मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

क्रान्तिकारी कमरेडको तीज

बिहीबार, २८ भदौ २०७५, १५ : ५२
बिहीबार, २८ भदौ २०७५

समाजवादको नारा जप्दै गरेको कम्युनिस्ट पार्टीर्की कुनै ‘क्रान्तिकारी’ कमरेड बिहान उठेर श्रीमानको खुट्टा ढोग गर्दै हरेक दिनको क्रान्तिकारी शुरूवात गर्छिन् । 

श्रीमानलाई खुशी पार्दै पूजापाठ सक्दै चिया टक्र्याउछिन् । नजिक पुगेर लाडिदै भन्छिन्, ‘बाबा मलाई यसपालीको तीजमा दोपट्टा साडी, झप्प देखिने अरू दिदी बहिनीको भन्दा ठूलो हारसहित नौगेडी तिलहरी, एउटा हातमा राडोको घडी, अर्को हातमा एकजोडी नयाँ सुनको बाला,  कानमा साडीको जस्तै बुट्टा भएको मात्रै २–३ तोलाको झुम्का, शीरमा चन्द्रमा, ३ वटा आँैठी किनि दिनुपर्ला है ?’
हरितालिका तीज ३ दिन मनाइने गरिन्छ । धर्मग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने बचन दिएका थिए ।

 उक्त बचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको बर शिवजी पाउनको लागि जंगलमा गएर तपस्या गरेकी थिइन् ।

 यसरी तपस्या गरेको १०० वर्ष पूरा भैसक्दा पनि तपस्याको फल नपाएपछि एकदिन उनले मनपरेको बर शिवजीको लिंग बनाएर केहि नखाई निराहार ब्रत बस्न शुरू गरिन् । 

कठोर ब्रत बसेका कारण शिव प्रकट भई चिताएको कुरो पुगोस् भनि आशीर्वाद दिएपछि पार्वती र शिवका विवाह हुन पुगेको भनिन्छ । त्यो दिन भाद्र शुक्ल तृतियाको दिन थियो । 

सोही दिनदेखि एउटी महिलाले रोजेको बर पाएको भन्दै महिलाको जितको खुशीयाली मनाउँदै सम्पूर्ण हिन्दू महिलाले उत्सवको रूपमा मनाउँदै आएका छन् ।

सारमा सामन्तवादको शुरुवातसँगै महिलालाई केही फरक विधिबाट यौनदासी बनाउने सामन्तवादी संस्कृतिको विकास गर्न तीजको शुरुवात र प्रयोग गरियो । महिलाले पुरुषको गोडाको पानी खान पुरुषको आयुको लागि निराहर बस्न, पुरुषको भक्त बन्नुपर्ने जस्तो मान्यतालाई व्यवहारमा प्रयोग गर्ने परम्परा, मान्यता, विचार र संस्कृतिको रुपमा तीजलाई स्थापित गरियो । अन्ततः सामन्तवादको यो चंगुलमा पुरुषभन्दा बढी महिला नै फसे । यहाँसम्म कि लिङ्गको समेत पूजा गर्न लगाएर महिलाको सम्पूर्ण अस्तित्व पुरुषको निगाहको विषय बनाइयो । महिलाको अलग अस्तित्व, महिलाको स्वतन्त्रताको विषयलाई सम्पूर्णरुपमा निषेध गरियो ।

तर आज भोलिको तीज दरबारमार्गको डान्स बार भन्दा कुनै कुराले कम छैन । जहाँ साँझ परेपछि मासु र रक्सी मज्जाले बिक्री हुन्छ । 

पहिले–पहिले धार्मिक हिसाबले महिलाहरू ज्यानको कुनै परवाह नगरी पुरूषको नाममा ब्रत बस्ने गर्दथे । विवाहित महिला श्रीमानको दिर्घायुको कामना गर्दै र अविवाहितले राम्रो बर पाउँ भन्दै कठीन ब्रत बस्थे । तीजको ब्रत बसेको दिनपछि या अन्तिम दिन श्रीपंचमीको दिन नछुने हुँदा अन्जानबस छोइएको पाप पखाल्न या पापबाटमुक्त हुन सबै विधि पुर्याएर पूजा लगाएर मोक्ष प्राप्त गरिने कथा छ ।

कुरा यहाँबाट शुरू हुन्छ 

एकातिर बुझ्ने महिलाले पनि रजस्वला हुदाँ पुरूषहरू छुनुलाई पाप मानेका छन । यसैको निहुमा ब्रत बसेर पाप पखाल्न पूजा लगाउँदै आइरहेका छन् भने अर्कोतिर धेरै कुरा नबुझेर परम्परा या संस्कार मानेर ।
 रजस्वाला महिलाको प्राकृतिक कुरा हो तर धर्मले त्यसलाई बेठीक र पाप भनेर महिलालाई धार्मिकरूपमा ढोंगी बनाउदै मानव भन्दा तल्लो दर्जामा पुर्याएको छ । तर यसको विरुद्ध न भौतिकवादी कम्युनिस्ट पार्टीबाट सांसद, मन्त्री,राष्ट्रपति बनेका महिलाहरू बोल्नेबाला छन् न त पूँजीवादका हिमायती बनेका महिलाहरूनै बोल्नेवाला छन् ।

 बरू गीतकै भाका हालेर ‘ए, शिव पोई पाउँछ भनेर जप्छु तिम्रैनाम’ भन्दै बजार तताउँछन् ।  बौद्धिक या अन्य महिलाहरू पनि आफ्नो प्राकृतिक कुराको बारेमा खुलेर बहस गर्दैनन् ।

 एकातिर समाज र धर्मविरूद्ध बोल्नु पाप सोचेर या अर्कोतिर असल महिलाको पहिचान दिएर सधैं मौन समर्थन गरिरहन्छन् । त्यसैका कारण होला पुरूषहरू पुजिएर शासक बनिरहेका छन् र महिला तिनैको पूजा गर्ने निरिह प्राणीजस्तो बनेका छन् । 

रजस्वला बिना एउटी महिला सन्तान उत्पादनको लागि योग्य हुन सक्दिनन् । यही रजस्वला भएको केही दिनपछि मात्र महिलाको डिम्ब बन्छ र त्यो डिम्ब पुरूषको शुक्रकिटसँग मिलन भई डिम्बबाहिनी नली हुँदै पाठेघरसम्म पुग्छ । त्यो विस्तारै शिशुको रूपमा विकसित हुँदै जान्छ । अब कसरी महिला हुनु पाप या बच्चा विकसित हुने रजस्वला (महिनावारी) को प्रकृया नै पाप हो ? 

हरेक महिला सांस्कृतिक तथा धार्मिकरूपले सचेत हुने प्रयास गर्ने कि धर्मले, सामन्तवादले खडा गरेको मानव बनेर बसिरहने ? यी सबै कुराहरू महिलाको प्राकृतिक विकास विरूद्ध छन् भने करोडौँ महिलाले आफू विरूद्धको तीज कहिलेसम्म चाड या संस्कारको रूपमा मान्ने ?

पहिले पहिले छोरीको विवाह माइतीदेखि टाढा हुने र छोरीहरू अशिक्षित हुने हुँदा श्रीमानको सकस हुन्थ्यो । वर्षभरि काम गरेर थकित भएका महिलाका लागि आराम गर्ने दिन पनि थियो, तीज । उक्त दिनमा पुरूष दाजुभाईले पकाएर खान दिनेचलन थियो  । 

 दिदीबहिनी कामनगरी आराम गर्ने र मिठो मसिनो खाने हुन्थ्यो । तर अहिले केही कुरामा यस्तो रूप देखिँदैन । पुजीवादी बजारले स्वतन्त्र बनाउँदै रमाईलो र चाडबाड मनाउन महिला पुरूष दुबैले १ महिनादेखि पालैपालो साथीभाइकोमा दर खान जाने चलन, परम्परा बनेको छ ।

 पूँजीवादी अर्थतन्त्रको विकास सँगसँगै महिलाहरू पुँजीवादी बजारको राम्रो उपभोक्ता बनेका छन् यसकै कारण शीरदेखि पाउसम्म कृत्रिम विकाउ सामानले सबै अंग भरिएका हुन्छन् । यो पुजीवादीहरूका लागि निकै फाइदाको कुरो हो ।

 अब तपाई आफैँ भन्नुस् तीज किन मान्ने ?

जातीय विभेदका कारण अहिले पनि आफैँले रोजेको श्रीमान् वा जीवन साथी बन्न कठीन छ । रजस्वाला हुँदा छोइएको पाप पखाल्न हो भने सन्तान उत्पादन प्रकृयालाई नै गलत भन्न सक्नुपर्छ ।  आमा बिना सन्तानको विकास खोज्नुपर्छ । केही मित्रहरूले अहिले टेस्ट्युव बेबी हुन्छ त भन्नु भो यो प्रकृयाको मात्रै सम्पूर्ण प्रयोग नै ठिक हो त ? 

सामन्तवादी युगमा महिलालाई धर्मग्रन्थले राम्रोसँग बाँधेर शोषण गरेको थियो भने अहिले पुजीवादको महंगो बजारले प्रचारसँगै महिला सौन्दर्य नै महिलाको पहिचान बनाएर शोषण गरेको छ ।

 तामझामको विवाह जस्तै अहिलेको दर पनि खर्चिलो बनेको छ । गहना र खानपान देखाउन तीज मान्ने हो ? पुजीवादले महिलालाई उपभोक्ता बनाएर उत्पादन गरेका सामानहरू प्रदर्शन गर्दै पुजावादी बजारलाई प्रमोट गरिरहेको जस्तो भान हुन्छ ।

वैचारिक रूपमा मार्क्सवादी दृष्टिकोणले हरेक चाडपर्वलाई उत्पादनमुखी बनाउँदै सामूहिकतामा केही नयाँ कामको थालनी गर्ने अवसरका रुपमा हेरिन्छ । तर, पुजीवादमा सामेल भएका अहिलेका आफूलाई मार्क्सवादी भन्नेहरूसँग यो बहस छैन ।

त्यसैले महिलाहरू विज्ञानमा आधारित मार्क्सवादी विचारवाट हरेक संस्कार, परम्परा, धर्म, समाज र राजनीतिलाई बुझ्नसक्ने नबन्दासम्म आफ्नो अस्तित्व आफैंले बोल्न नसक्ने बन्दैछन् ।

 त्यसैले म भन्छु –धार्मिक रूपमा महिला हुनु नै पाप प्रमाणित गर्दै पूँजीवादी बजारको विज्ञापन गरेर उपभोक्ता बनिदिने हो भने त्यस्तो खालको तीज महिलाहरूले मनाउनै पर्ने कुनै अनिवार्य छैन।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश्वरी सुवेदी
राजेश्वरी सुवेदी

राजेश्वरी सुवेदी राजनीतिक कार्यकर्ता हुन् ।

लेखकबाट थप