शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ऐतिहासिक धरहराको सम्झनामा संवत् चलाऔँ

आइतबार, १७ भदौ २०७५, १३ : ५७
आइतबार, १७ भदौ २०७५

ध्रुव गजुरेल

समय गणनाको प्रयोग धेरै पहिलेदेखि नै हुँदै आएको छन् । एउटै कुरा एकै किसिमले सोही समयमा बुझ्न, जान्न र थाहा पाउँन सकून भनेर यसको प्रयोग गरिएको हो । पृथ्वी घुमेर दिन रात हुँदा पनि स्थानीय समयअनुसार भनेर समयलाई मिलाउने कोसिस गरिएका हुन्छन् । यसै अनुरूप घडीको आविष्कार गरी समय निर्धारण गरिएको हो । त्यसैगरी दिन, तिथि, मिति र संवत् पनि बुझ्न, जान्न र मापन गर्न सजिलो बनाउने गरी विकास हुँदै आएका छन् ।

त्यसै सिलसिलामा इस्वी संवत्, विक्रम संवत्, नेपाल संवत् र अन्य संवत्हरू पनि छन् । कुनै संवत् व्यक्तिसँग जोडिन पुग्दछन् भने कुनै संवत् समय, देश, ऐतिहासिक घटना, स्वाभिमान र कुनै युगसँग जोडिन पुग्दछन् । त्यस्तै संवत्हरूमध्ये प्रस्तावित धरहरा संवत् पनि एउटा प्रलयकारी समय र त्यस समयले ल्याएको विकराल अवस्थाहरू सोही समयभित्र देशभित्र घट्न गएका ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिकलगायतका सम्पूर्ण अवस्थाहरूको प्रतिनिधित्व गर्न सक्नेगरी आएको छ । एक युगमा विरलै आउने एउटा भयावह समयलाई टपक्क टिपेर महाप्रलय हुन पनि सक्ने सम्भावित क्षण ठानेर सोही दिनलाई एउटा प्रस्थान विन्दु बनाउन सकिन्छ ।  त्यस वर्षभरी देशभित्र घटेका माथि उल्लेखित गरिएका सम्पूर्ण घटनाहरू, दुःख, कष्ट, पीडा र खुसियालीहरू यो देश र राष्ट्रका लागि अविस्मरणीय हुन सक्दछन् । ती सम्पूर्ण कुराहरूलाई हामी सबैले बुझ्ने र भावी शन्ततीहरूले पनि थाहा पाउने गरी बुझ्न र बुझाउन ऐतिहासिक धरोहर धरहराले सक्दछ भनेर धरहरा संवत्को परिकल्पना गरिएको हो ।

इतिहासमा विसं. २०७२ उल्लेख्य सावित हुन पुगेको छ । विनाशकारी भूकम्प, भोकभोकै खुला आकाशमुनिको बास, दाता सम्मेलन, नयाँ संविधान घोषणा, संविधान सभाको अन्त्य, तराई आन्दोलन, भारतीय नाकाबन्दी र त्यसबाट परेका पीडाहरू, नेपालले देखाएको स्वाभिमानी पन, महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायधीश, चीनसँग भएको ऐतिहासिक पारवाहन सम्झौता आदि कुराहरूले गर्दा वि.सं. २०७२ लाई नयाँ संवत नै बनाएर घोषणा गर्दा पनि अविस्मरणीय हुन जानेछ ।

म आफू धरहरा पुनःनिर्माण अभियानमा लागिरहेको हुनाले धरहरा संवत बनाउदा पनि ठीक हुन्छ । सोहीअनुसार क्यालेन्डर बनाएर यहाँहरू समक्ष पेश गरिएको पनि छ । युगलाई नै परिवर्तन गराउन सक्दछु कि भनेर गएको विनाशकारी भूकम्प त्यसले पुर्याएको जनधनको क्षतिले निकै नै पीडा महशुस भएको थियो । दैनिक रूपमा फेसबुक र विभिन्न सञ्चार माध्यम मार्फत ब्यक्त भएका देशभित्रका विभिन्न घटना र लेखहरूलाई सङ्कलन गरेर नेपाली राजनीतिका ३ शिखर पुरुषहरू तत्कालीन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, नाकाबन्दीका समयमा यो देशका प्रधानमन्त्री तथा तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता तथा हालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भूतपूर्व सम्माननीय प्रधानमन्त्री तथा हालका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको साथै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कुलपती गङ्गाप्रसाद उप्रेतीसहितको शुभकामना सहित प्रकाशित भएको पुस्तक इतिहासमा वि.सं. २०७२ (धरहरा पुनः निर्माण कार्यका लागि समर्पण गरिएको पुस्तक) वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले विमोचन गरेपश्चात नै उल्लेख्य रूपमा बिक्री भई त्यसबाट सङ्कलित रकम तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेललाई वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र पुरातत्व विभागका महानिर्देशक डा. भेषनारायण दाहालसहितका टोलीले बुझाइएको  र उक्त अभियानले धरहराको खातामा रकम जम्मा हुने क्रम जारी नै रहेको छ । देश विदेशबाट धरहराको खातामा रकमहरू प्राप्त भइरहेका छन् ।

हालसम्म धरहरा पुनःनिर्माण अभियानबाट र विभिन्न सङ्घ, संस्था, कर्मचारी र दाताहरूबाट धरहराको खातामा झण्डै २४ करोड रकम जम्मा भइसकेको छ ।  धरहरा बनाउन सहयोग पुगोस भनेर कलाकारहरूसँग मिलेर गाईजात्राको अवसरमा हनुमानको नेपाल यात्रा र तिहार पर्वको अवसरमा धरहरा बनाउन देउसी भैलो छायाङ्कन गरी युट्युबमा  अपलोड गरिएको र सो हेरेबापतका रकम धरहराको खातामा जम्मा हुने गरी युट्युब सेवा प्रदायक कम्पनीसँग सम्झौता पनि गरिएको छ । उक्त भिडियो हेरेर धरहरा बनाउन सहयोग गरिदिन हुन अनुरोध छ । धरहरा पुनःनिर्माण अभियान कार्य सम्पन्न नभएसम्म यो अभियान हामी सबैको साझा अभियानका रूपमा चलिरहने छ । नेपालभित्र चलिरहेका नारीसम्बन्धी विभिन्न कुरुती, कुसंस्कारहरूलाई समेटेर फिजराल्डको शैलीअनुसार रचना गरी प्रकाशित भएको नेपाली साहित्यको पहिलो पुस्तक ऋतुमार्फत सार्वजनिक भएको प्रस्तावित धरहरा संवत्को बारेमा आज बहस चलिरहेको छ ।

धरहरा संवत् किन ? यस प्रश्नको जवाफ दिनुपर्ने अवस्था सिर्जना भएको पनि छ । जुन सबै नेपालीहरूको सरोकारको विषय पनि हो । माथि उल्लेख गरिएका वि.सं. २०७२ सालका सम्पूर्ण घटनाहरूलाई अविष्मरणीय बनाउने र भावी पुस्ताहरूलाई यसबारेमा जानकारी गराउने भन्दैमा पनि कैयाँैलाई चित्त नबुझ्न पनि सक्दछ । प्रश्न उठ्न सक्दछ कुनै पनि नयाँ घटना घट्ने वित्तिकै नयाँ संवत् बनाउँदै जाने हो भने एक दिन संवत् नै संवत्ले कापीका पानाहरू भरिन सक्दछ । सो बारेमा यथार्थ र सत्यताको पनि जानकारी हुनपर्ने हुन्छ । ठीक बेठीक के हो ? पहिचान गर्नुपर्ने अवस्था आउन सक्दछ । त्यसकारण कुन जगमा टेकेर नयाँ संवत् आगाडि सारिएको छ ? कति अवधिसम्मको कुराहरूलाई त्यसले प्रतिनिधित्व गर्न सक्दछ ? ती घटनाहरूले भविष्यमा के कस्ता कुराहरूमा सहयोग पुर्याउँदछन् ? कति नेपालीको भावनाको प्रतिनिधित्व गरेको छ, त्यसले भन्ने बारेमा पनि जानकारी हुनुपर्दछ । कुनै अकल्पनीय घटना, प्राकृतिक विपद् र सोही समयमा भएका ऐतिहासिक, राजनीतिक, सामाजिक, आर्थिक घटनाहरू, जसले मुलकलाई नयाँ युगमा फड्को मार्ने कोशिस गरिरहेको हुन्छ । ती सम्पूर्ण कुरालाई प्रतिनिधित्व गर्न सक्ने क्षमतावान शक्तिको खोजी गर्दै जाँदा हामी सबैको ऐतिहासिक धरोहर धरहराले उल्लिखित सम्पूर्ण मूर्त र अमूर्त सबै कुराको प्रतिनिधित्व गर्न सक्छ । त्यसैले यस नयाँ संवत्लाई धरहरा संवत् भनेर अगाडि सारिएको हो ।

विश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक धरोहर धरहरा विनाशकारी भूकम्पले ढलेर पनि हामी सबैको मानस पटलमा ठडिइरहेको भान भइरहेको छ आज । हामी सबैको माया पाएर झझन अग्लो र बलियो हुँदै गएको छ धरहरा । अब कुनै पनि भूकम्पले नष्ट गर्न सक्दैन यसलाई । यस अभियानलाई गिटी कुटेर जीवन निर्वाह गर्ने माइली तामाङ जस्ता कयौँ नेपालीहरूले सहयोग गरिएका छन् । विदेशबाट पनि सहयोग प्राप्त भइरहेको छ । धरहराले सिङ्गो देशको प्रतिनिधित्व गर्न लागेको आभास भएको छ । धरहरा संवत्मा उल्लेख गरिएका महिना र बारहरूले पनि अनेकौँ महत्वपूर्ण अर्थ बोकेका छन् र नेपालीहरूको शिरलाई उचो राख्दै जानेछन् । हिमाल, पहाड र तराई पूरै देशलाई धरहरा संवत्ले प्रतिनिधित्व गर्न सफल भएको छ । सम्पूर्ण नेपालीहरूको पहिचान, नेपालीपन र स्वाभिमानको सन्देशलाई विश्वजगतमा दिन सफल पनि भएको छ धरहरा । पुरातात्विक हिसाबले धरहराको आफ्नै महत्व रहेको छ । त्यसको बनावट, धरहरा बनाउँदा प्रयोग गरिएको माटो, इँटा, ढुङ्गाहरू, कला र शैली त्यसबेलाका किंवदन्तीहरू, उपत्यकाभित्र रहेका सम्पूर्ण मन्दिर, गुम्बा, चर्च र मस्जिदहरू सबैको प्रतिनिधित्व गर्न सक्दछ धरहरा । जसले सम्पूर्ण उपत्यकालाई महाभारतको एकलव्यले झँै नियालिरहेको थियो, धरहराबाट देखिन्छ है ! भनेर मानिसहरू गल्ती गर्न डराउँथे त्यसबखत ।

त्यसकारण सत्य र यतार्थताको प्रतिनिधि हो धरहरा । सबै धर्महरूको साझा थलो हो धरहरा, राष्ट्रियता र स्वाभिमान हो धरहरा, जसले एउटा नयाँ संवत् धरहरा संवत्को प्रतिनिधित्व गर्न सक्दछ भनेर अगाडि सारिएको छ, जुन हामी सबैको गौरवको विषय पनि हो । नयाँ संवत् नै उठाउन सक्ने धरहराले पर्यटकहरूलाई धरहरा हेर्नका लागि आकर्षणसमेत गराउँछ । धरहरा र धरहरासँग जोडिन पुगेका महिना र वारहरू हेर्नको लागि मात्र भनेर पनि पर्यटकहरू नेपाल आउँछन् । साथै अन्य क्षेत्रको भ्रमणसमेत गर्छन् । यसले पर्यटन व्यवसायमा सहयोग पुग्ने देखिन्छ । रोजगारीको समेत अवसर प्राप्त हुनेछ । प्रतिव्यक्ति आए पनि बढ्न जाने देखिन्छ । नयाँ नेपाल, नयाँ धरहरा र विकासका सन्देशहरूले यो मुलुकलाई आधुनिक आश्चर्य सूचीभित्र पार्नका लागि पनि सफल हुनेछ । महाभूकम्प गएर पनि १९९० सालको बारेमा धेरै कुराहरू बाहिर आउन नसकेका कारणले भूकम्प प्रतिरोधी संरचनाहरू बन्न पनि सकेनन् । मानिसहरू सुसूचित हुन पनि सकेका थिएनन् । त्यसकारण भावी पुस्ताले किन आएको रहेछ धरहरा संवत् भनेर विगतका घटनालाई सजिलैसँग बुझ्न सक्नेछन् । धरहरा संवत् एउटा युगको दस्तावेज बन्न सक्नेछ, जसले तपाईं, हामी र भावी पुस्तालाई भूकम्पका कुराहरू लगायत धेरै माथि उल्लेख गरिएका कुराहरूको बारेमा जानकारी प्राप्त हुनेछ । त्यसकारण एउटा क्षमतावान शक्तिका रूपमा धरहरा संवत् हाम्रोसामु आएको छ । तिथि, मिति, विवाह, ब्रतवन्ध र लगनहरूका बारेमा के हुनेछ धरहरा संवत्मा ? सबैले चासो राख्नै पर्ने विषय र प्रष्ट पार्नुपर्ने भएको छ । यस बारेमा हामी नेपालीहरूले मानी आएको वि.सं.का तिथि, मितिहरू जसरी इ.सं., नेपाल संवत्, ल्होसार वा अन्य संवत्हरूसँग मेल खान गएको छ ।

त्यसैगरी धरहरा संवत्मा रहेका तिथि र मितिहरू मेल खान पुगेका छन । हामीसँग कैयौँ ऐतिहासिक धरोहर, राष्ट्रिय चिन्ह र स्वाभिमानहरू छन्, तिनीहरूको नामबाट महिना र बारहरूका दिनहरू तय गर्दा हाम्रो गौरव र सबैको साझा र विवादरहित हुन जाने हुनाले त्यसैगरी महिना र वारहरू तय गरिएका छन् । जस्तो पहिलो दिन वि.सं. २०७२ वैशाख १२ गते शनिबार विनाशकारी भूकम्प गएको दिन हो । धरहरा संवत् ००१ साल, सगरमाथा महिना, साझाबार परेको छ । वि.सं. २०७३ वैशाख १२ गतेबाट ००२ साल, वि.सं. २०७४ वैशाख १२ गतेबाट ००३ साल र वि.सं. २०७५ वैशाख १२ गतेबाट हाल प्रकाशन भई वितरण गरिएको ००४ साल पर्दछ । अन्य दिनहरू क्रमशः तय भएअनुसारका छन्, कुनै तिथिमितिहरू फरक पर्ने छैनन् । किनकि वि.सं. मा आइतबार इ.सं. मा सन्डे र धरहरा संवत्मा सूर्यबार भन्नु एउटै कुरा हो ।

त्यस्तै विनाशकारी भूकम्प गएको दिन वि.सं.को वैशाख १२ गते सुरु हुने धरहरा संवत्को पहिलो सगरमाथा महिना वि.सं. को जेठ ११ समाप्त हुन्छ र जेठ १२ गतेबाट धरहरा संवत्को दोस्रो महिना अर्थात गणतन्त्र महिना सुरु हुन जान्छ । महिनाहरू क्रमशः सगरमाथा, गणतन्त्र, लुम्बिनी, बागमती, स्वाभिमान, संविधान, जलस्रोत, खेलकुद, काष्ठमाण्डप, सहिद, युवा र एकता रहेका छन् ।  धरहरा संवत्मा तय गरिएका सात बारहरू क्रमशः  सूर्यबार, चन्द्रमाबार, आकाशबार, शुभबार, गुराँसबार, पृथ्वीबार र साझाबार र धरहरा संवत्मा तय गरिएका जस्तै विजया दशमीको घटस्थापनाको दिन वि.सं. अनुसार २०७५ सालको असोज महिनाको २४ गते बुधबार पर्दछ ।

धरहरा संवत्अनुसार ००४ सालको संविधान महिनाको १३ गते शुभबार त्यस्तै इ.सं. अनुसार अक्टोबर १०, २०१८ पर्दछ । त्यसैगरी भाइटीका, छट, लोसार, इद, वकरिद र क्रिसमसका सबै दिनहरू पनि मिल्न गएका छन् उदाहरणका लागि वि.सं.मा भएको आइतबार, अङ्ग्रेजी संवत्को सन्डे र धरहरा संवत्को सूर्यबार जब एउटै दिन हो भनेर कल्पना गरिन्छ र वि.सं. को वैशाख, जेठ महिना, इ.सं.को अप्रिल, मे महिना र धरहरा संवत्को सगरमाथा महिना एउटै महिना हुन् भनेर कल्पना गरिसकेपछि कहीँ कुनै तिथि, मिति फरक पर्न जाँदैन । त्यसकारण सम्पूर्ण चाडपर्व, रीतिरिवाज, जात्रा मात्राहरूमा फरक परेको देखिँदैन र फरक पनि पर्दैनन् ।

धरहरा संवत्लाई तारकेश्वर नगरपालिका ३ न. वडा कार्यलय, तारकेश्वर नगरपालिका कार्यलयको सिफारिस र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अध्यक्ष्यहरूको शुभकामना, माननीय संस्कृति मन्त्रीज्यूको तोक आदेशसहित हाल संस्कति मन्त्रालयको संस्कृति शाखामा विचराधीन अवस्थामा रहेको छ ।  धरहरा संवत् हामी सबैको साझा र तीन करोड नेपालीको आस्थाको धरोहर समेत भएको हुनाले यसमा ब्यापक समर्थन जुटाइदिनहुन सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप