शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्मला पन्तको परिवारलाई गृहमन्त्रीको आश्वासनः हत्यारा नजिकै पुगेका छौ, छिट्टै सार्वजनिक गर्छौं

शुक्रबार, २९ भदौ २०७५, १९ : ०६
शुक्रबार, २९ भदौ २०७५

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री थापाले कञ्चनपुरका महिला अधिकारकर्मी र पीडित परिवारसँग शुक्रबार साँझ काठमाडौंमा भएको भेटमा हत्यारा नजिक पुगिएको उल्लेख गर्दै छिट्टै सार्वजनिक गर्ने आश्वासन दिएका हुन् । 

हत्यारालाई छिट्टै सार्वजनिक गरी पीडितलाई न्याय दिने आश्वासन गृहमन्त्री थापाले दिनुभएको कञ्चनपुुरकी अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन् । उनले गृहमन्त्री थापाले पीडितलाई न्याय दिने आश्वासन दिएपछि न्याय पाउने आशा पलाएको प्रतिक्रिया पनि दिइन् ।

हत्या गरिएकी निर्मलाका बुबा–आमा र स्थानीय अधिकारकर्मीहरुले गृहमन्त्री थापासँगको भेटमा सरकारले गठन गरेको उच्च स्तरीय छानविन समितिमा स्थानीय नागरिकका तर्फबाट एकजना पनि प्रतिनिधित्व नगराएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए । नागरिक समाजलाई समेत समेटेर छानविन समिति गठन नगरिएको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको पनि अधिकारकर्मीले चन्दले बताइन् ।

गृहमन्त्री थापाले भने, ‘दोषीलाई कठघारमा ल्याउन नसक्दा जति पिडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन जस्तो मलाई लाग्छ  ।’ उनले भने, ‘कञ्चनपुर घटनामा हामिले सुरुदेखिनै धयान दिएका हौ ।’

‘घटनालगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौ, त्यसपछि केन्द्रबाट सिआईबी टोली पठायौं, त्यसले पनि नभएपछि उच्चस्तरीय छानविन समिति गठन गरिएको छ । समिति बाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भइरहेको छ ।’ गृहमन्त्री थापाको भनाई थियो । 

सो घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरवाहीलाई छुट नदिइने गृहमन्त्रीले स्पष्ट पारेका थिए  । स्वर्गीय निर्मलाका आमा-बुवाले घटना भएको लामो समय बित्दा समेत दोषी पत्ता नलागेको, प्रहरीबाट बिगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए । 

बलात्कारपछि हत्या गरिएकी निर्मलाका पीडित परिवारले लामो समयसम्म पनि न्याय नपाएपछि पीडित परिवार र कञ्चनपुरका अधिकारकर्मीहरु न्यायको खोजीमा काठमाडौं आइपुगेका छन् । उनीहरुले हत्यारालाई सार्वजनिक गरी कडा कार्वाही नगरेसम्म काठमाडौंबाट नफर्कने चेतावनी पनि सरकारलाई दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप