शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मलेठ घटना र संविधान संशोधनको कुरा उठाएर प्रधानमन्त्री ओलीले किन दुखाए चित्त ?

शनिबार, ०२ भदौ २०७५, १८ : ३२
शनिबार, ०२ भदौ २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मलेठ घटनाको बारेमा मुख खोलेका छन् । दुई नम्बर प्रदेशको प्रदेशसभामा शनिवार आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले सप्तरीवासीलाई आफ्नो धारणा सुनाउन सप्तरी गएको बेला एक्कासी गोली चलेको बताएका छन् ।

उनले भने, ‘म आफ्नो धारणा सुनाउन सप्तरी गएको थिएँ । एक्कासी गोली चल्यो । गोली किन चल्यो ? कसले चलायो ? मलाई थाहा छैन । सभा सकाएर म फर्किने बेला गोली चल्यो, त्यो गोली कसले चलायो, न त्यतिबेला सरकारमा थिए न हाम्रो नेतृत्वमा सरकार थियो ।’ 

२०७३ फागुन २३ गते मेची–महाकाली अभियानको क्रममा प्रधानमन्त्री ओली सप्तरीको मलेठमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका थिए । सो सभालाई ओलीले सम्बोधन गरेर फर्किने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा पाँच जनाको ज्यान गएको थियो । 

प्रदेशसभालाई सम्बोधन गर्दै उनले सो घटनाको दोषी आफू नरहेको र आफ्नो कारणले सो घटना नभएको स्पष्ट पारे । 

उनी प्रदेशसभामा मन्तव्य दिने क्रममा राजपा नेपालका तीनजना प्रदेश सांसद उपेन्द्र महतो, गौरीनारायण साह र विक्की यादवले मलेठ घटनाको विषय उठाएका थिए । मलेठ घटना लगायत आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता, सविधान संशोधनको माग गर्दै प्रधानमन्त्री ओलीको सम्बोधन वहिष्कार गरेर उनीहरु निस्किएका थिए । 

प्रधानमन्त्री ओलीले सविधान संशोधनको विषयमा पनि प्रष्टिकरण दिए । उनले भने, ‘सविधानमा कहिँ विभेद छ भने भन्नुस् त्यो संशोधन हुन्छ । संविधान, कानून हामीले बनाएको हो । कहीँ कतै हेरफेर गर्नु परे नगर्ने भन्ने कहाँ हुन्छ ? संघीय सरकारले सविधान संशोधनको प्रस्ताव लगेर त्यसलाई पास गराउँछ ।’

उनले आफूले सविधान संशोधन गर्न नचाहेको भनेर कसैकसैले अफवाह फैलाएको आरोप लगाउँदै यस्ता कुराहरु सुनेर आफूलाई दुःख लागेको बताए ।  जीवनको ५० वर्षभन्दा बढी समय राजनीतिमा खर्चेको बताउँदै उनले भने, ‘मैले सविधान संशोधन हुनै सक्दैन भनि कसरी भन्नसक्छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप