शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आलेख : पाटन विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी

मङ्गलबार, ०३ साउन २०७४, १६ : १४
मङ्गलबार, ०३ साउन २०७४

विनोदसिंह विष्ट 

बैतडी, ३ साउन । सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा अवस्थित विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ । 

विसं २०५२ देखि पूर्णरुपमा बन्द रहेको पाटन विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन काम शुरु भएको हो । विमानस्थललाई १५ महिनाभित्र कालोपत्र गर्ने लक्ष्यसहित ‘कटिङ’को काम शुरु गरिएको छ । गत वर्षको बजेट भाषणमा सरकारले पाटन विमानस्थललाई पुनः सञ्चालनमा ल्याउने प्रतिवद्धतासहित बजेट विनियोजन गरेको थियो । सोहीअनुसार गत मंसिरमा विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार पार्ने काम भयो । 

क्षेत्रफल र वरिपरिको पर्यावरणका दृष्टिले पाटन विमानस्थल उत्कृष्ट रहेको डिपिआरको तयारीमा संलग्न प्रविधिज्ञले बताएका छन् । सोही प्रतिवेदनअनुसार विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन बोलपत्र आह्वान गरिसकिएको मात्र हैन ठेक्का पनि दिइसकिएको छ । 

करिब रु १० करोडको लागतमा विमानस्थललाई कालोपत्र गरिने भएको छ । च्याङमिला गलुवा जगदम्बा जेभी निर्माण कम्पनीले विमानस्थललाई कालोपत्र गर्ने ठेक्का पाएको कम्पनीका स्थानीय प्रतिनिधि दानसिंह रावलले जानकारी दिनुभयो । ठेक्काअनुसार अहिले कटिङको काम भइरहेको छ । यो सकिएपछि ‘फिलिङ’ को काम हुनेछ र त्यसपछि कालोपत्र गरिने छ । 

प्रजातन्त्रको पुनःबहालीसँगै सञ्चालन हुन छाडेको यो विमानस्थल लोकतन्त्रको स्थापनापछि पनि सञ्चालनमा आउन सकेन । फलतः यो विमानस्थल गौचरन, खेलमैदान तथा सवारीसाधन सिक्ने मैदानमा परिणत हुनपुग्यो । 

एमाओवादीको सरकार रहेको बेला तत्कालीन नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टमगरले सुदूरपश्चिममा रहेका विमानस्थललाई तत्काल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप