केन्द्रीय संस्करण

रामराजा प्रसाद सिंह : जो, गणतन्त्रका लागि ‘हजारौं मृत्यु मर्न र हजारौं जिन्दगी जिउन’ चाहन्थे

person access_timeभदौ २७, २०७५ chat_bubble_outline0
रामराजा प्रसाद सिंह

पूर्वी नेपालको कोसी तटनजिकैको कोइलाडी गाउँमा राजपुत परिवारको एक बालक एकपल्ट सिकिस्त बिरामी प¥यो । डाक्टरले उपचारका लागि उसलाई भारत लैजान भन्यो । 

सम्पन्न जमिनदार परिवारको छोरोलाई उपचारार्थ भारत लैजानु कुनै महाभारत थिएन । उसलाई बिहार राज्यको दरभङ्गा नजिक लहेरियासराय लगियो । 

उपचारको क्रममा डेरामा बसिराख्दा एक दिन उसले नाराबाजीको आवाज सुन्यो । डेराको झ्यालबाट हेर्दा केही मानिस नारा लगाउँदै गइरहेको देख्यो । त्यत्तिकैमा उसले गोली चलेको र एउटा युवक रक्ताम्मे भई ढलेको देख्यो । 

पछि सोध्दा उसले के थाहा पायो भने ती मानिस अङ्ग्रेजको शासनबाट भारत स्वतन्त्र बनाउन खोजिरहेका छन् र यो नारा अङ्ग्रेजको शासनविरुद्ध लगाइराखिएको हो । बालहृदयमा यसको छाप प¥यो । उसले के बुझ्यो भने देशलाई विदेशी दासता वा निरङ्कुश शासनबाट मुक्त गराउनु छ भने विरोधको बाटो अपनाउनै पर्दछ र रगत बगाउनुपर्छ भने पनि डराउनु हुन्न ।

यसै भावनाका साथ हुर्कंदै, शिक्षार्जन गर्दै गएको बालकको नाम थियो– रामराजा प्रसाद सिंह, जो हाम्रो मुलुक नेपालमा गणतन्त्रका महानायकका रूपमा स्मरणीय छन् । उनले बाल्यावस्थामै आफ्नो देशभित्र पनि राणाहरूको क्रूर शासन र दमन देखिसकेका थिए ।

रामराजा भारतबाट उच्च शिक्षा प्राप्त गरी स्वदेश फर्कंदा मुलुकमा निर्दलीय पञ्चायती व्यवस्था लादिइसकेको थियो । त्यसैले उनले देशको संवैधानिक व्यवस्थामा परिवर्तन र सुधारको खाँचो औँल्याउन थाले । क्रूरताको बाटोमा हिँडिरहेको राज्यसत्ताका लागि उनी आँखाको काँडा बन्न थाले । 

गिरफ्तारी र जेलयात्रा रामराजाका लागि नियमित आकस्मिकता बन्न थाल्यो । उनले पनि दमनकारी शासकलाई चैनले बस्न नदिन उसको विरुद्ध सङ्घर्षको बाटो अपनाउने सङ्कल्प गरे । जेलबाट निस्केपछि उनले स्नातक निर्वाचन क्षेत्रबाट सक्रिय राजनीतिमा प्रवेश गर्न खोजे । तर २०२४ सालको निर्वाचनमा उनलाई उम्मेदवार बन्नै दिइएन, गिरफ्तार गरियो । 

जेलबाट निस्केपछि रामराजाले २०२८ सालको स्नातक निर्वाचन क्षेत्रबाट फेरि उम्मेदवारी दिए ।  स्नातक निर्वाचनताका उनले दिएका ‘यो निर्वाचन होइन, क्रान्तिको आरम्भ हो’ र ‘म चुनाव होइन, क्रान्ति चाहन्छु, पद होइन गणतन्त्र चाहन्छु’ जस्ता क्रान्तिकारी भाषण गरे, जसका कारण देशमा उनका समर्थकहरूको सङ्ख्या बढ्न थाल्यो । 

देशभरका स्नातक मतदाताको मन जितेर उनी राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए । तर षडयन्त्रकारी प्रशासनले उनलाई पहिले राष्ट्रिय पञ्चायतमा पस्न, त्यसपछि शपथ ग्रहण गर्न, अनि मेडेन स्पिच दिनबाट वञ्चित गर्न अनेक जालझेल ग¥यो । 

पञ्चायती व्यवस्थाको निरङ्कुश, निर्मम र निष्ठुर व्यवहारबाट आजित भए पनि आफ्नो विश्वासमा सदा अडिग रहे । राजा महेन्द्रद्वारा जेलबाट दरबार झिकाएर प्रधानमन्त्री पदको प्रलोभनसहित निर्दलीय पञ्चायती व्यवस्थालाई सहयोग पु¥याउन आग्रह गरिँदा, रामराजाले ‘म विकाउको वस्तु होइन, यो मेरो जीवनको लक्ष्य होइन, मेरो र तपाईंको सोचमा ठूलो फरक छ, म सहयोग गर्न सक्दिनँ’ भन्दै उक्त प्रस्ताव ठाडै अस्वीकार गरे र अरू चार वर्ष जेलका चिसा छिँडीमा बिताए ।

जब जेलमुक्त भए, रामराजाले जस्तोलाई तेस्तै भन्ने सिद्धान्त अपनाउँदै सशस्त्र सङ्घर्षको बाटो हिँड्ने निर्णय लिए, जुन निर्णयले २०४२ साल असार ६ गते साकार रूप पायो । सिंहदरबारभित्र र नारायणहिटी दरबारको बाहिर, राजधानीका महत्वपूर्ण स्थलहरू र देशका विभिन्न नगरहरूमा एकै दिन एकैसाथ ‘गणतन्त्रको स्थापना गर’ भन्ने नाराका साथ बम विस्फोटबाट गुञ्जायमान भए । 

बहुदलीय जनवादी मोर्चाका अध्यक्ष रामराजा प्रसाद सिंहले यस घटनाको जिम्मेवारी लिए । फलस्वरूप पञ्चायती सरकारले उनी र बहुदलीय जनवादी मोर्चाका अन्य नेता कार्यकर्ताहरूमाथि राष्ट्रद्रोहको अभियोग लगाउँदै सर्वोच्च अदालतमा मुद्दा चलायो ।

सर्वोच्च अदालतले रामराजा र उनका भाइ लक्ष्मणप्रसाद सिंह तथा अन्य सहयोगी नेताहरू विश्वेश्वर मण्डल र प्रेमबहादुर विश्वकर्मालाई सर्वस्वहरणसहित मृत्युदण्ड सजाय सुनायो । यसै घटनासित सम्बद्ध खेमराज भट्ट मायालुलाई सर्वस्वसहित ३० वर्ष कैद तथा रामराजाका छोरा मनोज कुमार सिंहलाई पनि १० वर्ष कैद सजाय सुनाइयो । तर बहुदलीय जनवादी मोर्चाका नेता कार्यकर्ता भूमिगत भएकाले पञ्चायती सरकारले सर्वश्वहरणबाहेकका सजाय कार्यान्वयन गर्न सकेको थिएन ।     

जनआन्दोलनमार्फत २०४६ सालमा देशमा प्रजातन्त्र पुनस्र्थापना भएपछि गठित अन्तरिम सरकारले बहुदलीय जनवादी मोर्चाका नेता कार्यकर्तामाथि झेल गर्यो, आममाफी दिएन । बहुदलीय जनवादी मोर्चाले चुनाव लड्न पाएन । चुनावबाट गठित सरकारले भने रामराजा र उनका पार्टीका नेता–कार्यकर्तालाई जेनरल एमनेस्टी दियो । यसपछि उनीहरूले भूमिगत जीवन परित्याग गरे तर नेपाललाई राजाविनाको देश बनाउने सोच त्यागेनन् । 

त्यसैबीच, रामराजाको परिकल्पनापथमा अर्को क्रान्तिकारी पुस्ताले जनयुद्धको नाउँबाट क्रान्तिबीउ छर्दै थियो । त्यो जनयुद्धबाट रामराजाको मनमा गणतन्त्र नेपाल स्थापना सङ्कल्प साकार हुने आशाको किरण उत्पन्न हुन थाल्यो । उनी एक पल्ट फेरि राजनीतिक क्षितिजमा सक्रिय हुन थाले । गणतन्त्रका लागि लडिरहेका माओवादीलाई उनले भरपुर सहयोग दिए भने माओवादीले पनि उनलाई आफ्नो अग्रजका रूपमा स्वीकार ग¥यो । 

त्यो सहकार्यपूर्ण सङ्घर्षले देशमा युगान्तकारी परिवर्तन ल्यायो । गणतन्त्र नेपाल स्थापना भयो ।  रामराजाले देश गणतन्त्रमय भएको उपलक्ष्यमा खुशी भएर भनेका थिए– ‘गणतन्त्रको यो यस्तो क्षण हो, जहाँ हजारौँ मृत्यु मर्न पनि मन लाग्छ र हजारौँ जिन्दगी जिउन पनि मन लाग्छ ।’

गणतन्त्रका लागि रामराजाको योगदानको कदर गर्दै माओवादीले उनलाई देशको पहिलो राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवार बनायो । तर राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका कारण, गणतन्त्र नेपालका प्रतीकपुरुष रामराजा राष्ट्रपति निर्वाचित हुन सकेनन् ।  

पराजयको वातावरणमा पनि उनको मनोबलमा कुनै कमी भएन । संविधानसभाले आफ्नो निर्धारित र विस्तारित अवधिमा पनि देशलाई गणतन्त्र संस्थागत गर्ने संविधान दिन नसकेकोमा उनी दुःखी हुन्थे । उनले आफ्नो जीवन कालमा देश गणतन्त्रमय भएको त हेर्न पाए तर गणतान्त्रिक संविधान हेर्न पाएनन् ।

गणतन्त्रको पहिलो सूर्यको न्यानो ताप ताप्न पाएकोमा खुशी मान्ने रामराजाप्रसाद सिंह आज हाम्रा माझ छैनन् । उनको देहावसानमा कृतज्ञ राष्ट्रले १३ तोपको सलामीका बीच राजकीय सम्मानका साथ उनलाई बिदा ग-यो । साथै सरकारले उनलाई मरणोपरान्त ‘राष्ट्र गौरव’को उच्च सम्मानबाट सम्मानित ग-यो । 

गणतन्त्रका लागि उनको त्याग, तपस्या र सङ्घर्षको गाथा इतिहासको पानामा सुनौला अक्षरहरूमा लेखिएका छन् । उनको व्यक्तित्व हिमालयझैँ अग्लो, विशाल र उदात्त तथा चट्टानसरह अडिग थियो । सतत सङ्घर्षले बनेको रामराजाको मौलिक व्यक्तित्व अपराजेय थियो ।    

रामराजा हाम्रा माझ नरहे पनि आज उनको नाउँ नेपाली जनमानसमा एउटा आदर्श नायकका रूपमा विद्यमान छ । हिमाल, पहाड र तराईको भावनात्मक एकताका पक्षमा निर्भयताका साथ खड़ा रहेका रामराजा गणतन्त्र नेपाल रहँदासम्म जिउँदै रहने छन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ