बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा छानबिन गर्न समिति गठन

बुधबार, ३० साउन २०७५, २० : १३
बुधबार, ३० साउन २०७५

उर्लाबारी । खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । 

मोरङ लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा हालिएको विषादीयुक्त पानी खाँदा त्यहाँ अध्ययनरत २८ विद्यार्थी बिरामी परेको घटनाको छानबिन गर्न आज सो समिति गठन गरिएको हो । 

समितिलाई घटनाका बारेमा छानबिन गरेर जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउने जिम्मेवारी दिइएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए । 

समितिले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा छानबिन शुरु गरिसकेको जनाएको छ । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद घनश्याम खतिवडाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग पनि गरेका थिए । 

विद्यालयको ट्याङ्कीमा हालिएको साइपर मेथिन समूहको साइप्रिन नामक विषादी मिसिएको पानी खाँदा विद्यालयमा अध्ययनरत २८ विद्यार्थी मङ्गलबार बिरामी परेका थिए । 

बिरामी परेका मध्ये खुश्बु मिश्र, सृष्टि निरौला, कमला लिम्बू र मनिष थापाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये अन्य २४ जना मङ्गलबारे अस्पताल उर्लाबारीमा उपचार गराएपछि घर फर्किएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप