केन्द्रीय संस्करण

'वैकल्पिक शक्ति निर्माण हुँदैछ, त्यसको नेतृत्व राजपा नेपालले गर्छ'

person access_timeभदौ २२, २०७५ chat_bubble_outline0

राजकिशोर यादवराष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य हुन् । उनको राजनीतिक यात्रा लामो छैन । पहिलो मधेस आन्दोलनबाट उदाएका उनी पछिल्ला पुस्ताका भरोसायोग्य नेतामा गिनिन थालेका छन् । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट सुरु गरेका आफ्नो राजनीतिक यात्रा मन्त्री हुँदै एउटा पार्टीको नेतृत्व पनि गरे । एउटा पार्टीको नेतृत्व गरिरहेकै अवस्थामा उनले मधेसी दलबीच एकीकरण गराएर राजपा नेपाल गठनमा खेलेका भूमिका पनि सम्झनयोग्य छ । तर उनलाई त्यतिले मात्र पुगेन । अहिले उनी देशका लागि अर्कै वैकल्पिक शक्ति निर्माणको मिसनमा लागेका छन् । कस्तो हुन्छ, उनको वैकल्पिक शक्ति कहाँ पुग्यो उनको मिसनलगायतका विषयमा रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीको सम्पादित अंशः 

भूमिकाको कुरा गर्ने हो भने राजपा नेपाल देशको तेस्रो ठूलो दल भए पनि न अहिले ऊ सत्तापक्ष जस्तो देखिएको छ न प्रतिपक्ष जस्तो देखिएको छ । किन त्यस्तो ?
–वास्तवमा राजपा नेपाल देशको तेस्रो ठूलो पार्टी हो र यसको भूमिका अहिलेको परस्थितिअनुसार फरक रहेको छ । सामान्य अवस्था भएको भए प्रतिपक्ष वा विपक्षको कुरा गर्दा हुन्थ्यो तर अहिले परस्थिति फरक छ । सरकार बन्दै गर्दा देशलाई निकास दिनका लागि तथा संविधानको स्वीकार्यता सबैतिर हुनका लागि संविधान संशोधन गर्नुपर्नेमा हामीले जोडदिएका छौँ । त्यही संविधान संशोधन होस् भनेर हामीले सरकारलाई मत दिएका हौं । त्यो सशर्त थियो । आर्थिक समृद्धि गर्नका लागि, संविधान संशोधनका गर्नका लागि जुन दुई तिहाईको अङ्क गणित चाहिएको थियो, त्यो नेकपासँग मात्र थियो । त्यसैले हामी संशोधनका लागि मिल्नुपर्ने अवस्था आयो । अर्को कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशका सबै समस्या समाधान गर्छु । संविधान संशोधन पनि गर्छु भनी हामीसँग प्रतिबद्धता गर्नुभएको छ ।  त्यो हिसाबमा पनि हामीले सरकारलाई समर्थन गरेका हौं । तर सरकारले लिने गरेको तथा ल्याउने गरेको नीतिलाई हामीले गुण र दोषका आधारमा समर्थन गर्ने वा विरोध गर्ने नीति बनाउँदै आएका छौं । 

नेकपासँग सैद्धान्तिक रूपमा पनि तपाईंहरूको केमेस्ट्री मिल्दैन तैपनि विश्वासको मत दिनुभयो । यदि त्यस्तो हो भने संविधान संशोधनको बेला पनि आवश्यकताका आधारमा मत दिनसक्नु हुन्थ्यो तर सरकारलाई विश्वासकै मत नै दिने परस्थिति कसरी बन्यो ? 
–सैद्धान्तिक पक्षको कुरा गर्दा विल्कुलै मिलेको छैन । तर देशको विशेष परस्थितिबाट निकास दिनका लागि हामीले यो रिक्स लिएका हौं । रह्यो कुरा मत पछि दिँदा पनि हुन्थ्यो नि भन्ने सन्दर्भ । यसमा हामीले विश्वास दिलाउनका लागि यस्तो गरेका हौँ । संविधान संशोधनलगायतका कामका लागि आगाडि बढ्नुस्, हामी तपाईंका साथमा छाँै भनी विश्वासका दिलाउन हामी समर्थन गरेका हौँ । हामीले सरकारलाई समर्थन नगरेको भए त्यसलाई मसाला बनाएर भ्रम छर्न सक्थ्यो । जनताको हितका लागि, राष्ट्रको हितका लागि जतिखेर पनि हामीे सहयोग गर्न तयार छौँ भनी सन्देश दिनका लागि अग्रिम समर्थन दिएका हौँ । अब बल भनेको सरकारको कोर्टमा छ । अब राजपाले साथ दिएन भन्ने आधार सरकारको नेतृत्व गर्ने दलसँग छैन ।

प्रत्येक एक दशकमा हरेक कुरामा परिवर्तन हुन्छ । घरपरिवार होस् वा राजनीतिक होस् वा देशको आवस्था किन नहोस् सबैमा केही नकेही परिवर्तन भइरहेका हुन्छ । तर २०६५ सालदेखि हालसम्म तपाईंहरूमा एउटै ट्रेन्ड देखिएको छ, एउटै लाइन देखिएको छ । एक दशक बित्दा पनि तपाईंहरूमा परिवर्तन किन आएन ?
–टे«न्डभन्दा पनि परस्थितिलाई कसरी मूल्याङ्कन गर्ने भन्ने मुख्य कुरा हो । हामीसँग संविधान संशोधन गर्नुपर्ने बाध्यता छ । त्यो नगरी मुलुक आगाडि बढ्न सक्दैन । योविना मुलुकको भावनात्मक एकीकरण हुनसक्दैन । यो मुलुकको समृद्धि हुनसक्दैन भन्ने हाम्रो ठहर छ । राजनीतिक परिवेश वा शक्ति सन्तुलनको कुरा भनौँ, ती सबैमा दुई तिहाई चाहिने भएको छ । तर त्यसका लागि चाहिने दुई तिहाईका लागि ती शक्तिहरू आगाडि बढ्नुले यो समस्या उत्पन्न भएको हो । त्यसैले कहिले काहीँ आगाडि बढ्ने र कहिले कहीँ पछाडि हट्ने अप्स एन्ड डाउन हुने परस्थिति छ । जनताले जुन प्रकारको एजेन्डा दिएका छन्, जुन प्रकारको साथ दिएका छन् त्योअनुसार आगाडि बढ्नुपर्ने हाम्रो बाध्यता छ । नेपालको जुन स्ट्रक्चरल समस्या छ, त्यो रातारात समाधान हुने कुरा पनि होइन । यो समस्याको नेपाल निर्माणको क्रमबाटै सुरु भएको हो । यसलाई ठीक ठाउँमा ल्याउन केही समय लाग्छ । सुरुदेखि नै तराई मधेसबारेमा गलत बुझाउने काम भयो । तराई मधेस बारेमा विभिन्न भ्रम छर्ने काम भए । त्यो अवस्थालाई अब चिर्नुपर्ने अवस्था आएको छ । यो जटिल समस्या हो र समाधान गर्न यो १०–१२ वर्ष काफी समय होइन । त्यसका लागि हामीले  निरन्तर प्रयास गरिरहेका छौँ, सफल भइसकेका छैनौँ । 

राजनीतिक परिवेश वा शक्ति सन्तुलनको कुरा भनौँ, ती सबैमा दुई तिहाई चाहिने भएको छ । तर त्यसका लागि चाहिने दुई तिहाईका लागि ती शक्तिहरू आगाडि बढ्नुले यो समस्या उत्पन्न भएको हो । त्यसैले कहिले काहीँ आगाडि बढ्ने र कहिले कहीँ पछाडि हट्ने अप्स एन्ड डाउन हुने परस्थिति छ । जनताले जुन प्रकारको एजेन्डा दिएका छन्, जुन प्रकारको साथ दिएका छन् त्योअनुसार आगाडि बढ्नुपर्ने हाम्रो बाध्यता छ ।

तपाईंले भनेजस्तो गरी परस्थितिअनुसार परिवर्तनलाई स्वीकार गरेर जानुपर्ने हो तर सुरुदेखि नै एकनाशले अगाडि बढिरहनुभएको छ, जब कि देशमा यत्रो परिवर्तन भएको छ ?
–स्वभाविक रूपमा देशमा परिवर्तन भएको छ । हिजोका रैती अहिले जनतामा परिवर्तन भएको छ । राज्यले जनतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेको छ । तर हामीले राष्ट्रको मुक्तिको कुरा गरिरहेका छौँ । राष्ट्रलाई रिस्ट्रक्चर गर्न खोजेका हौं । तर शक्तिको हिसाबले त्यो प्रकारको शक्ति निर्माण हुन सकेन । आफ्नै बलमा परिवर्त नगर्ने अवस्था सिर्जना गर्नुपथ्र्यो तर त्यो भएन । परिवर्तन गर्नका लागि हामीलाई अर्कोको शक्तिको आवश्यकता पर्यो । त्यो शक्ति हामीप्रति अनुदार नभइदिएकाले यो मुद्दा बल्झिएको जस्तो देखिएको छ । त्यसलाई सुल्झाउन हामीले कम्युनिस्ट र काँग्रेसलाई पटक पटक साथ दियौं । तर उनीहरूले हामीलाई कहिल्यै सहयोग गरेनन् । अझै पनि हाम्रो कोशिस भनेको राज्यलाई अमूल परिवर्तन गर्न क्रियाशील रहने हो ।

मानव साङ्ग्लो बनाउँदा लाखौँ जनता सडकमा लाइन लागेर उभिने, आन्दोलन हुँदा लाखौँ जनता सडकमा ओर्लिने तर चुनाव हुँदा तपार्इंहरूलाई मत नदिने । यो १० वर्षमा तीनवटा चुनाव भयो तर मधेसी जनताले तपाईंहरूलाई पूर्ण रूपमा साथ दिएको जस्तो देखिएन, किन यस्तो हुन्छ ?
–यो निकै गम्भीर प्रश्न हो । यो मधेसको नेतृत्वले सोच्नुपर्ने कुरा हो । आन्दोलन भन्ने कुरा भावनामा हुने चीज हो । भावनात्मक रूपमा तत्कालका लागि साथ दिने कुरा हो । तर चुनावमा विभिन्न फ्याक्टरले काम गरेको हुन्छ । त्यसमा पनि नेपाल जस्तो मुलुकमा समाजिक परिवेश, समाजिक बनोट, राजनीतिक अवस्था, राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, त्योभित्र भएका आर्थिक चलखेल र सङ्गठनका आधारहरूले त्यसलाई तय गर्छ । हामी भर्खर बामे सर्दै गरेका पार्टी भयौँ । हामीले दशकौँदेखि राज्य सञ्चालन गर्दै आएका, राज्यमा हैकम चलाएर बसेकासँग लड्नुपरेको छ । देशका सबै साधान स्रोत रहेकासँग  लड्नुपरेको छ । त्यसका लागि हामीले आन्दोलन गर्दा सबैले साथ दिन्छन् तर मतदानमा हामीलाई सहयोग गर्दैनन् । यो हाम्रा लागि ठूलो चुनौती हो । अब त्यसका लागि मूलधारको वैकल्पिक शक्ति निर्माण गर्न सकिएन भने तपार्इंको प्रश्नको जवाफ प्राप्त गर्न सकिँदैन ।  राजपा नेपाल त्यो वैकल्पिक शक्ति निर्माण गर्ने बाटोमा हिँडिसकेको छ ।

मधेसी जनता भावनात्मक रूपमा तपाईंहरूसँग एट्याच भए पनि मत तपार्इंहरूलाई दिँदैनन् । यसको मतलब तपार्इंहरूबाट पनि कहीँ न कहीँ त्रुटि भएको हो कि ?
–हो, शक्ति निर्माणका लागि जुन मत हामी लाई चाहिन्छ, त्यो मत तान्नका लागि तयारी पुगेन भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ । जोसँग हामी लडिरहेका छौँ, त्योसँग हामी सम्पूर्ण बल प्रयोग गरेर लड्न सकिरहेका छैनौँ । साधान स्रोत प्रयोग गर्न सकिरहेका छैनौँ । त्यसैमा ती शक्तिले भ्रम छरेर हामीबीच खेरिहेका छन् । वास्तवमा हामीसँग अहिले न त्यो शक्ति छ न त्यो साधन, स्रोत नै छ । त्यही भएर उनीहरूले आफूतिर तान्नका लागि सफल हुन्छन् । २०–२५ वर्षको चुनावी परिणालाई अध्ययन गर्ने हो भने जनताले विकल्प खोजिरहेको देखिन्छ तर हामीले विकल्प दिन सकिरहेका छैनौँ । विकल्प दिन नसक्दा फेरि पुरानै शक्तितिर जान्छ । त्यसैले अब राजपा नेपाल नयाँ वैकल्पिक शक्तिको रूपमा आगाडि आउन थालेको छ । विगतमा हामीबाट कहीँ न कहीँ केही न केही त्रुटि भएकै हो । त्यसलाई अब सुधार गर्नुपर्छ ।

यसको पछाडि ठूलो रणनीतिक ग्राउन्ड डिजाइन छ । आज एउटै देशमा पहाड र मधेसलाई हेर्ने दृष्टिकोणमा किन फरक भयो ? त्यो राज्यले योजनाबद्ध तरिकाले गरेको हो । नत्र एउटै देशमा एउटै जनतासँग फरक फरक व्यवहार किन हुन्थ्यो । एउटै देशमा फरक फरक संरचना किन हुन्थ्यो । यी सब राज्यले गर्दा भएको खाडल हो ।

राजपा र फोरमलाई नेतृत्व गर्ने नेताहरू सबै अनुभवी र पुराना छन् । ३०, ३५, ४० वर्षदेखि राजनीतिक गर्दै आएका पुराना नेताहरू छन् । तपाईंको मात्र एक दशक जति भएको छ । अनि आफ्नो अनुभव र क्षमताका आधारमा ती पुराना नेताहरूले मधेसलाई आफ्नोतिर किन तान्न नसकेको हो त ? जबकि तपार्इंहरूको एजेन्डा र मुद्दालाई मधेसी जनता (मतदाता) ले स्वीकार गरिसकेका छन् ।
–पावर पोल्टिक्समा चुनाव हुँदा एउटा फ्याक्टरले मात्र काम गरेको हुँदैन । पावरको साइन्स हुन्छ । त्यो चीजलाई हाम्रा नेतृत्वले बुझ्न सकेको छैन । हामी भावनामा अलि बढी बग्यौं । त्यसले हामीले पटक पटक धोका पाएका छौं । अहिले जुन प्रकारको ग्याप भएको छ । त्यसलाई पुर्नका लागि एउटा वैकल्पिक शक्तिको आउनुपर्छ । त्यसका लागि राजपा नेपाल तयार भइरहेको छ । अर्को कुरा हामी छिटो छिटो परिवर्तनको आन्दोलनमा लाग्यौं । २०४६ देखि हालसम्मको अवस्था हेर्नुस् परिवर्तनको रेस्यु कुन अवस्थामा आगाडि बढेको छ । परिवर्तनकै लडाइँमा हामीले समय व्यतित गरेका छौँ । एक्स्ट्रा सोच्ने फुर्सद नै भएन हामीसँग । अब हामीबीच त्यसको समीक्षा हुन आवश्यक छ । 

हरेक कुरामा राज्यलाई दोष दिनुहुन्छ । हाम्रो (तराई मधेस) समाजको जुन संरचना छ, त्यसले गर्दा पनि अधिकार लिनबाट वञ्चित भएको हो जस्तो लाग्दैन तपाईंलाई ? 
–होइन, राज्य नै सबै कुरा हो । आज हाम्रो समाजको मनोदशा वा मनोविज्ञान किन यस्तो तयार भयो । त्यसको पछाडिको कारण हेर्नुपर्छ । यसको पछाडि ठूलो रणनीतिक ग्राउन्ड डिजाइन छ । आज एउटै देशमा पहाड र मधेसलाई हेर्ने दृष्टिकोणमा किन फरक भयो ? त्यो राज्यले योजनाबद्ध तरिकाले गरेको हो । नत्र एउटै देशमा एउटै जनतासँग फरक फरक व्यवहार किन हुन्थ्यो । एउटै देशमा फरक फरक संरचना किन हुन्थ्यो । यी सब राज्यले गर्दा भएको खाडल हो । मधेसका सबै कुरा कब्जा गरेर त्यसलाई आइसुलेट गरेर कमजोर गर्ने काम भयो । त्यसले अब मधेसमा पहिलो कुरा शक्ति निर्माणका लागि मधेसी जनतालाई जगाउने काम सुरु भएको छ ।

पछिल्लो समय तपाईंहरू पनि यो राज्यको हिस्सा बन्नुभएको छ । राज्यको शक्ति बाँडफाँडमा हिस्सेदारी हुनुभएको छ भने मधेसमा देखिएको खाडलहरू किन पुर्न सक्नुभएन त ?
–पहिलो कुरा त राज्य सत्ता र सरकार फरक कुरा हो । एक दुईजना मन्त्री बन्दैमा राज्यको हिस्सेदार मान्न सकिँदैन । सरकार पनि राज्यको हिस्सा हो तर सरकार सम्पूर्ण रूपमा राज्य सत्ता होइन । राज्यसत्तामा हाम्रो भागेदारी जसरी हुनुपथ्र्यो त्यो कहिल्यै भएन । यहाँ न्यायलय, प्रहरी, सेना, निजामती कर्मचारीलगायतमा हाम्रो भागेदारी भएन । हो, हामी केही दिनका लागि मन्त्री भयौं, सेवा सुविधा लियौँ तर राज्यसत्तासम्म हामी पुग्न सकेनौँ । जसका कारणले हामीले चाहेजस्तो काम गर्न सकेनौँ । हामीले गर्न सक्ने, हामीलाई बुझ्ने खालको ब्युरोक्राइट भएन । न हामी राजनीतिक रूपमा शक्तिशाली भएर आयौं, न राज्यले हामीलाई मुख्य हिस्सेदार ठान्यो । त्यसकारणले हामी अझै अधिकारबाट वञ्चित भएका छौँ । 

राज्यसत्ताकै कुरा गर्ने हो भने स्थानीय तह पनि एक राज्य हो । तराई मधेसका विद्यालय हेर्नुहुन्छ भने त्यहाँ शिक्षकहरू पढाउन जाँदैनन् । अस्पतालहरूमा जानुभयो भने त्यहाँ डाक्टरहरू हुँदैनन् । बजेटको कुरा गर्नुहुन्छ भने सबभन्दा फ्रिज हुने ठाउँ मधेस नै हो । यसरी स्कुलमा शिक्षक हुँदैनन्, अस्पतालमा डाक्टर हुँदैनन्, जिविस र गाउँका बजेट फ्रिज हुन्छ । के यसको दोषी पनि ओली, प्रचण्ड र देउवा नै हुन् त ? त्यहाँका स्थानीय नेता, दल अथवा सरकार दोषी छैनन् त ?

यो हाम्रा लागि सही समय हो । वैकल्पिक शक्ति आकाश चिरेर ल्याउने चीज होइन । त्यसलाई हामी आफै निर्माण गर्नुपर्छ । ससाना स्वार्थ त्याग्नुपर्छ । बृहत् सोच बनाउनुपर्छ । एउटा जिल्ला, एउटा क्षेत्र वा एउटा गाउँमा मात्र सीमित रहनु हुँदैन । थ्रेस होल्ड नलगाउँदा यो फलानोको पार्टी, यो फलानोको पार्टी भन्ने थियो । तर अहिले आएर चारवटा पार्टीमा सीमित भयो । यसले पनि खाल्डो पुर्ने अवस्था छैन ।


–झण्डै एक वर्षदेखि स्थानीय सरकार छ त्यहाँ । त्यसरी ब्युरोक्राइट्सले चलाइरहेको थियो ।  ब्युरोक्राइटस कहाँबाट सञ्चालित छन्, त्यो कुरा हामी तपार्इंले भनिराख्ने कुरा नै होइन । हाम्रो शिक्षा नीति कसले बनाउँछ ? शिक्षा नीति बनाउँदा त्यहाँको मनोभावना, त्यहाँको भाषा, त्यहाँको संस्कृति, त्यहाँको रहनसहन, भेषभूषालाई कति ख्याल गरेको छ । अर्थात शिक्षा नीति यस्तो बनाइदिएको छ कि सबै कुरा लादिएको जस्तो महसुस हुन्छ । त्यसमा हामीले अपनत्व फिल नै गर्दैनौँ । अनि त्यहाँको शिक्षाको अवस्था कसरी सुध्रिन्छ । स्वास्थ्यको अवस्था पनि त्यही छ । यो देशको आर्थिक स्रोतमा मधेसीको कब्जा छैन । त्यसले गर्दा मधेसी आर्थिक रूपमा कमजोर हुँदैगयो । आफ्ना विद्यार्थीलाई सामुदायिक विद्यालयमा पठाउन बाध्य भयो । सामुदायिक विद्यालयको अवस्था तपाईंले आफै बयान गरिसक्नु भएको छ । राज्यले नै सामुदायिक विद्यालयलाई दोस्रो दर्जाका नागरिकले पढ्ने र पढाउने विद्यालय हो भनी बनाइदिएको छ । यसरी मधेस कसरी आगाडि बढ्छ ? तपाईं आफै विचार गर्नुस् । त्यहाँ सामान्य एउटा शिक्षकलाई चलाउने काम शिक्षा अधिकारीले गरेका हुन्छन् र त्यो शिक्षा अधिकारी केन्द्रबाट परिचालित हुन्छ भने त्यहाँका स्थानीय सरकार वा नेताले के गर्न सक्छन् । यी सबै केन्द्रीकृत वा जातीय रूपमा वर्चस्व देखाएको कारणले भएको हो । जबसम्म नीतिमै आमूल परिवर्तन गर्न सकेन भने जसले जति जे गरे पनि केही हुँदैन । मधेसको सामाजिक प्रवेश नै राज्यले जानी जानी यस्तो बनाइदियो कि हामी जति जे गरे पनि केही हुँदैन । राणा, त्रिभुवन, महेन्द्र, वीरेन्द्र र अहिलेसम्मले मधेसलाई जुन स्कुलिङ गरेको छ, त्यसको परिणाम आज भोग्दैछौँ । यो त्यति चाँडो सुधार हुने अवस्था छैन । राज्य सत्ता निर्माणको प्रकृया गलत भएको परिणाम हो यो ।

तपाईंले भनेअनुसार कुन प्रकारको वैकल्पिक शक्ति निर्माण भएपछि राणाकालदेखि दिइँदै आएको स्कुलिङ वा मनोविज्ञान समाप्त हुन्छ ?
–यो हाम्रा लागि सही समय हो । वैकल्पिक शक्ति आकाश चिरेर ल्याउने चीज होइन । त्यसलाई हामी आफै निर्माण गर्नुपर्छ । ससाना स्वार्थ त्याग्नुपर्छ । बृहत् सोच बनाउनुपर्छ । एउटा जिल्ला, एउटा क्षेत्र वा एउटा गाउँमा मात्र सीमित रहनु हुँदैन । थ्रेस होल्ड नलगाउँदा यो फलानोको पार्टी, यो फलानोको पार्टी भन्ने थियो । तर अहिले आएर चारवटा पार्टीमा सीमित भयो । यसले पनि खाल्डो पुर्ने अवस्था छैन । १६, १७ जना सांसदले मात्र केही गर्न सक्दैनौँ । भोलि ३४ जना सांसद भए पनि हामी केही गर्न सक्दैनौँ । त्यसका लागि  मूलधारको शक्ति निर्माण गर्नुपर्छ । नेपालको समृद्धिलाई नेतृत्व गर्ने खालको शक्ति निर्माण गर्दै देशको नेतृत्व लिने खालको वैकल्पिक शक्ति निर्माण गर्नुपर्छ । यसलाई हिमालका जनताले पनि यो पार्टी हाम्रो होस् भनोस् । बोर्ड झुण्ड्याउने खालको सङ्गठन निर्माण गर्ने होइन । 

अब दक्षिणबाट उत्तरतिर सङ्गठन निर्माण गर्दै नेतृत्व लिनुपर्छ । एउटा ब्लकको नेतृत्व कम्युनिस्टले गरिरहेको छ भने अर्को ब्लकको नेतृत्व काँग्रेसले गरिरहेको छ, जो आफैमा उल्झनमा फँसिसकेको छन् । 

कम्युनिस्ट ठूलो पार्टी बने पनि विगतमा गरेका प्रतिबद्धताअनुसार जनतालाई न्याय दिलाउन सकेको छैन । हामीले एउटा ब्लकलाई नेतृत्व गरिरहेका छौँ तर यसले विस्तारित रूप लिएको छैन । सिन्धुपाल्चोकका जनताले राजपा नेपाल हाम्रो पनि पार्टी हो । हाम्रो मुक्तिका लागि पनि यसले लडिरहेको छ भन्ने कुरा मनैदेखि स्वीकार गरेका छैनन् । जबसम्म जनताले मनैदेखि स्वीकार गर्दैनन् तबसम्म वैकल्पिक शक्ति निर्माण हुनसक्दैन ।

समाजको रिफ्लेक्सनबाट सङ्गठन निर्माण भएको हुन्छ । तपाईंले भनेअनुसार जुन स्कुलिङबाट हाम्रो समाज निर्माण भएको छ, त्यसको रिफ्लेक्सन सङ्गठनमा पक्कै परेको छ अनि परिवर्तन हुन नसकिरहेको समाजको त्यो सङ्गठन कसरी परिवर्तन हुन्छ, जसलाई वैकल्पिक शक्ति बनाउने कल्पना तपाईंले गर्नुभएको छ ?

–तपाईंले भनेको ठीक हो । हरेक सङ्गठनमा समाजको रिफलेक्स परेको हुन्छ । जस्तो समाज हुन्छ, त्यहीअनुसार र विचारको सङ्गठन निर्माण भएको हुन्छ । तर जसले सङ्गठनको नेतृत्व लिएको हुन्छ, त्यसले समाजलाई ती पुराना स्कुलिङबाट परिवर्तन गर्नुपर्छ । नेतृत्वले बाटो देखाउनुपर्छ । जनतालाई बाटो देखाउने राजनीतिक दलले हो । यो नेपालमा मात्र होइन, विश्वमै यस्तो हुँदोरहेछ । समाज परिवर्तनका लागि राजनीतिक दलको ठूलो भूमिका हुन्छ । विश्वमा जति परिवर्तन भएका छन्, ती सबै वैकल्पिक शक्तिका कारणले भएका छन् । परम्परागत शक्तिले आजसम्म परिवर्तन भएको छैन । 
नेपालकै कुरा गर्ने हो भने माओवादी र मधेसवादी दल नयाँ वैकल्पिक शक्तिका रूपमा आए, अनि मात्र परिवर्तन सम्भव भयो । अब अझै आमुल परिवर्तन गर्नका लागि एउटा वैकल्पिक शक्तिको आवश्यकता छ, जसको नेतृत्व राजपा नेपालले गर्नेछ ।

समाजको स्कुलिङ विपरीत वैकल्पिक शक्ति निर्माण गर्न राजपा नेपालले रिक्स लिन्छ त ? कहिले काहीँ नयाँ वैकल्पिक शक्ति निर्माण गर्न भइरहेको समाजलाई भत्काउनुपर्ने पनि हुन्छ । यसका लागि राजपा नेपाल तयार छ त ?
–राजपा नेपाल रिक्स लिन तयार भएको छ । रिक्स नलिई परिवर्त सम्भव हुँदैन । विवेकानन्दले नयाँ दर्शन उत्पादन गर्दा धेरैले त्यसलाई स्वीकार गरेका थिएनन् । त्यसको व्यापक विरोध भयो तर पछि सबैले त्यसलाई स्वीकार गर्यो । ग्राउन्डमा परिवर्तनको आभास हामीलाई भइरहेको छ तर त्यसलाई कसरी आगाडि बढाउने भन्ने बारेमा छलफल भइरहेको छ । पहिलो मधेस विद्रोह हुँदा यस्तै अभास भएर भएको थियो । त्यो बेला पनि एउटा वैकल्पिक शक्ति आएर त्यसको नेतृत्व लियो र केही हदसम्म सफल भयो । अहिले ठीक यस्तै अवस्था सिर्जना भएको छ ।  

मूलधारको वैकल्पिक शक्ति निर्माण गर्ने कुरा गर्नुभयो । दक्षिणबाट उत्तरतिर सङ्गठन निर्माण गर्ने कुरा गर्नुभयो तर विगतमा यस्तो प्रयोग नभएको होइन । उपेन्द्र यादवले ७७ वटै जिल्लामा आफ्नो सङ्गठन रहेको दाबी गर्नुभएको छ । त्यतिबेला विजयकुमार गच्छदारले पनि आफ्नो सङ्गठन देशका ७० वटा जिल्लामा रहेको दाबी गर्नुभएको थियो भने तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि आफ्नो पार्टीका सङ्गठन ६५ जिल्लामा रहेको हामीलाई भन्नुभएको थियो । तर यी सबै दल मधेसमा मात्र सीमित भयो अनि अहिले राजपा नेपालले पनि त्यही गर्ने भनिरहेको छ । के सम्भव हुन्छ त ?

तपाईंले अहिले देखेको राजपा र बुझेको राजपाले मैले बनाएको स्ट्रक्चर र सोच अटाउँदैन । तर त्यसलाई पुनःसंरचना गर्ने सोचका साथ पार्टीभित्र छलफल सुरु भएको छ । त्यसका लागि पहिला राजपा नेपालले नै आफूलाई आमूल परिवर्तन गर्नुपर्छ । 


–जजसको नाम तपाईंले लिनुभएको छ । उहाँहरूले त्यसलाई एउटा टुलको रूपमा प्रयोग गर्नुभएको थियो र छ । अलिकति सङ्गठन विस्तार गरेर शक्ति निर्माण गरी त्यसमा रमाउने सोचका साथ त्यस्तो गर्नुभएको थियो । तर हामीले निर्माण गर्न लागेको शक्ति त्यस्तो होइन । एकजना अध्यक्ष हुने र अरू बाँकी करिन्दा हुने होइन । मैले पटक पटक यो देशमा थर्डपोलको कुरा उठाइरहेको छु । यो राज्य सत्तालाई भत्काइयो भने कस्तो राज्य सत्ताको निर्माण गर्ने ? त्यो सोचका साथ हामीले काम गरिरहेका छौँ र त्यसरी नै वैकल्पिक शक्ति निर्माण गर्नुपर्छ । जिल्ला जिल्लामा प्रतिनिधित्व हुने गरी पार्टीको बोर्ड मात्र झुण्ड्याउने होइन । उहाँहरूले चिन्तन गर्नुभयो । उद्देश्य राम्रो भयो तर त्यो अनुसारको तयारी गर्नुभयो । राष्ट्रको पुनःसंरचना गर्दा कस्तो हुने ? शासकीय व्यवस्था कस्तो हुने ? हिमाल, पहाड र तराईका उत्पीडित समुदायले आपनत्व कसरी महसुस गर्ने किसिमको कार्ययोजनाहरू बनाउनुपथ्र्यो तर त्यसो नगरेर भोट तथा शक्ति देखाउनका लागि मात्र त्यस्तो गरेको थियो । जुन सफल हुन सकेन । पहाडका जनताले चाहेर पनि विश्वास गर्न सकेनन् । पहाडका जनताले मधेसका जनतालाई बुझ्ने विषयमा फरक हुँदैन तबसम्म परिवर्तनको अनुभूति गर्न सकिँदैन । परिवर्तन केही हुनेखानेहरूका लागि होला तर उत्पीडनमा परेकाहरूका लागि त्यो परिवर्तन हुँदैन ।   

वैकल्पिक शक्तिको कुरा धेरै गर्नुभयो त्यसको केही खाका तयार गर्नुभएको छ ?
–छ, पूरै तयारी अवस्थामा छ । म यसका लागि पाँच सात वर्षदेखि काम गरिरहेको छु । तयारी अवस्थामा छ । अब यसलाई कसरी अवतरण गर्ने त्यसको बारेमा छलफल भइरहेको छ र चाँडै हुन्छ । राजनीति, आर्थिक, अन्तर्राष्ट्रिय सम्बन्ध, समाजिक संरचनालगायतका विषयमा लामो अध्ययन भएको छ । यझै यसलाई परिष्कृत गर्ने काम भइरहेको छ ।

यो वैकल्पिक शक्ति राजपाको छाताभित्र रहने हो कि कुनै छुट्टै शक्ति निर्माण हुन्छ ?
–मैले त अहिलेसम्म बुझेअनुसार यसको नेतृत्व राजपा नेपालले नै गर्नुपर्छ । किनभने अब यो देशको वैकल्पिक शक्तिका रूपमा राजपा नेपाललाई नै लिइरहेको छ । त्यसैले यसको नेतृत्व राजपा नेपालले नै गर्नुपर्छ भने मेरो बुझाइ हो । 

अलिहे राजपाको जुनखालको संरचना छ, जुन प्रकारको मनोविज्ञान छ, त्योसँग तपाईंको तयारी र सोचसँग मेल खान्छ ?
–तपाईंले अहिले देखेको राजपा र बुझेको राजपाले मैले बनाएको स्ट्रक्चर र सोच अटाउँदैन । तर त्यसलाई पुनःसंरचना गर्ने सोचका साथ पार्टीभित्र छलफल सुरु भएको छ । त्यसका लागि पहिला राजपा नेपालले नै आफूलाई आमूल परिवर्तन गर्नुपर्छ । 

राजपाको छातामा अटाउन सकेन भने तपाईं आफ्नो सोचको वैकल्पिक शक्ति छुट्टै निर्माण गर्नुहुन्छ कि राजपा नेपालमै अल्झिरहनु हुन्छ ?
–अहिले त्यतातिर सोचेको छैन । राजपा नेपाल नै तयार हुनुपर्छ भने मलाई विश्वास छ । मैले साथीहरूसँग छलफल गरिरहेको छु । भोलि के हुन्छ, त्यसको कुरा नगरौं । अब राजपा नेपालसँग पनि विकल्प छैन । राजपा नेपाल पनि अब यथास्थितिमा रहनु हुँदैन । राजपा ठूलो शक्ति भएर आउँछ या आफै सङ्कुचित भएर समाप्त हुन्छ । यद्यपि राजपा नेपालको बारेमा जुन टीका टिप्पणीहरू भइरहेका छन्, त्यसका बारेमा पार्टी गम्भीर भएर समीक्षा गरिरहेको छ । त्यही समीक्षामा रहेका कारण राजपा नेपालमा उल्झन हो कि जस्तो बाहिरबाट देखिन्छ तर भित्र त्यस्तो होइन । राजपा नेपाल ठूलो मिसनका लागि गहन छलफलमा लागेको छ । त्यसको नतिजा केही दिनमा पाउनुहुन्छ ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ