बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रश्न : निर्मला हत्याको दोषी पत्ता लगाउन कति वर्ष लाग्छ ? गृहमन्त्रीको जवाफ : समय तोक्न मिल्दैन

शुक्रबार, २९ भदौ २०७५, १४ : ५०
शुक्रबार, २९ भदौ २०७५

काठमाडौं– सरकारले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या लगायत मुलुकको शान्ति सुरक्षाका बारेमा संघीय संसदलाई जानकारी गराएको छ । सो क्रममा गृहमन्त्री रामबहादुर थापाले पछिल्लो ६ महिनामा मुलुकको शान्ति सुरक्षा सुध्रिएको जवाफ दिएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारका तर्फबाट जवाफ दिँदै गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धान, विभिन्न स्थानमा भएका अन्य हत्याका घटना, खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिनुपरेको कारण, रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्या तथा बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा पुगेको क्षति लगायत बारेमा संघीय संसदका दुवै सदनलाई जानकारी गराएका हुन् । 

सवै किसिमका अपराधी कानुनको कठघरामा 

‘सबै किसिमका अपराधमा संलग्नलाई कानुनको कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको छ । पन्तको घटनाबारे पनि सरकार गम्भीर रहेको छ । अनुसन्धान जारी छ । भविश्यमा पनि अपराधीहरुलाई कानुनको कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको कुरा गृहमन्त्रीको हैसियतले सदनलाई आश्वस्त तुल्याउन चाहान्छु’ गृहमन्त्रीले जावफ दिए । 

उनले मुलुकमा शान्ति सुरक्षा र स्थिरता कायम गर्न सबै किसिमका अपराध नियन्त्रण गरि जनतालाई सुरक्षाको प्रत्याभुत गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

निर्मला पन्त हत्याको अनुसन्धान अन्तिम चरणमा 
गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्याको सम्बन्धमा अनुसन्धान अन्तिम चरणमा पुगेको बताए । गृहमन्त्रालयले भदौ ७ को बैठकको निर्णयअनुसार उच्चस्तरीय छानविन समिति गठन गरेको र सो समितिले अध्ययन गरिरहेको भन्दै घटनाको छानविन तथा विस्तृत अनुसन्धान जारी रहेकाले अरु थप बताउन नमिल्ने बताए ।

‘अनुसन्धानको सम्बन्धमा कहिँकतै लापरवाही र गल्ती भएको पाइए उनीहरुमाथि पनि कारवाही हुने प्रतिबद्धता जनाउँछु’ गृहमन्त्रीको भनाई छ । 

केसीको राजीनामा थिएन 
गृहमन्त्रीले घटना छानविन समितिका एक सदस्यले राजीनामा दिएको विषयमा सत्यता नभएको दाबी पनि गरे ।

उनले सुरक्षाको दृष्टिकोणबाट अलग भएको भनि राजिनामा दिएको भनिएपनि सरकारले छानविन समितिका सदस्यको सुरक्षाको प्रत्याभूति गराउने आश्वासन पछि ती सदस्य (विरेन्द्र केसी ) पुनः काममा फर्किएको जानकारी दिए । 

यादवको हिरासतमा मृत्यु प्रकरण
गृहमन्त्री थापाले बर्दियाका राममनोहर यादव अनुसन्धानका क्रममा प्रहरी हिरासतमै राखिएका बेला एक्कासी विरामी भएका र उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जानकारी दिए । ‘मेडिकल रिपोर्टले यादवको मृत्यु यातनाबाट नभई रोगको कारण भएको देखाएको छ’ गृहमन्त्री यादवले भने ।

जिसी प्रकरण 
बाग्लुङ्ग जिल्ला ढोरपाटन नगरपालिका १ का संगिन जिसीको मृत्यु हत्या नभई आत्महत्या भएको प्रारम्भिक मेडिकल रिपोर्ट आएको पनि गृहमन्त्रीले बताए । जिसी काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित स्वयम्भु पछाडिको जंगलमा क्षतविक्षत अवस्थामा मृत फेला परेका थिए ।

तरुण दल अध्यक्षको हत्या
गृहमन्त्रीले तरुण दलका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यामा संलग्नलाई नियन्त्रणमा लिइएको भन्दै सुलीचौरस्थित एक रेष्टुरेण्टमा दुई समुहबीच आपसी विवाद पछि देबबहादुर घर्तीमगरले चलाएको पेस्तोलबाट एक राउण्ड गोली प्रहार गर्दा रोहित घाइते भएको र उनको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

उनले घटनामा संलग्न देवबहादुर घर्ती मगरसहित केहीलाई पेस्तोल एक थान र गोली एक राउण्डसहित नियन्त्रणमा लिएको तथा थप अनुसन्धान र कारावाही प्रक्रिया अघि बढेको जनाए । 

पत्रकार राजु बस्नेत पक्राउ प्रकरण

गृहमन्त्री थापाले खोज तलास डट कम र खोज तलास साप्ताहिकका अध्यक्ष एवं प्रधान सम्पादक राजु बस्नेतमाथि काठमाडौं जिल्ला अदालतमा अभियोगपत्रसहित मुद्धा दायर गरिएको जानकारी दिए ।

‘बस्नेतले जनप्रतिनिधि कि जग्गा दलाल भन्ने शीर्षक राखी भदौ २१ गते  सांसद पम्फा भुसाल र ललितपुर प्रदेश नम्बर ३, १ का सांसद राजकाजी श्रेष्ठको समेत फोटो राखेर अपमान एवं हैरानी हुनेगरि समाचार प्रकाशित गरेकाले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ र ४९ हदै सम्मको कारवाही गरि पाउँ भनि सुशील खनालले भदौ २२ गते गरेको जाहेरी अनुसार कारवाही प्रक्रिया अघि बढाइएको छ ।’ मन्त्री थापाले बताए । 

पूर्वराजदूत हत्या प्रकरण र अन्य

गृहमन्त्री थापाले राजधानीको बबरमहलमा पूर्वराजदुत केशब झाको हत्या, मोरङ्ग जिल्लाको लेटाङ्गमा विद्यालयको पानी ट्यांकीमा विषादी मिसाएको, सांसद निरुदेवी पालमाथि भएको आक्रमण लगायतका घटनाको प्रहरी अनुसन्धान र कारवाही भइरहेको जानकारी गराए । प्राकृतिक प्रकोपबाट भएको क्षतिबारे पनि उनले सदनलाई जानकारी गराए ।

कुन सांसदले के प्रश्न गरे ?

गृहमन्त्रीको जवाफमा केन्द्रीत रहेर सांसदहरुले पुनः प्रश्न गरेका थिए ।

सांसद गगनकुमार थापाले प्रहरीले निर्मला पन्तको हत्याका सम्बन्धमा बबिता बम र रोशनी बमलाई सोधपुछ गर्न साथमा लिएको अवस्थामा जनतासँग प्रधानमन्त्री कार्यक्रममा निश्पक्ष छानविनलाई प्रभावित पार्ने गरी प्रधानमन्त्रीले बम दिदीबहिनीका बारेमा अभिव्यक्ति दिएको भन्दै त्यसबारे प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो भनि गृहमन्त्रीलाई प्रश्न गरे ।

सांसद अमरेशकुमार सिंहले उच्चस्तरीय छानविन समितिका सदस्य विरेन्द्र केसीले शक्तिशाली अपराधिबाट जुनसुकै बेला पनि आफ्नो हत्या हुनसक्ने बताएकाले त्यसबारे गृहमन्त्रीको जवाफ  माग गरे ।

सांसद भरतकुमार शाहले छानविन समितिको प्रतिवेदनको विश्वसनियताको आधार दिन माग गरे । त्यसैगरी पत्रकार खोजतलास पत्रिकाका बस्नेतमाथि लगाईको आरोपमाथि छानविन भएको छकि छैन भनी प्रश्न गरे ।

सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीले गोलमोटल जवाफ दिएको भन्दै छानविन समितिका सदस्य विरेन्द्र केसीलाई राजीनामा दिन बाध्य बनाउने शक्तिका बारेमा जानकारी गराउन माग गरे ।

सांसद रंगमति शाहीले  निर्मला हत्या प्रकरण पत्ता लगाउन कति बर्ष लाग्छ ? भनी प्रश्न गरिन् ।  सांसद विन्दा पाण्डेले रौतहटमा जनप्रतिनिधिनै हिंसात्मक गतिविधिको मेलमिलाप गराउन लागेको भन्नेबारे गृहप्रशासनले के कारवाही गरेको छ भनी जवाफ माग गरिन् । 

सांसद राजेन्द्र लिङ्गदेनले निर्मला पन्तको हत्या प्रकरणमा सुरुमै अनुसन्धानमा संग्लन भएकालाई नै खास अभियुक्त थाहा भएको भन्दै गलत मान्छेलाई अभियुक्तको रुपमा पेश गर्नेमाथि नै अनुसन्धान प्रारम्भ गर्नुपर्ने माग गरे । ‘प्रारम्भिक अनुसन्धान अधिकारीमाथि नै अनुसन्धान गरियोस्’ सांसद लिङदेनको माग थियो ।

सांसद पार्वती डिसी चौधरीले सरकारले निर्मला पन्तको हत्या प्रकरणमा जनतालाई सत्य तथ्य सार्वजनिक गर्नुभन्दा पनि नाटक देखाउने काम मात्रै गरेको बताइन् । सांसद बालकृष्ण खाँडले निर्मला पन्तको हत्या प्रकरणका दोषीलाई उन्मुक्ति दिने र ढाकछोप गर्ने क्रियाकलाप सरकारबाट भइरहेको भन्दै छानविन समितिका सदस्यलाई धम्की दिनेलाई सार्वजनिक गर्न माग गरे ।

सांसद सुजाता परियारले गृहमन्त्रीको जवाफबाट निर्मला पन्तका हत्यारालाई कानुनी कारवाही हुनेमा विश्वस्त हुन नसकिएको भन्दै हत्यारा कहिलेसम्म पत्ता लाग्छ ? भनी प्रश्न गरिन् ।

सांसद दिलेन्द्रप्रसाद बडुले छानविन समितिका सदस्य विरेन्द्र केसीले पीडितले न्याय पाउने सम्भावना नदेखको र आफुलाई शक्तिशाली केन्द्रबाट धम्की आएको बताएकाले घटना छानबिन गर्न सजिलो बनाएको धारणा राख्दै त्यसबाट अनुसन्धान अघि बढाउन सुझाव दिए । 

सांसद सितादेवी यादवले गृहमन्त्रीको जवाफ सन्तोषजनक नभएको टिप्पणी गरिन् । महोत्तरीमा ८ महिने बालिकाको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई सरकारले अहिलेसम्म खोजी गर्न नसकेको भन्दै सत्यतथ्य बाहिर ल्याउन गृहमन्त्रीलाई आग्रह गरिन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिले छानविनमा असर पर्दैन 
सांसदहरुको प्रश्नको उत्तरमा गृहमन्त्री थापाले प्रधानमन्त्रीले नै हत्या प्रकरणको छिटो परिणामसम्म पुर्याउन निर्देशन दिएकाले प्रधानमन्त्रीको अभिव्यक्तिले छानबिनमा असर नपुर्याउने दाबी गरे । 

छानविन समितिका सदस्यलाई धम्की दिने शक्तिशाली व्यक्तिका बारेमा गृहमन्त्रीले भने ‘छानबिन गर्ने क्रममा एकजना शक्तिशाली देखिने ठूलै जीउ डालको मान्छे बाईकमा आएको र उनले तपाईले जे छानविन गर्दै हुनुहुन्छ । त्यो राम्रै गर्दै हुनुहुन्छ । तर यस्ता छानविन धेरै भए र ती छानविन गर्नेहरुलाई गाडीमाथि लगाएर तिनीहरुको हत्या हुने गरेको पनि तपाईले सम्झिनुहोला भनेर भनेरे, त्यसैले उहाँको शक्तिशाली मान्छेचाहीँ त्यही हुनुपर्छ । नामचाहीँ मलाई थाहा छैन ।’

गृहमन्त्री थापाले पन्त हत्याको घटनाबारे छानविन भइरहेकाले छिट्टै त्यसको परिणाम आउने आश्वासन पनि दिए ।

संसदीय छानविन गर्ने प्रतिबद्धता
बर्दियाका राममनोहर यादवको मृत्युबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै राजपाका सांसदहरुले उभिएर विरोध गरेपछि सभामुखले सो घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्ने प्रतिबद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप