बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद महतोको प्रधानमन्त्री ओलीलाई पत्र : तपाईंलाई स्वागत गर्ने इच्छा भइरहेको छैन

शुक्रबार, ०१ भदौ २०७५, ०९ : ३३
शुक्रबार, ०१ भदौ २०७५

प्रधानमन्त्री श्री केपी शर्मा ओलीको नाम खुल्ला पत्र

आदरणीय प्रधानमन्त्री ज्यू,

तपाईको जनकपुर आगमन र प्रदेश सभालाई सम्बोधन गर्ने खबर विभिन्न सञ्चार माध्यमबाट अवगत भयो। प्रधानमन्त्रीको आगमन प्रदेशवासीको लागी हर्ष र उल्लासको विषय हुनुपर्थ्यो । त्यसमा पनि प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम त प्रदेशकै लागि अत्यन्त सुखद विषय त्यसमा पनि प्रदेश सभामा बसेर प्रदेश सभा सदस्यको हैसियतले त्यस सम्बोधन कार्यक्रमको प्रत्यक्षदर्शी बन्ने अवसर पाएकोमा त झन गौरवको विषय हुनुपर्थ्यो। तर प्रधानमन्त्री ज्यू, तपाईंको आगमनले न त हाम्रो प्रदेशका आम जनतानै उत्साहित छन् न त प्रदेश सभामा यहाँको सम्बोधन कार्यक्रमले मलाई नै गर्वको अनुभूति भइरहेको छ। 

प्रदेश नम्बर दुईका जनताको ठूलो रहर थियो, आफ्नो प्रधानमन्त्री ज्यूलाई भव्य स्वागत गर्ने अवसर पाइयोस्। तर बड़ो दुःख र अफ़सोसका साथ म भन्न चाहन्छु यहाँको आगमनले हामी मधेशी जनतामा कुनै हर्ष र उत्साह छैन। प्रदेश सभाको सदस्यको हैसियतले प्रोटोकलको लागि भए पनि तपाईको स्वागत गर्ने इच्छा भइरहेको छैन। आखिर किन त ? किन आफ्नै देशको प्रधानमन्त्रीलाई स्वागत गर्ने र तपाईको सम्बोधन सुन्ने भित्री इच्छा प्रकट भई रहे छैन त ? जनकपुर आउनु भन्दा पहिले यस विषयमा गम्भीर विचार गर्न मेरो विनम्र अनुरोध छ। 

प्रधानमन्त्रीज्यू, 

६ महिनाको लामो मधेश आन्दोलन अझै मधेशी जनताले बिर्सेका छैनन्। आफ्नो संवैधानिक अधिकार र पहिचानको लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका निहत्था मधेशी जनतामाथि टाउको र छातीमा ताकेर गोली हानी हत्या गरिएको घटना अहिले पनि मधेशी जनताको मानसपटलमा ताजा नै छ। हाम्रो अहिंसक आन्दोलनलाई माखेसाँग्लो भनी अपमानित गरिएको र हाम्रा वीर शहीदहरुको शहादतलाई आँप झरेको संज्ञा दिएर शहादतलाई अपमान गरेको झझल्को अहिले पनि आईरहेको छ। सयौं शहादतको अभिभारा बोकेर कसरी तपाईंको स्वागत गर्ने ?

प्रधानमन्त्री ज्यू, 

मधेशी जनताले आफ्नो रगत बगाइरहँदा काठमाण्डौमा तपाईले खुशियाली मनाउनु भएको कुरा अझै पनि हाम्रो यादाश्तमा जीवित नै छ। मधेशी जनताको लाशमाथि देशको अपुरो अधुरो संविधान जारी गर्ने दुस्साहस स्मरण नै छ। मधेशी जनताले ब्ल्याक आउट गरिरहँदा काठमाण्डौमा तपाईंले दियो बालेर दिपावली मनाएको कुरा हामीले अझै बिर्सेका छैनौं।यी सब कुराहरु स्मरण भइरहदा चाहेर पनि तपाईंलाई स्वागत गर्ने अली कती पनि इच्छा भइरहेको छैन। 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीको मधेसमा नयाँ ‘इनिङ्ग’

प्रधानमन्त्री ज्यू, 

नेपाली जनताको ताजा जनादेशले दुई तिहाई बहुमतको सरकारको नेतृत्व यहाँले गर्दै हुनुहुन्छ। चुनाव प्रचारको क्रममा र सरकारको विश्वास मत लिने बेला पनि तपाईंले मधेशी जनताको भावनाअनुसार माग सम्बोधन गर्ने कुरा प्रष्टका साथ भन्नु भएको थियो।विगतमा जे जसो भएपनि यसपाली तपाईं प्रधानमन्त्री बने पछि मधेशी जनतालाई विश्वास थियो यस पटक तपाईं खस शासक वर्गको मात्र प्रधानमन्त्री नबनेर सम्पूर्ण नेपाली जनताको प्रधानमन्त्रीको रुपमा आफूलाई प्रस्तुत गर्नुहुनेछ। विगत जस्तो तपाई केही सीमित वर्गको मात्रै प्रधानमन्त्री नबनेर यस पटक देशका शोषित, पीड़ित, उपेक्षित, असहाय, सिमान्त्कृत, थारु, दलित, मधेशी, अल्पसंख्यक सबैको प्रधानमन्त्री बन्नुहुन्छ। 

तर धेरै दुःखका साथ र अत्यन्त जिम्मेवारीपूर्वक म भन्न चाहन्छु कि सरकारको नेतृत्व गरेको ६ महिना हुनलाग्दा तपाईको कुनै पनि कार्य व्यवहारले अझै पनि हामी शोषित पीड़ित, उपेक्षित, मधेशी,थारु लगायत कसैको पनि मनलाई छूने गरि कुनै ठोस कार्य गर्न सक्नु भएको छैन। तपाई देशकै प्रधानमन्त्री हुनु हुन्छ भन्ने एहसास अहिले पनि देशको आधी भन्दा बढ़ी जनतालाई अनुभूति हुन सकिरहेको छैन। 

प्रधानमन्त्री ज्यू, 

खै जनताको अपार मत ल्याई चुनाव जितेका हाम्रा माननीय सांसद रेशम चौधरीलाई राजनीतिक आस्था कै आधारमा जेलभित्र राखेकोलाई न्याय दिएको ? खोई त मधेशी राजनीतिक नेता कार्यकर्ता माथि झुठा मुद्दा फिर्ता लिने प्रक्रिया शुरू भएको त ? खोई मधेशी जनताको संवैधानिक अधिकार पहिचानका मुद्दाहरु बारे तपाईंले गर्ने भनेको काम ? खोई त संविधान संशोधनको प्रक्रिया अघि बढाएको ? अनी किन मधेशी जनताले तपाईलाई स्वागत गर्ने ? कुन नैतिक अधिकारले तपाई प्रदेश सभालाई सम्बोधन गर्न आउँदै हुनुहुन्छ ?  किन तपाईंको सम्बोधन बहिष्कार नगर्ने त ?

प्रधानमन्त्री ज्यू, 

जून प्रदेशमा तपाई आउँदै हुनु हुन्छ त्यहाँका माननीय मुख्यमन्त्री ज्यूले पनि तपाईलाई पत्र लेखेरनै तपाईको सरकारले हामी माथि गरेको विभेद बारे आफ्नो असन्तुष्टि जाहेर गरिसकेका छन्। न हाम्रो माँग पूरा गर्ने, न हाम्रो अधिकारको कुरा गर्ने, न संविधान संशोधन गर्ने, न प्रदेश सरकारसँग उचित व्यवहार गर्ने, अनि किन तपाईलाई प्रदेश दुईमा स्वागत गर्ने, किन तपाईंको सम्बोधन सुन्ने हामी ? 

प्रधानमन्त्री ज्यू, 

तपाईंको जनकपुर आगमनमा प्रदेश सरकारले ख़ुशीका साथ हैन बल्कि मज़बूरीमा तपाईको स्वागत गर्ने छ।  तपाईको प्रदेश सभा सम्बोधन सुन्न तपाईंको पार्टी बाहेक अरु कुनै दलले रुचाएर सुन्ने छैनन्। तर यो सम्बोधन प्रधानमन्त्री ज्यूको नभएर पार्टी अध्यक्षको सम्बोधन हुनेछ। मधेशी जनताले तपाईको स्वागत गर्ने छैनन्। मधेशी जनताले तपाईको सम्बोधन पनि सुन्ने छैनन्। म प्रदेश सभाको सदस्य भए पनि, म आफ्नो पार्टीको एक जिम्मेवार कार्यकर्ता हुनुका साथसाथै जनताको प्रतिनिधी भएको हुनाले म जनताको साथमा रहने छु। न त म तपाईको स्वागतको लागि नै आउने छु न तपाईको सम्बोधन नै सुन्ने छु। म तपाईंको प्रदेश सभामा हुने सम्बोधनलाई बहिष्कार गर्ने घोषणा गर्दैछु। 

प्रधानमन्त्री ज्यू,

देशमा नयाँ मुलुकी ऐन लागु हुने दिन म यो खुल्ला पत्र तँपाईलाई लेख्दै छु। हुन सक्छ नयाँ मुलुकी ऐनको कुनै धारा उपधारा लगाई मलाई हत्कड़ी पनि लगाउन सक्नु हुन्छ।म त्यसको लागि पनि तयार छु र साथै यो पत्र हुन सक्छ मेरो पार्टीको नीति सिद्धान्त विपरीत मानिनेछ र म विरुद्ध अनुशासनात्मक कारवाही पनि हुन सक्छ। म त्यसको लागि पनि तयार छु। तर आफ्नो जनताको आवाज कुनै न कुनै रूपमा म बनी रहनेछु।  

जय जनता 
उपेन्द्र महतो
प्रदेश सभा सदस्य
१, भदौ २०७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप