बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रगान लेखक व्याकुल माइलाको ‘त्यो साइकल’

शनिबार, ०२ भदौ २०७५, ०८ : ३५
शनिबार, ०२ भदौ २०७५

‘गाउँघरमा साइकल देख्ने कुरै भएन,’ राष्ट्रगान लेखक प्रदीपकुमार राई(व्याकुल माइला)ले सुनाए, ‘काठमाडौं टेकेपछि पहिलोपटक साइकल देखेको हुँ ।’ राष्ट्रगान लेखक व्याकुल माइलाले संवत् २०४५ सालमा पहिलोपटक काठमाडौं टेकेका थिए । उनले त्यतिबेला जीवनमै पहिलोपटक साइकल देखेका हुन् ।

पहिलोपटक घुमिफिरी घर फर्केका उनी ०४७ मा दोस्रोपटक काठमाडौं पसे । त्यतिबेला काठमाडौंका सडक चौडा थिए । सवारीसाधन पातलै थियो । ‘अहिले सम्झँदा सपनाजस्तै लाग्छ,’ उनले अतीत सम्झे, ‘हेर्दाहेर्दै सवारीसाधन बाक्लिए । सडक साँघुरिँदै गए । भनेको समयमा गन्तव्य पुग्न कहिल्यै सकिएन । जहिल्यै सडक अवरुद्ध । गन्तव्य पुग्ने सधैंको सबैलाई हतारो । त्यसपछि साइकल चलाउन सिकें ।’

त्यतिबेला दुई रुपैयाँ बुझाएपछि दिनभरि भाडामा साइकल चलाउन पाइन्थ्यो । साइकल चलाउन सिक्दा खर्चेको दुई रुपैयाँ, दुई रुपैयाँ हिसाब–किताब गरिसाध्य छैन । साइकल चलाउन सिक्दा कतिपटक लडे ? कतिपटक घुँडा ठोक्काए ? अतीत सम्झँदामात्रै पनि उनलाई कम्ती रमाइलो लाग्दैन । ‘साँच्चै रमाइला थिए,’ उनले थपे, ‘ती दिन ।’

पेट्रोलियम पदार्थको भाउ बढिरहन्थ्यो । बढिरहन्छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगसँगै लामो तथा छोटो दूरीमा गुड्ने सवारीसाधनको भाडा पनि बढ्थ्यो । बढ्छ । उच्चशिक्षा अध्ययनका लागि ओखलढुंगाबाट काठमाडौं पसेका उनलाई त्यसको असर नपर्ने कुरै भएन । आइपरेको अप्ठ्यारोबाट जोगिन उनले साइकल किने ।

साइकल भए पनि त्यति सजिलो थिएन । ठूला सवारीसाधनले साइकललाई सवारीसाधन ठान्दैनथे । ०६३ सम्म साइकल चलाएका उनको बुझाइ छ, ‘साइकललाई त गुड्न पनि नदेलान्जस्तो गर्थे । साइकलको छुट्टै लेन छैन ।’ र पनि, दुःख–सुख साइकल चलाए । साइकलमै काठमाडौं उपत्यका फन्को मारे । 

हुन पनि हो– एकपटक साइलक किनेपछि सामान्य मर्मत गरे पुग्थ्यो । साइकल चलाउँदा कहिले टायरले दुःख दियो होला । कहिलेकाहीं बीचबाटोमै साइकलको टायरको हावा खुस्कियो होला । कतिपय अवस्थामा साइकल मर्मत गर्ने पैसा नहुँदाको पीडा खनिखोस्री साध्य होला र ? तर, साइकलका लागि पेट्रोलपम्पमा लाइन बस्नुपर्दैनथ्यो । साइकल बन्द–हडतालमा पनि त्यत्तिकै उपयोगी मानिन्थ्यो । मानिन्छ । 

व्याकुल माइलाले लेखेको गीत राष्ट्रगानका रूपमा चयन भएको समाचार सुन्ने/पढ्नेले उनलाई काठमाडौंमा साइकलमै गुडिरहेका देखेका थिए । उनले पनि होइन भनेका छैनन् । इन्धन नचाहिने, वातावरणीय दृष्टिले मात्रै नभएर साइकल स्वस्थ जीवनका लागि त्यत्तिकै उपयोगी मानिन्छ । 

दक्षिण कोरियाका राष्ट्रपति ली म्युङबाक साइकल चढेर निवासबाट कार्यालय जाँदै गरेको दृश्य नेपाली सञ्चारमाध्यमले त्यतिबेला प्राथमिकता साथ प्रकाशन तथा प्रसारण गरेका थिए । यसैगरी, नोबेल पुरस्कार विजेता डा. अमत्र्य सेनले ग्रामीण अर्थनीति पढाउन मामाले किनिदिएको साइकल चढेर गाउँ–गाउँ घुमेकै थिए । तर, राष्ट्रगान लेखक व्याकुल माइलाले आफ्नै पौरखले कमाएको पसिनाले साइकल किनेका थिए । पसिना कमाइको महत्व अर्थपूर्ण हुन्छ ।

‘त्यो साइकल,’ उनले जानकारी गराए, ‘त्यति (०६३) बेला नयाँ किन्दा तीन हजार चार सय पथ्र्यो । मैले सेकेन्ड ह्यान्ड दुई हजार रुपैयाँमा किनेको हुँ ।’ उनले त्यो साइकल जोगाएर राख्नै सकेनन् । काठमाडौं उपत्यका फन्को मार्न सहज बनाउने राष्ट्रगान लेखक व्याकुल माइलाको पछिल्लो साइकल कहाँ पुग्यो होला ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप