शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१४ बालिका सामूहिक बलात्कारको शिकार, ८ जनाद्वारा आत्महत्या

सोमबार, ०४ भदौ २०७५, १५ : ४१
सोमबार, ०४ भदौ २०७५

काठमाडौं । २०७४ चैतदेखि २०७५ असारसम्ममा १२० वटा बाल यौनदुर्व्यवहार र बलात्कारका घटना भएको पाइएको छ । 

आइतबार केन्द्रीय बालकल्याण समितिले एक प्रतिवेदन सार्वजनिक गर्दै १२० जना बालबालिकामाथि बाल यौन दुव्र्यवहार र बलात्कार भएको  जनाएको छ । प्रतिवेदनअनुसार चैत महिनामा सबैभन्दा बढी ५७ जना बालबालिका पीडित बनेका छन्।

यो चार महिनाको अवधिमा २ जना बालक जर्मन नागरिकबाट यौन दुव्र्यवहारमा परेका थिए भने ११८ जना बालिका बलात्कृत भएको प्रतिवेदनमा जनाइएको छ ।  बालिका बलात्कार भएका घटनामध्ये १२ प्रतिशत अर्थात १४ जना  सामूहिक बलात्कारको शिकार भएका थिए । 

बलात्कारका घटनाहरुलाई विश्लेषण गर्दा सबैभन्दा बढी चिनजानको व्यक्तिबाट ३७ प्रतिशत  अर्थात ४४ जना बालिका बलात्कृत भएका छन् । 

त्यसैगरी छिमेकीबाट २७ प्रतिशत अर्थात ३२ जना, आफ्नै बुबा तथा हाडनाताबाट १२ प्रतिशत अर्थात १४ जना, प्रधानाध्यापक तथा शिक्षकबाट ८ प्रतिशत  अर्थात ९ जना, प्रहरी, सेना र कर्मचारीबाट ९ प्रतिशत अर्थात ११ जना  र घरेलु बालश्रममा रहेका ७ प्रतिशत अर्थात ८ जना बालिका बलात्कृत भएका छन् । हाडनाताबाट बलात्कार भएका १४ जना बालिकामध्ये ८ जना बालिका आफ्नै बुबाबाट बलात्कृत भएका छन् । 

बलात्कारमा संलग्न अभियुक्तमध्ये १६ प्रतिशत  अर्थात १९ जना नाबालक नै रहेको देखिन्छन् भने बाँकी ८४ प्रतिशत अर्थात ९९ जना वयस्कबाट बलात्कृत भएको प्रतिवेदनमा उल्लेख छ । 

यस्तो त प्रदेशगत तथ्याङ्क

प्रदेश नं. १ का १० जिल्लामा १७ जना, प्रदेश नं. २ का ७ जिल्लामा २४, प्रदेश नं. ३ का ९ जिल्लामा २५, गण्डकी प्रदेशका ८ जिल्लामा २३, प्रदेश नं. ५ का ७ जिल्लामा २१, कर्णाली प्रदेशका ३ जिल्लामा ६ र प्रदेश नं. ७ का ३ जिल्लामा ४ जना बालबालिका बाल यौन दुव्र्यवहार तथा बलात्कारबाट पीडित भएका छन् ।

आ.व. २०७४÷७५ को दोस्रो चौमासिकमा ७८ जना बालबालिका बाल यौन दुव्र्यवहारबाट पीडित भएकोमा यस अवधिमा १२० जना बालबालिका प्रभावित भएको समितिले जनाएको छ ।  यसबाट बालिका विरुद्ध यौन दुव्र्यवहार र बलात्कार हुने घटनाहरुको संख्यामा वृद्धि हुँदै गइरहेकोे देखिन्छ । 

आ.व. २०७४/७५ को दोस्रो चौमासिकमा ४०३ जना बालबालिका विभिन्न बालअधिकार हनन्बाट प्रभावित भएकोमा यस अवधिमा ६७५ जना बालबालिका प्रभावित भएको देखिन्छ । यसले बालबालिका विरुद्ध भएका घटनाहरुको संख्यामा वृद्धि हुँदै गइरहेकोे देखिन्छ । 

प्रतिवेदनमा यस चार महिनाको अवधिमा विभिन्न कारणले गर्दा ११५ जना बालबालिकाको मृत्यु भएको उल्लेख गरिएको छ । 

सबैभन्दा बढी असार महिनामा ४८ जना बालबालिकाको मृत्यु भएको देखिन्छ भने अन्य महिनाहरुमा जेठ, चैत र वैशाखमा क्रमशः २६ जना, २४ जना र १७ जना बालबालिकाको मृत्यु भएको छ । 

उक्त मृत्युका घटनालाई विश्लेषण गर्दा नदी, पोखरीमा डुबेर वा बगेर सबैभन्दा बढी २३ प्रतिशत (२७ जना) बालबालिकाले ज्यान गुमाएका छन् भने खाल्डोमा परेर १६ प्रतिशत (१८ जना), बाढी पहिरोमा परी १४ प्रतिशत (१६ जना), सर्पको टोकाइबाट १३ प्रतिशत (१५ जना), सडक दुर्घटनामा परेर १२ प्रतिशत (१४ जना) र करेन्ट लागेर ७ प्रतिशत (८ जना) बालबालिकाको मृत्यु भएकोे छ । 

त्यसैगरी अन्य विविध कारणले १५ प्रतिशत (१७ जना) बालबालिकाले अकालमा ज्यान गुमाउनु परेको उल्लेख गरिएको छ । 

यस अवधिमा मृत्यु भएका बालबालिकाको संख्यालाई लैगिंक रुपमा हेर्दा बालिका ५१ प्रतिशत (५९ जना),  बालक ३९ प्रतिशत (४५ जना) र शिशु १० प्रतिशत (११ जना) रहेका छन् । 
त्यसैगरी उमेरगत समूहका आधारमा विश्लेषण गर्दा शिशुदेखि ५ वर्ष उमेरका १२ प्रतिशत (१४ जना), ६ देखि १० वर्ष उमेरका २७ प्रतिशत (३१ जना) र ११ देखि १८ वर्षका ६१ प्रतिशत (७० जना) रहेका छन् । 

यसैगरी आ.व. २०७४/७५ को दोस्रो चौमासिकमा ७८ जना बालबालिकाको हत्या तथा मृत्यु भएकोमा यस अवधिमा ११५ जना बालबालिका प्रभावित भएका घटना प्रकाशमा आएका छन् । 

सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटनाक्रमले केही परिवर्तन आएको प्रतिवेदनमा औंल्याइएको छ । 

सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सो सम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याएको छ । बाल विवाह विरुद्धका विभिन्न प्रयासहरु हुँदाहुँदै पनि बाल विवाहका घटनाहरुमा कमी भएको देखिँदैन ।  

यस अवधिमा विभिन्न २२ जिल्लाहरुमा ८२ वटा बाल विवाहका घटनामा ९६ जना बालबालिकाले विवाह गरेको देखिन्छ ।  प्रकाशमा नआएका बाल विवाहका घटनाहरु थुप्रै हुनसक्ने अनुमान गर्न सकिन्छ । बाल विवाहका घटनाहरुको वर्गीकरण गर्दा बालक र बालिका दुबै २८ जना (१४ विवाह) ले उमेर नपुग्दै विवाह गरेको छन् भने ३९ प्रतिशत अर्थात ३७ बालिकाको विवाह अनमेल÷वृद्धसँग भएको देखिन्छ । साथै ३२ प्रतिशत अर्थात ३१ जना बालिकाको वयस्क पुरुषसँग विवाह भएको पाइएको छ  । बाल विवाह भएका ९६ जनामध्ये अभिभावकद्वारा ५१ प्रतिशत (४९ जना) र आफू खुशी वा भागी विवाह ३४ प्रतिशत (३३ जना) भएको छ भने सामाजिक सञ्जाल र फेसबुक मार्फत उमेर नपुग्दै १५ प्रतिशत (१४ जना)को बाल विवाह भएका घटनाहरु प्रकाशमा आएका छन् । यसैगरी बाल विवाहलाई लैगिंक रुपमा विश्लेषण गर्दा बालक १५ प्रतिशत (१४ जना) र बालिका ८५ प्रतिशत (८२ जना) रहेका छन् ।

जिल्लागत रुपमा हेर्दा पर्सा जिल्लामा सबैभन्दा बढी १४ जना बालबालिकाको बाल विवाह भएको पाइएको छ । 

 
 
यस अवधिमा भएका ८२ वटा बाल विवाह मध्ये ३७ वटा नेपाल प्रहरीबाट र ६ वटा बाल क्लब बाट गरी जम्मा ४३ वटा बाल विवाह रद्द भएका छन्  । आ.व. २०७४÷७५ को दोस्रो चौमासिकमा ४० बाल विवाह भएकोमा यस अवधिमा ८२ बाल विवाह भएका घटना प्रकाशमा आएका छन् । यसबाट बाल विवाहको घटनामा वृद्धि हुँदै गइरहेकोे पाइन्छ । 

३२ बालबालिकाको हत्या, ८ द्वारा आत्महत्या
पछिल्लो समयमा बालबालिकालाई विभिन्न बहाना बनाई हत्या गर्ने प्रचलन बढदै गएको पाइएको छ ।  बालबालिकालाई विभिन्न कारणले हत्या गरेका घटना सार्वजनिक भएका छन् । यस चौमासिकमा बालबालिका हत्याका ३२ वटा घटना सार्वजनिक भएका छन् । सबैभन्दा बढी चैत महिनामा ९ वटा घटना भएका छन् भने जेठ र असारमा ८÷८ वटा तथा वैशाखमा ७ जना बालबालिकाको हत्या भएको छ । हत्या भएका बालबालिका मध्ये अपहरण पछि २२ प्रतिशत (७ जना) को हत्या भएको छ । साथै अवैध सम्बन्धका कारण २८ प्रतिशत (९ जना), सौतेनी आमा वा बाबुले गरेको हत्या ३१ प्रतिशत (१० जना) र घरायसी कलहका कारण  १९ प्रतिशत (६ जना) बालबालिकाको हत्या गरेको देखिन्छ । 

यसो त यस अवधिमा १० जना बालबालिकाको अपहरण भएको छ । अपहरण गरिएका १० बालबालिका मध्ये ७ जना बालबालिकाको अपहरणपछि हत्या गरिएको छ ।  अन्य २ जनाको भने अपहरण पश्चात सकुशल मुक्त गरिएको छ।  १ जनाको अवस्था भने अझैं अज्ञात छ । । अपहरण गर्नुका कारणहरुमा ५० प्रतिशत (५ जना) फिरौती, ३० प्रतिशत (३ जना) पारिवारिक रिसीइवि रहेका छन् । यस्तै  २० प्रतिशत (२ जना) बालिका भने कानमा सुनको मुन्द्रा लगाउँदा अपहरणमा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
अपहरण परेका मध्ये ४ जना बालिका र ६ जना बालक रहेका छन् । उमेर समूहका आधारमा विश्लेषण गर्दा सबैभन्दा सानो २ वर्षको समेत गरी ३ जना बालक १० वर्षमुनिका थिए भने ११ वर्षदेखि १४ वर्षका ५ जना र सोभन्दा माथि २ जना रहेका छन् । 
यस अवधिमा ८ जना बालबालिकाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा ५ जना बालिका र ३ जना बालक रहेका छन्  उनीहरु  १५ देखि १७ वर्ष उमेरका बालबालिका रहेका छन् । उक्त बालबालिका मध्ये ६३ प्रतिशत (५ जना) ले घरायसी झगडाको कारण आत्महत्या गरेको पाइएको छ भने २ जना बालिकाले विषादी सेवन गरेर आत्महत्या गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप