केन्द्रीय संस्करण

मनोरम मानसरोवरमा भेटिइन् मनमोहिनी

person access_timeभदौ २९, २०७५ chat_bubble_outline0

बाटो शानदार थियो । आकाश उस्तै प्रिय । शब्द नबुझे पनि तिब्बतीयन गीतले मनको कुनाकुनासम्म कम्युनिकेट गरिरहेको थियो । धर्ती छोड्नै नपर्ने आकाशमार्गमा ड्राइभर गाडी गुडाइरहेको थियो । हामी सागाबाट मानसरोवर जाँदै थियौँ ।  

‘यस्तो रोड कहाँ थियो र ! पठारैपठार गाडीका डोब पछ्याएर सयौं किलोमिटर गुड्नुपथ्र्याे । नदीमा पुल थिएनन् । कतै खाद्यान्न बोक्ने ट्रक बिग्रे घन्टौं भोकभोकै बस्नुपथ्र्यो । अहिलेजस्ता होटेलहरू पनि कहाँ हुनु ! तिब्बत फेरिएको छ । सुविधा थपिएका छन् । ती दिन सम्झँदा अहिले त धेरै सजिलो’, विमलजीले भने ।

म विमलजीको ‘त्यो तिब्बत’को कुरा ‘यो तिब्बत’ यात्रामा सुन्दै थिएँ तर उत्साहपूर्वक प्रतिकृया दिइरहेको थिइनँ । सायद त्यसैले उनले मेरो स्वास्थ्य ठीक छैन कि भन्ने ठानेछन् ।

‘अशोकजी सबै ठीकठाक छ नि ?’, त्यति सोधेर उनले आफ्नो सकस सुनाए, ‘मलाई सागामा त्यति सञ्चो भएन । बिहानभर हाईले हान्यो । त्यसैले एक वाक दिएँ । अहिले ठीकै छ । तर, तपाईंले सागालाई मजाले पचाइदिनुभयो । त्यही भएर तपाईंलाई अब समस्या नहोला ।’

गीतजस्तै गाडी झन्डै १ सय २० को गतिमा थियो । तर मलाई हाईले हल्का हानिरहेको मैले उनलाई बताइनँ । एकापट्टि कम्पारा दुख्न थालिसकेको थियो । ‘हाई’लाई पचाए पनि चिसोले पिनासेको थियो मलाई । त्यसको कारण सम्भवतः अघिल्लो साँझ सागामा कल्याणीलाई अस्पताल लैजाँदा मैले लगाएको पातलो ज्याकेट थियो । 

मानसरोबरको इन्ट्री प्वाइन्ट पुगेपछि हामीले रसुवागढी सीमा नाकादेखि हाम्रो ठानेका हायस र ट्रक छोड्यौं । चिनियाँ सरकारले व्यवस्था गरेका स्थानीय नीला दुई ठूला बस चढेर मानसरोवर परिक्रमा सुरु ग¥यौं । मानसरोवर र कैलाश क्षेत्रको वातावरण र संस्कृति संरक्षणका निम्ति त्यस्तो प्रबन्ध गरिएको रे । 

मानसरोवर किनारको स्टेसनमा गाडी चढ्नुअघि बादलभित्रबाट कैलाशको टाउको फुत्त देखियो । अधिकांश यात्रीहरू फटाफट फोटो खिच्न थाले । 

‘हामी कति भाग्यमानी !’, कोही भन्दै थिए ।

‘साक्षात् शिवको दर्शन पाइयो । जीवन धन्य भयो’, कोही भन्दै थिए ।

‘लर्ड शिव, वी आर ब्लेस्ड’, कोही भन्दै थिए ।

यात्रीका अनुहारमा अचम्मको खुशी फुलिरहेको थियो । खुशी किन पनि फुलिरहेको थियो भने सागाबाट अलिकति मात्र अगाडि बढ्दा एकजना यात्रीले स्मार्टफोनले दिएको मौसमी भविष्यवाणी सुनाएका थिए, ‘लगातार तीन दिन मानसरोवर र कैलाश क्षेत्रमा कि त वर्षा हुन्छ कि बादल लाग्छ ।’ त्यसपछि यात्रीका अनुहारमा कैलाश दर्शनबारे आशङ्काका रेखाहरू कुद्न थालेका थिए । तर, एक्कासि थोरै भए पनि कैलाशशिर देख्न पाउँदा सानोतिनो चमत्कारै भएजस्तो भएको थियो ।

बसले हामीलाई बोकेर मानसरोवर परिक्रमा सुरु ग¥यो । सरोवरको किनारैकिनार कच्ची बाटोमा आफू हल्लिँदै र हामीलाई पनि हल्लाउँदै बस कुदिरह्यो । सबैका आँखा कैलाशतिर थियो । घरी बादल अलिअलि फाट्थ्यो । घरी बादलले कैलाशलाई पूरै ढाक्थ्यो । हल्लिरहेको बसका झ्यालबाट हामी धमाधम जुम गर्दै बादलबीचको कैलाश (शिव)को फोटो खिचिरहेका थियौं । शिव महासेलीब्रेटी भएका थिए र हामी उनका डाइहार्ट फ्यान वा त्यसभन्दा पनि बढी । हामीले शिवको फोटो ननस्टप खिचिरह्यौं ।

म गलिसकेको थिएँ । तर कैलाश र मानसरोवरले मलाई ढल्नबाट बचाइरहेको थियो । म झ्यालबाट तिब्बतको छातीमा फैलिएको शान्त मानसरोवर र बादलबीच उभिएको जादुमयी कैलाशको नखरा हेरेर आनन्द लिँदै थिएँ । झन्डै आधा घन्टापछि किनारमा गाडी रोकियो । सबैजनाले मानसरोवरसँग मित लाउन थाले । मानसरोवरको महादर्शन गरे । 

क्षितिजको कैलाशलाई साक्षी राखेर आकाश र आकाशजस्तै मानसरोवर ‘ऊँ नम शिवाय’को ध्वनिले तरङ्गित भयो । पण्डितजीलगायत केही यात्रीले शङ्ख फुके । मैले सानो बोतलमा मानसरोवरको जल भरेँ । बिर्को टाइट गरेर बोतललाई ब्यागमा राखेँ । जलमात्र थिएन, त्यो मेरा लागि सिङ्गो मानसरोवर थियो । नौबिसे नकट्दै जीवेन्द्र दाइको फोन आएको थियो  । 

‘के छ अशोक ? कहाँ छौ ?’ 

‘दाइ ! म नौबिसेनजिक आइपुगेको छु ।’

‘किन ?’

‘तिब्बत जाँदैछु ।’

‘किन ?’

‘मानसरोवर र कैलाश दर्शन गर्न ।’

‘ल शुभयात्रा ! अनि सुन त, मानसरोवरको पवित्र जल ल्याउन नबिर्सनु नि’, त्यति भनेर उनले फोन काटेका थिए । 

खासमा मलाई जीवेन्द्र दाइले किन फोन गरेका थिए, न मैले सोधेँ न त उनले नै भने । मानसरोवरको कुराले मात्र पनि अरू सबै कुरा बिर्साइदिँदो रहेछ भने म त त्यतिबेला मानसरोबर नै पुगेको थिएँ र ब्यागमा मानसरोवर हालिसकेको थिएँ । 

मैले पृथ्वीका धेरै–धेरै कुरा बिर्सें । मैले शरीरको सकसलाई पनि बिर्सें । तर अमूर्त कैलाश आँखैमा थियो । कैलाश र मानसरोवर एकअर्कामा अन्योन्याश्रित रहेछन् ।

बस एक छिनका लागि रोकिए पनि यात्रीहरू मानसरोवरमा मग्न थिए । पवित्रतालाई कायम राख्न हो वा सरसफाइका दृष्टिले हो, त्यहाँ नुहाउन मनाही थियो तर उनीहरू मनले मस्त थिए । मनैले नुहाइरहेका थिए । दुवै बसका ड्राइभरले हर्न बजाइरहेका थिए । तर गाडीमा आउन यात्री तयार थिएनन् । दुवै ड्राइभरले ड्राइभिङ सिटमै बसेर चुरोट तान्न थाले । चुरोट तानुन्जेल यात्रीलाई राहत भयो । उनीहरूले कोरसमा ‘ऊँ नम शिवाय’ भने ।

एक छिनमा सबैजना गाडीमा फर्के । सबैका हात विशेष भएका थिए । ती हातहरू मानसरोवरको जलले भिजेका थिए । त्यसपछि पनि हामी किनारैकिनार मानसरोवरकै चक्कर लगाइरहेका थियौं । बाटो विस्तारै उकालियो । हामी डाँडा पुरानो गुम्बामा पुग्यौं । 

युवा पर्यटन व्यवसायी राजन सिम्खडाले कैलाश मानसरोवरको १७ पटक यात्रा गरिसकेका छन् । उनले आफ्नो पुस्तक ‘हिँडे पुगिन्छ’मा पहिलो पटकको यात्राको संस्मरण गर्दै मानसरोवरको महत्ता यसरी उल्लेख गरेका छन्–  ‘सागाबाट पश्चिमतिर ४५० किलोमिटर छिचोलेपछि समुद्री सतहबाट ४,५९० मिटर उचाइमा रहेको मानसरोवर पुग्यौँ । तिब्बती भाषामा मानसरोवरलाई ‘मापाम यु मच्छो’ भनिँदो रहेछ । मानसरोवरकै किनारमा क्याम्प लगायौँ । मानसरोवरको नीलो विहङ्गम दृश्य देख्दा मन आल्हादित भयो । हिउँदमा त्यहाँको पानी पूरै जमेर मान्छे हिँड्न मिल्ने हुन्छ रे ! हामी वर्षायाममा गएकाले गहिराइअनुसार हरियो, नीलो अर्थात् विभिन्न रङको पानीको सतह देख्यौँ । 

संस्कृत शब्द ‘मानस’ र ‘सरोवर’बाट बनेको मानसरोवरको अर्थ हुन्छ, मनको तलाउ । पौराणिक कथाअनुसार मानसरोवर सबैभन्दा पहिले ब्रह्माको मनमा उत्पन्न भएको हो । सतीदेवीको शरीरको दायाँ हात यहीँ पतन भएको थियो । त्यहाँ पाषणशीला छ, जसलाई शिवशक्तिस्वरूप मानेर पूजा गरिन्छ । 

बौद्ध, जैन र बोनपो धर्मावलम्बीका लागि पनि मानसरोवर र कैलाश पवित्र तीर्थस्थल हो । मानसरोवरको उत्तरमा कैलाश पर्वत र पश्चिममा राक्षस ताल छ । राक्षस तालबाट निःशृत हो, हाम्रो कर्णाली नदी । मानसरोवर र राक्षस तालबीचमा एउटा डाँडोमा आठौँ शताब्दीतिरै निर्मित छिउ (चिउ) गुम्बा रहेछ । किंवदन्तीअनुसार पद्मसम्भव (गुरु रिम्पोछे) ले त्यही गुम्बामा बसेर तन्त्र साधना गरी लद्दाखदेखि तिब्बत र भुटानसम्म बुद्ध धर्म प्रचार गरेका हुन् रे !’

हो, हामी त्यतिबेला ठ्याक्कै छिउ (चिउ) गुम्बा  पुगेका थियौँ, जहाँ याकका सिङ्सहितका थुप्रै खप्परहरू थिए ।  बुद्धिस्ट झन्डाहरू फहराइरहेका थिए । जहाँ ढुङ्गामाथि क्रमशः साना ढुङ्गाहरू खप्ट्याइएका थिए । 

कस्सिएर ढुङ्गा फाले त्यहीँ पुग्लानझैँ लाग्ने हिमशृङ्खला हामीलाई हेरेर हाँसिरहेका थिए । हामीहरूले फटाफट फोटो खिच्यौं । हावा बेस्सरी चलिरहेको थियो तर त्यो हावामा अक्सिजनको मात्रा निकै कम अनुभव हुन्थ्यो । 

त्यहाँबाट पूर्वपट्टि देउतालसमेत भनिने मानसरोवर र पश्चिमपट्टि देखिने राक्षसतालका आआफ्नै विशेषता रहेछन् । विश्वासअनुसार देउताल देव तपस्वीहरूको केन्द्र रहेछ भने राक्षसताल दानव तपस्वीहरूको केन्द्र । मलाई खै किन हो, मनै हर्ने पूर्णचन्द्राकार अर्थात् बाटुलो मानसरोवरको तुलनामा अर्धचन्द्र आकारको राक्षसताल झन् राम्रो लाग्यो ।

मानसरोवरको जल जीवनमैत्री छ रे तर राक्षसतालको पानी जीवनलायक छैन रे । खै कति सत्य हो ? 

राक्षसतालको सबैभन्दा ट्रजेडी चाहिँ बीचबीचका ससाना टापुहरू रहेछन् । चिसो मौसममा तालको पानी हिउँ हुँदै बरफ बनेपछि पठारबाट बरफमाथि हिँड्दै अनेकौँ चारखुट्टे जीव ती टापुमा पुग्छन् रे । घाम लागेपछिको न्यानोले जब तालको बरफ पग्लेर पानी बन्छ तब ती प्राणी फर्कन सक्दैनन् । उनीहरू भोजनविहीन टापुमा भोकले छट्पटिँदै छट्पटिँदै मर्छन् । ती टापुमा थुप्रै अस्थिपञ्जर छन् रे । कस्तो हृदयविदारक ! 

राक्षसताल र देउतालको बीचको त्यो उच्च चौरमा उभिएका हामी जो थियौं, रूपमा मानव थियौँ । तर मैले दुईतिरका ताललाई हामीभित्रको असल र खराब प्रवृत्तिका साझा प्रतीक सम्झेँ । मैले आफैभित्र मानसरोवर पाएँ । मैले आफैभित्र राक्षसताल पाएँ । मनले मनलाई सोध्यो, ‘तिमीमा दानव बढी छ कि देउता ?‘ 

सायद मभित्र दानव नै बढी रहेछ । त्यसैले मैले राक्षसताललाई बढी सुन्दर देखेँ । मैले अतीतका थुप्रै घटना सम्झें, जहाँ म देउता बन्ने कुरा त परै जावस, मानव पनि हुन सकेको थिइनँ । म दानव भएका मेरा अतीतका थुप्रै घटना छन् । म ती घटना यहाँ उल्लेख गर्दिनँ । तर, मलाई मेरा ती सब कर्तुत थाहा छन् । मलाई ती सब बद्मासीहरू थाहा छन् । झुट र नौटङ्की थाहा छन् । 

अनि सुरु भयो फेरि बस यात्रा । 

मानसरोवरकै अर्को कुनामा हामीले रात बिताउनु थियो । गाडी हाम्रो निर्धारित बासस्थानतिर अगाडि बढिरहेको थियो । तिब्बतीयन गीत बजिरहेको थियो । म गीतको सङ्गीतमा रमिरहेको थिएँ । 

पछिल्लो सिटबाट विमलजीले भने, ‘अशोकजी ?’

‘हजुर’, गीतको गतिबाट भत्किएर मैले भनेँ ।

‘चङ्गा हुनुभयो ?’, उनले सोधे ।

‘ठीकै छु’, मैले भनेँ । तर मेरो आवाजमा खासै शक्ति थिएन । मेरो अनुहार पनि ओइलाएको थियो । दुई तालबीच खिचेको सेल्फीमै मैले आफूलाई चमकहीन देखेको थिएँ ।

‘यस्तो उचाइमा ज्यानमा अर्कै खालको तरङ्ग आउनु स्वाभाविक हो’, उनले भने ।

‘हो, लेकले छुँदोरहेछ । अब सहँदै जाने । अभ्यस्त हुँदै जाने । जुन बेला जे समस्या आउँछ, सामना गर्दै जाने हो’, अर्को सहयात्रीले थपे ।  

फराकिलो तालमा सिङ्गो आकाश अटाएको जस्तो देखिन्थ्यो । पानीका ससाना कणहरू वातावरणमा व्यापक थियो । साँझ पर्नुअगाडि नै चिसो चुर्रिसकेको थियो । म मनको न्यानो झन् मजबुत बनाउँदै थिएँ । 

हामी रात काट्ने ठाउँ पुग्यौं । ओर्लनुअघि बसको झ्यालबाट एउटा सानो टाकुरा देखियो । टाकुरामा गुम्बा रहेछ । केही बुद्धिस्ट झन्डाहरू थिए । चराहरू हावामा कावा खाइरहेका थिए । वातावरण बिछट्ट मोहक थियो । त्यसैबीच साह्रै मोहक देखिएको एउटा थुम्कोलाई मैले बसको झ्यालसमेत आउने गरी फोटो खिचें । त्यसको फेदमा मानसरोवर थियो । त्यहीँ थियो, एउटा ठूलो कम्पाउन्ड । कम्पाउन्डभित्र दर्जनौं कोठासहितको भुइँतले धर्मशालाजस्तो होटल वा होटलजस्तो धर्मशाला थियो । त्यो एकनाले थियो । त्यहाँ मैले कुनै ट्वाइलेट वा बाथरुम देखिनँ । 

‘ऊ त्यहाँ, कम्पाउन्ड बाहिरपट्टि एउटा ट्वाइलेट त छ । तर त्यहाँ गयो भने तलबाट होइन, माथिबाट चाहिँ आउँछ’, तिब्बतीयन गाइडले भन्यो ।

ओपन ट्वाइलेटको प्रचलन जारी रहेछ । सामुन्नेका मरुभूमिजस्ता पहाडहरूमा सुकेका ‘ह्युमन सिट्’ यत्रतत्र देखिन्थे । पवित्र मानसरोवर वरपर जताततै ‘ह्युमन सिट्’ । 

पवित्र मानसरोवरको शुद्धतामा ‘सिट्’ !

पवित्रतामाथि ‘सिट् एट्याक’ । उफ् !  

अघिल्लो दिनदेखि नै कब्जियतले सताएको मलाई त्यो दिन पनि कब्जियत कन्टिन्यु गर्नुको विकल्प भएन । भोलिपल्ट साँझ दार्चेन पुगेपछि मात्र मैले पेट बिसाएँ । तर त्यहाँ पनि होटलमा कमन ट्वाइलेट प्रयोग गर्न जाँदा नेपाली स्टाइलकै ट्वाइलेटहरू लहरै थिए । तर कुनैमा पनि पानीको व्यवस्था थिएन । खुट्टाले थिचेर फ्लस् गर्ने व्यवस्था मात्र रहेछ । त्यहाँ न धारा न त पानी हाल्ने कुनै बोतल वा भाँडा नै थियो । 

३ वटा ट्वाइलेट लगातार हेरें । धन्न ! संयोगले एउटामा खाली मिनरल वाटरको बोतल भेटें । हात धुने धारा भएको ठाउँमा गएर पानी भरेँ र मजाले केरुङदेखिको कब्जियत फालिदिएँ ।

कब्जियत फ्री भएपछि क्या मजा !

मानसरोवर किनारको होटलमा बसेको साँझ, हामी बसेको होटलभन्दा अलिपरको होटलमा तिब्बतीयन गाइड र ड्राइभरहरू बियर खाँदैरहेछन् । हामीलाई पनि कम्पनीमा सरिक हुन भने । हामीले तिब्बतीयन चिया मात्र पियौं तर कुन स्वादको थियो भन्ने मैले छुट्याउन सकिनँ ।

छेउको खाली सोफाको एक छेउमा मैले ब्याकप्याक राखेको थिएँ । त्यो सोफामा दुई चाइनिज केटा र दुई केटी आए । बसेँ । मैले मेरो ब्याकप्याक त्यहाँबाट तान्दै थिएँ । 

‘नो । नो । इट्स ओके’, उनीहरू भन्दै थिए ।

मैले पनि तिनै वाक्य भन्दै आफ्नो ब्याकप्याक आफैतिर सारेँ ।

एक निमेषको मेरो मुस्कान बोनसको रूपमा उनीहरूले पाए र मैले उनीहरूबाट ।

कुरा त्यतिमै सकिएन । मुस्कानले अर्कै मोड लिनेवाला रहेछ । मलाई त्यसको कुनै भेउ थिएन । 

एक छिनमा चार चिनियाँमध्ये तीनजना कता लागेछन् कुन्नि ! एउटीचाहिँ चुल्होनजिक उभिएर आफैलाई तताउँदै थिई । साथीहरूले के कुरा गरेछन् कुन्नि ! ऊ त हाम्रो किचेनमा नेपाली खाना टेस्ट गर्न सँगै आउने भइसकिछ ! 

अँध्यारोमा मानसरोवर पूरै हराएको थियो । मोबाइलको लाइट बालेर नेपाली किचेन पुग्दा बिजुलीको झिलिमिली थियो । पाहुना बनेर आएकी बाटुलीको अनुहार त्योभन्दा पनि चम्किलो । रातो ज्याकेट लगाएकी बाटुली क्या खुलेकी थिई ।

बाटुलीसँग केटाहरू तँछाडमछाड गर्दै गफिइरहेका थिए । म पनि के कम !

‘तिम्रो नाम के हो ?’, मैले सोधें । 

‘यू क्यान कल मी जस्मिन । इट इज माई इङ्ग्लिस नेम’, उसले त्यसपछि आफ्नो वास्तविक नाम पनि बताई ।

युनिभर्सिटीकी विद्यार्थी रहिछे । उसका तीन साथीसहित हुनान प्रान्तबाट पहिलो पटक मानसरोवर आएकी रे । लामो दूरीको यो यात्रामा ऊ ड्राइभर बनेकी रहिछ । 

उसले स्वाद लिई लिई नेपाली खाना खान थाली ।  खानाको तारिफ गरी र त्यो रातलाई जीवनमा कहिल्यै नर्विसने बताई । 

उसले नेपाली व्यन्जन खाइरहँदा म भने पातलो जाउलो पिइरहेको थिएँ ।

‘तिमीहरू सबैलाई म भुल्ने छैन । यु अल आर भेरी स्पेसल टु मी’, आफ्ना चिम्सा आँखालाई सकेसम्म ठूलो पारेर त्यति भन्दै थालमा आधा बाँकी रहेको परिकारको फोटो खिची । मैले उसले खाइरहेको खानासहितको उसको फोटो खिचेँ ।

‘आई ट्राइड माई बेस्ट बट्... ’, उसले खाना खाइसक्न प्रयास गरेको तर नसकेकोमा क्षमा प्रार्थना गरी ।

‘यु क्यान लिभ’, हामीले भन्यौँ । 

‘सरी ! सरी !’ भन्दै ऊ  खाना सकाउने प्रयास गर्दै थिई ।

‘आर यू म्यारिड ?’, खाना मुखमै राखेर हामीमध्ये एकजनालाई उसले एक्कासि सोधी ।

यो पनि पढ्नुहोस्

सागामा कल्याणीलाई हाइले हान्यो

केरुङमा 'राष्ट्रपति सी' सँग सेल्फी

सीमानामा देश दुख्दा

पासपोर्ट हराउँदाको पिरलो

ल्हासासँग मोहनी थियो तर बोलाई डोल्मालाले

 

‘नो । आई एम नट म्यारिड एन्ड आई एम सर्चिङ अ ब्युटिफुल गर्ल’, उसले भन्यो । खासमा उसको जस्मिनजत्रै छोरी काठमाडौंमा थिई । 

त्यहाँबाट हिँड्नुअघि उसले सबैसँग फोटो खिच्ने प्रस्ताव गरी । 

‘त्यो त ठीक छ तर तिमीले एक जनासँग एउटा छुट्टै फोटो पनि खिच्नुपर्छ । यू ह्याभ टु चुज वान एमोङ अस्’, मैले रोमान्टिक अत्तो थापेँ । 

उसले भनी, ‘इट इज भेरी डिफिकल्ट टु चुज वान एमोङ यू अल । यू अल आर इक्वेल्ली गुड ।’ 

‘यस, इट इज डिफिकल्ट बट यू ह्याभ टु डु दिस टास्क’, मैले अड्डी कसेँ ।

ऊ अलमलमा परेझैँ भई ।

‘त्यसो भए म तिमीलाई सजिलो पारिदिन्छु । आऊ । यहाँ आऊ । मनिर आऊ’, मैले भनेँ । 

अस्तव्यस्त अस्थायी किचेनमा भाँडाकुँडा नाघ्दै हतारिएर ऊ मनिर आई । मैले सेल्फी खिचेँ । उसले पनि खिची । टल्किएको गालासहितको बाटुलो अनुहारमा उसका चम्किला चिम्सा आँखा निकै आकर्षक थिए । 
केही मिनेटको दूरीमा उसको होटल थियो । फर्कंदा उसले मोबाइलको लाइट बाली । हामी दुवै त्यही लाइटलाई पछ्याउँदै थियौं । 

एक्कासि आकाश गर्जियो । एक निमेष धर्ती र आकाश दुवै उज्यालो भयो । ऊ मसँगै पूरै टास्सिई । 

‘डु यु ह्याभ गर्लफ्रेन्ड ?’, निमेषको उज्यालोबीच उसले सोधी । 

‘यस्’, मैले भनें । 

‘ह्वाई नट हियर ?’, उसले फेरि प्रश्न गरी ।

‘बिकज, इट इज हाई ल्यान्ड । इट इज डिफिकल्ट टु हर एन्ड सी इज बिजी’, मैले कारण बताइदिएँ । 

अलिअघि उसले ब्वाइफ्रेन्ड छ भनेकी थिई । अँध्यारोमा उसले कुरा बदली, ‘...तर, अहिले ब्रेकअप भइसक्यो ।’ 

त्यसपछि मैले पनि भनिदिएँ, ‘केस मेरो पनि त्यस्तै हो ।’ 

‘नट जोकिङ । आई एम सिरियस’, उसले भनी ।

उसकी साथीले उसलाई पटक पटक फोन गरिरहेकी थिई । ऊ फोन काट्दै गफिँदै थिई । 

विस्तारै अडिँदै हिँड्दै हामी उसको होटल पुग्यौं । साथी बाहिरै उसलाई कुरिरहेकी रहिछ । शुभरात्री भन्दै म फर्कें ।

मलाई निकै सञ्चो भइसकेको थियो । तर ऊ गएपछि अलि अघिसम्मको विसञ्चो फेरि बल्झेर आयो । रातभरी कोल्टे फेर्दा हैरान ! आँखाभरी आइरहेको थिए, उसका चम्किला आँखा । 

भोलिपल्ट बिहान । मानसरोवर किनार टहलिँदै थिएँ, बिहानीका गीत गाइरहेका चराहरू हेर्दै । मेरो अगाडि ठिमिक्क आइपुगी उही रातो ज्याकेट लगाएकी बाटुली । 

‘गुड मर्निङ डियर जस्मिन ! नाउ मानसरोवर इज रियल्ली ब्युटीफुल’, मैले ग्रिट गरेँ । 

‘किन ?’, सामान्य तरिकाले उसले सोधी ।

‘किनकि तिमी फेरि भेटियौँ’, मैले भनेँ ।

‘यु आर मेकिङ मी साई’, लजाएको अनुहारमा उसले भनी । 

‘आई लभ योर साइनेस’, मैले थपेँ ।

‘यू आर मेकिङ मी मच साई । हामीकहाँ प्रेमका कुरा यति सजिलै भनिदैन’, उसले भनी ।

‘हिजो तिमीलाई मैले हामीमध्ये एकलाई छान भन्दा कस्तो लागेको थियो ?’, मैले सोधेँ ।

‘भेरी डिफिकल्ट । इन फ्याक्ट द्याट वाज नट डिफिकल्ट टु चुज बट डिफिकल्ट टु से । म तिमीलाई नै प्वाइन्ट गर्न चाहन्थेँ । तिम्रा साथीहरूका अगाडि ‘तिमी’ भन्न मलाई निकै गाह्रो भएको  थियो । तर मैले मनमनै तिमीलाई नै चुज गरेकी थिएँ’, उसले शिष्टाचारका लागि भनेकी पनि हुनसक्थ्यो ।  

‘साँच्चै ?’, मैले आश्वस्त हुन खोजेँ ।

घाँटीको घण्टी समाउँदै उसले भनी, ‘यस् ।’

‘त्यसो भए आऊ । मसँग आऊ’, मानसरोवरसरी अँगालो फैलाउँदै मैले भनेँ । सुन्दर बिहानीको शान्त मानसरोवर किनारमा हामी केहीबेर चुपचाप एक अर्काका प्रेमी बन्यौं ।
सायद मानसरोवरले हामीलाई एक क्षणका लागि दिएको उपहार थियो त्यो । 

बाटुलीलाई निपोअर (नेपाल) बारे अलिकति अनि च्यादमान्दु (काठमाडौं) र पोकाला (पोखरा) बारे थोरै थाहा रहेछ ।

हुनान, जहाँ ऊ बस्छे, केवल २ सय मिटर मात्रको उचाइ छ रे । ऊ एक्ली छोरी । बाबा बैङ्कमा काम गर्छन् । आमा हाउसवाइफ । ऊ मेनेजमेन्टकी विद्यार्थी । थप उच्च अध्ययन गर्न इङ्ग्ल्यान्ड वा अस्ट्रेलिया जाने सोच छ रे । तर त्यहाँ जानुअघि एक पटक नेपाल आउने रहर गरी उसले र हुनान आए सम्पर्क गर्न विच्याट लिन आग्रह गरी । मसँग विच्याट नभएकाले उसले आफ्नो नम्बर दिई ।

र भनी, ‘हाम्रो बाबाआमाको पालामा एक सन्तानको नियम थियो । तर म कम्तीमा दुईटा बच्चा चाहन्छु । एउटा बच्चालाई अर्को बच्चा साथी हुन्छ ।’

छुट्टिनुअघि मानसरोवरलाई पृष्ठभूमि पारेर ती बटुलीसँग मैले फेरि सेल्फी खिचेँ । मनै हर्ने मानसरोवर सरहकी उसले चोर आँैला र माझी औँला ठड्याएर भिक्ट्री साइन दिई ।


 

अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ