शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीको १ घण्टा ३८ मिनेट लामो सम्बोधन : रेलगाडीदेखि पानी जहाजसम्म प्रदेश नम्बर २ भएर कुद्नेछन्

शनिबार, ०२ भदौ २०७५, १६ : ३८
शनिबार, ०२ भदौ २०७५

जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रदेश नं २ को आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश नं २ ले कुल जिडिपीको १६.२ प्रतिशत योगदान मात्र पु¥याइरहेकोमा यो प्रतिशत बढाउन उचित सिँचाइ र कृषिको आधुनिकिकरण गरिनुपर्ने बताए । 

उनले  तराई–मधेस भएर बग्ने ठूल–ठूला नदी जस्तै कोशी–कमला डाइभर्सन लगायतका सिँचाइका आयोजना कार्यान्वयन तर्फ अग्रसर हुन आवश्यक रहेको उल्लेख गरे ।  

उनले  शहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट तराई– मधेसको लागि छुट्याएको जानकारी दिँदै पाँच वर्षभित्र हुलाकी सडक निर्माण सम्पन्न हुने बताए । 

प्रधानमन्त्री ओलीले भने , “रेलगाडी, कलकता बन्दरगाह जाने पानी जहाज सबै यही प्रदेश भएर कुद्ने छ ।” उनले नेपालको झण्डा फरफराएर हिँडेको पानी जहाज समुद्रमा कुदेको नेपाली जनताले देख्ने बताए । 

प्रधानमन्त्री ओलीले जनता आवास योजना अन्तर्गत प्रदेश नं २ को ८ जिल्लामा एक÷एक हजारको दरले आठ हजार घर निर्माण गरिने र आगलागीबाट जोगाउनको लागि खरको छाना हटाएर टिनको छाना लगाउने योजना रहेको जानकारी  दिए । 

प्रधानमन्त्री ओलीले जनकपुर प्राचीनकालदेखि नै बौद्धिक वर्गको क्षेत्र रहेको बताउँदै अहिले यस क्षेत्रमा देखिएको दाइजो, बोक्सीको नाममा महिलामाथि हुने हिंसा देखेर आफ्नो मन दुखेको बताए । 
उनले अन्धविश्वास, असभ्यता र अमानवियताको विरुद्ध आफैले आफैलाई सच्याउनुपर्ने आवश्यकतामा जोड दिँदै विभेद्कारी मानसिकताको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम तथा उत्तरदक्षिण रेल्वे निर्माण जसरी पनि गर्ने आफ्नो इच्छा रहेको बताउँदै यसका लागि दुबै छिमेकी राष्ट्रसँग सकारात्मक रुपले संवाद भइरहेको बताए ।  उनले रेल्वे सञ्चालनपछि यहाँका उत्पादनलाई अन्य देशमा निर्यात गर्न र अन्यत्रबाट मालसामान आयात गर्न पनि सहज हुने हुने बताए । 

प्रधानमन्त्री ओलीले सङ्घीय सरकार कुनै किसिमले पनि विभेद्कारी नरहेको बताउँदै प्रदेश सरकारले योजना बनाएर दिए कार्यन्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले विभिन्न राजनीतिक दलमा भएको विविधतालाई कलहको विषय बनाउन नहुने भन्दै आफू सप्तरीको जनतालाई आफ्ना कुरा भन्न गएको र उक्त कुरा बताएर फर्किंदा राजमार्गमा पुगिसकेपछि मलेठमा गोली चलेको थाहा पाएँ, त्यो गोली किन चल्यो, कसरी चल्यो, कसले चलायो आफूलाई केही थाहा नभएको उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले अहिले दुबै छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध उत्तिकै राम्रो रहेको बताउँदै ‘समृद्ध नेपाल सुखी नेपाल’ भन्ने हाम्रो अभियानलाई सार्थक बनाउन सबैतिरबाट सहयोग गर्न तयार रहेको जानकारी दिए । 


प्रदेश सभामुख सरोज यादवको अध्यक्षतामा भएको प्रदेश २ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले १ घण्टा ३८ मिनेटको समय लिएर सम्बोधन गरेका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप