ सय मलेसियन रिङ्गेट शेवा शुल्क भनेर लिने गरेको थियो । उक्त रकम मलेसियामै रहेको बेस्टिनेटको खातामा नेपालका म्यानपावर कम्पनीहरूले जम्मा गरिदिने गरेका थिए ।   

२६ सयको स्वास्थ्य परीक्षणलाई ४ हजार ५ सय पुर्याइएको थियो 

जतिबेला सामान्य ढङ्गले स्वास्थ्य परीक्षण हुन्थ्यो, त्यतिबेला प्रतिकामदारको स्वास्थ्य परीक्षण शुल्क जम्मा २ हजार ६ सय थियो । २ हजार ६ सय रुपियाँले पनि उनीहरूको आवश्यक सबै स्वास्थ्य परीक्षण सम्भव थियो । तर जब बायोमेडिकल लागू गरियो, २ हजार ६ सय रुपियाँमा हुने स्वास्थ्य परीक्षणलाई ४ हजार ५ सय रुपियाँ कायम गरियो । विभिन्न संस्था र व्यक्तिलाई कमिसन बुझाउनुपर्ने भएपछि स्वास्थ्य परीक्षणको शुल्क यसरी झण्डै दुई गुणा बनाइयो । 

बायोमेडिकल भित्र्याउने पदाधिकारी मालामाल, अरूको बेहाल !

६ महिनाका लागि मात्रै स्वीकृत थियो बायोमेट्रिक

मलेसिया जाने कामदाहरूका लागि बायोमेडिकल अर्थात् आँखाको रेटिना, फिङ्गर प्रिन्टसहितको मेडिकल टेस्ट अनिवार्य रहेको भन्दै २०७२ साल असार २३ गतेदेखि नेपालका ३९ वटा स्वास्थ्य परीक्षण गराउने क्लिनिकहरूले बायोमेडिकल गराइरहेका छन् । तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले परीक्षणकाल भन्दै छ महिनाका लागि बायोमेडिकल प्रणाली सञ्चालनमा ल्याउन स्वीकृति दिएका थिए । मतलब परीक्षण गर्नकै लागि मात्र ६ महिनालाई स्वीकृति दिइएको बायोमेडिकल ३ वर्ष पूरा हुँदा पनि अझै चलिरहेकै थियो । श्रममन्त्री गोकर्ण विष्टले गएको जेठ २ गते मलेसिया रोजगारीका सबै ढाट बन्द गराउने निर्णय गराएसँगै यसको अस्तित्व सकिएको थियो ।

कम्तीमा ४५०० शुल्क घट्नेछ 

नेपाल सरकारले गएको जेठ २ गतेदेखि एकतर्फीरूपमा मलेसियामा कामदार पठाउन बन्द गराएको छ । त्यसैको कारण मलेसिया सरकारले मङ्गलबार मात्रै माइग्राम्स र बायोमेडिकल सञ्चालन गरिरहेको बेस्टिनेटको अस्तित्व नामेट गरेको छ । 

यससँगै अब मलेसिया खुलेको खण्डमा सबै स्वास्थ्य व्यवसायीले नियमअनुसार स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन् भने माइग्राम्सका लागि कुनै शुल्क तिर्नुपर्ने छैन । हाल अन्य स्वास्थ्य व्यवसायीले प्रतिकामदार २ हजार ६ सयमै स्वास्थ्य परीक्षण गराइरहेका छन् । बायोमेट्रिक स्वास्थ्य परीक्षण हट्दा यसको फाइदा नेपाली कामदारहरूलाई हुनेछ । हाल ४ हजार ५ सय शुल्क तिरिरहेका कामदारले अब बढीमा ३ हजारमा स्वास्थ्य परीक्षण गराउन सक्नेछन् । 

त्यसैगरी माइग्राम्सका नाममा प्रतिकामदार १ सय मलेसियन रिङ्गेट अर्थात् करिब नेपाली २ हजार ८ सय शुल्क पनि अब हट्नेछ । बेस्टिनेटको खारेजीसँगै माइग्राम्स पनि अब हट्नेछ । जसबाट नेपाली कामदारलाई अब कम्तीमा ४ हजार ५ सय रुपियाँ सस्तो पर्ने भएको छ । मलेसिया जाने प्रक्रियामका लागि हाल माइग्राम्स, बायोमेडिकल, आईएससी, ओएससी र भीएलएन गरी ५ वटा संस्थामा १८ हजार २ सय रुपियाँ तिर्नु परिरहेको थियो ।   

हेर्नुहोस् रातोपाटीमा प्रकाशित समाचार

मलेसियन राजदूत भन्छन् : दुई देशबीच एमओयू गर्नुको विकल्प छैन

मलेसियामा विदेशी कामदार संकट : जिटुजी प्रक्रिया अपनाउन मलेसिया तयार, नेपाललाई ‘नरम’ बन्न आग्रह

वैदेशिक रोजगारीको अर्को पाटो : हुण्डीमार्फत् वार्षिक ३५ करोड रुपैयाँ मलेसिया जान्छ

मलेसिया रोजगारीमा लुटधन्दा : भीएलएन नेपाल र वान स्टप सेन्टरले यसरी असुल्दै छ रकम

बायोमेडिकल भित्र्याउने पदाधिकारी मालामाल, अरूको बेहाल !

मलेसिया भिसा ‘धन्दा’ : सिन्डिकेटदेखि हुण्डीसम्म

यसरी लुटिन्छन् मलेसिया जाने नेपाली कामदार

मलेसिया रोजगारीमा लुटधन्दा : नेपालको प्राइभेट कम्पनीलाई मलेसियन इमिग्रेसनको अधिकार !

सरकारलाई मलेसियन दूतावासको चुनौती – ‘वान स्टप सेन्टरको काम जारी राख्नु’

माइग्राम्स र बायोमेट्रिक बन्द

नेपाली कामदारको अतिरिक्त शुल्कबारे मलेसियन दूतावास भन्छ : अहिले जस्तो छ, त्यसरी नै चल्छ

मलेसिया रोजगारीमा लुटधन्दा : सिन्डिकेटधारीमाथि श्रममन्त्रीको धावा (भिडियो)

मलेसियामा रोजगारीमा जाँदा लाग्ने अतिरिक्त खर्च नेपालद्वारा एकतर्फीरुपमा खारेज

हामीलाई कसैले किन्न सक्दैन, वैदेशिक रोजगारको सिन्डिकेट चाँडै अन्त्य हुन्छ  : श्रममन्त्री गोकर्ण विष्टको अन्तरवार्ता


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप