केन्द्रीय संस्करण
ज्ञान-विज्ञान

ग्रहको दर्जा गुमाएको ‘यम’बारे रोचक तथ्य

person explore access_timeभदौ ५, २०७५ chat_bubble_outline0

१८ फ्रेबुअरी १९३० देखि २००६ सम्म हाम्रो सौर्यमण्डलमा ९ वटा ग्रह भएको मानिन्थ्यो । यो ९ नम्बरको ग्रह प्लुटो थियो । तर अब यसलाई ग्रहको दर्जाबाट हटाइयो । यसको कारणबारे चर्चा पछि गरौंला, पहिला यसको खोज बारे चर्चा गरांै ।

पृथ्वीबाट अरुण ग्रह अति मद्धिम देखिने भएकाले हाम्रा पुर्खाहरूले यसलाई ग्रह नमानेर टाढाको कुनै तारा मानिरहे । १३ मार्च १७८१ मा सर विलियम हर्सेलले आफ्नो ‘टेलिस्कोप’बाट यसको अध्ययन गर्दा यो हाम्रो सौर्यमण्डलको सातौं ग्रह भएको प्रमाणित भयो ।

खोज अनुसन्धानको अन्त्य हुँदैन भनेझँै अरुणको अध्ययनका क्रममा के पत्ता लाग्यो भने ‘अरुणले गर्ने परिक्रमामा कुनै छिमेकी पिण्डको गुरुत्वाकर्षणले प्रभाव पारिरहेको छ’ । खगोल जगत यस एक्स पिण्डको खोजीमा लाग्यो । अन्ततः २३ सेप्टेम्बर १८४६ मा तीन जना खगोलविद्ले अरुणको छिमेकमा रहेको एक्स पिण्ड पत्ता लगाए र यसलाई नाम दिइयो ‘वरुण’ ।

वरुणबारे थाहा भइसकेपछि र यसको अध्ययन गर्दै जाँदा यसको परिक्रमामा पनि कुनै एक्स पिण्डको प्रभाव देखियो । खगोलशास्त्री यस एक्स पिण्डको खोजीमा जुटे ।

४ फ्रेबुअरी १९०६ मा एउटा गरिब अमेरिकी किसान परिवारमा जन्मेका क्लाइड विलियम टोमबागले २४ वर्षको हुँदा प्लुटोको खोजी गरे ।

सन् १९२९ टोमबागले ‘एरिजोना’को ‘लावेल वेधशाला’मा  खगोलशास्त्रीका रूपमा काम गर्न थाले ।

वरुण ग्रहमा कुनै एक्स पिण्डको गुरुत्वाकर्षणको प्रभाव पर्छ भन्ने तथ्य दुईजना खगोलशास्त्री पर्सिभल लाबेल र विलियम पिकरिङले पत्ता लगाइसकेका थिए । टोमबागको काम यस एक्स पिण्डको खोजी गर्नु रहेको थियो ।

रात्रिको अन्धकारमा आकाशको एउटै क्षेत्रमा आफ्नो ‘टेलिस्कोप’बाट अनेकौँ रात्रि निरीक्षण गर्दै अन्ततः १८ फेब्रुअरी १९३० मा टोमबागले एक्स पिन्ड पत्ता लगाए । त्यो पत्ता लगाइएको एक्स पिण्डको नाम प्लुटो राख्नुपर्छ भनी एकजना ११ वर्षीय विद्यार्थी वेनेसिया बर्नेले सुझाएकी थिइन् । टोमबागले आफ्नो जीवनकालमा थुप्रै उल्कापिण्ड र ‘नचिनिएका आकाशीय पिण्ड’को पत्ता लगाए ।

१७ जनवरी १९९७ मा ९० वर्षको आयुमा टोमबागको निधन भयो । निधनपूर्व यिनले एउटा अचम्मको इच्छा व्यक्त गरे, ‘मेरो अस्तुलाई पृथ्वीमा कहिल्यै नफर्किने गरी पृथ्वीबाहिर पठाइयोस् ।’ 
नासाले उनको इच्छाको सम्मान गर्दै ‘न्यू होराइजन’ अन्तरिक्ष यानबाट उनको अस्तुलाई अनन्त अन्तरिक्षमा पठायो ।

१९ जनवरी २००६ मा उडान भरेको ‘न्यु होराइजन’ ५८५३६ किमि÷घन्टाको गतिले उड्दै १४ जुलाई २०१५ मा प्लुटोको नजिक पुग्यो । २५ अक्टुबर २०१६ सम्म ‘न्यु होराइजन’ले १२५०० किमि माथिबाट प्लुटोको परिक्रमा गरिरह्यो ।

‘न्यु होराइजन’ यानमा टोमबागको अस्तुका साथै उनको परिचय लेखिएको एउटा ‘डिस्क’ राखिएको थियो । 

सो डिस्कमा लेखिएको थियो, ‘प्लुटोका खोजकर्ता, एडल र मुरोनका छोरा, पेट्रिकाका पति, एन्नी र एल्डोनका पिता, एक वैज्ञानिक, शिक्षक र एउटा विश्वासिलो साथी क्लाइड टोमबाग, १९०६–१९९७’ ।
टोमबागको अस्तु र यो परिचय बोकेर ‘न्यु होराइजन’को यात्रा तबसम्म जारी रहनेछ जबसम्म यसको कसैसँग टक्कर हुँदैन । नासाले प्लुटोका खोजकर्ताको अस्तुलाई प्लुटोको नजिकसम्म पु¥याएर भनौँ, दुइटा प्रेमीको (टोमबाग र प्लुटो) मिलन गरायो ।

सन् २००६ मा खगोलविद्हरूको अन्तर्राष्ट्रिय सम्मेलनले प्लुटोलाई ग्रहको दर्जाबाट खारेज गर्नुका पछाडि महत्वपूर्ण कारण रहेको थिए । प्लुटोको अध्ययन हुँदै जाँदा के थाहा हुन आयो भने, प्लुटोले गर्ने सूर्यको परिक्रमा पथमा सानातिना गरी झण्डै ७० हजार अन्य पिण्ड पनि सूर्यको परिक्रमा गरिरहेका छन् । अब ती सबैलाई (७० हजार) ग्रहको दर्जा दिन सम्भव थिएन । अतएव खगोलविदहरूले कुनै पनि पिण्डलाई ग्रहको दर्जा दिन ३ वटा शर्त पूरा गर्नुपर्ने परिभाषा दिए । एक ः त्यो पिण्डको सूर्यको परिक्रमा गरिरहेको होस्, दुई : त्यो पिण्ड गोलो हुनुपर्ने र तीन ः पिण्डले गर्ने सूर्यको परिक्रमा पथ स्पष्ट होस् ।
प्लुटोले तेस्रो शर्त पूरा गर्न सकेन । यसकारण १३ सेप्टेम्बर २००६ पछि यसलाई ग्रह नभनेर क्षुद्र ग्रह भन्न थालियो ।

खगोलशास्त्रीहरूले प्लुटो जस्तै थुप्रै क्षुद्र ग्रह पत्ता लगाएका छन् । सन् २००५ मा पत्ता लागेको एरिस प्लुटोभन्दा ठूलो छ । हउमेया माकेमाके प्लुटोभन्दा अलिकति साना छन् ।

अब वरुण ग्रह नै सूर्यबाट सबैभन्दा टाढास्थित आठौं नम्बरको ज्ञात ग्रह हो । वरुण पारिको क्षेत्रलाई ‘काइपर क्षेत्र’ भनिन्छ । प्लुटोलगायतका थुप्रै क्षुद्रग्रह यस क्षेत्रमा रहेका छन् । सूर्यदेखि वरुण ग्रहको दूरी ३०.११ एयू  (एस्ट्रोनेमिकल युनिट) अर्थात ४  अर्ब ५० करोड ४४ लाख ५६ हजार किमि रहेको छ । वरुण ग्रहभन्दा पारि थप २५ एयू अर्थात ३ अर्ब ७४ करोड किमि पछिको क्षेत्र नै ‘काइपर क्षेत्र’ हो । यस क्षेत्रमा लाखौँ खगोलीय पिण्ड छन् । यी सबै खगोलीय पिण्डलाई ‘वरुण पारिका वस्तु’ भनिन्छ । ‘काइपर क्षेत्र’को विस्तार ३०  देखि १५० एयूसम्म रहेको मानिन्छ ।

खगोलविद्हरूले ‘काइपर क्षेत्र’मा रहेको क्षुद्रग्रह एरिसको जानकारी प्राप्त गरेका छन् । एरिसले सूर्यभन्दा ६८ एयू टाढाबाट सूर्यको परिक्रमा गर्छ । यसपछिको ‘काइपर क्षेत्र’ अझैसम्म अज्ञात नै छ । हाम्रो सौर्यमण्डलको सिमाना ‘काइपर क्षेत्र’मा सूर्यदेखि १२२ एयू अर्थात १८ अर्ब २५ करोड १२ लाख किमिसम्म मानिन्छ । यसपछिको ‘काइपर क्षेत्र’देखि ‘इन्टरस्टेलर स्पेस’ प्रारम्भ हुन्छ । मानव निर्मित एउटा मात्र यान ‘भायजर १’ ‘इनन्टरस्टेलर स्पेस’मा पुगेको छ । ‘काइपर क्षेत्र’ सूर्यदेखि १५० एयूसम्मको मानिन्छ । अर्थात २२ अर्ब ४४ करोड किमिसम्मको क्षेत्र ‘काइपर क्षेत्र’को सीमाना हो ।

के तपाईंलाई जान्न मन लागेन ? नासाले पठाएको ‘भायजर(१’ अहिले हामी पृथ्वीवासीभन्दा कति टाढा छ ? झण्डै ६० हजार किलोमिटर प्रतिघण्टाको गतिले उडिरहेको भायजर–१ यो लेख लेखिरहँदाको समय २१ अगस्ट २०१८ को दिउँसो १३  बजेर २० मिनेट जाँदा १४२.३७२२१००८६ एयु टाढा  रहेको छ । यस यानले यो दूरी ४० वर्ष ११ महिना १५ दिन १९ घण्टा ५५ मिनेट र केही सेकेण्डमा पूरा गरेको हो । यसको प्रतिसेकेण्ड गति झण्डै १७ किमि रहेको छ । १३ बजेर २० मिनेट जाँदा यो यान पृथ्वीबाट २१३५५८३१५१३ किमि टाढा पुगिसकेको थियो ।

‘काइपर क्षेत्र’को सीमाना पारी जान अझैं यस यानले १०८४४१६८७७ किमिको यात्रा गर्नुपर्छ । १७ किमि प्रति सेकेण्डको गतिले यानलाई यो दूरी पार गर्न अझै झण्डै ७१२ दिनको समय लाग्छ । यस हिसाबले यो यान सन् २०२० को अगस्ट महिनाको पहिलो सातामा ‘काइपर क्षेत्र’ पारीको नाम नभएको क्षेत्रमा प्रवेश गर्छ ।

१५० एयूदेखि २००० एयूसम्मको क्षेत्रको कुनै नाम दिइएको छैन । १२२ एयूपछिको क्षेत्रलाई ‘इन्टरस्टेलर स्पेस’ भन्न थालिन्छ । यस क्षेत्रमा एउटा क्षुद्र ग्रह सेडना खोजिएको छ । सेडना सूर्यबाट ९४०एयू टाढा छ ।

२००० एयूदेखि २०००० एयूसम्मको क्षेत्रलाई परिकल्पनामा आन्तरिक उर्ट बादल  क्षेत्र भनिन्छ ।

२०००० एयूदेखि ५००००÷१००००० एयू क्षेत्रलाई परिकल्पनामा बाह्य उर्ट बादल क्षेत्र भनिन्छ । यसपछिको धेरै लामो अज्ञात विस्तृत क्षेत्रपछि ३१५९८४० एयू  टाढा  प्रोक्सिमा सेन्टुरी तारा (४.२ प्रकाश वर्ष) रहेको छ ।

माथि भनिएझैं १४१ एयू  दूरी पार गर्न ‘भायएजर–१’ यानलाई ४० वर्ष ६ महिनाको समय लाग्यो । ‘भायजर–१’ को मार्गमा कुनै बाधा अड्चन नआए ७५००० वर्षमा यो प्रोक्सिमा सेन्टुरी तारामा पुग्छ ।
   
प्लुटो सङ्क्षेपमा
खोज भएको मिति : १८ फेब्रुअरी, १९३०

खोज कर्ता :    क्लाइड विलियम टोमबाग

सूर्यबाट औसत दूरी    ः ३९.४८० एयू  

सूर्यबाट नजिक हुँदा दूरी    ः २९.६५८ एयू (५ सेप्टेम्बर, १९८९)

सूर्यबाट टाढा हुँदा दूरी : ४९.३०५ एयू (फेब्रुअरी २११४)

सूर्यको परिक्रमामा लाग्ने समय : २४८ वर्ष (पृथ्वी वर्ष)

सूर्यको परिक्रमामा औसत गति : ४.६७ किमि÷सेकेन्ड

ज्ञात प्राकृतिक उपग्रह (चन्द्रमा):  ५ वटा

प्लुटोको व्यास    ः २३७६ किमि (०.१८६८ पृथ्वी) (०.७४७ चन्द्रमा)

प्लुटोको क्षेत्रफल : १.७७९X१०(७)    किमि२ (०.०३५ पृथ्वी)

प्लुटोको आयतन : ७.०५७ X १०(९)     किमि३ (०.००६५१ पृथ्वी)

प्लुटोको द्रव्यमान : १.३०३ X   १०(२२)  किग्रा (०.००२१८ पृथ्वी)

प्लुटोको घनत्व  १.८५४ ग्राम/सेमि३

प्लुटोको गुरुत्वाकर्षण : ०.६२० मि÷सेकेन्ड२ 

पलायन वेग : १.२१२    किमि÷सेकेन्ड

अक्षमा परिक्रमा गर्दा लाग्ने समय ६    दिन, ९ घण्टा, १७  मिनेट, ३६ सेकेन्ड (प्लुटोको एक दिन पृथ्वीका ६ दिनभन्दा बढी हुन्छ ।)

अक्षको परिक्रमामा गति : ४७.१८ किमि/घन्टा

प्लुटोको तापमान :    न्यूनतम् तापमान माइनस २४०, मध्यम तापमान माइनस २२९ अधिकतम तापमान माइनस २१८ डिग्री

प्लुटोको वातावरण : नाइट्रोजन, मिथेन र कार्बन मोनो अक्साइडले बनेको हिउँ

प्लुटो र पृथ्वीको औसत दूरीः ३८.४८० एयू

प्लुटो र पृथ्वी नजिक हुँदा : २८.६०९ एयू

प्लुटो र पृथ्वी टाढा हुँदा    ः ५१.४७० एयू 

सूर्यको प्रकाश प्लुटोमा पुग्न लाग्ने समय : १४४२९    सेकेन्ड देखि २४६५२  सेकेन्ड (२४० मिनेटदेखि ४११ मिनेटसम्म)

प्लुटोबाट पृथ्वीमा प्रकाश आइपुग्न लाग्ने समयः १४३०५ सेकेन्डदेखि २५७३५ सेकेन्ड (२३८ मिनेटदेखि ४२९ मिनेटसम्म) 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ