शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लव र किराँतीबीच एकताको तयारी

बिहीबार, ३१ साउन २०७५, ११ : १५
बिहीबार, ३१ साउन २०७५

काठमाडौँ–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र गोपाल किराँती नेतृत्वको पुनर्गठित नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको गृहकार्य शुरु भएको छ । दुबैपार्टीका नेताहरुले एकताका लागि विभिन्न चरणमा संवादसमेत गरेका छन् । 

पुनर्गठित माओवादीको नेतृत्व गरेका किराँतीले एकताको लागि वार्ता भएको र निकट भविष्यमा एकता हुन सक्ने बताए ।

 ‘हामी वैद्य कमरेड र विप्लव कमरेडसँग संवादमा छौँ । क्रान्तिकारी शक्तिहरुबीच एकता हुनुपर्छ भन्नेमा हाम्रो एकमत छ । सके सबैबीच एकैपटक, नभए विप्लव कमरेड र हामीबीच एकताको सम्भावना बलियो छ’, किराँतीले रातोपाटीसँग भने, ‘क्रान्तिकारी शक्तिहरुबीचको एकता निकट भविष्यमा हुन सक्ने सम्भावना छ । विप्लव कमरेडहरुसँग दुईपटक वार्ता भयो । वार्ता सकारात्मक भएका छन् । हामीले उहाँहरु ठूलो पार्टी भएको हुँदा एकताको औपचारिक पहल उहाँहरुले गर्नुस् भनेर भनेका छौँ ।’ 

नेता किराँतीले छिट्टै पोलिटब्यूरोको बैठक बसेर औपचारिक रुपमा एकताको पहल सुरु गर्ने बताए । 

तत्कालिन माओवादी केन्द्रले फागुन १० गते किराँतीलाई पार्टीबाट निस्काशन गरेको थियो । त्यसपछि उनी माओवादी केन्द्रलाई पुनर्गठन गर्ने अभियानमा जोडिएका थिए । एमाले र माओवादी एकताको भोलिपल्ट नेता किराँतीले प्रचण्ड नेतृत्वको पार्टीले मार्क्सवाद, लेनिनवाद, माओवादको विचार र बल प्रयोगको सिद्धान्तमा आधारित विचारधारा त्यागेको आरोप लगाउँदै औपचारिक हिसावले माओवादी केन्द्रको पुर्नगठन सुरु गरेका थिए ।

त्यसपछि उनले क्रान्तिकारी शक्तिहरुसँग एकताको पहल थालेका थिए । यहि पहल अन्तर्गत किराँतीले क्रान्त्रिकारी माओवादीका महासचिव मोहन वैद्य किरण र विप्लवसँग संवाद अगाडि बढाएका थिए । 
साउन २२ गते राति विप्लव नेतृत्वको नेकपाका प्रवत्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड चन्दा असुलीको आरोपमा प्रक्राउ परेपछि सो पार्टी अहिले चर्चामा छ । यद्यपी सो पार्टीका महासचिव विप्लवको

कपिलवस्तुस्थित निवासमा प्रहरीले वारेण्ट पूर्जी टाँसेपछि उनी भूमिगत छन् । तर पनि एकीकृत जनक्रान्तिको कार्यदिशा लिएको विप्लव नेतृत्को नेकपा र समाजवादी क्रान्तिको कार्यदिशा लिएको पुनर्गठित माओवादी केन्द्रबीच एकताको गृहकार्य भएको हो ।

यसअघि पनि आफूलाई क्रान्तिकारी दाबी गर्ने विभिन्न धारका माओवादीबीच पार्टी एकताको पहल भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन । एमाले माओवादी एकतापछि वैद्य, विप्लव र किराँतीले मूलधारको माओवादी आफूहरु भएको दावी गरेका थिए । 

प्रचण्डले माओवादीको विचार, सिद्धान्त र क्रान्तिलाई लत्याएको आरोप लगाउँदै विभिन्न कालखण्डमा बाहिरिएका यी नेताले एमाले–माओवादी एकतामाथि पनि कठोर आलोचना गरेका थिए । र, उनीहरूले प्रचण्ड नेतृत्वको माओवादीलाई लगाएको आरोप मिल्दाजुल्दा थिए । 

विप्लवले विज्ञप्ति जारी गर्दै एमाले र माओवादीबीचको एकतालाई  ‘क्रान्तिका भगौडा र नाम कटुवा कम्युनिस्टहरूको गठजोड’ भनेर टिप्पणी गरेका थिए । उनले विज्ञिप्त मार्फत ‘कम्युनिस्ट आदर्शबाट च्यूत भएका अवसरवादी तथा संशोधनवादीको एकता भएको’ पनि आरोप लगाएका थिए । 

एकतालाई लिएर वैद्यले वाम एकताका नाममा माओवादी केन्द्रको विलय भएको टिप्पणी गरेका थिए । एमाले र माओवादी केन्द्रबीच एकता नभएर दक्षिणपन्थी र अवसरवादी धारको मिलन भएको वैद्यको टिप्पणी थियो । 

नेता किराँतीले एमाले–माओवादी एकतापछि ‘प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नव प्रतिक्रियावादी कित्तामा पलायन भएको’ आरोप लगाएका थिए । 

एमाले माओवादी एकतापछि तीनवटै नेताले क्रान्तिकारी शक्तिबीचको एकतामा जोड दिएका थिए । विप्लवले एमाले र माओवादी केन्द्रको एकताले क्रान्तिकारीमा नयाँ शक्ति र अवसर पैदा गरेको बताएका थिए । 
वैद्यले आफूहरु सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्ने दिशामा अगाडि बढेको बताएका थिए । त्यसैगरी किराँतीले माओवादी केन्द्रको पुनर्गठनमा जुट्न सवै माओवादीसँग आग्रह गरेका थिए ।

वैद्य र विप्लव ०६९ असार ५ मा तत्कालिन माओवादीबाट पार्टी फुटाएर नयाँ पार्टी गठन गरेका थिए । पछि विप्लवले वैद्यलाई छाडेर नेपाल कम्युनिस्ट पार्टी गठन गरे । एमाले माओवादीबीच फागुन ७ मा सातबुँदे सहमतिपछि किराँतीले त्यसको विरोध गरेका थिए । त्यसको तीन दिन पछि किराँती र विश्वभक्त दुलाल ‘आहूती’ लाई पार्टीबाट निष्काशन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप