केन्द्रीय संस्करण

करियर : मिहिनेतीहरूका लागि बैङ्किङ क्षेत्रमा थुप्रै अवसर

person access_timeभदौ २६, २०७५ chat_bubble_outline0

सपनाको यू टर्न

पाउलो कोहेलोका अनुसार मान्छेले देखेको सपना पूरा नहुनुमा एउटा मात्रै चीज हुन्छ, जसले बाधा पुर्याउँछ, त्यो हो डर । त्यही पढेर हो कि हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि पुगेर कविता नै लेखे– मरेपछि पनि सपना देख्न पाऊँ ।

तर सपना देख्नेहरू कतिको सपना पूरा हुन्छ त कतिको हुँदैन । कोही सपना पूरा नहुँदैमा हार मानेर हतोत्साही भइहाल्छन् । कोही भने एउटा सपना पूरा नभए अर्को सपना देखेरै अगाडि बढ्छन् । त्यसका लागि कोहेलोले भनेजस्तै डर त्याग्ने र आत्मविश्वास जगाउने हिम्मत चाहिन्छ । यस्तै केही मिहिनेती हातहरू पनि छन् हाम्रो समाजमा, जसले एउटा बाटो असफल भए पनि अर्को बाटो समाएर आफ्नो जीवनको लक्ष्य प्राप्तिको दौडमा लागेका छन् ।

टी स्केलको सपनामा ब्रेक, संन्जित जाेशीलाई बैङ्कले दिलायो पहिचान

यस्तै दौडमा रहेका संन्जित  जाेशी पेसाले बैङ्कर हुन् । मेगा बैङ्कका ट्रेड अपरेसन हेड संन्जितले सपना ठूलै देखेका थिए– आर्किटेक इन्जिनियर बन्ने । सायद आज त्यो सपनाको लयले उनलाई साथ दिएको भए उनी अहिले कुनै घर अथवा भवनको आर्किटेक्चर गर्दै हुन्थे होलान् । टी स्केल बोकेर कलेज जाने रहरले कम लखेटेन संन्जितलाई । आईई गर्दा पुल्चोक इन्जिनियरिङ कलेजमै बीई (ब्याचलर अफ इन्जिनियरिङ) त्यो पनि आर्किटेक्चर इन्जिनियरिङ गर्ने सपना थियो उनको । सामान्य परिवारका संन्जितलाई ठूलो रकम खर्चेर प्राइभेट कलेज पढ्ने आँट थिएन । पुल्चोक इन्जिनियरिङ कलेजमा स्कलरसिपमा नाम निकाल्न कस्सिए उनी । 

युवा जोश थियो, जाँगर थियो, अनि थियो टी स्केल बोक्ने सपना । टी स्केल चलाएर डिजाइन गर्ने सपनामा अचानक ब्रेक लाग्यो, जब बीईको इन्ट्रान्समा उनी फेल भए । सोचेको सबै कहाँ पूरा हुन्छ र ? फ्ल्यासब्याकमा रमाइरहेका उनी अचानक अड्किए । स्केल चलाउन कस्सिएका हात आज साइन गर्ने लयमा आयो । तर पनि खुसी छन् उनी । भन्छन्– भाग्यले यतै लेखेको थियो, त्यसैले यतै डोर्याएर ल्यायो ।

आर्किटेकको ढोका बन्द भएको अनुभूति गरेका उनी केही निराश पक्कै थिए । तर समय बर्बाद नगरी विषय नै परिवर्तन गरेरै भए पनि पढाइ अगाडि बढाउने सोचेर म्यानेजमेन्ट पढ्ने निर्णय गरे र काठमाडौँ भ्याली कलेज भर्ना भए । पढाइकै सिलसिलामा संन्जितलाई अचानक बैङ्कको जागिरले निम्तो दियो । हिमालयन बैङ्कले कर्मचारीको आह्वान गरेको थाहा पाए । दर्खास्त हालिहाले । जुनियर असिस्टेन्टमा नाम पनि निस्कियो । अब सुरु भयो संन्जितको बैङ्क सपना । अब उनको एउटै लक्ष्य थियो– सफल बैङ्कर बन्ने । बीईको रिजल्ट आएकै दिन आर्किटेक इन्जिनियर बन्ने सपनालाई सेलाइदिएका उनले अब सफल बैङ्करको लक्ष्य हासिल गर्ने अर्को पिलर गाडे । 

हिमालयन बैङ्कको जागिर सुरु भयो, उनले ब्रान्चमा बसेर काम गर्ने मौका पाए । अहिलेजस्तो पहिले बैङ्कहरूमा केन्द्रीकृत प्रणाली थिएन, सबै सेवा ब्रान्चबाटै हुन्थ्यो । ब्रान्चमा बसेर काम गर्दा संन्जितले बैङ्कका सबै पक्ष (बैङ्किङ पद्धति) बारे सिक्ने राम्रै अवसर पाए । २००३ मा हिमालयन बैङ्कमा प्रवेश गरेका जोशीको २००७ तिर आएर व्यावसायिक जीवनले एउटा लय समात्यो, त्यो थियो ट्रेड बिजनेस । उनले ट्रेड बिजनेसमा काम गर्दा गर्दै यस विषयमा राम्रै ज्ञान आर्जन गरे ।

सन् २०१० ताका नेपालमा वाणिज्य बैङ्कहरू धमाधम खुल्नेक्रम बढ्न थाल्यो । तत्पश्चात् उनले कमर्स एन्ड ट्रस्ट बैङ्क (सीटीबीएन हाल ग्लोबल आईएमईमा गाभिइसकेकोे छ) मा ट्रेड बिजनेस हेडका रूपमा कार्य गर्ने अवसर पाए । उनी भन्छन्, ‘यदि आफ्नो काम र पेसाप्रति इमानदार हुने र लगनसाथ काम गर्ने हो भने अवसर आउने रहेछ ।’ उनी कामलाई पूजा गर्छन् । काममा यतिसम्म विलीन भए कि उनलाई आफ्नो व्यक्तिगत जीवनको ख्याल नै भएन रे । 

ईएमबीएसम्मको अध्ययन गरेका संन्जितले कर्जा अनि व्यापार वित्तको क्षेत्रमा विज्ञता नै हासिल गरिसकेका छन् । बैङ्कमा छिरेपछि पछाडि फर्केर हेर्नु नपरे पनि धेरै चुनौतीे सामना गर्नुपर्यो उनले । ती चुनौती सामना गर्न नसकेको भए सायद आज उनी यो स्थानमा पुग्ने थिएनन् । भन्छन्, ‘बैङ्क यस्तो क्षेत्र हो, जहाँ हरेक सेकेन्ड नयाँ–नयाँ चुनौती सामना गर्नुपर्छ । ठूल्ठूला वित्तीय कारोबार हुने भएकाले पनि यसमा ठूलो रिस्क छ । तर आत्मविश्वास, लगन अनि धैर्यका साथ लाग्ने हो भने यो क्षेत्रमा टिक्न असम्भव छैन ।’ धैर्यले नै उनलाई आजको ठाउँ दिएको छ । 

ललितपुरवासी संन्जित हिमालयन, सीटीबीएन, ग्लोबल आईएमई हुँदै मेगा बैङ्कसम्म आइपुग्दा १६ वर्ष बैङ्कमा बिताइसकेका छन् । उनी भन्छन्, ‘बैङ्किङ प्रणालीमा धेरै नै परिवर्तन भइसकेको छ । नयाँ–नयाँ टेक्नोलोजीको प्रयोगले यो क्षेत्र निकै टफ (कठिन) बनेको छ । बैङ्कमा अवसर पनि छ र चुनौती पनि उत्तिकै छ ।’ नयाँ पुस्ताका लागि एउटा दह्रो उदाहरण बनेका उनी थप्छन्, ‘नयाँ पुस्तामा अलि धैर्य गर्ने बानी कम छ ।’ धैर्यसाथ काम गर्ने हो र यसमै करिअर बनाउने हो भने लगनशील बन्न नयाँ पुस्तालाई सुझाउँछन् ।

बैङ्क तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरूप्रतिको आकर्षण बढ्दो छ । आकर्षक तलब भत्ता, सहज ऋण, सेयर, बोनसजस्ता सुविधाले यो क्षेत्रप्रतिको आकर्षण बढ्नु स्वाभाविकै पनि हो । अहिले राष्ट्र बैङ्कको नीति नियममा धेरै परिवर्तन भएको छ । राष्ट्र बैङ्कले प्रत्यक्ष निगरानी गर्ने भएकाले हरेक सेकेन्ड सतर्क भएर काम गर्नुपर्ने हुन्छ । बैङ्कमा काम गर्न अब १०–५ को मानसिकता हटाएर आउनुपर्ने उनको तर्क छ । भन्छन्, ‘अहिले बैङ्किङ सर्भिसमा समयको पावन्दी छैन । जतिबेला पनि सर्भिसका लागि तयार हुनुपर्छ ।’ 

बैङ्किङ क्षेत्र हाइली रेगुलेटेड अनि ट्रान्सप्यारेन्ट हुने भएकाले पनि इमानदार बन्न प्रेरित गरिरहन्छ । साथसाथै सेवा सुविधाले पनि यो क्षेत्रको वैधानिकतामा विश्वास बढी हुने सञ्जित बताउँछन् । आर्किटेक बन्ने संन्जितको सपनामा ब्रेक लागे पनि बैङ्करको छविले सधैं अगाडि बढ्न उनलाई उत्प्रेरित गरेको छ । भन्छन्, ‘बैङ्कले नै नाम, दाम अनि भविष्य पनि दिएको छ ।’

रेडियोमा छिर्न रेडियो सेट फुटाउने शोभा अन्ततः बनिन् बैङ्कर

‘ढाकाटोपी मैलो, धुने बुइनी घर गई, के रमाइलो छ र खै’ यो गीत नसुन्ने कमै होलान् । कमेडी शैलीमा बनेको यो गीतका शब्द, लय अनि भिडियो पनि कमेडियन शैलीमै निर्माण गरिएको थियो । २०६० सालतिरको चर्चित यो गीत अहिले सुन्दा पनि उत्तिकै रमाइलो छ । हरेकको मुखमा झुन्डिएको यो गीतलाई कुमार न्यौपानेले गाएका थिए, जसमा साथ दिएकी थिइन्– शोभा न्यौपानेले । 

पेसाले बैङ्कर शोभासँगको कुराकानीका क्रममा थाहा भयो उनी त्यो गीतकी गायिका पो रहिछिन् । उनी एकाएक विगत (यही गीतको प्रसङ्ग) मा पुगेर ठोक्किइन् । 

ग्लोबल आईएमई बैङ्क कीर्तिपुर शाखाकी शाखा प्रबन्धक शोभाले ०५७ सालतिरै रेडियो नेपालबाट स्वर परीक्षासमेत पास गरेकी रहिछन् । त्यो बेला शोभालाई कुमार न्यौपानेले यो गीत गाउने प्रस्ताव ल्याउँदा जीवनको बाटो सुरु भएजस्तै भएको रहेछ । तर, त्यो बाटो अचानक बदलियो, जब उनको विवाह भयो । जीवनको उकाली–ओरालीमा थुप्रै उतारचढाव भोगेकी शोेभाले बारम्बार सपनालाई बदल्नुपर्यो । परिस्थितिले पनि उनको लक्ष्यलाई एकीकृत गर्नबाट वञ्चित गरेको छ ।

भोजपुरमा जन्मिएकी शोभालाई सानो छँदा रेडियो नेपाल सुन्न खुब मन पथ्र्याे । रेडियोभित्र मानिस कसरी बोल्छन् ? कसरी बस्छन् होला ? यति सानो रोडियोमा मानिस कसरी अटाएका होलान् ? कल्पनाको सागरमा यसरी डुब्थिन् कि उनी आफू त्यही रेडियोभित्र बसेर बोलेको, चुट्किला भनेको अनि गीत गाइरहेकी हुन्थिन् रे । 

रेडियोमा छिरेर गीत गाउने अनि बोल्ने यति हतारो भएको थियो कि उनले रेडियो नै फोरिदिइन् । रेडियोमा छिर्ने उछालले फोरिएको रेडियोभित्र कोही मानिस थिएनन् मात्र थिए त तार अनि चुम्बक । अचम्ममा परेकी शोभाले हजुरआमाबाट ठूलै सजाय पाइन् । त्यो सजाय उनको जीवनको सबैभन्दा ठूलो आशीर्वाद बनेछ । उनमा एउटा यस्तो भूत सवार भयो कि जसरी पनि रेडियोमा बोल्ने अनि गीत गाएरै छाड्ने । 

यही सपना पूरा गर्न उनी सामुदायिक वन उपभोक्ता महासङ्घमा आबद्ध भई रेडियो नेपालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिन् । यही क्रममा उनले गीत लेख्ने, गाउने कामलाई पनि सँगसँगै अगाडि बढाइन् । ‘जूनतारा’ नामक एल्बम पनि निकालेकी शोभाले सात वर्ष रेडियो नेपालमा बिताइन् ।

गीत–सङ्गीत अनि पत्रकारिता सँगसँगै गर्दै गरेकी शोभा वास्तवमा राजनीतिज्ञ बन्न चाहन्थिन् रे । भन्छिन्, ‘मेरो नसानसामा राजनीति छ ।’ पत्रकारिताको दौरानमा पनि राजनीतिमा सामेल उनको पारिवारिक पृष्ठभूमि राजनीतिमै थियो । हजुरबुबाले काँग्रेसको राजनीति गर्थे भने पिता हरिप्रसाद न्यौपानेले एमालेको । शोभाको रगतमा पनि राजनीति मिसियो ।

मीनभवन क्याम्पसमा स्नातकसम्म अध्ययन गर्दा शोभा राजनीतिमा होमिइसकेकी थिइन् । स्ववियु कोषाध्यक्षमा चुनाव लडेकी उनलाई चुनाव जितेको जत्तिको खुसीको क्षण आजसम्म मिलेको छैन रे । भन्छिन्, ‘मेरो नसा–नसामा राजनीति दौडिएको छ । रेडियोमा बोल्ने रहरले गीत–सङ्गीत अनि पत्रकारितासमेत गरेकी शोभा पेसाले बैङ्कर भए पनि राजनीतिले जति केसैले पनि छोएको छैन उनलाई ।’

स्नातकोत्तर गर्न पद्मकन्या क्याम्पस भर्ना हुँदा पनि शोभाको राजनीतिक सक्रियता रोकिएको थिएन । रामकुमारी झाँक्री सहपाठी हुन् उनकी । राजनीतिमै लागिराखेको भए सायद राम्रै स्थान हासिल गरिसक्थिन् होला शोभाले । तर पनि वर्तमान अवस्थालाई लिएर उनलाई कुनै पछुतो छैन । 

गाँस, बास अनि कपासका लागि पनि जागिरलाई पहिलो प्राथमिकता दिनुपरेकोमा कता–कता नमज्जा त लाग्छ उनलाई तर बैङ्कले आत्मसन्तुष्टि भने दिएको छ । 

०६३ सालतिर देशमै सबैभन्दा ठूलो पुँजी लगानीमा स्थापना भएको ग्लोबल बैङ्क (हालको ग्लोबल आईएमई बैङ्क) ले थुप्रै कर्मचारी माग्यो । रेडियो पत्रकारितामा दौडधुप गर्नुपर्ने कहिले कता पुगेको छ, कहिले कता । त्यसमा पनि सामुदायिक वन संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएकाले धेरै समय बाहिरै हिँड्नुपर्ने । राजनीति गर्न पनि सहज थिएन । 

भर्खरै विवाह भएकाले १०–५ को जागिर गरे हुने भन्ने परिवारको आग्रह । मीनभवन क्याम्पसबाट व्यवस्थापनमै स्नातक गरिसकेकी शोभाले बैङ्कमा जागिर खुलेको थाहा पाएर दर्खास्त दिइन् । काम गर्ने निश्चित समय, आकर्षक तलब–भत्ता, बोनसले यो क्षेत्रमा आकर्षित नहुने कुरै भएन । परिवारकै लागि बैङ्किङ जीवन अँगाल्ने निर्णय गरिन् शोभाले ।

व्यवस्थापन पढेकाले यसमा उनलाई नाम निकाल्न सहज भयो । नाम त निस्कियो तर ट्रेनी एसिस्टेन्टमा । त्यो जागिर खानु न ओकल्नु भयो उनलाई । बैङ्कमा जागिर खानलाई अन्यत्र काम गर्न नपाउने भएकाले उनले रेडियोको जागिर छाडिसकेकी थिइन् तर बैङ्कमा त्यतिबेला उनको तलब जम्मा तीन हजार मात्र रहेछ । ट्रेनिङको समयमा थोरै तलब हुने भएकाले चित्त बुझाउँदै काम सुरु गरिन् । ६ महिनामै स्थायी भएकी शोभा जुनियर असिस्टेन्टबाट डब्बल प्रमोसन खाएर सिनियर असिस्टेन्ट बनिन् । मार्केटिङ, क्रेडिट एडमिनिस्ट्रेसन हुँदै हाल कीर्तिपुर शाखाकी शाखा प्रबन्धक छिन् शोभा । 

बैङ्कले जीवनमा आर्थिक रूपमा सबल हुन मद्दत गर्यो उनलाई । नाम पनि दियो । शाखामा रहेर काम गर्दा ग्राहकहरूबाट आउने सकारात्मक प्रतिक्रियाले थप ऊर्जा प्रदान गर्छ उनलाई । दुई पटकसम्म शाखाको नेतृत्व सम्हाल्ने मौका पाएकी शोभाले धेरै ग्राहकको माया कमाएकी छन् । र भन्छिन्, ‘व्यावसायिक जीवनमा सबैभन्दा ठूलो खुसी ग्राहकको सकारात्मक प्रतिक्रिया नै हो । अहिले उनको समयको कुनै रेखा छैन । १०–५ को जागिर गर्न आएकी शोभा कहिलेकाहीँ आठ–नौ बजेसम्म पनि खट्छिन् । भन्छिन्, ‘आफ्नो पेसा र ग्राहकको सेवामा इमानदारीसाथ समर्पित हुनु मेरो धर्म हो ।’ 

सरकारी अफिसर बन्न हिँडेका गोकुललाई बैङ्किङ ग्ल्यामरले तान्यो 

नेपालका सरकारी कार्यालयमा कार्यरत उच्च तहदेखि तल्लो तहसम्मका कर्मचारीको तथ्याङ्क हेर्ने हो भने ९५ प्रतिशतभन्दा बढी गाउँले परिवेशबाट आएकाहरू नै भेटिन्छन् । पहिले गाउँघरतिर एसएलसीसम्मको पढाइ सकेर सहर पढ्न जाने अनि सरकारी जागिर गर्ने ट्रेन्ड उच्च थियो । राजु लामाको एउटा चर्चित गीत नै छ– ‘तिम्रो छ र के भर खोजी आऊ पहिले सरकारी जागिर’ । सरकारी जागिर गर्नेहरू प्रतिष्ठित व्यक्तिमा गनिन्थे । धेरैको सपना सरकारी जागिरे बन्ने हुन्थ्यो । 

यस्तै सरकारी अफिसर बन्ने सपना बोकेर पोखरा झरेका एक व्यक्ति हुन्– गोकुल लम्साल । स्याङ्जा स्थायी घर भएका गोकुल २०५२ सालतिर एसएलसी सकेर पोखरा पुगेका थिए उच्च शिक्षा हासिल गर्ने अनि सरकारी अफिसर बन्ने भन्दै । सानातिना काम गरेरै भए पनि क्याम्पसको पढाइ खर्च धाने गोकुलले । अफिसरको सपना जुन पूरा गर्नु थियो उनलाई, त्यसैले उनले पढाइलाई पहिलो प्राथमिकता दिए । गोकुल निकै मिहिनेती थिए । कहिले पाँच सय तलबमै स्कुल पढाए त कहिले होटल तथा रेस्टुराँमा काम गरे । 

पाँच सय तलबबाट जागिर सुरु गरेका गोकुलले आज एउटा बैङ्करको छवि बनाउन सक्छु भन्ने कहिल्यै सोचेका थिएनन् । थुप्रै होटल अनि रेष्टुराँमा क्यासियरको काम गरेका गोकुललाई यो क्षेत्रको टिप्सले नलोभ्याएको पनि होइन । तर, उनको सपना थियो– सरकारी अफिसरको । उनले नेपाल टेलिकम भैरहवामा कर्मचारीको आह्वान भएको थाहा पाएर आवेदन दिन भैरहवा पुगे । अचानक परीक्षा केन्द्रमा आफ्नै दाजु भेटे । दाजु काठमाडौंबाट त उनी पोखराबाट टेलिकमको परीक्षा दिन पुगेका थिए । आश्चर्यमा परेका दाजुले दाजुभाइ सँगै काठमाडौं बसेर काम गर्ने आग्रह गरेपछि नाइँ भन्न नसकी काठमाडौं हानिए गोकुल । परीक्षा केन्द्रमा भएको दाजुसँगको भेटले गोकुलको जीवनको मोड बदलिदियो । सरकारी जागिर गर्ने सपनालाई भैरहवातिरै छाडेर काठमाडौं आए गोकुल ।

काठमाडौंको बानेश्वर चोकमा स्ट्यान्डर्ड चाटर्ड अनि एभरेस्ट बैङ्कको भवन, टाइसुटमा सजिएका कर्मचारी, भित्र चिल्लो भुइँ अनि १८ महिनाको तलब खाने बैङ्कका कर्मचारी । यस्ता कुराले बैङ्किङ जागिर उनको सपना बन्न थाल्यो । भन्छन्, ‘अहिलेजस्तो अवसर कहाँ थियो र त्यो बेला । अहिले थुप्रै बैङ्क तथा वित्तीय संस्था खुलेका छन् । प्रविधिले बैङ्कलाई हातहातमा ल्याइदिएको छ । कर्मचारीको थुप्रै आवश्यकता पर्छ । मिहिनेत गर्नेका लागि थुप्रै अवसर छ ।’

काठमाडौं आएपछि पनि उनको सङ्घर्ष रोकिएन । एक कार्पेट फ्याक्ट्रीमा सुपरभाइजरको जागिर पाएका गोकुलले १२ वर्ष त्यहीँ बिताए । भन्छन्, ‘बिहेपश्चात् फ्याक्ट्रीको काम गरेर फर्कंदा धुलैधुलो देखेर होला श्रीमतीले जागिर छोडे हुने भन्न थालिन् ।’ श्रीमतीलाई खुसी पार्न गोकुलले कर्पोरेट सेक्टरतिरै काम गर्ने निर्णय गरे र विभिन्न बैङ्क तथा फाइनान्समा आवदेन दिन थाले । गोकुलले सूर्य दर्शन फाइनान्समा फाइनान्स हेडका रूपमा काम पाए । अब उनको कर्पोरेट यात्रा सुरु भयो ।

सूर्य दर्शन फाइनान्स, जेनिथ फाइनान्स हुँदै प्रभु बैङ्कका सेन्ट्रल वेस्ट रिजनका डेपुटी हेड गोकुलको सपनाले सार्थकता बल्ल पाएको छ । चिल्लो भुइँ, टाइसुट अनि १८ महिनाको तलब, भत्ता, बोनस । फाइनान्समा रहँदा थुप्रै काम सिक्ने अवसर पाएका गोकुललाई बैङ्कमा काम गर्न सजिलो भयो । भन्छन्, ‘बैङ्क एउटा चुनौती हो । मैले पार गर्दै आइरहेको छु ।’

भनिन्छ, “मार्केटमा जाने मान्छे कहिल्यै पनि भोको बस्नुपर्दैन ।” यस्तै भन्छन् गोकुल । बैङ्किङमा मार्केटिङलाई चुनौतीका रूपमा लिएका उनले राम्रै पीआर बटुलेका छन् । र त बैङ्कले भनेजस्तो अफर गर्छ उनलाई । गोकुलको अनुभवले बैङ्क बाहिर देख्दा जति ग्ल्यामरस छ, भित्र उत्ति नै चुनौतीपूर्ण भएको ठानेका छन् ।

२०१४ मा प्रभु बैङ्कमा जेनिथ फाइनान्स गाभिँदा उनको आत्मविश्वासले शिखर चुमेको थियो रे । डेडिकेसन अनि कन्टिन्युटीले यहाँसम्म ल्याएको उनी बताउँछन् । 

गोकुल नयाँ पुस्तामा डेडिकेसनको कमी अनि कन्टिन्युटी नदिने प्रवृत्ति बढी देख्छन् । भन्छन्, ‘नयाँ पुस्ताका लागि थुप्रै अवसर छ बैङ्किङमा । ट्रेन म्यानपावरको कमी अनुभूति गरेका गोकुल नयाँ पुस्तालाई टेक्निकल बन्न सुझाउँछन् ।’

भनिन्छ, ‘प्राइभेट सेक्टरमा आउने टाइम निश्चित छ तर फर्कने समय अनिश्चित छ ।’ यो भनाइ बैङ्किङ क्षेत्रमा पनि लागू हुन्छ, त्यसैले अब १०–५ को मानसिकता त्याग्नुपर्ने गोकुलको भनाइ छ । गोकुल भन्छन्, बैङ्क पेपरमा बुझेजस्तो सहज छैन । दृढ इच्छाशक्ति र समर्पण लिएर काम गर्ने हो भने सफलता अगाडि नै छ ।
 

टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ