केन्द्रीय संस्करण

केरुङमा 'राष्ट्रपति सी' सँग सेल्फी

person access_timeभदौ २५, २०७५ chat_bubble_outline0

नेपाल छाड्ने तरखर गर्दैगर्दा टिमुरेमै बिहानको नौ बजिसकेको थियो । नेपाल–चीन सीमाना नजिकिँदै गर्दा एकजना बुढीआमा काँधमा आफूभन्दा गह्रँुगो झोला बोकेर अग्लो लौरो टेक्दै स्याफ्रुतिर झर्दै थिइन् । बुढाबुढीहरूको फोटो खिच्दा मलाई एउटा सिङ्गो जीवन खिचेजस्तो लाग्छ । 

बोर्डर पुग्दा नेपाल साइडको चेकिङ प्वाइन्ट खुलिसकेको रहेछ । कुनै तामझाम र व्यवस्थाबिनै म्यानुअल स्टाइलमा केही मिनेटमै यतापट्टिको चेकिङ प्रकृया सकियो । त्यो खासमा नाम मात्रको चेकिङ थियो । उता, चीनपट्टि हामी व्यवस्थित रूपमा लामबद्ध भयौँ । त्यो हाम्रो रहरभन्दा पनि नियम थियो । लाइनमा रहँदाका हाम्रा सारा गतिविधि भिडियोबाट एक्सेरे गरे जसरी त्यहाँका अधिकारीले कम्प्युटरको स्क्रिनमा हेर्दोरहेछ । त्यसपछि पासपोर्टअनुसारको औँठाछाप छ कि छैन भनेर चेक पनि गर्दाेरहेछ । मैले पनि एउटा सानो स्क्रिनमा दुवै हातका औँलाहरूका छाप दिएँ । छाप मिलेपछि अधिकारीले हामीलाई चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेशको अनुमति दियो ।

चीनको माटोमा पुग्दा वातावरणसँगै पनि हाम्रो मनोविज्ञान बदलिएको थियो । यताको कच्ची सडक अनि त्यस्तै कच्चा चेकिङ प्वाइन्टहरू हामीले बिर्सिएका थिएनौँ । तर बोर्डर परिसरमै उताको बलिया पिलरसहितका ठुल्ठुला पूर्वाधारले हामीलाई जिस्क्याइरहेको थियो, ‘यो हो तिम्रो र हाम्रोबीचको फरक । हामी चीन हौँ, तिमी नेपाल ।’

हामीलाई तिब्बती ट्राभल कम्पनीका प्रतिनिधिले खादा ओढाएर स्वागत गरे । खादा लाएपछि तिब्बतको विशिष्ट पाहुना भएझैँ मन प्रफुल्लित भएको सहयात्री तीर्थालुहरूका उज्याला अनुहारले प्रमाणित गथ्र्यो । 

तिब्बत यात्राका लागि काठमाडौंबाट लगिएको खाद्यान्नलगायका सामाग्रीका लागि दुइटा ट्रक र हामी यात्रीका लागि ६ वटा हायस उनीहरूले ल्हासाबाट ल्याएका रहेछन् । त्यसमध्ये एउटा हायसको ड्राइभरछेउको अघिल्लो सिटमा म बसेँ ।

ड्राइभरले तिब्बतीयन गीत बजायो र गीतकै गतिमा तिब्बतको सडकमा गाडी दौडायो । निकै फुर्तिलो र हँसिलो ड्राइभर गीतजस्तै रोमान्टिक थियो । सुरुमा तिब्बतीयन गीत बजाएको उसले एक छिनपछि भाषाको अर्थ नजाने पनि हिन्दी रिमिक्स फुल भोलुममा बजाउँदै थियो । तर, मलाई भने तिब्बती सङ्गीत सुन्न मजा आइरहेको थियो । मैले इसाराले सुरुकै गीत राम्रो भन्दै तिब्बती गीत नै बजाउन आग्रह गरेँ । त्यसका लागि ऊ तयार भयो । घाँटीको घण्टीदेखि चाँदीको स्वर निकालिएको तिब्बती गीत सुन्दै नदी किनारकोे तिब्बती सडकमा गुड्नुको आनन्द मेरा लागि सुरुमै तिब्बत यात्राको रोमाञ्चकता थियो ।

ड्राइभरले गाडीमा अघिल्लो भागमा एकजना लामाको तस्बिरसँगै बुद्धिस्ट माला झुन्ड्याएको थियो । सडकका मोडहरूमा गाडी मोडिँदा लामा र माला दुवै हल्लिन्थे । अनेक दृश्यहरू आइरहेका थिए तर माला र लामाचाहिँ अनवरत आँखैमा थिए । त्यसले तिब्बतलाई झनै जीवन्त बनाएको अनुभूति गर्दै हामी केरुङतिर नजिकिँदै थियौं ।  

ससाना पहाडी ढुङ्गाहरू खस्ने सम्भावना भएका सडकका माथिका पहराहरूलाई माकुरेतारले बेरिएको देख्दा विकाससँग सुरक्षालाई कसरी सँगै लैजान सकिँदो रहेछ भनेर बुझेँ । ठूला ढुङ्गा खस्ने सम्भावना भएका स्थानहरूमा भने सडकलाई नै सुरुङमार्ग बनाइएको रहेछ । 

यात्रा नदीजस्तै सलल बगिरहेको थियो । तर नदी तलतिर झर्दै तर हामी नदीको किनारै किनार मुहानतिर । ड्राइभरले स्पिडमा रङ साइडबाट गाडी चलाइरहेको चाल पाएपछि एक्कासि म आत्तिएँ । अत्यास त्यति बेला झन् बढ्यो जब उसले मोडमा समेत अझ तीव्र गतिमा रङ साइडबाटै गाडी दौडायो । अझ स्थिति यस्तो आयो, विपरीत दिशाबाट स्पिडमा आइरहेको गाडीलाई समेत वास्तै नगरी ऊ रङ साइडबाटै गाडी चलाइरहेको थियो । 

विपरीत दिशाबाट आइरहेको गाडी पनि रङ साइडबाटै आइरहेको देखेपछि मैले बुझिहालेँ, ‘नेपालमा जुन साइडलाई रङ्ग साइड भनिन्छ, चीनमा त्यो राइट साइड हो । चीनमा जुन साइडलाई रङ साइड भनिन्छ, नेपालमा चाहिँ त्यो राइट साइड हो । अर्थात हामीकहाँ राइट ह्यान्ड ड्राइभ र उनीहरू कहाँ लेफ्ट ह्यान्ड ड्राइभ ।’ 

त्यति बुझन मलाई झन्डै पन्ध्र मिनेट लाग्यो । किलोमिटरकै कुरा गर्ने हो भने पनि झन्डै पन्ध्रै किलोमिटर लाग्यो होला । म सोच्दै थिएँ, ‘अझ अर्को दिन केरुङ कटेर सागा अनि सागाबाट मानरोवर र मानसरोवरबाट दार्चेन जाँदा उच्च तिब्बती पठारका सर्पका ढाडजस्ता मदमस्त सडकमा एक मिनेटमै दुई किलोमिटर त सामान्य होला !’ तर यता नेपालमा सडकको कस्तो कन्तविजोग छ भन्ने काठमाडौंबाट टिमुरेसम्मको यात्रामा हामीले भोगिसकेका थियौं ।               

केरुङको जो बयान थियो, त्यो त्यस्तो थिएन तर निकै रमाइलो थियो । विमलजीले काठमाडौंमा भनेका थिए, ‘केरुङ एउटा हरियो उपत्यका हो, जो हिमालहरूले घेरिएको छ ।’ तर सिजन फरक परेकाले हिमाल हिउँबिनाका पहाडहरूजस्ता देखिन्थे । 

पहेंला फूलहरू । चिप्लेकीरा चिप्लने चिप्लो सडक । मन्दिर र मानेहरू । आहा ! केरुङ ।

केरुङ पुग्दा हाम्रै अगाडि चर्को स्वरमा गीत बजाउँदै आएको गाडीले सहर सफाइ गरिरहेको थियो । त्यो गीत सरसफाइसम्बन्धी थियो वा मायाप्रेमको ? मैले भेउ पाइनँ । हामी बस्ने होटलअ गाडिको सैलुनमा आँखा प¥यो । कपाल काट्ने त्यहाँ अरू कुनै देशको मानिस थिएन । हो, ऊ तिब्बतीयन पनि थिएन । ऊ ‘मेनल्यान्ड’ बाट आएको हान जातिको चाइनिज नै थियो ।  

मेरो कोठा नम्बर ८३०१ थियो । होटलको प्रत्येक कोठाको नम्बर ८ बाटै सुरु थियो । विमलजीले बताएअनुसार चीनमा त्यो शुभाङ्क रहेछ । सन् २००८ मा चीनमा नै ओलम्पिक हुनुको त्यो पनि एउटा कारण थियो रे । अङ्ग्रेजी अङ्क एट आकारमा डमरुजस्तै हुने हुनाले पनि त्यो शुभ भएको होला भन्दै शिवको वासस्थान कैलाश जाँदै गरेको हाम्रो सन्दर्भलाई जोडेर हामीले मजाक ग¥यौं, ‘डमरु शिवको वाद्ययन्त्र हो ।’

कोठमामा व्याग थन्क्याएर हामी केरुङ एक्स्प्लोर गर्न निक्ल्यौँ । नजिकै प्यागोडा शैलीको अवलोकतेश्वरको मन्दिर रहेछ । नेपाली शैलीको त्यो मन्दिरमा स्रङचङगोम्पा, मिलारेप्पा, गुरु रिम्पोछे, हरित तारा, श्वेत तारा आदिका कलात्मक चित्रहरू थिए । मन्दिरलाई चारैतिरबाट मानेहरूले घेरेका थिए । मैले ती प्रत्येक माने घुमाएँ ।  मन्दिर छेउको चौरमा ढुङ्गाको एउटा ठूलो कलात्मक हात्ती थियो । रमाइलो के भने हात्तीको अण्डकोष अस्वभाविक रूपमा निकै ठूलै थियो । त्यसको कारण भने अज्ञात नै रह्यो । मन्दिरलाई पृष्ठभूमि पारेर मैले अण्डकोष देखिने साइडबाट हात्तीको फोटो खिचेँ । अण्डकोष ठूलो कि मन्दिर ? छुट्याउनै गाह्रो । 

बिजुलीका तारहरू चाहिँ काठमाडौंमै जस्तो सडकभन्दा माथि थिए । तारमुन्तिर सडकको एकछेउ एउटा सिँगारिएको मोटरसाइकल रोकियो । स्पिकरसहितको मोटसाइकलबाट सुमधुर गीत तर चर्को आवाजमा बजिरहेको थियो । छेउमा केही पुरुष र महिला थिए । उनीहरू गीतसँग मस्त थिए । एउटा सानो फुच्चे पनि गीतसँगै जिउ हल्लाइरहेको थियो । हामी पनि त्यहाँ रोकियौं । मैले त्यो स्ट्रिट म्युजिकको सानो भिडियो खिचेँ । भिडियो खिचेको थाहा पाएपछि उनीहरू झन् उत्साही भए । सबैजना हल्का नाचिदिन थाले । पछि हेर्दा त सुन्दर सर्ट म्युजिक भिडियो जस्तो पो बनेछ !  

तिब्बती शब्द केरुङको अर्थ रहेछ सिटी अफ ह्यापिनेस । त्यसैले पनि होला, त्यसैत्यसै हामी खुशी थियौं । मन्दिर परिसरकै एउटा कुनाबाट एउटी भिक्षुणीले हामीलाई हेलो भनिन् । नजिक जाँदा उनी भित्र छिरिहालिन् र बाहिर निक्लँदै निक्लिनन् । हामी अचम्ममा प¥यौं । 

मन्दिरभन्दा अलि अगाडिको एउटा सरकारी कार्यालयको गेटमा मैले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सेल्फी खिचेँ । फोटोमा सी निकै ह्यान्डसम् देखिए, मभन्दा पनि ह्यान्डसम ! 

खासमा सरकारी कार्यालयको गेटको भित्तामा उनको ठूलो पोस्टर लगाइएको थियो । पोस्टरकै सही, मैले राष्ट्रपतिसँगै फोटो खिचेको थिएँ । राष्ट्रपतिसँग फोटो खिचेको होइन भनेर कसले भन्न सक्छ ? 

अलि अगाडि बढ्दा नेपाली बोल्ने थुप्रै महिला र पुरुष भेटिए । एउटा पसलमा मैले टाढैबाट वाइवाई चाउचाउ देखेँ । लाग्यो, वाइवाई साँच्चै बहुराष्ट्रिय रहेछ । नेपालमा पपुलर रहेको टुबोर्ग बियर पनि देखेँ । टुबोर्ग त त्यसै पनि बहुराष्ट्रिय हुँदै हो । 

पसल अगाडि बच्चाहरू निस्फिक्री खलिरहेका थिए । सिङो केरुङ एउटा समुदायजस्तो थियो । सबैले एकले अर्कालाई चिनेजस्ता देखिन्थे । हुन पनि त्यो सानो ठाउँ बादल, हरियाली र पहाडहरूले सुन त छँदै थियो, स्थानीय भेषभूषा, रङ र रहनसहनले त्यसमा सुगन्ध पनि थपिएको थियो । आधुनिक घरहरू समेत परम्परागत शैलीमा बनाइएको केरुङमा माने घुमाउँदै हिँडेका स्थानीयले शोभा थपेका थिए ।    

बजारकै बीचमा एउटा रेस्टुरा देखियो, जसको निधारमा नेपाली, अङ्ग्रेजी र चिनियाँ गरी तीनै भाषामा लेखिएको थियो, ‘केरुङ नेपाली रेस्टुरेन्ट ।’ हामीले त्यहाँ केही पनि खाएनौँ । किनकि नेपाली रेस्टुरा त नेपालमै जति पनि छँदै थिए । मैले त्यहाँ एउटै काम गरेँ । बाहिरैबाट त्यो रेस्टुराँको फोटो खिचेँ । त्यहाँबाट २ मिनेट दूरीको अर्को स्थानीय रेस्टुरा गयौँ । घुम्ने टेबलमा आफूलाई मन लागेको खाना आफूले चाहेजति खान मिल्ने चिनियाँ सर्भिसले मलाई लोभ्यायो । स्टिकको सट्टामा मैले चम्चा–काँटा मागेँ । स्थानीय अनुहारकी उज्याली साहुनीले सुरुमा त बुझिन । जब इसारा गरेँ, त्यसपछि बल्ल बुझी । 

वरपर र मेरै टेबलका सबैले स्टिकले खाइरहँदा काँटा–चम्चाले खाएर म कागको हुलमा बकुल्ला भएको थिएँ । तर बकुल्ला बने पनि मलाई बालै थिएन । आफ्नै स्टाइलले खानुको मजा त्याग्न नसक्ने म जो थिएँ ।  
रेस्टुराको मेन्यु हेर्दा मूल्यको अङ्क अङ्ग्रेजीमा भए पनि खानाको नाम न नेपाली न त अङ्ग्रेजी अक्षरमा थियो । ‘उता प्रोफेसर यता निरक्षर’ भनेजस्तै भएको भएँ म । कम्तीमा अङ्ग्रेजीमा लेखिएको मेन्यु भेटिएको भए वियरको मूल्य थाहा हुन्थ्यो, म सोच्दै थिएँ । 

जताततै बाटोका दुवै साइडमा ५ (१ ठुलो र ४ साना) पहेँलो तारा अङ्कित चिनियाँ राता झण्डाहरू । तिब्बतमा चाइनिज फिलिङ्स र इम्प्रेसन दिन यसरी चाइनिज झन्डा राखिएको होला भन्ने ठान्दै हामी फेरि ८३०१ फर्कियौं । सुत्नुअघि हामीले चाउएनलाई, माओ, सी जीन पिङलगायतका  चिनियाँ नेताहरू मात्र होइन, बीपी र चाउएनलाइको सम्बन्धबारे पनि निकै लामो छलफल ग¥यौं । छलफल चलिरहँदा काठमाडौंबाट साथै लगेको ल्यापटप र स्मार्टफोनमार्फत इन्टरनेट छलफल गर्न खोज्दै थिएँ । वाइफाई अन थियो । केही न्युजसाइट खुल्थे तर केही गरे पनि फेसबुक, जिमेल, गुगल, भाइवर, वाट्सअप र एप्स डाउनलोड सफ्टवेर चलिरहेको थिएन । घन्टौँ म त्यसैमा लागिरहेँ । तर सम्भव भएन । विच्याट चल्थ्यो तर मसँग विच्याट आइडी थिएन । 

भीपीएन टर्बो डाउनलोड गरे फेसबुक, जिमेललगायत सबै चल्छ भन्ने त मलाई पनि थाहा थियो तर त्यो नेपाली भूभागमै गर्नुपर्ने रहेछ । चिनियाँ इन्टरनेट प्रभाव क्षेत्र पुगेपछि त्यो असम्भव नै रहेछ । त्यसैले म फेसबुक, जिमेल र मोबाइल कनेक्सनबिनै केही दिन तिब्बतमा बिताउनेवाला थिएँ । एक मन निकै नरमाइलो भइरहेको थियो । देशविदेशका भर्चुअल साथी मात्र होइन, दैनिक जीवनमा सुखदुखका पर्याय परिवार र साथीभाइसँग पनि म टुट्दै थिएँ । त्यसले मलाई एक प्रकारले कहाली लागेको थियो । 

बाल्यकालका मेरा दिनहरूजस्तै केही दिन म इन्टरनेट दुनियाँबाट टाढा हुँदै थिएँ । ती दिनहरू म काठमाडौँमै थिएँ तर इन्टरनेट थिएन । दुनियाँमा इन्टरनेट सुरु भइसके पनि त्यो मेरो जीवनमा आइसकेको थिएन । तिब्बतमा इन्टरनेटबिनाका दिनहरूलाई मैले ‘ब्याक टु बाल्यकाल’को रूपमा आत्मसात गरेँ । एउटा अग्र्यानिक अवधि । एक प्रकारको मेडिटेसन नै होला भन्ने सोच्दै मैले आशङ्का गरेँ, ‘काठमाडौंमा केही भइहाले !’ 

अर्को मनले सोचेँ, ‘म काठमाडौंमै भएर पनि हुनेहुनामी मैले कसरी टार्न सक्छु ? काठमाडौंमै रहँदा पनि कुनै भवितव्य भएल आखिर म एउटा साक्षी मात्र त हुने हुँ ।’

यो पनि पढ्नुहोस्

सीमानामा देश दुख्दा

 

पासपोर्ट हराउँदाको पिरलो

ल्हासासँग मोहनी थियो तर बोलाई डोल्मालाले

अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ