केन्द्रीय संस्करण

अध्यात्मवादको विरुद्धमा आएको चार्बाक दर्शन

person explore access_timeभदौ २६, २०७५ chat_bubble_outline0

पूर्वीय दर्शनहरूमध्ये सबैजसो दर्शन आध्यात्मिक र वेदलाई आधार मानेर आएका दर्शन हुन् । भारतीय दर्शनअन्तर्गत चार्बाक, जैन र बौद्ध दर्शनलाई मात्र नास्तिक दर्शन भनिन्छ भने अन्य दर्शनहरू आस्तिक दर्शन हुन् ।

वेदलाई मान्ने र वैदिक ग्रन्थमा आधारित दर्शनहरू न्याय, वैशेषिक, साङ्ख्य, योग, मिमांसा र वेदान्त दर्शन जस्ता पूर्वीय दर्शनहरू आध्यात्मिकतर्फ आकर्षित  दर्शनहरू हुन् । जैन र बौद्ध दर्शन पनि नास्तिक दर्शन त हुन् तर चार्बाक जस्तो निकै कडा प्रकारका अध्यात्मवाद विरोधी दर्शन होइनन् । तर वेदलाई नमान्ने, अन्य दर्शनभन्दा फरक खालको, नास्तिक र निकै प्राचीन दर्शनअन्तर्गत चार्बाक दर्शन पर्दछ । यस दर्शनलाई लोकायत दर्शन पनि भनिन्छ ।

यस दर्शनका प्रतिपादक आचार्य बृहस्पति (देवताका गुरु) हुन् । यो पूर्वीय भौतिकवादी दर्शन हो भन्दा फरक पर्दैन । यसको प्रामाणिक ग्रन्थ फेला परेको छैन तर बार्हस्पत्य सूत्रको आधारमा यो दर्शनको अस्तित्व रहेको पाइन्छ । यस दर्शनको मान्यतालाई सबै खाले पूर्वीय दर्शनले खण्डन गरेका छन् र चार्बाक दर्शनलाई सैद्धान्तिक मान्यता कसैले  दिएनन् । कथन अनुसार बृहस्पतिले चार्बाक मतको प्रचार शत्रु वा दानवहरूमाथि गरेका थिए । उनको अभिप्राय चार्बाक मतको उपदेश अनुसार चल्नाले दानवहरू आफै नास भएर जान्छन् भन्ने उद्देश्यले यस्तो दर्शन विकसित गरेका हुन् भन्ने भनाइ पनि पाइन्छ । अध्यात्माको पूर्ण उपेक्षा गरेर तनमनको सुखका लागि आएको हुनाले यो दर्शन पूर्ण र स्वस्थ दर्शन हुनै सक्दैन भन्ने त्यतिबेलाका अन्य दर्शनहरूको मत रहेको थियो । चार्बाक यस्तै एकोहोरो दृष्टिकोणको कारण नै आलोचनाका पात्र बनेका हुन् । चार्बाकले राजालाई स्वीकार गर्छन् तर ईश्वरलाई मान्दैनन् । यस दर्शनले मानिसहरूमा भएका जातिभेदलाई पनि मेटाउने उद्देश्य रहेको छ । सबै मनुष्यको भित्र एकै प्रकारको रातो रगत बग्दछ, मासु र हाड पनि सबैको उस्तै छ भने बाह्मण र अन्य जातिहरूबीच किन ठूलो र सानोको भेद भयो त भन्ने भनाइ पाइन्छ ।

    उपनिषद्कालमा आध्यात्मिक पक्ष यति बलियो थियो कि कुनै पनि विरोधी भनाइ वा दर्शनहरू जन्मेकै थिएनन् । समयको गतिसँगै वैदिक कर्मकाण्डमा ज्ञान र तर्कको स्थानमाथि रुढीवाद बढ्दै गयो र विरोधी सोचहरू जन्मन थाले । त्यही सोचमा आधारित प्रमुख दर्शनको रूपमा चार्बाक दर्शन आएको हो । यस दर्शनले संसार सत्य छ, पृथ्वी पञ्चतत्वबाट बनेको छ, शरीर आत्मा हो, शरीर नष्ट भएपछि चेतना पनि नष्ट हुन्छ भन्ने भौतिकवादीहरूको जस्तै मान्यता राख्दछ । यस दर्शनले मात्र शरीरलाई आत्मा र मृत्युलाई मोक्ष मान्दछ । यसले पुत्र, देह, इन्द्रिय, प्राण र मन गरी ५ वटा भेदलाई मान्दछ । यस दर्शनले जबसम्म बाँचिन्छ सुखसँग बाँच, ऋण गरेर भए पनि घिउ खाऊ तर रक्सी नखाऊ, मरेपछि खरानी हुने शरीर न हो भनेर आफू बाँचुञ्जेल खुशीपूर्वक बाँच्नुपर्छ भन्ने व्याख्या गर्दछ । यसले प्रत्यक्षलाई मात्र प्रमाण मान्दछ । यसले काम मात्र पुरुषार्थ हो, धर्मकर्म लगायत अरू सबै वाहियात हुन्, वर्तमानमा मात्र विश्वास गर, प्रत्यक्षलाई मात्र प्रमाण मान भन्ने सिद्धान्तहरू बोकेको छ । 

यस दर्शनले पुनर्जन्म नहुने, ईश्वर नहुने, जे छ त्योबाहेक अरू सबै असत्य हो भन्ने, परलोक छैन, होम हवन गरेर केही पाइँदैन, देवताका नाममा ढुङ्गा किन पुज्ने, ढुङ्गा पुजेर धर्म कमाइने भए पहाडै पुजे भइगो नि । परलोकमा सुख पाइन्छ भनेर अहिले तपस्या गरेर किन शरीर सुकाउने (सुखवाद) भन्ने जस्ता रमाइला कुरा गर्दछ । यसले यस्ता रमाइला खालका कुरा गर्ने वा सुन्दर वचन दिने हुँदा यस दर्शनलाई चारु (रमाइलो), वाक् (कुरा) वा चार्वाक भनिएको हो । त्यस्तै चर्व धातुबाट चार्बाक शब्द आएको हो, चर्वको अर्थ चपाउनु अर्थात खानु हो । खानपानमा धेरै जोड दिने भएको कारण यसलाई चार्बाक भनिएको हो भन्ने भनाइ पनि पाइन्छ । यो दर्शन निकै लोकप्रियका साथ लोकमा फैलिएको हुँदा लोकायत दर्शन पनि भनिएको हो । चार्बाक दर्शनको यस्तो विचारधारा धेरै पुरानो भएर पनि धेरै नयाँ किसिमको लाग्दछ किनकि आजका मान्छेहरू प्रायः अध्यात्मवाद भन्दा भोगवादको समर्थनमा छन्, जुनकुरा चार्बाक दर्शनसँग मिल्न जान्छ ।

    खासमा चार्बाकहरूका दुई वर्ग थिए । एउटा धूर्त चार्बाक र अर्को सुशिक्षित चार्बाक । धूर्त चार्बाकले चेतन शरीरलाई नै आत्मा मान्दछन् र यिनीहरूले शरीरको अस्तित्वसँग नै चेतनाको अस्तित्व छ र शरीरको मरणसँगै चेतना पनि समाप्त भएर जान्छ भन्दछन् । सुशिक्षित चार्बाकले शरीरभन्दा छुट्टै पनि एउटा आत्मा छ, जुन नित्य ज्ञाता तथा सबै अनुभवको भोक्ता हो तर त्यो पनि शरीरसँगै नाश भएर जान्छ भन्दछ । आत्मा एउटा शरीरलाई छोडेर अर्को शरीरमा जाँदैन, यदि त्यस्तो हुन्थ्यो भने मानिसहरूमा पूर्व जन्मको सम्झना रहनुपर्दथ्यो, जस्तो कि बाल्यावस्थाको घटना यौवनावस्थामा पनि सम्झना भइरहन्छ । त्यसकारण पुनर्जन्म हुन्छ भन्नु वाहियात हो भन्ने यस दर्शनको मुख्य सिद्धान्त हो । यससँगै वेदान्त सारमा सदानन्दले चार प्रकारका चार्बाकहरूको वर्णन गरेका छन् । ती हुन्–
 

१. देहात्मवादी : देहलाई आत्मा मान्ने चार्बाकहरू
२. इन्द्रियात्मवादी : इन्द्रियलाई आत्मा मान्ने चार्बाकहरू ।
३. प्राणात्मवादी : प्राणलाई आत्मा मान्ने चार्बाकहरू ।
४. आत्ममनोवादी : मनलाई आत्मा मान्ने चार्बाकहरू ।

   यस दर्शनमा जुनसुकै वाद देखा परे पनि चार्बाकहरू मरेपछि कुनै आत्मा रहँदैन भन्ने विषयमा एक मत छन् । त्यस्तै ईश्वरको कल्पना अनावश्यक र संसारको उत्पत्ति जड तत्वबाट (भित्री र बाहिरी प्रत्यक्ष देखिने वस्तु) बनेको हो, ईश्वरले बनाएको हैन भन्नु यस दर्शनको मुख्य सिद्धान्त हो । बिना ईश्वरको सहायताले पनि कार्यकारणको नियमले काम गर्न सक्दछ तथा प्रकृति आफै यति शक्तिशाली छ कि जुन आफ्नो प्राकृतिक नियमअनुसार सबै कार्यको व्याख्या गरिदिन्छ भने अनावश्यक रूपमा ईश्वरलाई मान्न के आवश्यक छ भन्ने भनाइ यस दर्शनको रहेको छ । चार्बाकको मत अनुसार वेद झूठो कुराहरूले भरिएको छ, वेद ती धूर्त पुरोहितहरूले बनाएका हुन्, जसको काम अज्ञानी र सोझा सीधा मानिसलाई फसाएर आफ्नो जीविका चलाउनु हो । स्वर्गको सुख प्रलाप गरिएको भन्दा फरक छ । स्वर्गको सुख दिने वेद धूर्तहरूको प्रलाप हो, वैदिक कर्मकाण्ड व्यर्थ हो, स्वर्ग र नर्क पुरोहितका कल्पना हुन् र परलोक नै छैन भन्नु यस दर्शनको अर्को सिद्धान्त हो ।

    अन्त्यमा, भारतीय अन्य दर्शनहरूभन्दा भिन्न प्रकारको सिद्धान्त प्रतिपादन गर्ने चार्बाक दर्शन सबैको आलोचना र घृणा तथा निन्दाको पात्र पनि बनेको थियो पनि यस दर्शनको महत्वलाई नकार्न चाहिँ मिल्दैन । किनकि कुनै पनि भारतीय दार्शनिकहरूले चार्बाकहरूको मतलाई खण्डन नगरी अघि बढ्न सकेका छैनन् । रुढीहरूको बन्धनमा र परम्परागत अन्धविश्वासलाई तोडेर आफ्नो विचारधारालाई अघि बढाउने हिम्मत यस दर्शनले गरेको हुनाले पनि यो दर्शन एक हदसम्म राम्रो मानिन्छ ।

सबै भारतीय दर्शन र संसारलाई झुठो मानेर आत्मा र परलोकको कुरा गर्दछन् तर एउटा एक्लो चार्बाक दर्शनले नै यथार्थलाई अगाडि राख्ने हिम्मत गर्दछ । आधुनिक भौतिकवादी युगमा हेर्ने हो भने व्यक्तिले सुखलाई सर्वोपरि मानेर खानपिन र मोजमस्तीलाई बढी ध्यान दिने गरेका छन् जुनकुरा चार्बाक दर्शनमा पनि पाइन्छ । तर यस्तो मोजमस्तीमा रक्सी पिउने होइन, बरु ऋण नै काढेर किन नहोस् घिउ नै पिउने गर भनेर आधुनिक समाजलाई समेत पाठ सिकाउने गरी आग्रह गर्नु यस दर्शनको सबैभन्दा महत्वपूर्ण सकारात्मक पक्ष हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.