शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्रको पार्टीलाई हराउन उम्मेदवारी दिएको थिएँ (अन्तरवार्ता)

मङ्गलबार, ०३ साउन २०७४, १८ : १०
मङ्गलबार, ०३ साउन २०७४

काठमाडौ– पछिल्लो समय मनमोहन चौधरीको नाम चर्चामा छ । चर्चाको यो कारणले हो कि उनले राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय सदस्य भएर पनि स्वतन्त्र उम्मेदवारी दिएर नगरपालिकाको मेयरमा जितेका छन् । जबकी राजपा नेपाल चुनावको विरुद्धमा आन्दोलन गरिरहेका छन् । राजपा नेपाल आन्दोलनमा रहेकै बेला उनी रुपन्देही जिल्लाको साँस्कृतिक नगरपालिकाको लागि प्रमुखमा उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिनुभन्दा एकदिन अघिसम्म उनी आन्दोलनमा थिए । 

जब राजपा नेपालका चारजना अध्यक्ष राजेन्द्र महतो, अनिल कुमार झा, राजकिशोर यादव र महन्थ ठाकुर चुनावको विरोधका लागि नवलपरासी र रुपन्देही पुगे सोही क्रममा मनमोहन चौधरीले उनीहरुसँग छलफल गरेर उम्मेदवारी दिने निष्कर्षमा पुगेको सम्बद्ध स्रोतहरुले जनाएका छन् ।  त्यसअघि राजपा नेपालका सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरुसँग यस विषयमा छलफल गरिसकेका थिए । राजपा नेपाल स्रोतका अनुसार मनमोहन चौधरीले चुनावमा भाग लिनुपर्छ भनि प्रस्ताव त्यहाँ रहेका चारजना नेता समक्ष राखेका थिए । तर, उनीहरुले राजपा नेपालबाट चुनाव लड्ने सम्भव छैन, स्वतन्त्रबाट चुनाव लड्यो भने सम्भव हुन्छ भनी ‘ग्रीनसिग्नल’ दिएपछि उनी चुनावमा लड्न तयार भएको बताइन्छ । 

चुनावको विरोधमा रहेका राजपा नेपालले आन्तरिक रुपमा मनमोहन चौधरीलाई उम्मेदवारी किन दिन लगाए त, यसको कारण हो उपेन्द्र यादव । रुपन्देहीमा संघीय समाजवादी फोरम नेपालको संगठन राम्रो छ । उनले थुप्रै तह जितिरहेको आँकलन गरेका थिए । लुम्बिनी साँस्कृतिक नगरपालिकामा पनि फोरम नेपालका फकरुदीन जित्ने सम्भावना बढी सकेको थियो । 

फकरुदीनलाई हराउन कुनै उपाय नचलेपछि मनमोहन चौधरी जित्ने उम्मेदवार भएको कारणले नै उनलाई उम्मेदवारी दिन लगाएको स्रोतहरु बताउँछन् । राजपा नेपालका अर्का केन्द्रीय सदस्य कमलेश्वर पुरीले सघाएको कारणले पनि फकरुदिनको जित्ने सम्भावना  थियो । 

आन्दोलनमा हुँदा हुँदै कसरी उम्मेदवारी दिए, कसरी चुनाव जिते, राजपा नेपालले अब के गर्ला जस्तो विषयमा नगरपालिकाको गाउँमा घुम्न व्यस्त रहेका मनमोहन चौधरीसँग रातोपाटीले गरेको संक्षिप्त कुराकानीः 

चुनावको विरोधमा रहेका राजपा नेपालबाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जित्नु भयो, कस्तो लागि रहेको छ ?

–राम्रै लाग्छ । नचाहँदा नचाहँदै चुनाव लड्नु पर्यो, चुनाव जिते पनि । अब ममाथि जिम्मेवारी थपेको छ । तपाईसँग कुरा गरिरहँदा म अहिले पनि गाउँमै जनताहरुसँग राय सल्लाह लिइरहेको छु ।

किन, चुनावमा तपाईँलाई उठ्ने इच्छा थिएन र ?

–हो, चुनावमा उठ्ने इच्छा थिएन मलाइ । म उम्मेदवारी दिनुभन्दा एकदिन अघिसम्म आन्दोलनमै थिएँ तर जनताको दवावमा उम्मेदवारी दिए र जनताले जिताए पनि ।

तपाईलाई उम्मेदवारी दिने इच्छा थिएन, त्यसो भए राजपा नेपालका अध्यक्ष मण्डलको इशारामा तपाई चुनाव लड्नु भएको हो त ?

–होइन त्यस्तो पनि होइन, उम्मेदवारी पर्ने दिन असार ४ गते मैले अध्यक्ष मण्डलका चारजना नेता जो रुपन्देही आउनु भएको थियो उहाँहरुलाई भेटेर आफू चुनाव नलड्ने प्रष्टाइसकेका थिए । उहाँहरुले पनि यो अवस्थामा चुनाव नलड्नुस् । हामी आन्दोलनमा छौ चुनाव लड्दा राम्रो सन्दैश जाँदैन भनि उहाँहरुले भन्नुभयो । तर मलाई जनताको यस्तो दवाव थियो कि थेग्न गाह्रो थियो । नेताहरुसँग कुरा गरिरहँदा उनीहरुको फोन आइरहेको थियो । उहाँहरुको सल्लाहअनुसार चुनाव नलड्ने निष्कर्ष निकालेर म घर पुगे । तर त्यहाँ हजारौ कार्यकर्ताहरु मेरो घरमै आइसकेका थिए । उनीहरुले जसरी पनि नगरप्रमुखमा उम्मेदवारी दिनुपर्छ भनि दवाव दिए । मैले पनि भने, जुन पार्टीमा म छु त्यो पार्टीले चुनाव वहिष्कार गरेको छ म चुनावमा भाग लिए भने राम्रो सन्देश जाँदैन ।’ त्यसपछि उनीहरुले यदि अहिले चुनाव लड्नु भएन भने त्यसपछि आउने कुनै पनि चुनावमा सहयोग गर्दिन भनि जवाफ दियो अनि मैले बाध्य भएर उम्मेदवारी दिए । अन्तिम समयमा उम्मेदवारी दिएका कारण धेरै तयारी पनि गर्न सकिन । धेरै गाउँमा त अहिलेसम्म पुग्न सकेको छैन, नपुगेका गाउँहरु पुग्ने मेरो योजना छ अहिले त्यही गरिरहेको छु ।

तपाईको घरमा आएका नेता तथा कार्यकर्ताहरु सबै राजपा नेपालका होला नि हैन ?

–हो, राजपा नेपालकै नेता तथा कार्यकर्ता थिए तर सबै थिएनन् । एमाले, माओवादी र काँग्रेसका नेताहरु तथा कार्यकर्ताहरु पनि थिए । 

आन्दोलनमा रहेका राजपा नेपालका कार्यकर्ता तथा नेताहरुले घरमै गएर तपाईलाई कसरी चुनावमा उठ्न भन्यो त ?

–मलाई जिताउन, मेरो आवश्यकता देखेर नै चुनावमा उठ्न भनेको होला नि । म यसअघि पनि चुनाव गाविसका अध्यक्ष नै थिए । जिल्ला पंचायतका सदस्य भइसकेका मान्छे । मेरो काम गराई, मैले जनतालाई दिएको सेवाबाट प्रभावित भएर नै मलाई चुनावमा उठ्न दवाव दिएको होला जस्तो लाग्छ ।

त्यस्तो कहि हुन्छ, एकातिर आन्दोलन गर्ने अर्कोतिर उम्मेदवार उठाउने कुरा पनि हुन्छ त ?

–भयो त । तपाईलाई मैले एउटा कुराको जानकारी गराउँ । यहाँका मधेशी जनताहरु अझै आन्दोलनकै मुडमा छ । मधेशी जनतामाथि राज्यले अन्याय गरेको कुरा सबैले बुझेका छन् । राजपा नेपालले गरिरहेका आन्दोलनलाई सबैले राम्रो भनिरहेका छन्, त्यसमा सबै सहभागि छन् । मधेशका कुनै पनि माग पूरा अहिलेसम्म गरेको छैन भने कुरा पनि हामी सबै बुझेका छौ । 

यहीनिर कुरा बुझ्न सकिएन क्या, एकातिर आन्दोलन गर्ने अर्कोतिर आन्दोलन छाडेर चुनावमा जाने यसको भित्रि कुरा त पक्कै पनि अर्कै केही होला के छ भन्नुस् न ?

–भित्री कुरा केही होइन । मुख्य कुरा आन्दोलन छाडेर चुनावमा भाग लिएका उपेन्द्र यादवको पार्टीलाई त्यहाँ जित्नबाट रोक्नु थियो । यदि मैले उम्मेदवारी नदिएको भए, फोरम नेपालका उम्मेदवार जित्नु हुन्थ्यो जुन कुरा त्यहाँका जनतालाई स्वीकार छैन । मधेशी जनतालाई फोरम नेपालमाथि आक्रोश छ त्यही आक्रोशका कारण मलाई उम्मेदवारी दिन लगाएका हुन् । 

उपेन्द्र यादवको पार्टीलाई हराउनका लागि तपाईले उम्मेदारी दिनुभएको हो भनि बुझौं त हामी ?

–हो, मुख्य कुरा त्यही नै हो, तर अर्को कुरा पनि छ । त्यो हो, मप्रति त्यहाँको जनताको विश्वास । जनताले चुनाव लड्न भनेकै कारणले मैले चुनाव लडेको हो नभए म चुनाव लड्ने पक्षमा थिइनन् ।
 

तपाई राजपा नेपालबाट राजिनामा दिनुभएको छ कि छैन ?

–छैन, मैले दिएको छैन । त्यसको आवश्यकता नै महसुस भएन ।

चुनावमा राजपा नेपालबाट स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति अब पार्टीका मान्छे रहेन भनेका छन् नि ?

–ठीकै छ । यदि राजपा नेपालले मलाई स्वीकार गर्दैनन् भने म स्वतन्त्र नै हुँ । यदि मैले गलत गरेको छु भने मलाई कारवाही गर्न सक्छ म स्वीकार गर्छु ।

तपाई राजपा नेपालमा हुनुहुन्छ कि हुनुहुन्न ?

–म अहिले राजपा नेपालमा छैन किनभने मैले स्वतन्त्र उम्मेदवारी दिएको छु । म अहिले स्वतन्त्र छु । आउने दिनमा मलाई यहाँका जनताले जे सल्लाह दिन्छ त्यही अनुसार गर्छु । जनता जहाँ जान भन्छ म त्यही जान्छु, कुनै जरुरी छैन राजपा नेपालमै जानुपर्ने । म अहिले पनि आन्दोलनमै छु । मधेशप्रति सरकारले अन्याय गरेको छ, त्यसको विरुद्धमा म आन्दोलन पनि गरिरहेको छु ।

अब तपाई सरकारको मान्छे हुनुभयो, नगरप्रमुख हुनुभयो, तपाई अब कुनै समुदाय विशेष वा पार्टी विशेषका लागि आन्दोनल गर्न मिल्छ त ?

–मैले अघि नै भनि सके कि म जनताको प्रतिनिधि हुँ । जनताको हक अधिकारका लड्नु मेरो दायित्व हो । यदि जनताले नलड अब पुग्यो भन्यो भने म छोड दिन्छु, जनताले आन्दोलन गर भन्यो भने म २४ घण्टा हाजिर छु । यदि जनताले नगरप्रमुखबाट राजिनामा दिनुस् भन्यो म राजिनामा दिन पनि तयार छु ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप