शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ती ब्राह्मण, जसले यी विपन्न दलितलाई बनाए डाक्टर !

बिहीबार, ३१ साउन २०७५, १२ : २२
बिहीबार, ३१ साउन २०७५

गुल्मी– जसले २०६५ सालमा आर्थिक समस्या झेल्दै गाउँको  सरकारी विद्यालयबाट एसएलसी पास गर्दा क्याम्पस पढ्ने कुरा उनका लागि सोचनीय विषय थियो । 

उनलाई विज्ञान विषय लिएर क्याम्पस पढ्ने मन थियो  ।  तर, उनका अगाडि आर्थिक तगारो कायमै थियो ।

सँगैका साथीहरु क्याम्पस भर्ना भइरहँदा उनी दोधारमै  थिए । घरमा थिए रोगी बृद्ध बुवा । सिर्फ आमाको निमेक मजदुरीका भरमा उनले त्यहाँसम्मको अध्ययन गरेका थिए ।  

 उनी हुन् गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर–१, साविकको दुर्गम गाउँ नेटा गाविस कटौजेका काशीराम बिक । 

२०४८ साल बैशाख ६ गते टोपबहादुर बिक र माता मनरुपाको कोखबाट जन्मिएका उनी सरस्वती माध्यामिक विद्यालय नेटाका अव्बल विद्यार्थी थिए ।

एसएलसी पास गरेर सदरमुकाम तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पस समेत भर्ना हुन नसकेका काशीरामलाई केही एसएलसीको नतिजा आएको केही महिनापछि काठमाडौबाट एकजना दयावानको फोन आउँछ । त्यही फोन नै उनको उज्वल भविष्यको सारथी भयो ।

फोन गर्ने व्यक्ति थिए –छिमेकी गाउँ भर्मचौर घर भई काठमाडौमा बसेर क्याम्पस पढाउने दिनानाथ पौड्याल । 

उनले बिकलाई फोन गरेर काठमाडौं बोलाए । आफ्नै कोठामा राखेर पुरानो बानेश्वरको न्यु समिट कलेजमा भर्ना पनि गरिदिए ।

आठ महिनासम्म उनी पौड्यालसँगै बसेर पढे   । त्यसपछि अध्ययनमा मात्र नभई होस्टेलमा समेत छात्रवृत्ति पाए विकले । होस्टेलमै बसेर विज्ञान विषयमा कक्षा १२ सम्म पढे । 

कक्षा १२ पछि उनका साथीहरु एमबीबीएस अध्यायनका लागि शिक्षा मन्त्रालयले लिने प्रवेश परीक्षाको तयारमा जुटे ।  

  तर उनीसँग पढ्ने रकम जुटाउने कुनै उपाय भएन । त्यसपछि उनी बाग्लुङ्गको बुर्तिबाङ्गमा रहेको जनता इङ्गलिस सेकेन्डरी बोर्डिङ्ग स्कुलमा पढाउन गए । 

एक वर्षसम्म त्यहाँ पढाएपछि उनी फेरि फर्किए काठमाडौ ।

त्यहाँ  पढाएर उनले केही रकम जुटाई सकेकोले विक शिक्षा मन्त्रालयको एमबिबिएस प्रवेश तयारी कक्षमा भर्ना भए ।  

तीन महिनाको अध्यायनपछि लिईएको परीक्षामा उनी एमबिबिएस अध्ययनका  लागि छात्रबृत्ति पाउनेमा परे ।

पाँच बर्ष अध्ययन पुरा गरी अहिले उनी जिल्ला अस्पताल गुल्मीको एमबिबिएस डाक्टर नियुक्ति भएका छन् ।

बुधवारदेखि  नै उनले अस्पतालमा आफ्नो कार्यभार पनि सम्हालिसकेका छन् । उनको घर छिमेकी जिल्ला वाग्लुङ्गको सिमनामा पर्दछ   । अहिलेसम्म पनि उनका गाउँका मानिसहरु जिल्ला अस्पताल तम्घासको पहुँचमा पुगेका छैनन् ।

 डा. बिक भन्छन् –‘ मैले यो जिल्ला अस्पताल देखेकोसम्म थिइनँ । आज पहिलो पटक प्रवेश गर्दैछु’ उनी अस्पताल प्रवेश गर्दैगर्दा महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटा , निर्मला केसी लगायतले पुष्पगुच्छाले स्वागत गर्दै बधाई दिए ।

 बाबु आमाका ९ सन्तान मध्येका एक हुन् डाक्टर बिक । घरमा चरम गरिवी थियो । त्यसमाथि बाबुको मृत्यु भयो । घर जल्यो ।  अरु यावत आरोह अवरोहहरु पार गरे उनले । तर कति विचलित भएनन् ।  लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा एमबीबीएस उत्तीर्ण डाक्टर बिक यसरी डाक्टर बन्लान् भन्ने कल्पना नै गर्न नसकिएको उनका छिमेकी तथा शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका शाखा अधिकृत झविलाल बिक बताउँछन् ।

 उनी भन्छन्, ‘सामन्य क्याम्पस भर्ना त कसरी हुने भन्ने उहाँहरुको आर्थिक अवस्था थियो । उनले एसएलसी पास गरेपछि शिक्षकसम्म हुनसक्ने भएकोले मैले गणित वा अंग्रेजी विषय लिएर पढ्न सुझाएको थिएँ, डाक्टर र इञ्जिनियर पढ्ने भन्ने कुरा त सोच्नसम्म सकिएको थिएन ।’

डा.बिक भन्छन्, ‘डाक्टर बन्ने कुरा त म आफैंले पनि कल्पना समेत गर्न सकेको थिएन । मलाई थाहा थिएन विज्ञान पढेर डाक्टर बनिन्छ भन्ने कुरा ।’  

  उनी आफूलाई भाग्यमानी ठान्छन्, ‘म सायद भाग्यमानी रहेछु । दिनानाथ सर जस्ता गडफादर पाएँ । उहाँले ठूलो सहयोग सहित प्रेरणा दिनुभयो । बुटवलमा खेम पुन, छिमेकी मामा थामडाँडाका दुर्गा बिकसहित अरु धेरैले सहयोग गरेर मलाई यहाँसम्म ल्याउनुभयो । उहाँहरुप्रति कृतज्ञता जाहेर गर्ने मैले त्यस्तो शब्द नै शब्द कोषमा पाइनँ ।’ उनी थप्छन् –‘मेरो घरको गरिवीले नै मलाई यहाँसम्म पुु¥याएको हो ।’

गरिबीलाई कमजोरी होइन तागत ठानेका छन् उनले । ‘गरिबी समस्या होइन, जुन अपेक्षामा पनि भरपर्दो रहेछ । मैले गाउँको मास्टर बन्ने अपेक्षा लिएको थिएँ । कहिले मानिसको अपेक्षा अनुरुप नै पुरा हुँदोरहेछ भने कहिले जिन्दगीको मोड नै बदलिदो रहेछ ।’

‘मैले भन्दा पनि उनी आफैंको मेहनत र  संघर्षले यहाँसम्म आएका हुन् । मैले त वातवरण मात्रै बनाइदिएको हुँ । अरु, थुप्रैलाई पनि बातवरण बनाऔं तर कोही लफङ्गिए तर उनले बढो मेहनत गरे’ उनका प्रमुख सहयोगी र प्रेरणका श्रोत दिननाथ पौड्याल भन्छन्,– ‘उनी सफल भएकोमा खुशी छु ।  जिल्ला अस्पताल तम्घासमा दलित समुदायबाट डाक्टर नियुक्ति लिएर आउने सम्भवत उहाँ पहिलो हुनसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप