शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालकी कर्मचारी र सांसद रामकुमारी झाँक्रीबीच फेसबुकमा 'झगडा'

शनिबार, ०२ भदौ २०७५, १८ : १२
शनिबार, ०२ भदौ २०७५

काठमाडौं– अघिल्लो वर्ष असारमा भएको स्थानीय तहको चुनावताका गुल्मीका शिक्षक बमबहादुर कुवँरलाई धम्की दिएको आरोप तत्कालिन एमाले नेत्री रामकुमारी झाँक्रीमाथि लाग्यो । आफूविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै झाँक्रीले उनलाई ‘केटा लगाएर कुटाउछु’ भनेर फोनबाट दिएको धम्कीको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सो धम्कीको अडियो टेपका कारण उनी विवादमा तानिएकी थिइन् । 

उनै रामकुमारी झाँक्री अहिले संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सांसद बनेकी छिन् । सांसद बनेपछि फेरि अहिले उनी विवादमा तानिन पुगेकी छिन् । काठमाडौंको बानेश्वरमा रहेको सिभिल अस्पतालमा उपचार गर्न जाँदा छिटो सेवा नदिएको भन्दै अस्पतालकी महिला कर्मचारीको फोटो खिचेर फेसबुकमा राखेपछि विवाद शुरु भएको छ ।  

गएको साउन २९ गते ५ बजेर ३८ मिनेटमा उनले २ वटा तस्बिर सहित एउटा स्टाटस लेखिन् । एउटा तस्बिरमा काम गर्दै गरेकी अस्पतालकी महिला कर्मचारी र अर्कोमा रामकुमारी झाँक्रीका अस्पतालको कागजात छ । तस्बिरमा देखिएकी अस्पतालकी कर्मचारी थिइन्, सोही अस्पतालमा ४ वर्षदेखि रेडियोलोजिष्टको रुपमा काम गर्दैै आएकी प्रतिभा पन्त । समयमै रेक्स–रे रिर्पोट नदिएको बताउँदै सांसद

झाँक्रीले फेसबुकमा यस्तो स्टाटस लेखेकी थिइन्–
‘ सिभिल अस्पताल मिनभवनको एक्स रे को रिपोर्ट दिने ठाउँमा ऐले ४ः३० बजे देखि म उभिएकी छु रिपोर्ट लिन, कोही मान्छे थिएन यहाँ । म सहित अरू २÷४ जना रिपोर्ट लिने मान्छे छौं । यी बहिनी कताबाट करीव ५ः०३ भएको थियो देखा परिन् । हिजोको हो, एक्स रे गरेको रिपोर्ट लिनु थियो भन्दै बिल उनीतिर तेर्साएँ, मैले तर उनले ५ बज्यो भोलि आउनुस् भन्दै झर्कोफर्को गरिन । म तिर हेर्दा पनि हेरिनन् । करीब १५÷२० मिनेट उभिएँ, यीनले हामीलाई कुनै मतलब नै गरिनन् । भोलि बिहान आउने गरी म फर्केँ । तर सोचें हेर त यो निजामति अस्पतालको सेवा दिन पर्ने ठाउँका स्टाफको ब्यवहार ?
हर ठाउँमा मानौं मान्छेहरू शासक हुन ? कहिले कसले कहाँबाट सुधारको आश गर्ने ?’  


उनले अस्पतालका कर्मचारीले छरितो काम नगर्ने, विरामीप्रति उत्तरदायी नहुने र असभ्य व्यवहार गरेको भन्दै फोटो सहितका सन्देश लेखेकी थिइन् । उनको स्टाटसको पक्ष र विपक्षमा बहस हुन थाल्यो । कतिपयले अस्पतालमा हुने गरेको नराम्रो पक्ष भनेर लेखे भने कतिपयले सांसद भएर पावर लगाउन खोजेको भन्दै आलोचना पनि गरे । 
झाँक्रीले साइबर क्राइम गरेको आरोप  
झाँक्रीले फेसबुकमा फोटो राखेर आलोचना गरिएकी कर्मचारी हुन् प्रतिभा पन्त  । जो सिभिल अस्पतालमा ४ वर्षदेखि रेडियोग्राफरको रुपमा काम गर्दै आएकी छिन् । सांसद झाँक्रीले आफ्नो फोटो फेसबुकमा राखेर आलोचना गरेपछि आफूलाई मानसिक तनाव भएको बताएकी छिन् । एक युट्युव च्यानललाई दिएको अन्तर्वार्तामा उनले आफूले कुनै गल्ती नगरेको दाबी गरेकी छिन् ।

उनले आफूले रामकुमारी झाँक्रीलाई नचिनेको बताउँदै त्यस दिन एउटा शाह थरको बच्चालाई इमरजेन्सीमा उपचारमा सहयोग गरेर आउँदा बाहिरबाट झाँक्री ठूलो ठूलो स्वरमा बोलिरहेको सुनेको बताइन् । उनले ‘तिमीहरु कहाँ गएका थियौं, मैले आधी घण्टा कुर्नुपरेको छ’ भन्दै कराएको र अस्पतालमा त्यति ठूलो स्वरमा कसैले पनि यसअघि नकराएको पन्तले बताएकी छिन् । 

अस्पतालकी कर्मचारी पन्तले ‘५ मिनेट अघि आफू यही भएको, कसरी तपाइँ आधा घण्टा अघि आउनुभयो’ भन्दा बाहिर आएर अनुहार देखाएर कुरा गर्न भन्दै झाँक्री झर्किएकी थिइन् । 
पन्तले भनेकी छिन्–‘उहाँ रामकुमारी झाँक्री हुनुहुदो रैछ, मलाई थाहा थिएन, रामकुमारी झाँक्री भनेर चिनेपछि उसको अरु काम छोडेर भएपनि काम गर्छ भन्ने सोच्नुभएको रहेछ ।’ त्यसपछि उनले हिजो

ओपिडिमा गरेको एक्स–रे रिर्पोट मागिन् । पन्तले ओपिडि एक्स रे दिने समय सकिएकोले भोलि आँउन भनिन् । इर्मजेन्सी रिर्पोट मात्र दिने गरेको भोलि बिहान नौ बजे आउन भनिन् । ओपिडी रिर्पोट साँझ दिँदा भोलिपल्ट मात्र त्यसको जाँच हुने हुँदा बिरामीले घरमा लगेर ल्याँउदा दोब्रिने बिथिग्रे हुँदा साँझ नदिने गरेको पन्तको भनाई छ । 
१ सय ३४ नम्बरमा कोठामा आएर काम गर्न थाल्दा त्यहाँ गएर पनि फेरि उनले कराउन थालेका पन्तको आरोप छ । रेक्सरे रिर्पोट दिने काम अरु अरु नै कर्मचारीको  भएको बताउँदा काम गरिहेको बेला झाँक्रीले फोटो खिचेको उनले बताएकी छिन् । 

पन्तले भनेकी छिन्–‘साँझ ७ बजे थाहा पाएँ, उहाँले मेरो फोटो खिचेर पोष्ट गरेर चरित्र हत्या गर्नुभएको छ, त्यसमा कति धेरै नेगेटिक कमेन्ट आएको थियो । उहाँले सोच्नुभएछ, रामकुमारी झाँक्री आएपछि जतिखेर पनि काम हुनुपर्छ, जसरी नि काम हुनुपर्छ । त्यस्तो त हुँदैन नी । मेरो लागि रामकुमारी झाँक्री र पब्लिक उस्तै हो ।’ 

झाँक्रीले साढे ४ बजे आएको बताएपनि ५ बजेर ६ मिनेटमा रेक्सरे विभागमा छिरेको सिसिटिभी फुटेज प्रमाण रहेको पन्तले दाबी गरेकी छिन् ।

कतिपयले कुरै नबुझी आलोचना गरेको भन्दै आफु दुःखी भएको पनि उनले बताएकी छिन् ।

यस्तै कर्मचारी प्रतिभा पन्तकी दिदी दीपाले पनि एक भिडियो सन्देश जारी गर्दै सांसद रामकुमारी झाँक्रीले साइबर क्राइम गरेको आरोप लगाएकी छिन् । गायिका समेत रहेकी उनले काम गरिरहेको बेला बिना अनुमति फोटो लिएर फेसबुकमा राखेर गाली बेइज्जती गरेको आरोप लगाएकी छिन् । 

यता सांसद रामकुमारी झाँक्रीले पनि शुक्रबार फेरि अर्को फेसबुक स्टाटस मार्फत नै दिपालाई जवाफ फर्काएकी छिन् । झाँक्रीले स्टाटसमा लेखेकी छिन्–
‘सिभिल अस्पतालकी एक जना स्टाफको ब्यवहार म मात्र होइन अरू बिरामीका आफन्तलाई पनि साहै्र अस्वाभाविक लागेको र यस्ता ब्यवहार अस्पताल जस्तो संवेदनशील ठाउँमा गर्नु शोभनिय होइन भनेर मैले सोसल मिडियामा समस्या राखें ।

यहाँ केही कुरा स्पष्ट गर्नु आवश्यक भयो 
केही मित्रहरूले रिपोर्ट दिने समय भन्दा पछाडी गएर रिपोर्ट माग्न पाईन्छ ? यसको किन जवाफ नदिएको भनेर प्रश्न गर्नु भयो । मैले ती प्रश्नको पनि एक पटक जवाफ दिनुपर्ने भएकोले फेरि लेख्न बाध्य भएँ ।
१) मेरो कुरा यति मात्र हो अस्पताल जस्तो संवेदनशील ठाउँमा झर्कोफर्को गर्ने शासकको जस्तो ब्यवहार प्रस्तुत गर्ने कुरा कुनै हालमा हुनुहुँदैन तिनै बिरामीले तिरेको पैसाको तलब खाने मान्छेले सेवाग्राही प्रति उत्तरदायी हुनुपर्छ ।
२) यहाँ मलाई रिपोर्ट दियो दिएन, दिने समय थियो थिएन त्यस बेला कसको ड्युडी थियो थिएन भन्ने प्रश्न मेरो लागि महत्वपूर्ण प्रश्न भएको भए, मैले कसको ड्युटी थियो त्यो खोज्न लाग्थें तर सबाल त्यो थिएन ।
३) यी स्टाफले इमरजेन्सीतिरको रिपोर्ट दिने काउन्टरमा होइन, यता ओपिडितिरको रिपोर्ट लिने कोठा काउन्टरबाटै रिपोर्ट झिकेर लाँदै थिइन् । त्यो उनले एउटा रिपोर्ट झिक्दै गर्दा मैले पनि मेरो एउटा रिपोर्ट लिनु थियो । हिजोको दिनु न भनि बिल उनीतिर अगाडी बढाएँ तर उनले कुनै मतलब गरिनन् ।
(अर्जेन्ट रिपोर्टको प्रतिवेदन बनाई छाप लगाउनु थियो ट्राभल्सको लागि प्रशासनको एक जना साथीलाई म आउँदै छु है भनेर फोन गरी आएकी थिएँ)
४) मैले मेरो रिपोर्ट लिने कुरा यिनैबाट नलिए रिपोर्ट नपाउने अवस्था हुदाँ पनि होइन ।

५) तर यिनको ब्यवहार अचाक्ली सही नसक्नु थियो । यिनको चुरी–फुरी देखेर उनका साथीहरू पनि उनलाई हेर्दै थिए। थाहा छैन किन हो ?
६) कुरा आयो त्यो नोटिसको । हो मैले त्यो नोटिस देखेकै थिएँ तर त्यहाँ कोही मान्छेले त्यही काम गर्दैछ, यदि सहयोगी भावना छ भने एक मिनेटमा मेरो काम हुन्छ, दिए हुन्थ्यो भन्ने मेरो अनुरोध मात्र हो ।
७) मैले सेवा पाउने अधिकार खोजेको होइन, कुनै पनि अस्पतालमा काम गर्ने मान्छेका कतिपय संवेदनशील समस्या मान्छे कति सम्म असहयोगी हुन्छ, यसो गर्नु राम्रो होइन, कम्तिमा कुरा सुन्न पर्छ र त्यसवारेको सूचना दिनुपर्छ भन्ने हो ।
६) मेरो त काम थियो कति घण्टा उभिएँ यो मेरो कुरा हो । तर कोही पनि मान्छे नहुनु ड्युटी अफ भएर हो भन्ने बुझ्न समस्या छैन । ती पन्त थर की स्टाफ रिपोर्ट झिक्न आए कै बेला उनलाई मैले गरेको अनुरोध र उनको ब्यबहार हेर्दा म निरिह उनी शासक जस्तो भएकोले सहिनसक्नु भएर स्टाटस हालेँ यीनको फोटो पनि खिचेँ ।
७) सोसल मिडियामा उनकी दिदी दिपा पन्तले के के लेखिरहेको देखेकी छु ।
८) नुवाकोटतिरका नेविसंघका भाइहरू र एमालेकी उषा किरण तिमिल्सेनालाई उनकी दिदी दिपा पन्तले फोन गरेर बैनीलाई कुरा गर्न लगाई “हो मैले दिदीलाई हेरिन, अनुहारमा नै नहेरेकोले चिनिन पनि । दिदीले म फलानो हो पनि मलाई भन्नु भएन, मैले वास्ता गरिन, म हतारमा थिएँ अरू कसैको रिपोर्ट लिन गएकी थिएँ, यस्ता गर्ने मान्छे दिनभरी कति आउँछन् आउँछन त्यही भएर वास्ता गरिन दिदीलाई भन्दिनु,” र हाम्रो सम्बन्ध छ चिनजान छ एउटै गाउँ हो भनेर वालमा लेखि मेरो सामाजिक हिसावले बचाउँ गरिदिनु भनेर भनेकी रहिन्छन् ।
ठिकै छ म दिदीलाई भन्छु चिन्ता नगर भन्दा होइन, सामाजिक रूपले बचाउँ गरिदिनु, दिदीको वालमा नै यहि कुरा लेखि दिनु भनेकी रहिछन। त्यसैले उषा जीले यो कुरा मेरो वाल लेख्नु भएको छ । उनले आफूले ठिक ब्यवहार प्रदर्शन नगरेको प्रति सामन्य रियलाइज भए ठिकै छ भनेर यो विषयलाई मैले यत्तिकै बिट मार्ने निधो गरेंको थिएँ ।

९) अनि वालमा मैले केही लेखिन । विप्लव दाई लगायतका साथीहरुले ब्यवस्थापनसँग कुरा गर्नु भन्नु भएको थियो । साँच्चै भन्ने हो भने उनी र उनका आफन्तले मसँग कुरा पुराइदिनु, यो विषय यही सकौं सरी भनेकोले म यो विषयमा नबोलेको तर यहाँ त केही साथीहरूको पेशा के निहु पाउँ कनिका बुकाउँ भनेजस्तै छ ।
१०) दीपा पन्त उनकी दिदी हुन् ।  उनले नै नेगोसेशन गर्न उषालाई फोन गरेर कुरा पनि गर्ने र फेरि आफै क– के लेख्दै पनि छन् रे । फोनमा माफी माग्ने अनि ठूला कुरा गर्न अलि सुहाएन । केही मान्छे उचालिन्छ यो त हाम्रो समाज हो । मेरा अरू पनि काम छन् सोसल मिडियाका हर प्रश्नको जवाफमा आउन समय छैन मसँग ।’

 

यो स्टाटस सहित झाँक्रीले अस्पतालकी कर्मचारी प्रतिभाकी दिदी दीपा पन्तले आफ्नो समेत फोटो राखेर चरित्र हत्या गरेको भन्दै रुँदै एक भिडियो सार्वजनिक गरेकी छिन् । 

उनले सिसीटिभी फुटेज प्रमाण रहेको बताउँदै आफ्नै बहिनीले गल्ति नगरेको दावी गरेकी छिन् । सांसद झांक्री ठूलो पहुँचको भएको र अब उनले अब के नराम्रो गरिदिने होला भनेर आफु र परिवार तनावमा रहेको र ३ दिनदेखि नसुटेको पन्तले भिडियोमा बताएकी छिन् ।

 अस्पतालमा भएको यो विषयका कारण सामाजिक सञ्जालमा सिभिल अस्पतालकी कर्मचारी र सांसद झाँक्रीको विवाद चुलिएको छ ।   
यो पनि हेर्नुहोस् 

यी हुन् झाँक्रीका कारण सामाजिक सञ्जालमा भाइरल भएका ‘भोजराज सर’

एमाले नेतृ झाँक्रीलाई उत्तेजित बनाउने के स्टाटस लेखेका थिए शिक्षक बमबहादुरले ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप