बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तपार्इंले छुटाउनुभयो कि, शुक्रबारका मुख्य १० समाचार

शुक्रबार, ०१ भदौ २०७५, १८ : ०६
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं । आज शुक्रबार । रातोपाटीबाट दुई सयको हाराहारीमा समाचार प्रकाशित भए । 

२८ वटा वाणिज्य बैंकको वित्तीय विवरण, साउदीमा सबैभन्दा धेरै समस्या, गच्छदारले ‘विकल्प’ खोज्ने, बाजपेयीः जसले हारेको बाजी पनि जित्थे जस्ता समाचार चर्चामा रहे । 

रातोपाटी डटकममा प्रकाशित भएका समाचारहरु पाठकहरुले धेरै रुचाए । त्यसमध्ये मुख्य बनेका १० समाचार यहाँ प्रस्तुत गरिएको छ ।

रातोपाटीका पाठकहरुले पढ्न छुटाउनुभयो कि भनेर यहाँ समाचार राखिएको छ । तीमध्ये प्रमुख समाचारको लिंक यसरी प्रस्तुत गरिएको छ । 

२८ वटा वाणिज्य बैंकको वित्तीय विवरण : कसको अवस्था कस्तो छ ?

गत आर्थिक वर्ष  (२०७४/०७५) को चौथो त्रैमासको वित्तीय विवरण २८ वटै वाणिज्य बैंकले सार्वजनिक गरिसकेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २७ वटा वाणिज्य बैंक र पुर्णतया सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक गरी  २८ वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा सबै बैंकको नाफा देखिएको छ ।  

एनसीसी बैंकको भने नाफा घटेको छ ।

अघिल्लो वर्ष २ अर्ब ६२ करोड १२ लाख रुपैयाँ नाफा गरेको एनसीसीले अहिले १ अर्ब २४ करोड ६ लाख नाफा गरेको छ । 

वार्षिक २ हजारभन्दा बढी उजुरी, साउदीमा सबैभन्दा धेरै समस्या

काठमाडौँ । वार्षिक करिब ४ लाखको हाराहारीमा नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि मलेसियालगायतका देशहरूमा पुग्ने गरेका छन् । तर वैदेशिक रोजगारीका क्रममा विदेश पुग्दा विभिन्न म्यानपावर कम्पनी तथा रोजगारी दिने कम्पनीले भनेअनुसारको सेवा तथा सुविधा नदिँदा त्यसको उजुरी वैदेशिक रोजगार विभागमा पर्ने गरेको छ । 

वैदेशिक रोजगार विभागमा आर्थिक वर्ष २०७४/७५ मा मात्रै २ हजार १ सय २९ वटा उजुरी परेका छन् । विभागमा परेका उजुरीहरूमा म्यानपावर कम्पनीले धेरै शुल्क लिएको उजुरी सबैभन्दा बढी पर्ने गरेको छ भने भनेअनुसारको काम र तलब सुविधा नपाएको उजुरी पनि उत्तिकै मात्रामा पर्ने गरेको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजाल बताउँछन् । 

वैदेशिक रोजगार विभागले हालसम्म १ हजार ४ सय १९ वटा म्यानपावर कम्पनीलाई इजाजातपत्र दिएको छ । १४ सय १९ वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगारीसम्बन्धी काम गर्न अनुमति प्रदान गरिएको भए पनि अहिले भने जम्मा १ हजार १ सय ६१ वटा कम्पनी मात्रै सक्रिय अर्थात् एक्टिभ रहेका छन् ।

देउवा सिंगापुरबाट फर्केपछि गच्छदारले ‘विकल्प’ खोज्ने

काठमाडौ– दश महिनाअघि आफ्नो पार्टी फोरम लोकतान्त्रिलाई काँग्रेसमा विलय गराएका विजयकुमार गच्छदार काँग्रेस पार्टी छाड्ने मनस्थितिमा पुगेका छन् । पार्टी सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि अन्तिम छलफल गर्ने र सो छलफलपछि पनि आफ्नो समुहका नेता कार्यकर्तालाई उचित समायोजन नगरे विकल्प खोज्ने गच्छदार समूहको तयारी छ ।

नेता गच्छदार पार्टीमा महत्ववपूर्ण जिम्मेवारी नपाएको भन्दै पछिल्लो समय देउवासँग असन्तुष्ट बनेका छन् । यहि साउन २९ गते गच्छदारले आफ्नै निवासमा पुराना पार्टीका नेता तथा कार्यकर्तासँग विकल्पबारे छलफलका लागि बैठकनै राखेका थिए । सो बैठकमा पार्टी एकीकरणदेखि हालसम्म काँग्रेस पार्टीमा भएका गतिविधिका बारेमा छलफल भएको बताइएको छ । 

२०७४ असोज ३० गते गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नेपाली काँग्रेससँग एकीकरण गरेको थियो । एकीकरण हुनुपूर्व दुई दलको बीचमा भएको सम्झौता हालसम्म कार्यान्वयन नभएको भन्दै गच्छदार त्यसको विकल्प खोज्ने तयारीमा लागेको गच्छदार निकट नेताहरुले बताएका छन् ।

अटल बिहारी बाजपेयीः जसले हारेको बाजी पनि जित्थे

सन् १९६३ मे को कुरा हो । मैले पहिलो पटक अटल बिहारी बाजपेयीलाई सुनेको थिएँ । पंडित दिनदयाल उपाध्याय जौनपुरबाट लोकसभाको चुनाव लडिरहेका थिए ।

त्यतिबेला चार उपचुनाव भइरहेको थियो । वडोदराबाट मिनु मसानी चुनाव लडिरहेका थिए, अमरोहाबाट जेबी कृपलानी र फर्रुखाबादबाट डा. राम मनोहर लोहिया चुनावी मैदानमा उत्रिएका थिए ।

जौनपुरको सभामा मैले बाजपेयीलाई पहिलो पटक सुनें । बाजपेयीले मानिसहरुलाई आफ्नो सभामा हसाउँथे र भावनामा बगाउँथे पनि ।

यो नै उनको भाषको अद्भूत कला थियो र उनले यो कला आफ्ना बुवाबाट हाँसिल गरेका थिए । बाजपेयीको भाषणमा हाँसो, भावना र मुद्दा उठान हुने गर्दथ्यो ।

‘राष्ट्रिय जनावर बदली गर’ भन्दै सिंहदरबार अगाडि नग्न प्रदर्शन (भिडियो)

काठमाडौँ । राष्ट्रिय जनवार बदली गर्न माग गर्दै सिंहदवार अगाडि एक व्यक्तिले नग्न बनेर प्रदर्शन गरेका छन् ।

‘जनवार सबै एक हुन्, कानून सबैलाई लागु गर, नत्र मुलुकी ऐन संशोधन गर र राष्ट्रिय जनावर बदली गर’ लगायतका माग राखेर जितिन लिम्बुले नग्न भएर प्रदर्शन गरेका हुन् ।

 उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन् ।

सिंहदरवारको दक्षिण गेट नजिकै प्रदर्शन गरेका लिम्बुलाई प्रहरीले केही समयमा नियन्त्रणमा लिएको थियो । सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ ।

 

सांसद महतोको प्रधानमन्त्री ओलीलाई पत्र : तपाईंलाई स्वागत गर्ने इच्छा भइरहेको छैन

तपाईको जनकपुर आगमन र प्रदेश सभालाई सम्बोधन गर्ने खबर विभिन्न सञ्चार माध्यमबाट अवगत भयो। प्रधानमन्त्रीको आगमन प्रदेशवासीको लागी हर्ष र उल्लासको विषय हुनुपर्थ्यो ।

त्यसमा पनि प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम त प्रदेशकै लागि अत्यन्त सुखद विषय त्यसमा पनि प्रदेश सभामा बसेर प्रदेश सभा सदस्यको हैसियतले त्यस सम्बोधन कार्यक्रमको प्रत्यक्षदर्शी बन्ने अवसर पाएकोमा त झन गौरवको विषय हुनुपर्थ्यो। तर प्रधानमन्त्री ज्यू, तपाईंको आगमनले न त हाम्रो प्रदेशका आम जनतानै उत्साहित छन् न त प्रदेश सभामा यहाँको सम्बोधन कार्यक्रमले मलाई नै गर्वको अनुभूति भइरहेको छ। 

प्रदेश नम्बर दुईका जनताको ठूलो रहर थियो, आफ्नो प्रधानमन्त्री ज्यूलाई भव्य स्वागत गर्ने अवसर पाइयोस्। तर बड़ो दुःख र अफ़सोसका साथ म भन्न चाहन्छु यहाँको आगमनले हामी मधेशी जनतामा कुनै हर्ष र उत्साह छैन । 

सांसदले भने सडकका खाल्टो पुर्नुपर्यो, मन्त्री महासेठले भने–‘आकासे रेलको पनि योजना बनाइरहेका छौं’

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले ५ बर्षभित्र केरुङ–काठमाडौ र रक्सौल काठमाडौं रेलमार्ग सञ्चालन गर्ने गरी काम अघि बढेको बताएका छन् । बिहिबार संसदको विकास तथा प्रविधि समितिमा बोल्दै मन्त्री महासेठले १ बर्षभित्र पानी जहाज सञ्चालन गर्नेगरी काम अघि बढेको बताएका छन् । उनले उपत्यकामा आकाशे रेल निर्माण गर्ने पनि उल्लेख गरेका छन् । समितिको बैठकमा बोल्दै मन्त्री महासेठले काठमाडौं लगायतका शहरमा आकाशे रेल सञ्चालन गर्नेबारे योजना बनाइरहेको उल्लेख गरे । 

सांसदहरुले सडक बन्न नसकेको बेला रेल कहाँबाट ल्याउने भनेर गरेको प्रश्न सहि भएको बताउँदै मन्त्री महासेठले सडक मार्ग बनाएपछि मात्र रेल बनाउने भनेर लागे देश ५० बर्ष पछाडि पर्ने दावी गरे । उनले समान्तर रुपमा सडकमार्ग, रेलमार्ग र आकाश मार्गको विकास गर्ने बताए । 

उनले भने– ‘आकासमार्ग भनेको केवलकार, स्काई रेल हो । स्काई रेल पनि हाम्रो मन्त्रालय अन्र्तगतको काम भएकोले त्यसबारे योजना बनाइरहेका छौँ । आकाशे रेल खासगरी भ्यालीतिरका लागि हो, माननीय ज्युहरुलाई म के जानकारी गराउन चाहन्छु भने सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा भएको सम्झौता अनुसार वीरगञ्ज काठमाडौं र केरुङ काठमाडौं रेलमार्गको सर्वेको काम सकिएको छ, मैले किन यो जानकारी गराए भने कि यो सरकार कति गम्भिर छ ।’

मेस्सी र रोनाल्डो एक अर्का बिना कसरी अघि बढ्लान् ?

एजेन्सी । लामो समयदेखि हामी लियोनेल मेस्सी–क्रिस्टियानो रानाल्डोको युरोपेली र स्पेनीस मैदानमा प्रतिद्वन्द्विता हेर्दै अएका थियौँ । तर नयाँ सिजन सुरु हुदै गर्दा अब दुई खेलाडी सहभागी भएको क्लासिको कहिल्यै हेर्न पाउने छैनौँ ।

यसले कट्टर समर्थक, सामान्य फ्यानहरु र फुटबलमा सामान्य रुची राख्नेहरुको लागि पनि एउटा बलियो आभिलासाको भावना उत्पन्न गर्नु पर्छ ।

यस कुराले यी खेलाडीहरु आफैलाई पार्न सक्ने असरबारे अहिल्यै कसलाई थाहा छैन । बर्षौँदेखि आफूहरुबीच रहेको प्रतिद्वद्विताले आफूलाई नयाँ उचाईमा पुग्न सहयोग पुगेको तथ्यमा रोनाल्डो खुलस्त रहदैँ आएका छन् । 

माइतीघरबाट महिलाको दवाव : ‘बाबा को हो प्रश्न नगर!’ (फोटोफिचर )

काठमाडौं– प्रतिनिधि सभा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकले महिलालाई दोस्रो दर्जामा राखेको भन्दै प्रदर्शन भएको छ ।

शुक्रबार महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको अगुवाईमा काठमाडौमा प्रदर्शन भएको हो । 

माइतिघर मण्डलामा निकालिएको  ‘दवाव र्यालीमा सहभागीहरुले ‘आमालाई दोस्रो दर्जाको रुपमा राख्न पाइन्न’, ‘बिना प्रश्न आमाको नाममा नागरिकता’, महिलालाई सम्मान नगर्ने सरकार प्रगतिशील हुन सक्दैन’ लगायतका प्ले कार्ड बोकेका थिए ।

बर्सेनि बढ्दैछ बलात्कारका घटना, ०७४/७५ मा १४८३ बलात्कार

काठमाडौँ । नेपालमा बर्सेनि बलात्कारका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक गत आर्थिक वर्ष २०७४/७५ मा मात्रै देशभर एक हजार ४ सय ८३ वटा बलात्कारका घटना भएका छन् । आर्थिक वर्ष २०७३/०७४ मा एक हजार १ वटा जबरजस्ती करणीका घटना भएकोमा यो वर्ष ४ सय ८२ ले बढेको छ । यस्तै आर्थिक वर्ष ०७२/७३ मा ९ सय ६३ वटा बलात्कारका घटना भएकोमा ०७१/७२ मा भने ९ सय ८१ वटा बलात्कारका घटना भएका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा १ नम्बर प्रदेशमा सबैभन्दा बढी बलात्कारका घटना भएका छन् । यो प्रदेशमा बालिका तथा महिला गरी ३ सय ८४ वटा बलात्कारका घटना भएका छन् । जसमध्ये २ सय २१ बालिका र १ सय ६६ महिला छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको तथ्याङ्कमा प्रदेश एकपछि ५ नम्बर प्रदेशमा बढी बलात्कारका घटना भएका छन् । यो सोही अवधिमा प्रदेश नम्बर ५ मा २ सय ६९ वटा बलात्कारका घटना भएका छन् । जसमध्ये १ सय ६६  बालिका छन् भने १ सय २ जना महिला र एकजना उमेर नखुलेकी महिला छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप