बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडामा रहेका नेपालीहरुमा व्यवसायप्रतिको आकर्षण बढ्दै

बिहीबार, ०५ साउन २०७४, १० : ५०
बिहीबार, ०५ साउन २०७४

क्यालगरिका नेपालीहरु व्यवसाय प्रति आकर्षित हुन थालेका छन । रोजगारीलाई नै पहिलो प्राथमिकतामा पार्दै आएका यहाँ स्थित नेपालीहरुले धमाधम व्यवसायमा  लगानी गर्न थालेसँगै नेपालीहरुको पहिचान पनि फेरिन थालेको छ  ।  यहाँ फास्टफुड तथा रेष्टरेन्ट, चाइल्ड केयर प्रोभाइडर, रियल्टर, इन्स्युरेन्स अभिकर्ता, होम इन्सपेक्सन, इमिग्रेसन कन्सल्टेन्सी, होम रिनोभेसनलगायतका क्षेत्रमा नेपालीहरुको लगानी बढ्दै गइरहेको छ  ।

नेपालीहरुको लगानीमा यहाँ सञ्चालित अम्बिका होम इन्स्पेक्सन, जुन इमिग्रेसन सर्भिसेस, हिमालयन रेष्टुरेन्ट ग्रिनचिल्ली साउथइस्ट, माउण्ट एभरेष्ट नेपाली रेष्टुरेन्ट, पाथवेज बर्गर एण्ड मःम, हिमालयन टेष्ट, ग्रिनचिल्ली साउथवेस्टलगायत दर्जन भन्दा बढीले आफना सेवा दिइरहेका छन्  । त्यस्तै इन्स्युरेन्स, चाइल्डकेयर, रियल्टर व्यवसायीको रुपमा पनि सेवा दिइरहेका छन् ।

अम्बिका होम इन्सपेक्सनका संचालक धन गिरीका अनुसार नेपाली लगानीमा संञ्चालित व्यवसायहरु संख्यात्मक रुपमा मात्र वृद्धि नभई मार्केटमा क्वालिटी सेवा दिन पनि सक्षम रहेका छन् ।  उनी क्यानेडियन एशोसियन अफ होम एण्ड प्रोपर्टी इन्स्पेक्टर (क्याथी) क्यालगरीको सर्टिफाइड सदस्य भएकाले  गुणस्तर नै आफनो पहिलो प्राथमिकता रहेको दाबी गर्छन् ।

त्यसो त क्यालगरिमा फास्टफुड तथा रेष्टरेन्ट व्यवसायमा लगानी गर्नेको संख्या सबैभन्दा बढी छ । नेपालीहरुले लगानी गरेका भारतीय तथा नेपाली परिकार पाइने आधा दर्जन भन्दा बढी रेष्टुरेन्टहरु छन् । नेपाली लगानीमा सञ्चालित हिमालयन रेष्टुरेन्ट साउथवेस्ट, ग्रिनचिल्ली साउथवेस्ट, ग्रिनचिल्ली साउथइस्टले केही वर्षदेखि आफ्ना सेवाहरु प्रदान गर्दै आइरहेका थिए । माउन्ट एभरेष्ट नेपाली रेष्टुरेन्ट, पाथवे बर्गर एण्ड मःम हुँदै हिमालयन टेस्टलगायतले पनि आफ्ना सेवाहरु दिन थालिसकेका छन् । केही सर्भिस दिने प्रक्रियामा रहेका छन् ।

माउण्ट एभरेष्ट नेपाली रेष्टुरेण्टका संचालक विष्णु बस्यालका अनुसार यहाँका अधिकांस नेपाली रेष्टुरेष्टहरु साझेदारी लगानी अन्तर्गत संचालित छन् । उनी साझेदारी प्रक्रियाबाट लगानीका लागि मात्र होइन २– ३ जनाको क्षमता एकीकृत गर्नाले व्यवस्थापन गर्नसमेत सजिलो हुने बताउँछन् । सोही रेष्टुरेन्टका अर्का संचालक मोहन आचार्यले भने, ‘एक पटक नेपाल गइसकेकोहरु नेपाली नाम सुनेकै भरमा आफना आफन्त साथीभाईहरु लिएर हाम्रो परिकारको स्वाद लिन आउने गरेका छन । यस्तो हुँदा निकै गर्व लाग्दो रहेछ ।’

यसरी नेपालीहरुको लगानीमा संचालित अधिकांस रेष्टुरेण्टहरुले इन्डियन तथा नेपाली स्वादका परिकारहरुको सर्भिस गर्ने गरेका छन् । नेपाली स्वादका परिकारहरुको अर्डर गर्ने ७० देखि ८० प्रतिशत ग्राहक भने नेपालीइतरका हुने गरेको साउथइस्टमा सञ्चालित ग्रिनचिल्ली रेष्टुरेन्टका संचालक छवि अर्याल बताउँछन् । रेष्टुरेन्ट क्षेत्रमा दक्षता भएका नेपालीहरुको संख्या बढी भएको र लगानी पनि अरु व्यवसायको तुलनामा कम लाग्ने हुनाले यस क्षेत्रमा नेपालीहरु  बढी आकर्षित भएको उनको अनुमान छ ।

क्यालगरिका सबै भन्दा बढी नेपालीहरुको बस्ती रहेको नर्थइस्टमा संचालित पाथवे बर्गर एण्ड मःमका संचालक नारायण दाहालले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली स्वादका परिकारहरु लोकप्रिय बन्दै गइरहेको र आफूले मःम तथा चाउमिनको सर्भिस गर्न पाउँदा गर्व लागेको बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप