शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैङ्गलोरमै नर्सिङ पढ्दै गरेकी विद्यार्थीको ब्लगः यही अवस्थामा बैङ्गलोरमा नर्सिङ पढ्न नआउनुस्

बुधबार, ०४ साउन २०७४, १३ : ५०
बुधबार, ०४ साउन २०७४


बाहिरी दुनियाको रङ्गीचङ्गी र खानपिनबाट प्रभावित हुनु हामी नेपालीका लागि नौलो कुरा होइन । यसर्थ बर्सेनि हजारौँ नेपाली बाहिरी मरुभूमिको तापमा सेकिन बाध्य हुने गरेका छन् । यसका लागि सिमाना जोडिएको भारत अछुतो हुन कहाँ सक्थ्यो र ?


प्रत्येक वर्ष भारतको दक्षिणी प्रान्त कर्नाटकको बैङ्लोरमा हजारौँ विद्यार्थी आयात हुने गरेको छ । बीएस्सी नर्सिङको बढ्दो मागसँगै सेवाको भाव लिएर पढ्न आएका नर्सिङ विद्यार्थीलाई भने अहिलेको अवस्थामा बैङ्गलोर अभिशाप भएको छ । केही वर्ष यता नेपालका नर्सिङ विद्यार्थीका लागि बैङ्गलोरमा हाबी भए पनि यहाँको नियम कानुनले अन्देखा गरेको छ । २०१३ मा राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सले नेपाली विद्यार्थीको भविष्यलाई बेवास्ता गर्दै कानुन पास गरिदियो । जसअनुसार नेपाली विद्यार्थीलाई भारतमा रजिस्ट्रेसन हुनबाट रोक लगाइयो र भारतको कर्नाटक राज्यमा काम गर्न प्रतिबन्ध गरियो । यति हुँदा पनि नेपाल सरकार भने मौन नै रह्यो । 


यो समस्या सुस्ताउन नपाउँदै अहिले कर्नाटक राज्य अर्को मारमा परेको छ । इन्डियन नर्सिङ काउन्सिल (आईएनसी)ले शैक्षिक वर्ष २०१७÷१८ बाट कर्नाटकका सबै नर्सिङ कलेजहरूलाई खारेजी गर्न लागेको छ । आईएनसी त्यस्तो संस्था हो, जसले भारतभर नर्सिङ अध्ययनको अनुगमन, नियमन र नियन्त्रण गर्ने गरेको छ । यसै सर्वोच्च संस्था आईएनसीले यसै वर्षदेखि कर्नाटकका सबै नर्सिङ कलेजहरू खारेजीको तयारी गरिरहेको छ र यस वर्षमा (यो ब्लग तयार पार्दासम्म १७ जुलाई २०१७) कर्नाटकका कुनै पनि कलेजले नर्सिङमा नयाँ भर्ना लिन नपाउने भएको छ । 


यसअघि डिसेम्बर २०१६ मा कर्नाटकका केही कलेजहरू संस्था खारेजीको माग राख्दै कर्नाटक राज्य सरकारकोमा पुगे । सोही अनुसार प्रतिवेदन पनि तयार भयो । त्यसपछि आईएनसीले आफ्नो मातहतबाट कर्नाटकलाई वञ्चित गराउन खोजिएको हो । 


आईएनसीले कर्नाटकलाई वञ्चित गराएमा उनीहरूलाई धेरैभन्दा धेरै विद्यार्थी भर्ना गर्न त मिल्छ तर कर्नाटक राज्यभन्दा बाहिर यस्तो सर्टिफिकेट कागजको खोस्टासरह हुनेछ अर्थात् मूल्य शून्य रहनेछ । यो अनुसार कर्नाटकमा पढेका विद्यार्थीहरू कर्नाटकमै काम गर्न बाध्य हुनेछन् र अन्य प्रान्त वा देशमा काम गर्न वञ्चित हुनेछन् । 


यो नयाँ नीति र निर्देशिका तथा प्रतिबन्धले हाल बैङ्गलोरमा पढ्दै गरेका हजारौँ विद्यार्थीहरू प्रभावित हुनेछन् । राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सद्वारा कर्नाटकलाई प्रतिबन्ध लगाएपछि अब उनीहरू कर्नाटक राज्यभन्दा बाहिर काम गर्नका लागि प्रतिबन्धित हुने छन् ।

यही विषयलाई लिएर केरला सरकार र त्यहााको नर्सिङ काउन्सिलले पत्रकार सम्मेलन गर्दै बैङ्गलोरमा पढ्न नजान भनिसकेको छ । तर यसै विषयमा नेपाल सरकार र नेपाल नर्सिङ काउन्सिल भने अझै मौन छ । नयाँ भर्नामा रोक लागेको यस्तो अवस्थामा कलेजहरू अदालत धाउँदै छन् भने यस शैक्षिक वर्ष २०१७÷१८ का लागि आईएनसीको प्रस्तावित भर्ना नियमावलीमा पूरै कर्नाटक राज्य बहिष्कृत छ ।


यस्तो दुर्गती हुँदासम्म हाम्रो नेपाल सरकार र राजदूतावास मौन हुनु पछाडिको कारण खुल्न सकेको छैन । तर हामीहरू यस अवस्थाप्रति जागरुक भएर आफ्ना बालबालिकाको भविष्य अन्योलमा पार्नबाट जोगाउनैपर्ने बेला भएको छ । भारतको बैङ्गलोर जति बाहिरी सुसम्पन्न देखिन्छ यहाँको वास्तविकाता उति नै तीतो र दर्दनाक पनि छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनु रेग्मी
अनु रेग्मी
लेखकबाट थप