बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शनिबारदेखि सुरु हुने एसियाडको तयारी पूरा

शुक्रबार, ०१ भदौ २०७५, १४ : ५६
शुक्रबार, ०१ भदौ २०७५

स्टेफन वेड 
जकार्ता– आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा करिब ११,५०० एथ्लेटिक्स खेलाडी सहभागी हुनेछन् । यो संख्या गृष्मकालीन ओलम्पिकमा सहभागी हुनेभन्दा १,००० भन्दा बढी हो ।  विविधताको दृष्टिमा, ओलम्पिकमा नदेखिएका धेरै किसिमका खेलहरु यहाँ समेटिएका छन् र यी एसियाका खास खेल हुन् । भारतको लोकप्रिय खेल कबड्डी, उज्वेकिस्तानको परम्परागत मार्सल आर्ट वा इन्डोनेसियाली मार्सल आर्टलाई के भन्ने ?  

प्रतियोगितामा इस्पोर्टलाई पनि समावेश गरिएको छ भने जेट स्की पनि कार्यक्रममा समाविष्ट छ ।  शनिबार औपचारिक रुपमा प्रारम्भ भएर सेप्टेम्बर २ तारिखसम्म चल्ने यस कुम्भमेलामा स्पोर्ट्स क्लाइम्बिङ र स्केटबोर्ड खेल पनि समावेश गरिएको छ । सन् २०२० को टोक्यो ओलम्पिकमा समेत यी दुई खेल पनि राखिएको छ । 

जिम्नास्टिक वा पौडीभन्दा पनि पुरानो तर ठूलै जनसमूहले रुचाएको कन्ट्राक्ट ब्रिज खेल पनि यसपटक राखिएको छ । यस खेलमा भाग लिने सबैभन्दा पाका व्यक्तिको उमेर ८१ वर्षको छ । ‘यो खेलका लागि हामीले साँच्चिकै मेहनत गरेका छौं,’ स्थानीय आयोजक समितिका महासचिव एरिस हेर्यान्तोले बताए । ‘हाम्रो विचारमा हामीले तयारी पूरा गरिसक्यौं ।’ 

जकार्ताका लागि यस प्रतियोगिताको तयारीका लागि समय त्यति धेरै थिएन । आर्थिक समस्याका कारण देखाउँदै मुख्य आयोजक भियतनामले प्रतियोगिता गर्न नसक्ने जनाएपछि चार वर्षअघि इन्डोनेसियाको काँधमा आएको थियो । इन्डोनेसिया समक्ष यो भन्दा ठूला प्रतियोगिता आयोजना गर्ने क्षमता छ भन्ने देखाउने अवसर पनि यसपटक हुन सकेन । तर एसियाली ओलम्पिक परिषद्को सहयोग जकार्ताका लागि उल्लेखनीय रह्यो । 

जकार्तामा विश्वमै सबैभन्दा खराब ट्राफिक अस्तव्यस्तता छ । सडकमा मोटरसाइकलको दौडधूप समुद्रको छालजस्तै छ । एथ्लेटिक्स खेलाडीलाई तोकिएको रङ्गशालामा समयमै पुर्याउनु आयोजकका लागि चुनौतीपूर्ण हुने गर्दछ । खेलाडी हिँड्ने कतिपय मार्गका छेउछाउका स्कुल बन्द गरिएका छन्, र सहरको ट्राफिक समस्या सुल्झाउन सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । 

तर कसैलाई पनि घरमै बस्नुचाहिँ भनिएको छैन । ‘हामीले आम मानिसलाई एसियाली खेलकूद हेर्न आमन्त्रण गरेका छौं, तर आउँदा सार्वजनिक यातायातका साधनको प्रयोग गर्नुहोस्’ हेर्यान्तोले भने । उनले यसले मानिसको व्यवहार परिवर्तनमा पनि सघाउने हामीले विश्वास लिएका छौं । 

सुरक्षा व्यवस्था कडा बनाइएको छ । आयोजकहरुको भनाईमा प्रतियोगिता अवधिभर १००,००० प्रहरी र सैनिकले गस्ती गर्नेछन् र अरु १००,००० सेना र प्रहरी तयारी अवस्थामा हुनेछन् । 

इन्डोनेसियाले आफूलाई ओलम्पिक मुलुकका रुपमा सोच्न थालिसकेको छ । करिब २६ करोड जनसंख्या रहेको इन्डोनेसिया चीन, भारत र संयुक्तराज्य अमेरिकापछिको सबैभन्दा बढी जनसंख्या भएको चौथो मुलुक हो । यहाँ करिब १३,५०० द्वीप छन् र यिनीहरु ५१०० किलोमिटर क्षेत्रमा फैलिएका छन् ।

विचित्र विशेषतायुक्त मुलुक भएपनि एसियाली खेलकूदमा चीन, जापान र दक्षिण कोरियाका शक्तिशाली टीमहरुबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । ओलम्पिकमा पदक जित्न नसकेको केही साना राष्ट्रहरुका लागि पनि पदक पाउने यो सुवर्ण अवसर हो । 

अफगानिस्तान, बहराइन र बंगलादेशदेखि उज्बेकिस्तान, भियतनाम र यमनसम्मका ४५ मुलुकका खेलाडीले यहाँ भाग लिँदैछन् । एउटा सानो मुलुक सिंगापुरबाट ओलपिम्क स्वर्ण पदक विजेता जोसेफ स्कूलिङले प्रतिस्पर्धा गर्दैछन् । उनले रियो दे जेनेरियामा दुई वर्षअघि भएको ओलम्पिक खेलमा १०० मिटर बटरफ्लाई पौडीमा विश्व च्याम्पियन माइकल फेल्प्सलाई पराजित गरेका थिए । 

चीनबाट सबैभन्दा ठूलो टोलीले भाग लिँदैछ । यहाँबाट ८४५ जना एथ्लेटिक्स खेलाडीले भाग लिनेछन् । तर यो युवाले भरिएको छ । विगतमा एसियाली खेलकूद वा ओलम्पिकमा सहभागी रहिसकेका २१४ जना मात्र खेलाडी चीनले पठाउँदैछ । चीनबाट केबल १९ जनामात्र ओलम्पिक स्वर्ण पदक विजेता सहभागी हुनेछन् । तीन पटक पौडीमा ओलम्पिक स्वर्ण पदक विजेता सन याङले पनि यसपटक सहभागिता जनाएका छन् । 

दक्षिण कोरिया र जापान पनि कम छैनन् । 

दक्षिण कोरियाले ८०७ जना एथ्लेटिक्स खेलाडी पठाएको छ जसमा उत्तर कोरियाका ३८ जना एथ्लेटिक्स खेलाडी पनि समावेश छन् । कोरियालीका धेरैवटा संयुक्त टोली पनि छन् । दक्षिण कोरियामा आयोजित शितकालीन ओलम्पिकमा सहभागी महिला संयुक्त हकी टीमले पनि यहाँ सहभागिता जनाएको छ । 

जापानबाट ७६८ जनाको टोली जकार्ता पुगेको छ । रियो द जेनेरियोको ओलम्पिक खेलमा सहभागीभन्दा दोब्बर खेलाडी जापानबाट यहाँ आइपुगेका हुन् । यसैले पनि एसियाली खेलकूदको आकारलाई प्रतिबिम्बित गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप