शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साउदी अरब र रुसलाई उछिनेर अमेरिका बन्यो सबैभन्दा ठूलो पेट्रोल उत्पादक राष्ट्र

शुक्रबार, २९ भदौ २०७५, १७ : ५०
शुक्रबार, २९ भदौ २०७५

एपी– अनुमान गरिएभन्दा अघि अमेरिका विश्वको सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र बनेको छ । बुधबार युएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनले जारी गरेको प्रारम्भिक अनुमानमा जुन र अगस्ट महिनामा अमेरिकाले तेल उत्पादनमा पहिलो स्थानको रसियालाई उछिनेको देखिएको छ । 

यही वर्षको प्रारम्भमा अमेरिकाले साउदी अरबलाई उछिनेर दोस्रो सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र भएको थियो ।  यदि त्यो आँकलन सही निश्किएमा सन् १९७३ यता अमेरिका पहिलोपटक विश्वमा तेल उत्पादनमा शीर्ष राष्ट्र हुनेछन् । 

यसअघि इनर्जी इन्फरमेसन एड्मिनिस्ट्रेशन र इन्टरनेशनल इनर्जी एजेन्सीले अमेरिकाले सन् २०१९ भन्दा अघि साउदी अरब र रुसलाई तेल उत्पादनमा उछिन्न नसक्ने अनुमान गरेको थियो । 

फ्रयाक्चरिङ  पनि भनिने हाइड्रोलिक फ्रयाक्चरिङ प्रविधिको कारण अमेरिकाको तेल उत्पादन पछिल्ला वर्षहरुमा उलेख्य मात्रमा बृद्धि भएको छ । यस प्रविधिमा रसायन,बालुवा,पानी तथा उच्च दबाबको प्रयोग गेर अत्यन्त गहिरो स्थानमा रहेको चट्टानमा चिरा पारेर धेरै तेल र प्राकृतिक ग्यास उत्सर्जित गरिन्छ । 

फ्रयाक्चरिङ  प्रविधिमा भएको सुधारपछि अमेरिकाको टेक्सास र न्यू मेक्सिको राज्य तेल रहेको परमिन बेसिनमा अहिले ड्रिलमा उलेख्य वृद्धि भएको छ ।  तथापि यो विधि विवादित रहेको छ । आलोचकहरुले फ्रयाक्चरिङ्ले भूमिगत पानीको स्रोत विशाक्त बनाएको र आक्लोहोमा र टेक्सास क्षेत्रमा भूकम्पको सङ्ख्या बढाएको आरोप लगाएका छन् । 

युएस.इनर्जी एजेन्सीले अगस्टमा अमेरिकाले दैनिक १ करोड ९ लाख ब्यारेल तेल उत्पादन गरेको आँकलन गरेको छ । त्यही समयमा रुसले  दैनिक १ करोड ८ लाख ब्यारेल र साउदी अरबले १ करोड ४ ब्यारेल तेल उत्पादन गरेको थियो । 

यही वर्षको फेब्रुअरीमा दुई दशकमा पहिलो पटक अमेरिकाले साउदी अरबलाई तेल उत्पादनमा उछिनेको तथ्याङ्क बाहिर आएको थियो ।  सन् २०११ यता अमेरिकाको तेल उत्पादन बढेको बढ्दैछ । सन् २०१४ मा शुरु भएको तेलको मूल्य गिरावटपछि ड्रिलिङ्मा कमी आएको भए पनि फ्रयाक्चरिङ्को किफायती तरिका पत्ता लागे ड्रिलिङ्ले पुन गति लियो ।

उता यो अवधिमा रुस र साउदी अरबको उत्पादन भने तुलनात्मक रुपमा स्थिर रह्यो । घट्दो तेलको मूल्य स्थिर बनाई बढाउनको लागि सन् २०१६ मा ओपेकले तेलको उत्पादन घटाउने निर्णय स्वीकार गरेपछि उनीहरुको उत्पादनमा स्थिरता आएको हो । 

बिसौं शताब्दीको अधिकांश समय अमेरिका तेल उत्पादनको शीर्ष स्थानमा थियो । १९७० को दशकमा आएर मात्र तत्कालीन सोभियत संघ र साउदी अरबले उसलाई तेल उत्पादनमा उछिनेको हो । केही वर्ष अघिसम्म अमेरिकाले आफ्नो पूरानो पहिलो स्थान हासिल गर्ने कुरा टाढाको कुरा मानिन्थ्यो । 

तेल उद्योगको इतिहास समेटेको पुस्तक ‘द प्राइज’ का लेखक ड्यानियल यरगिनले अमेरिकी तेल उत्पादनको बढोत्तरीले विश्व तेलको विषम अभावबाट बचाएको बताए । उनका अनुसार अहिले अमेरिकी तेलको उत्पादनमा बृद्धि हुँदैनथ्यो भने तेलको मूल्य आकाशिने थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप