बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लघुवित्तको रकम उठाएर फर्किंदै गरेका दुई जना लुटिए

बिहीबार, २८ भदौ २०७५, २० : ३१
बिहीबार, २८ भदौ २०७५

सिरहा । सिरहाको अर्नामा गाउँपालिका–३ बाट लघुवित्त समूहबाट रकम उठाएर फर्किदै गरेका दुई जनालाई नकावधारी समूहले बिहीबार पेस्तोल देखाउँदै करिब चार लाख रुपैयाँ र मोटरसाइकल लुटपाट गरेको छ । 

लघुवित्त समूहको रकम उठाएर फर्किंदै गरेको अवस्थामा सिरहा नगरपालिका–२२, सागरपुर र वडा नं. ९ ठेङहीको बीचमा पर्ने सुनसान ठाउँमा चार जना नकावधारी समूहले पेस्तोल देखाउँदै तीन लाख ९३ हजार रुपैयाँ र मोटरसाइकल लुटपाट गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार लुटेरा समूहले दुई जनालाई कुटपिट गर्दै दुई राउण्ड हवाई फायर गरेर तीन लाख ९३ हजार नगद, सामसुङ् कम्पनीको मोवाइल र स४प ८५३५ नम्बरको कालो रङ्को साइन मोटरसाइकल लुटेर भागेको छ । 

सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वास्थित श्रृजना सामुदायिक विकास केन्द्रको लघुवित्त कार्यक्रम अन्तर्गत अर्नमामा किस्ताको रकम उठाएर फर्किंदै गरेका सिरहा शाखाका फिल्ड सहायक हरेराम पण्डित र कनिष्ठ अधिकृत लाल कुमार सिंहलाई रकम र मोटरसाइकलसहित लुटिएका हुन् । 

लुटेरा समूहको कुटपिटबाट घाइते भएका पण्डित र सिंहको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लुटपाटको घटनाको अनुसन्धान भइरहेको र लुटेरा समूहको खोजी भइरहेको छ । 

नकावधारी लुटेर समूहबाट कुटिएर उपचार गराइरहेका पण्डित सिरहाको धनगढीमाई नगरपालिका–७  कसहा र सिंह सुखीपुर नगरपालिका बलहीका बासिन्दा हुन् । 

श्रृजना सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक बटुक शमशेर श्रेष्ठले घाइते कर्मचारीसँग बुझेर हिसाब गरेपछि मात्र कति रकम लुटिएको हो भन्ने यकिन हुने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप