बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘गो गो गो गोसाईंकुण्ड...गो’

आइतबार, १० भदौ २०७५, १२ : ३८
आइतबार, १० भदौ २०७५

तेस्रो अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन प्रतियोगिता हुँदै थियो । त्यसका लागि ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले मालीगाउँस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा लाङटाङ सद्भावना दूतको हैसियतले वक्ता अतिथिका रूपमा म पनि आमन्त्रित थिएँ । 

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले लाङटाङ गाउँको नामोनिशान मेटाएपछि सरकारले त्यो क्षेत्रलाई मानववविहीन घोषणा गरेको थियो । भूकम्पको त्रास मिसिएको सास फेरिरहेकै त्यही सालको मध्य असारमा पहिलो पत्रकारका रूपमा म पहिलो पटक लाङटाङ गएको थिएँ । त्यसपछि निरन्तर लाङटाङ गाउँ र त्यो क्षेत्रसँग जोडिइरहेँ । त्यस हिसाबले मलाई लाग्थ्यो, ‘धार्मिक हिसाबले समेत विशेष मानिने लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने प्रकृतिको एउटा छुट्टै स्वर्ग गोसाईंकुण्डसँग पनि म जोडिएको छु ।’ तर, पवित्र गोसाईंकुण्डमा भावानात्मक अपनत्वबाहेक मेरो पाइला पुगेको थिएन । 

केही दिनपछि क्यान्जिङबाट सुरु भई स्याफ्रुबेंसीमा टुँङ्गिने लाङटाङ म्याराथनको औपचारिक समापन कार्यक्रममा फेरि पनि वक्ता अतिथिको रूपमा निम्त्याइएँ । काठमाडौँको मेरो दैनिकीबीच त्यही म्याराथन समापनकै दिन मात्र स्याफ्रुबेंसी जानसक्ने स्थितिमा पुगेँ । अघिल्लो रात प्रिय पत्रकार भाइ रोहेज पनि मसँगै जान तयार भयो । उसले नै गोसाईंकुण्डका लागि मलाई घच्घच्याइयो ।

‘दाइ ! स्याफ्रु जाँदा गोसाईंकुण्ड पनि जाउँ न ?’, उसले भन्यो । 

मभित्र पनि गोसाईंकुण्ड भोक छँदै थियो । सानै छँदादेखि हाम्रा मनमा जीवनमा कम्तीमा पनि एक पटक जानै पर्ने धर्तीको एउटा ईश्वरीय ठाउँ भनेर गोसाईंकुण्ड बसेको थियो । हाम्रा बालमस्तिष्कमा त्यसरी गोसार्इंकुण्डप्रतिको आस्था र आकर्षण रोपिएर झनै झाँगिएको थियो । 

एक पन्थ दुई काजको लक्ष्यसहित भोलिपल्ट बिहानै हामी स्कुटीबाट काठमाडौँ छोड्ने निणर्यमा पुग्यौं । बिहान ७ बजे गोँगबुमा भेटेर ऊ मेरो स्कुटीको पछाडि बस्यो । दिउँसो एक बजेदेखि कार्यक्रम छ भनेर म्याराथन संयोजक ऋतुले भनेकी थिई । कार्यक्रम सुरु हुनुअघि नै हामीलाई स्याफ्रुबेंसी पुग्नु थियो । रसुवास्थित स्याफ्रुका लागि नुवाकोटको त्रिशूली पुग्ने तीनवटा (गल्छी, ककनी र छहरे) मध्ये सबैभन्दा छोटो टोखा–छहरे रुट पछ्यायौँ । 

गोँगबुबाट टोखासम्म बाटोको हालत ठीकै थियो । झोरतिर पुग्दा सडक असारे खेत भइसकेको रहेछ । तैपनि चिप्लिँदै र चिप्ल्याउँदै बल्लतल्ल स्कुटीलाई गुर्जेभञ्ज्याङ पुर्यायौं । स्कुटीले हामीलाई होइन, हामीले स्कुटीलाई त्यहाँ पुर्याएका थियौं । गुर्जेभञ्ज्याङबाट दक्षिणतिर काठमाडौँको मानव निर्मित घनघोर बस्ती र उत्तरतिर प्रकृति निर्मित हिमालयको सुन्दर शृङ्खला देख्न सकिन्छ ।

हिलोलाई वास्ता नगरी एक बजेको अर्जुनदृष्टि लगाएर हामी स्याफ्रुबेसी हुत्तिरह्यौं । थोरै तल पुग्दा घनघोर वर्षा सुरु भयो । कालो चियासँग एक–एकवटा चुरोट सुइँसुइँती तानेर रेनकोट हुलेपछि एक छिन रोकिएको स्कुटीलाई फेरि कुदायौं । ११ बजेअघि नै ढिकुरे, गँगटे, बट्टार हुँदै विदुर कटेर मात्र हामीलाई पुग्थेन । अलि अगाडि सडक विस्तारका लागि पहाड कटनी चल्दै गरेकोले त्यसअघि नै हामीले गेर्खु काट्नुपथ्र्यो । त्यसैले एक कप चियाको भरमा मैले स्कुटी सकेसम्म तोडले कुदाइरहेँ । 

हामीले योजनाअनुसार नै समयमै गेर्खु काट्यौं । बेत्रावती हुँदै कालिकास्थानसम्म बाटो ठीकै थियो । त्यसपछि स्कुटरलाई निकै सास्ती भयो । ठुल्ठुला ढुङ्गाका बीचबाट कहिले स्कुटरलाई उचाल्दै त कहिले घिसार्दै धुञ्चे हुँदै टाइममै स्याफ्रुबेंसी पुर्यायौं । बिहान ८ बजे क्यान्जीङबाट दौडेका एकाध धावक मात्र स्याफ्रुबेंसी आइपुगेका रहेछन् । 

उनीहरूलाई कुरेर कार्यक्रम सुरु गर्दा ३ बजिसकेको थियो । तोकिएको समयभन्दा २ घण्टा ढिलो सुरु भएको कार्यक्रम ४ नबज्दै सकियो । हामी धुञ्चे फक्र्यौं । धुञ्चेस्थित गुरुङ सरको स्कुलभित्र स्कुटी छाड्न गयौं । पहिलो पटक भेटिएका गुरुङ सरको गफै मीठो । त्यसभन्दा पनि बढी प्रशंसनीय थियो, उनको सहयोगी भावना ।

रसुवाका सरकारी स्कुलहरूमा पढाएर सिङ्गो जीवन र जवानी बिताएका गुरुङ सरले केही वर्षअघि मात्र धुञ्चेमा होस्टेल स्टाइलको बोर्डिङ स्कुल सुरु गरेका रहेछन् । त्यो उनको व्यवसाय त थियो नै तर त्यो विकट भूगोलको दुःख बोकका रसुवाली अभिभावकलाई आफ्ना सन्तान शिक्षाको लागि सहज र लाभकारी प्लेटफर्म पनि थियो । 

गोसाईंकुण्ड जाने लागेको भन्दै फर्केर आउँदासम्म स्कुलमा स्कुटी राख्ने अनुमति माग्दै गर्र्दा उनले एक छिन बसौं भन्दै कालो चियाको अफर गरँे । प्रधानाध्यापकको चियरमा बसेर उनले हामीलाई गोसाईंकुण्डका अनेक रोचक कथाउपकथासँगै धुञ्चेबाट गोसार्इंकुण्डसम्म केवलकार परियोजनाको चर्चा चलेको पनि सुनाए । चिया नआइपुग्दै उनले गोसाईंकुण्ड रुटका होटलवालालाई मात्र सम्झेनन्, उनीहरूका छोराछोरीलाई पनि सम्झेँ । देउरालीको एउटा होटलवालाको छोरो उनको स्कुलमा आवासीय विद्यार्थी रहेछ । उनलाई ती विद्यार्थीलाई आफ्नै कार्यकक्षमा बोलाए र उसको बाबुको मोबाइल नम्बर मागेर छोराले टिपाएको नम्बरमा तत्काल फोन लगाए । 

‘हाम्रा दुई भाइ आज तपाईंकहाँ आउँछन् । सुत्ने र खाने व्यवस्था गरिदिनु होला’, उता होटलवालाई उनले भने ।      

‘अब तपाईंहरू ढुक्क भएर देउरालीको ‘देउराली होटल’मा बस्नसक्नु हुनेछ । होइन भने दशहराको यो बेला बास पाउन मुस्किल पर्छ । त्यहाँ त्यही एउटा मात्र होटल छ’, यता उनले हामीलाई भने ।
‘कस्सिएर हिँड्नु होला । घट्टे खोला तपाईंहरू आज देउराली पुग्नु हुन्छ’, उनले सुझाव दिए । 

हामी हिँड्न हतारियौं तर चिया नसकाई हिँड्न दिएनन् । गेटसम्म आएर बिदाइ गर्दै भने, ‘शुभयात्रा भाइहरू ।’

टाइट सेड्युलका कारण दिनभर कतै पनि गतिलो नास्ता नगरेकाले इनर्जीलेस भएका हामी धुञ्चेबाट गोसाईंकुण्डको रुट समातेर हिँडेको केही मिनेटपछि एउटा सानो होटल छिर्यौं । मैले ममले र रोहेजले चाउमिनले पेट पूजा गरेर अगाडि बढ्दै गर्दा मिनरलवाटर फ्याक्ट्री छेउमा लौरो लिएर उभिएका ससाना फुच्चाहरू भेट्यौं । मसँग त स्टिक छँदै थियो । ४० रुपियाँमा रोहजले एउटा लौरो किन्यो । बच्चाहरूको लौरो व्यापार मेरा लागि यात्राको पहिलो आकर्षण थियो ।

तर्सोमा हल्का उकालिएको बाटो हिँड्दै गर्दा बाटोमा गोसाईंकुण्डबाट बिहानै हिँड्ेका यात्रीहरू भेटिए । राताम्मे पहिरनमा थुप्रै महिलाहरू आफ्नो लखतरान शरीरलाई ठूलो भारीझैं बोकेर धुञ्चे हानिँदै थिए । हाम्रो हिँडाइको फूर्ति देखेर उनीहरूलाई सही नसक्नु भएछ कि क्या हो । एउटीले भनी, ‘फर्कंदा थाहा पाउँछौ केटा हो ।’ प्रत्युत्तरमा हामीले केही भननौँ । हाँस्यौँ मात्र ।

त्यस्ता अरू थुप्रै महिला र पुरुष भेट्यौं, जो लठ्ठीको सहारामा थाकेको शरीर र गोसाईंकुण्डमा पुगेर जीवन सार्थक बनाएको अनुभूति बोकेर धुञ्चेतिर सकीनसकी पाइला चालिरहेका थिए ।  

एक घण्टाजति हिँडेर घट्टे खोला (१९७७ मि.) पुग्दा उज्यालो पातलिन थालिसकेको थियो । त्यहाँ दालभात तरकारी पकाउने तयारी सुरु गरिसकेका एकाध होटलहरू भेटिए । 

उनीहरूले बाटोछेउको आँगनबाटै हामीलाई स्वागत गरे, ‘अँध्यारो हुन लागिसक्यो । देउराली (२६२५ मि.) पुग्न अझै कम्तीमा पनि दुई घण्टा लाग्छ । आज यतै बसुम् ।’

तर हामीलाई देउराली नै पुग्नु थियो । गुरुङ सरमार्फत हामीले धुञ्चेबाटै देउरालीमा गाँसबाससहितको होटल बुक गरिसकेका थियौं । घट्टे खालाको तीरैतीर हिँडिरहँदा रोहेजले पश्चिम नेपालको अन्नपूर्ण बेस क्याम्प जाँदाको झझल्को आएको बतायो । 

‘दाइ ! अन्नपूर्ण जाँदा पनि यसरी नै खोलाको तीरैतीर हिँड्ने हो’, छेउको एउटा सानो मन्दिरको ढोकामा झुन्ड्याएको घण्ट बजाउँदै उसले भन्यो ।

एक छिनमा ठाडो उकालोसँगै गाढा अँध्यारो सुरु भइहाल्यो । लाइट नबालेरै हामीले गोरेटाका डोबहरू पछ्याइरह्यौँ । झ्याउँकिरी कराउन थाले । उकालोमा ससाना खोल्साहरू ‘कलकल’ गरिरहेका थिए । हाम्रा लागि पहिलो पटक अँध्यारिएको गोरेटोमा हामी हिँडेको माथि आकाशबाट जूनले हेरिरहेको थियो । बीचबीचमा गोरटाहरू बाँडिन्थे । तर केही छिनमा थाहा पायौं, बाँडिएका गोरेटाहरू एकाध मिनेपछि फेरि जोडिँदा रहेछन् । एकाध मिनेटका वैकल्पिक सर्टकर्ट गोरेटा रहेछन् ती । तैपनि हामी पटक पटक केही छिन अलमलिएका मात्र थिएनौं, आत्तिएका पनि थियौं । 

कहीँकतै मोडहरूमा एकाध मिनेट टक्क रोकिनुबाहेक हामी हिँडिरह्यौं । अँध्यारो र जङ्गलले एकै पटक घेरेको गोरेटोबाट हामी सकेसम्म चाँडो बासस्थान भेट्न चाहन्थ्यौँ । कति बेलासम्म हिँड्ने भन्ने कुनै टुङ्गो थिएन । एउटै टुङ्गो थियो, बासस्थान नआएसम्म हिँडिरहने । 

अलि माथि बत्तीको उज्यालो देखियो । तर त्यो उज्यालो गोसाईंकुण्डको मूलबाट बगेको पानीमा आधारित त्रिशूली तथा देवीघाट जलविद्युतबाट आयातित बिजुली उज्यालो थिएन । त्यो त सोलारबाट उत्पादित उज्यालो रहेछ । त्यही उज्यालोमा होटलवाला हामीलाई नै कुरिरहेको रहेछ ।

‘आयौं है हामी’, मैले भनें ।

‘डर लागेन ?’, उसले सोध्यो । 

‘लाग्यो नि लाग्न त । तैपनि आउने भनेपछि त आउनै पर्यो नि । परेन र ?’, मैले पश्चिमतिरको भाकामा भनें । 

‘यति राति त्यस्तो जङ्गलको बाटो के आउनु होला र ! तल घट्टेखोलामै बस्नुहोला भन्ठानेको । गुरुङ सरले भन्नु भएकाले मात्र कुरेर बसेको । तैपनि आउनुभएछ । तपाईंहरूको खाना तयार भइसक्यो’, होटलवालाले भन्यो ।

होटलको आँगनबाट अँध्यारैमा पनि पारिपट्टि हिमाल प्रष्टै देखिन्थ्यो । 

‘भोलि बिहान त्यो हिमाल असाध्यै राम्रो देखिन्छ’, हिमालतिर औँला तेर्साउँदै उसले भन्यो ।

देउराली धुञ्चेजस्तो न्यानो थिएन । बतासमा कडा चीसो मिसिएको थियो । तातो भातमा तातै तरकारी मुछेर ग्वामग्वाम खाएर पेट तताएपछि सिरकभित्र हालेर शरीरलाई पनि तताउँदै भोलि बिहानै गोसाईंकन्ड हिँड्नुपर्छ भन्दै हामी तत्कालै कोठा चढ्यौं र गफगाफ नगरी सुत्यौं । 

बिहान चाँडै ब्युँझे पनि चाँडै ओछ्यान छाड्न मन लागेन । हिमाली यात्रामा मलाई थुप्रै चीज असाध्यै मनपर्छन् । त्यसमध्ये एउटा हो, बिहानी ओछ्यान । त्यहाँ पनि त्यस्तै भयो । कालो चिया र केही बिस्कुट खाएर नौ बजेतिर मात्र हामीले देउराली छाड्यौं । तर, हरियो देउरालीबाट देखिने सेता हिमाली टाकुराहरू आँखामा मात्र होइन, मनभरि पनि मुस्कुराइरहेका थिए । 

‘यहाँबाट दिम्सा (३०३८ मि.) पुग्न एक घण्टा लाग्छ । बाटो उकालो छ । बिस्तारै जानु होला’, उसको आँगन छाड्दै गर्दा होटलवालाले भन्यो, ‘हिँड्न अप्ठ्यारो भए बीचतिरबाट घोडा लिनुभए हुन्छ ।’

जङ्गलभित्रको गोरटो पछ्याउँदै उक्लँदै गर्दा देखेभेटका लाँलीगुराँससँगै माथिबाट झर्दै गरेका यात्रीहरू रङ्गीन पनि देखिन्थे । उनीहरूको लवाइ र अनुहारले जङ्गललाई अझ बढी रङ्गीन बनाएको थियो । एउटा रुखमुनि थकाइ मार्दै हामीले चाउचाउ र पानी खायौं । प्रिय पुतलीहरू हामीछेउ आए । आहा ! 

थोरै माथि एउटा सानो चौर आइपुग्यो । त्यहाँ केही घोडा र घोडाधनीहरू थिए । घोडाधनी र यात्रीहरू घोडाका लागि मोलमोलाई गरिहेका थिए । हिँड्न नसकेर घोडा खोज्दै गरेका यात्रीहरू मोलमोलाई गर्दा भने निकै जोशिला सुनिन्थे । उनीहरूको शरीर पो थोकेको थियो । शरीर थाक्दैमा मुख थाक्नुपर्छ भन्ने के छ र ! 

‘घोडा चढेपछि सब ैचीज सहज हुन्छ भन्ने होइन ,  ‘लेक’ लाग्न सक्छ । तर त्यसबाट बच्ने उपायहरू छन् । १) आराम गर्दै विस्तारै हिँड्ने, छिटो नहिँड्ने । २) प्रशस्त सफा पानी वा तरल पदार्थ पिउने । ३) रोगका लक्षण देखिएमा जबरजस्ती माथि नचढ्ने । ४) रोगले च्यापेको महसुस भएमा तत्काल तल झर्ने । ५) चिसो भएमा तत्कालै न्यानो कपडा लगाउने । ६) खाली पेट नहिँड्ने । ७) कम्तीमा यात्रा अवधिभर चुरोट तथा मादक पदार्थ सेवन नगर्ने । ८) प्रकृतिको आनन्द लिँदै जीवनका सुन्दर क्षणहरू सम्झँदै प्रफुल्लित रहने । सँगैको साथी बिरामी परेमा बरु फेरि अर्को पटक आउँला भन्ने सोचर साथीसँगै आफू पनि यथाशीघ्र तल झर्ने’, यात्राका यी र यस्ता विविध पाटाहरूबारे पनि हामीले बाटामा छलफल गर्यौं, जो सामान्यजस्तो लाग्ने तर उचाइमा यात्रा गर्दा सबैले ख्याल गर्नुपर्ने विषय हुन् । 

चराहरूका चिरबिर । पुतलीहरूका हल्का उडान । हावासँग बोटबिरुवाका पातहरूका संवाद । घाँसहरूको शून्यता । कुहिरोहरूको दौड । यिनै यिनै प्रिय चर्तिकला यात्राका हाम्रा साथी थिए । दिम्सा पुग्दा त्यहाँका होटलवालाले हामीलाई नास्ता खान बोलाइरहेका थिए, ‘चिया खान आऊ ।’ 

चिया खान आऊ भन्नुको मतलव चिया मात्र खान आऊ भनेको होइन रहेछ भन्ने दिम्साबाट एक घण्टा हिँडेपछि चन्दनबारी (३२५० मि.) पुगेपछि मात्र थाहा पाएँ । किनभने, चन्दनबारीमा पनि होटलवालाहरूले चिया खान बोलाए ।

‘चिया मात्र के खानु ?’, एउटा होटलवालालाई मैले भनें ।

‘चिया खान आऊ भनेको खाजा खान आऊ भनेको हो नि’, उसले मलाई सम्झायो । 

होटलवालाले खाजा खान बोलाउने स्टाइल नै त्यही रहेछ, त्यस भेगमा ।

नझुक्किनु होला । यदि कसैले सिङ्गोम्पा वा सिङ्गुम्बा भन्यो भने पनि त्यो चन्दनबारी नै हो । चन्दनबारी चिटिक्क परेको चोक रहेछ, जसको मध्यभागमा सरकारी स्वामित्वको चीज फ्याक्ट्री छ । त्यो त्यस भेगका स्थानीयहरूको एउटा सपना र इज्जतका स्तम्भ हो । 

मैले पटक पटको लाङटाङ यात्रामा थुप्रै त्यस्ता स्थानीयलाई भेटेँ, जसले क्यान्जिङ वा सिङ्गोम्पोे चीज फ्याक्ट्रीमा जोडिएको जीवनकोे कथा गर्वले सुनाएका थिए । कति त्यस्ता स्थानीय पनि भेटें, जसको जीवनको सपना तिनै चीज फ्याक्ट्री थिए तर तिनको सपना कहिल्यै पूरा भएन । अधिकांश स्थानीयका जीवन–व्यवहारसँग ती फ्याक्ट्री जोडिएका थिए । तिनका चौँरीका दूध ती फ्याक्ट्रीले किनिदिन्थे र आवश्यक पर्दा चीजलगायतका दुग्ध उत्पादन फेरि उनीहरू तिनै फ्याक्ट्रीबाट किन्थे । त्यहाँको आर्थिक जीवनका शानदार लय थिए ती फ्याक्ट्री, जो पर्यटन फस्टाउँदै जाँदा अझ बढी फैलिएको छ । पाहुनाका लागि होटलहरूमा दुग्धपदार्थको माग जो बढेको छ ।  

बाटो छेउको एउटा घरको बुद्धिस्ट झन्डाहरूले घरिएको आँगनमा बाजागाजा र धूपधूपादीसहित पूजा भइरहेको देखेपछि हामी एक छिन अडिएर त्यतै हेर्दै थियौं । हातमा खुकुरी लिएर पूजास्थलको फेरो लगाइरहेको लाखेजस्तो केटोले हामीलाई नजिकै निम्त्यायो । लामा संस्कृति र परम्पराअनुसार स्थानीय शैलीमा भइरहेको पूजा अवसरको अनुभव गर्न उसको हातको खुकुरीलाई ख्यालै नगरी हामी उसको नजिक गयौं । ऊ जोडजोडले नाच्दै मन्त्र उच्चारण गरिरहेको थियो । शब्दभन्दा पनि त्यो हाम्रा लागि ध्वनि बढी थियो । त्यो घरमाथिको पाखा पहेंला फूलहरूले ढाकिएको थियो ।  

केही मिनेटको उचाइ पार गरेर चन्दनबारीलाई फर्केर हेर्दा म झनै मोहित भएँ । प्रकृतिको काखमा निकै शान्त, सफा र सुन्दर देखिएको थियो, कुहिरोले छाएको त्यो सानो गाउँ ।   

धूपीका बडेमानी रूखका पातहरू झेरर गलैँचाजस्ता बनेका मुलायम गोरटोमा हिँड्दा परीहरूको कथाका शयली पात्र हुनुजस्तै मजा हुँदोरहेछ । परिवेश अनेक प्रजातिका फूलहरूले सिँगारिएको थियो तर लालीगुराँसको अधीन थिए ती सब । मूलतः लालीगुराँसको मौसम थियो त्यो । एक होइन, अनेक रङका लालीगुराँसले बनै ढाकेको थियो । मनै ढाकेको थियो । भर नभएकी प्रेयसीजस्ता कुहिरो आउने जाने गरिरहेको थियो ।

डेढ–दुई घण्टामा हामी चोलाङपाटी (३५५० मि.) पुग्यौं । फेरि पनि होटलवालाहरूले ‘चिया’ खान बोलाए । उच्च भूगोलको बाक्लो जङ्गलको काखमा अवस्थित एउटा समथर मैदानजस्तो चोलाङपाटीमा केही छिन्, थकाइ मार्दा थुप्रै घोडाहरूले हामीलाई उछिनिसकेका थिए । तर हामीलाई कसैले उछिनेकोमा कुनै पर्वाह र पछुतो थिएन । किनभने त्यो हाम्रो म्याराथन थिएन । हामी त गोसाईंकुण्डको दर्शन गर्न जाँदै थियौं । त्यहाँ प्रकृति र पवित्रता अनुभव गर्न जाँदै थियौं । 

लालीगुराँस र अरू फूलहरू, धूपीका बोटहरू र तिनका बासना, हिमाली शृङ्खला र तिनको मुस्कान, स्थानीय संस्कृति र उनीहरूसँगको संवाद, चीज फ्याक्ट्री र त्योसँग जोडिएका सपनासँग हामीले बाटोभरि आनन्दको आकाश पाइसकेका थियौं । तर हामीले यात्रामा अझ थुप्रै परिवेश र पात्रहरू पाउनेवाला थियौं ।

चोलाङपाटीबाट लौरीविना (३२७७ मि.) जाँदै गर्दा सुरुको बाटो मोटरेबलजस्तो थियो । हिँड्नुको मतलब थकाइ मार्नुजस्तो भएको थियो । बादल र हामी उही उचाइमा थियौं । बिस्तारैबिस्तारै रूखहरू पातलिन मात्र होइन, होचिन पनि थाले । तर तल बाक्लो जङ्गल देखिन्थ्यो । हामी बिस्तारै उकालिदै थियौं ।

खनेर सम्याइएका तर नयाँ घाँसहरू पलाइसकेका दुई तीन आना जति टुक्राका स्थानहरू बाटोछउ प्रत्येक घण्टा–आधा घण्टामा देखिन्थे । पछि थाहा भयो, ती त गङ्गा दशहरा तथा जनैपूर्णिमामा (त्यसमा पनि विशेष गरेर जनैपूर्णिमा) मेला भर्न देशैभरबाट आउने अनगिन्ती तीर्थयात्रीका लागि बनाइएको अस्थायी बासको डोब रहेछन् ।

घोडचडीहरू यात्रीहरूलाई कुण्ड पुर्याएर घोडासहित फर्किरहेका भेटिए । त्यसमध्ये एउटाले मोबाइलबाट ‘भेडाको ऊँनजस्तो हो हो, भेडाको ऊँनजस्तो’ गीत लाउडस्पिकरबाट बजाउँदै त्यसमा आफ्नो पनि स्वर थपिरहेको थियो । वाह ! त्यसै भेगको त्यो गीतलाई गायक अमृत गुरुङले देशभर अझ पपुलर बनाएका थिए । 

सुनेका थियौं, ‘लौरीविना जाँदा बाटो निकै उकालिन्छ । निकै ठाडो छ । निकै कष्टकर ।’ तर हामीलाई ठीक उल्टो भइरहेको थियो । 

‘यो कुनै अप्ठ्यारो बाटो होइन । खासै उकालो पनि छैन । तर किन यो बाटो यसरी उकालाको हाउगुजी बन्यो ? सायद नेपाली स्टाइलले एकै दिनमा धुञ्चेबाट गोसाईंकुण्ड पुग्ने रहरको कहरले हो कि ? वा पानीसमेत नखाई भोकभोकै गोसाईंकुण्ड दर्शन गरी पुण्य प्राप्तिको लोभमा परेर हो ? यो त नर्मल बाटो हो । यति उचाइमा अलिअलि अप्ठ्यारोको अनुभूति हुनु त स्वभाविक हो’, रोहेज र म बाटो विमर्श गर्दै एकाध घण्टामा लौरोसहित लौरीविना पुग्यौं । 

भोकले चुर भइसकेका थियौ हामी । त्यहाँ मजाले निकै स्वादसहित दालभात खाइवरी बुद्धमन्दिर उकालियौं । हिँड्नुअघि त्यहाँकी होटल्नीले लाङटाङ म्याराथनको समाचार सुन्न चाही । उसँग म्याराथनबारे निकैवटा प्रश्न थिए तर हामीलाई उसका सबै उत्तर दिने फुर्सद थिएन । किनकि त्यही दिन हामीलाई बुद्ध मन्दिर हुँदै गोसाईंकुण्ड (४३८० मि.) पुग्नु थियो ।

बुद्ध मन्दिरमा केही बुद्धिस्ट झन्डाहरू हावाको बेगसँग हावाकै लयमा स्वर निकालेर फरफराइरहेका थिए । छेउको एउटा चिया पसलबाट फेरि ‘चिया’को अफर आयो । अलि तल खाएको भात अझै पटेमा तातै थियो । 

बुद्ध मन्दिरबाट अलिकति माथि उक्लेपछि पानीको सानो प्वाल परेको एउटा पाइप तलतिर झरेको देख्यौँ, जहाँबाट पानीको फोहोरा निस्किरहेको थियो । त्यही पानीले रित्तिएको बोतल भरेर माथि गोसाईंकुण्डबाट आएको पानी पहिलो पटक खायौं । गोसाईंकुण्डको पवित्र पानीले आँत शितल भयो । त्यही बीचमा असाध्यै बाक्लो कुहिरोले ‘सारा संसार’ सेतो भयो । 

गोसाईंकुण्डको गोरेटो पछ्याउँदै हामी हिंडिरह्यौं । आधा घण्टापछि बिस्तारै कुहिरो फाट्न थाल्यो । अघिको संसार अर्कै भयो । सबै खुल्दै आए । अचम्मको भीरहरू देखिन थाले । हिमालका चाँदीझँै चम्किला टुप्पाहरू देखिन थाले । हामी कुण्डको निकै नजिक पुगिसकेका रहेछौं ।

घाम अस्ताउनुअघिको उज्यालोमा हामीले कुण्ड देख्यौँ । जसलाई हामीले गोसाईंकुण्ड भन्ठान्यौं । तर त्यो त अर्कै कुण्ड पो रहेछ । त्यसपछि फेरि अर्को कुण्ड देख्यौं । त्यो पनि गोसाईंकुण्ड होइन रहेछ ।
त्यसपछि अर्को विशाल कुण्ड देख्यौं, जो गोसाईंकुण्ड (१३.८० हेक्टर) थियो, जो शिवको पवित्र धाम हो । सूर्यका पहेंला किरणहरू ठोक्किएर सुनौलो बनेका हिमालहरूले घेरेको गोसाईंकुण्डलाई हामीले आधा घण्टासम्म आँखा नझिम्क्याई हेरिरह्यौं । 

धेरैलाई लाग्नसक्छ, गोसाईंकुण्ड क्षेत्रमा त्यही एउटा कुण्ड छ । तर गोसाईंकुण्ड किनारको कङ्क्रिटपाटी अनुसार त्यस क्षेत्रमा भैरवकुण्ड, सरस्वतीकुण्ड, दूधकुण्ड, रगतकुण्ड, चन्द्रकुण्ड, सूर्यकुण्ड, आमाकुण्ड, राजाकुण्ड, नौकुण्ड, लामाकुण्ड, बतासकुण्ड, गणेशकुण्डलगायत १७ वटा कुण्ड रहेका छन् । प्रत्येक कुण्डका कथा कुनै दिन ती सबै कुण्ड पुगेर लेखौँला ।

मेरो लागि शिव भन्नु गोसाईंकुण्डको प्रकृति थियो । त्यसपछि मैले त्रिशूल, डमरु वा पार्वतीवाला शिवको कुनै चाहनै राखिनँ । सायद शिवले मलाई उनको ध्वनि, स्पर्श र आशीर्वाद त्यहाँको वातावरणमा छाडिदिएका थिए । त्यहाँको वातावरणमा सबैतिर शिव थिए ।          

अन्तिममा यत्ति भन्छु, ‘गो, गो, गो, गोसाईंकुण्ड ... गो ।’          

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अशोक सिलवाल
अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

लेखकबाट थप