शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, आदेशलगत्तै फेरि पक्राउ

शुक्रबार, २९ भदौ २०७५, २० : ००
शुक्रबार, २९ भदौ २०७५

काठमाडौँ– सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । 

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले आज विश्वकर्मालाई गैरकानूनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘निवेदक (विश्वकर्मा) लाई गैरकानूनी थुनामा राखेको देखिँदा आजै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहरेकाले निज खड्गबहादुर विश्वकर्मालाई गैरकानूनी थुनाबाट यस अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्नू ।’ 

आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपयोगका विषयमा सरकार तथा सरकार मातहातका निकाय संवेदनशील हुन ध्यानाकर्षण गरिएको छ ।

विश्वकर्मालाई अदालतले थुनामुक्त गर्न आदेश दिएको यो चौथो पटक हो । उनलाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो । 

सर्वोच्चले थुनामुक्त गर्न आदेश दिँदै आएपनि प्रकाण्ड पटक–पटक पक्राउ परिरहेका छन् । शुक्रबार पनि उनी फेरि पक्राउ परेका छन् ।  शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका क्रममा सर्वोच्च अदालतमा ल्याइएका उनलाई अदालतबाट बाहिर निस्कने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च परिसरबाट बाहिर निस्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पटक–पटक पक्राउ गरेको भन्दै सर्वोच्चले सरकारविरुद्ध अवहेलनामा कार्वाही चलाउने चेतावनी दिँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप