बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दैनिक पाँच हजार लिटर दूध बिक्री

मङ्गलबार, ०३ साउन २०७४, १६ : २५
मङ्गलबार, ०३ साउन २०७४

बागलुङ -आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा २५ हजार ३०० मेट्रिक टन दूध उत्पादन भएको छ । 

पशु विकास अधिकृत निलकण्ठ शर्माका अनुसार गत आवको तुलनामा तीन दशमलव २० प्रतिशतले दूधको उत्पादन बढेको छ । 

गाई र भैँसीमा नश्ल सुधारका साथै व्यावसायिक पशुपालन बढेपछि दूधको उत्पादन बढेको हो । स्थानीय र उन्नत जातको भैँसीको दूधको मात्रा एउटै रहे उन्नत जातको गाईको दूधको मात्रा बढेको शर्माले बताउनुभयो । 

“दैनिक पाँच हजार लिटर दूधको कारोबार हुने गरेको छ,” उहाँले भन्नुभयो– “दैनिक एक हजार लिटर दूध जिल्ला बाहिर निर्यात हुन्छ ।” 

वार्षिक रु दुई करोड ५० लाख बराबरको दूध किसानले बिक्री गर्ने गरेका छन् । उत्पादन बढाउन कार्यालयले दूध उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले किसानलाई नश्ल सुधार, कृत्रिम गर्भाधान, गोठ सुधार कार्यक्रमका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । 

व्यावसायिक ‘फार्म’ चलाउने किसानलाई अनुदानसमेत दिने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा गोपाल गिरीले बताउनुभयो । व्यावसायिक पशुपालन गर्ने क्रम बढेपछि दूध उत्पादन बढेको उहाँको भनाइ छ । 

दूधको उत्पादन बढेसँगै बजारलाई पनि व्यवस्थित गर्नुपर्ने बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष युक्तप्रसाद कँडेल बताउनुहुन्छ । “दूधले बजार नपाउने समस्या पनि देखिएको छ,” उहाँले भन्नुभयो । उहाँले वितरणलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । अहिले जिल्लामा प्रतिलिटर रु ८० मा दूध बिक्री हुँदै आएको छ । 

जिल्लाको बलेवा, गलकोट, कुश्मीसेरा, बिहुँ, ताराखोला, बुर्तिबाङल दूध उत्पादन बढी हुने ठाउँ हुन् । मासु र अण्डामा समेत बागलुङलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरेको डा गिरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप