शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा आरोही पत्रकार बस्नेत सम्मानित

शनिबार, ०२ भदौ २०७५, २० : १२
शनिबार, ०२ भदौ २०७५

सुन्दरहरैँचा । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेवापत महिला पत्रकार रोशा बस्नेतलाई सम्मान गरिएको छ । 

आठ हजार ८४८ मिटर अग्लो हिमालको सफल आरोहण गरी मोरङ जिल्ला तथा सुन्दरहरैँचा नगरपालिकाको झण्डा तथा नक्सालाई चुचुरोमा फहराएर देखाएको अदम्य साहसको प्रशंसा गर्दै सुन्दरहरैँचा नगरपालिकाले उनलाई सम्मान गरेको हो । 

सुन्दरहरैँचा नगरपालिकाद्वारा आज यहाँ आयोजित समारोहमा नगरप्रमुख शिवप्रसाद ढकालले खादा, माला तथा सम्मान पत्रबाट उनलाई सम्मान गरेका छन् । 

मोरङ सुन्दरहरैँचा नगरपालिका–१० स्थित विराटचौककी २९ वर्षीया रोशा बस्नेत राष्ट्रिय समाचार समिति(रासस)मा कार्यरत पत्रकार हुन् । 

प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका पाँच सदस्यमध्ये उनीसहित चार जनाले यसै वर्षको जेठ ९ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । 

सो अवसरमा नगरप्रमुख ढकालले प्रदेश नं १ कै गौरव तथा गरिमाका रुपमा रहेको सगरमाथाको यसै नगरकी चेली रोशा बस्नेतले सफल आरोहण गरेकाले आफूलगायत सम्पूर्ण नगरवासी गौरवान्वित भएको बताउँदै यो कार्यले नगरको गरिमा र पहिचान पनि थप उच्च भएको छ भनिन् । 

यसैगरी नगर कार्यपालिका सदस्य भक्तकिरण राईले बस्नेत आरोहणमा जानुअघि ‘गर्विलो पहाड चढ्दैछौँ’ बोलको गीत गाएर बिदाइ गरेको स्मरण गर्दै आफूले गाएको गीतलाई सार्थक बनाएकामा हर्ष व्यक्त गरे । 

सम्मानित बस्नेतले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रवद्र्धनसँगै महिला सशक्तीकरण र युवा जागरणको क्षेत्रमा समेत कार्य गर्ने प्रतिवद्धता व्यक्त गरिन् । 

सगरमाथाबाट ल्याएको एक सानो पत्थर र नगरपालिकाबाट आरोहणमा जानुअघि बस्नेतलाई दिइएको झण्डा र नगरपालिकाको नक्सा चुचुरोमा फहराएपश्चात् कोसेलीस्वरुप उनले नगरप्रमुखलाई हस्तान्तरण पनि गरिन् । 

पत्रकार महासङ्घको ब्यानरमा आरोहण गरेका पत्रकार महिलाको आरोहणको मूल नारा ‘समानताको लागि बुलन्द आवाज’ भन्ने थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप