बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघको महाधिवेशन कात्तिक १६ देखि १८ सम्म काठमाडौंमा गर्ने प्रस्ताव

शनिबार, २३ भदौ २०७५, १७ : ३६
शनिबार, २३ भदौ २०७५

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन आगामी कात्तिक १६ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ । 

नेविसंघका अध्यक्ष नैनसिंह महरले शनिबार सानेपामा आयोजित पार्टीको निर्देशन समितिको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने क्रममा सो प्रस्ताव गरेका हुन् । 
बैठकमा निर्देशन समितिका सदस्य नवीन्द्रराज जोशी र प्रदीप पौडेलको समेत उपस्थिति रहेको थियो । 

केन्द्रीय सदस्य तथा निर्देशन समितिका सदस्य पौडेलले निर्देशन समितिले दिएको निर्देशन अनुसार शनिबार नेविसंघ नेतृत्वले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको बताए । 

कार्यतालिका अनुसार अध्यक्षले महाधिवेशनको उद्घाटन कात्तिक १६ गते शुक्रबार गर्ने  प्रस्ताव गरेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले रातोपाटीलाई जानकारी गराए । यस्तै १७ गते बन्दसत्र र १८ गते मतदान गर्दैै नेतृत्वको चयन गरिने प्रस्ताव गरिएको भट्टले जानकारी दिए ।

यसअघि उपत्यका बाहिरका क्याम्पस अधिवेशन असोज ७ गते, गाउँपालिका तथा नगरपालिकाको अधिवेशन असोज १२ गते, प्रदेश क्षेत्रको असोज १५ गते,   जिल्ला र विदेशस्थित सम्पर्क समितिको असोज २१ गते, उपत्यका क्याम्पसको असोज २३  गते र  प्रदेशको कात्तिक १० गते अधिवेशन सक्ने तय भएको छ ।  

यस्तै नेविसंघको केन्द्रीय कार्यसमिति ७८ जना निर्वाचित र २३ जना मनोनित गरी १०१ सदस्सीय रहने पनि प्रस्ताव गरिएको छ । विगतको महाधिवेशनमा  उमेर हद लागू गरिएको भएपनि शनिबार अध्यक्षले प्रस्ताव गरेको दस्ताबेजमा उमेर हदबारे उल्लेख गरिएको छैन । 

नेवि संघको दुई वर्षे कार्यकाल भदौ पहिलो साता सकिएपछि पार्टीले संगठनलाई महाधिवेशन गर्ने समय तीन महिनाका लागि थप गरेको थियो । 

  दुई वर्षभित्रै  नयाँ नेतृत्व चयन गर्नुपर्ने भएपनि नेविसंघभित्रको आपसी विवादले समयमा महाधिवेशन हुन नसकेको बताइन्छ । 

तर, भदौ २ गते  नेविसंघभित्रको संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच  आगामी तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको थियो । 

यो समझदारीसँगै सहमहामन्त्री डा प्रकाश शरण महत संयोजक रहेको निर्देशक समितिले तीन महिना नेविसंघको वर्तमान कार्यसमितिको  म्याद थप गर्न सहमति दिएको  थियो । 

त्यस्तै  निर्देशक समितिले १२औँ महाधिवेशन गर्ने कार्ययोजना पेस गर्न निर्देशन पनि दिएको थियो । सोही अनुसार अध्यक्षले शनिबारको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन् । 

अध्यक्षको संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका बारे निर्देशन समिति र संगठनले पारित गरेपछि आधिकारिक निर्णय गरेर महाधिवेशनमा होमिने नेविसंघले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप