बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विकासले नयाँ गति लिन्छ : अध्यक्ष प्रचण्ड

शुक्रबार, २९ भदौ २०७५, २१ : २६
शुक्रबार, २९ भदौ २०७५

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आर्थिक विकास र समृद्धिको एजेण्डामा राजनीतिक दलबीच समान विचार र धारणा रहेकाले आर्थिक विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन् ।  

कारोबार दैनिकले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलबीच समान धारणा रहेकाले व्यापारी तथा व्यवसायी समूहले पनि त्यसमा सघाउनुपर्ने बताए । 

जनतालाई आश्वस्त पार्ने गरी विकासका लागि मौलिक नीति र कार्यक्रम तय गर्दै जानुपर्ने र त्यसले मात्रै आर्थिक विकास र समृद्धिको मार्ग चित्रलाई फराकिलो बनाउन सक्ने उनको भनाई छ । 

अध्यक्ष दाहालले भने, ‘राजनीतिक परिवर्तको साक्षी र नेतृत्वकर्ताको हैसियतले यस पटक पनि हामी सिर्जनात्मक भएर नयाँ शुरुआत गर्न सकेनौँ भने यो देशको भविष्य के होला भन्ने चिन्ता लागेको छ ।’ 

उनले विगतमा पञ्चायत, राजाको निरकुशता र दलहरुको कार्यशैलीलाई आरोपित गरेर जनताबाट क्षमा पाउने गरेको भए पनि अहिले हामीलाई त्यस्तो कुनै पनि आधार नभएकाले केही न केही गर्नैपर्ने बाध्यता रहेको बताए । 

विकास र समृद्धिको अभियान शुरु गर्ने निक्कै ठूलो अवसर आएको भन्दै उनले यो अवसरलाई पूर्णरुपमा सदुपयोग गर्न आफूहरु क्रियाशील रहेको बताए । 

सरकार र नेकपाले विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएको भन्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्न पनि सबैको साझा प्रयत्न जरुरी रहेको स्पष्ट पारे । 

अध्यक्ष दाहालले भने, ‘हामीलाई भूगोग, प्रकृति, समाजले धेरै ठूलो अवसर दिएको छ । प्रकृतिले दिएको स्रोत र साधनलाई भौगोलिक र सांस्कृतिक विविधता भित्र लेखाजोखा गर्दै धनी राष्ट्रका रुपमा अगाडि बढ्ने पर्याप्त आधार दिएको छ । त्यसलाई सदुपयोग गर्नुपर्दछ ।’ 

छिटोभन्दा छिटो आर्थिक विकासका लागि चीन र भारतजस्ता ठूला देशले घेरिएको भूराजनीतिक अवस्थिति विकासका लागि वरदान सावित हुनुपर्नेमा जोड दिँदै उनले अब दृढ इच्छा शक्ति मात्रै जरुरी रहेको बताए । 

देशभित्रै व्यावसायिक वातावरण बनाए मात्रै वैदेशिक लगानीकर्तालाई समेत भित्र्याउन सकिने भएकाले त्यसका लागि सरकार, राजनीतिक नेतृत्व र व्यवसायी सबै लाग्नुपर्ने उनको कथन थियो । राजनीतिक नेतृत्वले जोखिम मोलेर भए पनि आर्थिक विकास र समृद्धिका लागि विशेष पहल गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप