बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘फेक रेस्क्यू ’प्रकरणले पर्यटन क्षेत्रमा तरंग, व्यवसायी भन्छन्– सरकारले त्रास फैलायो

शुक्रबार, ०१ भदौ २०७५, १८ : २४
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन भ्रमण वर्ष मनाउन लागेको सरकारले नै पर्यटन क्षेत्रमा त्रास फैलाउने काम गरिरहेको पर्यटन व्यवसायीहरुले आरोप लगाएका छन् । पर्यटन वर्षको तयारीमा लाग्नुको सट्टा पर्यटन क्षेत्रमा भएका कमजोरीलाई खोजेर त्रास फैलाउन सरकार लागिपरेको उनीहरुको आरोप छ । 

‘फेक रेस्क्यू’ प्रकरणमा सरकारले गठन गरेको छानबीन समितिले एक प्रतिवेदन तयार पारेसँगै  पर्यटन क्षेत्र तरगिंत बनाएको छ । हिमाली क्षेत्रको भ्रमणमा जाने पर्यटक बिरामी भएमा गरिने उद्दारलाई ‘फेक’ भन्दै सरकारले कारवाहीको लागि समेत सिफारिस गरेको छ । 

पर्यटन वर्ष मनाउने तयारी गर्दा यसरी सरकारले पर्यटन क्षेत्रमा रहेको कमजोरीलाई औंल्याउँदा विदेशमा त्यसको नकारात्मक सन्देश जाने र पर्यटन वर्ष असफल हुने पर्यटन विज्ञहरुको दाबी छ ।

‘फेक रेस्क्यूको नाम दिएर संसारभर सरकार आफैँ गलत सन्देश फैलाइरहेको छ,’ एक पर्यटन व्यवसायीले भने, ‘यस्तो अवस्थामा कसरी २० लाख पर्यटन ल्याउन सक्छ सरकारले ?’ 

सरकारले ‘फेक रेस्क्यू’बारे चर्चा ल्याएपछि कतिपय देशका बीमा कम्पनीले नेपाल आउने पर्यटकको बीमा समेत नगर्ने बताउने थालेका छन् । यसरी ती देशका पर्यटकका बीमा नभएपछि नेपाल आउने पर्यटकको संख्या घट्ने व्यवसायीको अनुमान छ ।

सरकारले ‘फेक रेस्क्यू’ गरेको भन्दै केही कम्पनी र हेलिकप्टरलाई कारबाहीमा सिफारिस गरेको छ । हिमाली क्षेत्रमा सोचे अनुरुप काम गर्न नसकिनाले एउटा बिरामीको लागि पटक–पटक उडान गर्नुपर्छ ।

सरकारले भने त्यही एउटा बिरामीको उद्दारको लागि गरिएको पटक–पटकको उडानलाई आधार मानेर ‘फेक रेस्क्यू’ गरेको भन्दै कारबाहीको सिफारिस गरिएको व्यवसायी बताउँछन् । 

इजि हेलि चार्टर सर्भिस प्रा.लि.कम्पनीका अनुसार २०१६ मे १० तारिख ७ हजार २ सय मिटर भन्दामाथि सगरमाथा आरोहणको क्रममा सगरमाथाको क्याम्प २ मा मा फसेका विदेशी नागरिक भलाद्मिर स्र्टाबा र जोल्टन पलको उद्दार गर्दा ५ पटकसम्म उडान भरेर ४८ घण्टा लगाई उद्दार गरिएको थियो । 

त्यसरी पर्यटकको उद्दार गरेर ज्यान बचाउँदा समेत कारबाहीमा परिएकाले अबको दिनमा यसरी उद्दारको काम गर्नेकी/नगर्ने भन्नेमै अन्यौल रहेको कम्पनीले जनाएको छ  ।

कम्पनीले उद्दार गरेपछि पनि ५६ हजार ९ सय ४४ अमेरिकी डलर दाबी गरेर बिल पेश गर्दा ६ महिनापछि ४० हजार ७ सय ९३ अमेरिकी डलर मात्रै बीमा कम्पनीले भुक्तानी दिएको थियो ।

उद्दारको लागि ५ जना अनुभवी शेर्पाहरुलाई पठाइएको थियो । उद्दारकर्मी शेर्पाहरुले ४८ घण्टामा १० बोटल अक्सिजन प्रयोग गरेको कम्पनीले जनाएको छ । ती उद्दारकर्मी शेर्पाहरुको खर्च ११ लाख कम्पनीले ब्यहोर्नुपरेको जनाएको छ ।

यसरी नेपाल आउने पर्यटक उद्दार गरेर पर्यटकको ज्यान बचाउने कम्पनीमाथि छानबिन गर्दै कारवाही गराउनु सरकारले व्यवसायमाथि गरेको प्रहारको रुपमा व्यवसायीले लिएका छन् । उद्दारको काम गरेर राज्यमा ल्याएको पैसाको कर तिरे÷नतिरेको विषयमा छानबिन गरेर व्यसायीलाई जिम्मेवार बनाउनुको सट्टा व्यसायीलाई निरुत्साहित हुनेगरी कारबाही गराउने गलत रहेको व्यवसायी बताउँछन् । 

‘देश समृद्धिको आधार’ नै पर्यटन मानिरहेको बेलामा सरकारले यसैगरी पर्यटन क्षेत्रलाई प्रहार गर्दै जाने हो भने व्यवसायबाट पलायन हुनुको विकल्प नरहेको एक व्यवसायी बताउँछन् । 

‘सरकार पर्यटन क्षेत्रबाट समृद्धिको बाटो खोज्नुको सट्टा पर्यटन क्षेत्रलाई प्रहार गरेर व्यवसायी पलायन गराउने बाटोमा उन्मुख छ, ती व्यवसायीले भने, ‘यस्तै प्रहार गर्दै जाने हो भने सरकारले २०२० मा २० लाख पर्यटक नभएर आइरहेका १० लाख पर्यटकको संख्याबाट २ लाख झर्न बेर छैन् ।’ 

उनका अनुसार नेपाल आउने पर्यटकको बीमा त्यहाँका कम्पनीले नगर्ने बित्तिकै नेपाल आउने पर्यटकको संख्यामा कमी आउनेछ ।

सबै व्यवसायीहरुलाई राज्यले जिम्मेवार बनाउनुपर्छ 
अध्यक्ष–नवराज दाहाल
ट्रेकिङ एजेन्सी एसोसियशन अफ नेपाल (टान)

सरकारले २०२० लाई भ्रमण वर्ष र २० लाख पर्यटक ल्याउने कुरा एकदमै राम्रो हो । व्यवसायीहरु पनि उत्साही छन् । २०२० भ्रमण वर्ष सम्पन्न गर्न सकिन्छ । २० लाख पर्यटक ल्याउन पनि सकिन्छ । 

नारामै मात्र सीमित राखेर घोषणा गरेर मात्र सम्भव छैन । त्यसको लागि कार्यान्वयनमा जानुपर्छ । कार्यान्यवनमा जानको लागि सबै क्याम्यिनहरुलाई सहभागि गराउनुपर्छ, योजना अनुरुप काम गर्नुपर्छ । 

सरकारले २०२० सम्म २० लाख पर्यटक ल्याउने कुरा गरिरहेको बेलामा सानोतिनो कुरामा अल्झिरहन हुन्न । विगतमा पर्यटकको ‘रेस्क्यू’ गर्दाखेरी केही कमीकमजोरी भएकै हो । व्यवसायीहरुको कारणले होइन । राज्यले पनि यसो गर्नुहुँदैन भनेर सचेत गर्न नसकेको अवस्था थियो । 

राज्य नै आँखा चिम्लेर बसेको त्यो अवस्था थियो । अब आउने दिनहरुमा योजना बनाएर राज्यले एउटा व्यवसायीक मर्यादाभित्र रहेर व्यवसाय सञ्चालन गरिदिने विकासको वातावरण बनाइदिनुपर्छ । सबै व्यवसायीहरुलाई राज्यले जिम्मेवार बनाउनुपर्छ । 

व्यवसायीले पनि व्यवसाय सञ्चालन गर्दा के गर्न हुनी ? के गर्न नहुनी ? भन्नेबारे राम्रोसँग अध्ययन गर्नुपर्छ । रेस्क्यूको खबर संसारभर गलत ढंगले फैलिएको छ । सरकार यसरी नै प्रस्तुत हुने हो भने २० लाख पर्यटक नेपाल भित्र्याउन सोचेजस्तो सजिलो छैन । 

अन्त्यमा सरकारले मनाउन लागेको २०२० पर्यटन भ्रमण वर्षको लागि टानले सक्दो सहयोग गर्नेछ । नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवद्र्धनात्मक अभियानलाई सक्दो सहयोग गर्ने दायित्व मुख्यतः पर्यटन व्यवसायीहरुको रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसका लागि निरन्तर पहल गरिरहने बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप