शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कञ्चनपुरमा किन थपिँदैछ एक पछि अर्को कलङ्क ?

सोमबार, ०१ असोज २०७५, १६ : ५५
सोमबार, ०१ असोज २०७५

कञ्चनपुर– नेपालका ७७ जिल्लामध्ये एक जिल्ला हो कञ्चनपुर । ‘कञ्चन’ को अर्थ सफा र स्वच्छ हो भने ‘पुर’ को अर्थ नगर । कञ्चन शब्दमा पुर जोडिएपछि कञ्चनपुर अर्थात् ‘सफा नगर’ भन्ने अर्थ लाग्छ । 

तर, पछिल्लो समय कञ्चनपुर एकपछि अर्को गर्दै कलङ्कित बनेको छ । कलङ्क यसकारण की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या र उक्त हत्याको झण्डै दुई महिना पुग्न लाग्दा पनि वास्तविक अपराधीको पहिचान हुन  सकेकाे छैन । 

यस्तै  कञ्चनपुरमा  विगत दुई महिनाको अवधिमा दुई बालिकाको बलात्कारपछि हत्या र अन्य ७ जनामाथि बलात्कार भएको खबर सार्वजनिक भएको छ।


बलात्कारको श्रृङ्खला
–२०७५ साउन १
 पुर्नवास नगरपालिकाकी ३९ वर्षीया महिला भैसी चराउन गएका बेला ३० वर्षीय नरेश रानाबाट बलात्कृत । 

– २०७५ साउन ४ 
९ वर्षीया बालिका बलात्कृत । पुर्नवास नगरपालिका ३ का २१ वर्षीय सलिम अन्सारीले घरमा कोही नभएको बेला बालिकालाई बलात्कार ।

–२०७५ साउन १०
 शुक्लाफाँटा नगरपालिका ८ नौखुरीकी २० वर्षीया युवती ३२ वर्षीया बिन्तीराम चौधरीबाट बलात्कृत ।

–.२०७५ साउन १६ 
पुर्नवास नगरपालिका २ की १६ वर्षीया बालिका २६ वर्षीय विकास बूढाद्वारा बलात्कृत ।

–२०७५ साउन १९
 भीमदत्त नगरपालिका १० जिमुवाकी ५ वर्षीया बालिका ४० वर्षीय लक्ष्मण कार्कीबाट बलात्कार प्रयास ।

–२०७५ साउन २६ 
देवकोट नगरपालिका ७ का ५ वर्षीय बालक किरण धामीमाथि ६६ वर्षीय धामीबाट यौन दूराचार ।

–२०७५ भदौ १७
  बेलडाँडी गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार । बलात्कारको आरोपमा जनक खड्का र भानु विष्ट पक्राउ ।

–२०७५ भदौ ३०
 बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कृत । बलात्कारको आरोपमा एकजना पक्राउ । दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्ट पक्राउ गर्यो ।

यी घटनाबाहेक अहिले सबैभन्दा चर्चामा आएको  र धेरै विरोध भएको निर्मला पन्तको बलात्कार र हत्या प्रकरण हाे ।  निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

हत्याको भोलिपल्ट उनको शव घरनजिकैको उखुबारीमा फेला परेको थियो । त्यसयता हत्यारालाई कारबाहीकाे माग  गर्दै दिनहुँ अान्दाेलन र दवावमूलक कार्यक्रम हुँदै अाएपनि दाेषीकाे पहिचान भने हुन सकेकाे छैन ।

प्रदेश नम्बर ७  मा पर्ने कञ्चनपुर केन्द्रीय राजधानीभन्दा निकै टाढा छ । निर्मलाका बाबाआमाले स्थानीयस्तरबाटै न्याय नपाएपछि उनीहरु न्यायको खोजीमा काठमाडौ आइपुगेर मन्त्री र प्रधानमन्त्रीको ढोका चाहार्दैछन् । 

सोमबारमात्रै निर्मलाका बाबुआमाले न्यायको आशमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट गरे ।

भेटमा प्रधानमन्त्री ओलीले घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराधको भएकाले कडाइका साथ छानबिन र निर्ममताका साथ कारवाही गर्न आफू प्रतिवद्ध रहेको पीडित परिवारलाई आश्वसन दिए । 

‘घटनाको सत्यतथ्य पत्ता लगाउन समितिहरु बनेका छन् । जिल्लाका तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि सन्दीग्ध भएकाले निलम्बनसमेत गरिएको छ । पछिल्लो समयमा प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरिएको छ । अब अपराधी उम्कन पाउदैन’ प्रधानमन्त्री ओलीको भनाई थियो । 

त्यति मात्रै होइन, प्रधानमन्त्री ओलीले प्रारम्भिक छानबिनमा त्यहाँका प्रहरीको भरपर्दा दोषी पत्ता लगाउने काममा ढिलाइ भएको स्वीकार गरे । ‘प्रहरीका अधिकृतले गल्ती वा बदमासी गरेका हुन सक्छन् तर अनुसन्धान पूरा नभइकन आरोप लगाइहाल्न मिल्दैन । त्यसैले राज्यले छानबिन गर्छ । कुनै जुलुस र धर्ना नभए पनि राज्यले कानूनी कारवाही गर्छ । दोषीलाई बचाउने कुरा सोच्न पनि सकिन्न ।’

अपराधी कहिले पक्राउ पर्छ ? 


यो प्रश्न अहिलेसम्म अनुत्तरित नै छ । केही दिनअघि मात्रै गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा घटनाबारे जानकारी दिँदै भनेका थिए–‘यसमा तिथिमिति तोक्न मिल्दैन ।’

गृहमन्त्री रामबहादुर थापाले भनेजस्तो अपराधी पक्राउ गर्न तिथिमिति तोक्ने पनि कुरा होइन । जहिले भेटिन्छ त्यहिवेला पक्राउ पर्छ ।  

त्यसो त कञ्चनपुरमा मात्रै होइन, यसबीचमा देशभर २२५ चेली बलात्कृत भएको सार्वजनिक भएको छ । काठमाडौंमा मात्रै ४५ दिनमा ४२ जना बलात्कृत भएका छन् । प्रहरीकै तथ्याङ्कले भन्छ– ‘केन्द्रीय राजधानी काठमाडौमा दैनिक एकजनाको हाराहारीमा बलात्कार भएको छ ।’ 

किन हुन्छ बलात्कार ? 
सांसद तथा नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवालका अनुसार यसअघि पनि यस्ता घटना हुने गरेपनि कम मात्रामा मात्रै सार्वजनिक हुने गरेका थिए । 

डर, त्रास र सामाजिक मर्यादा कायम गर्न पनि कतिपय अवस्थामा यस्ता घटना गुपचुपमै मिलाइन्थे । तर, पछिल्लो समय यस्ता घटनाको खुलेर विरोध गर्न सक्न क्षमता जनस्तरमा बढी घटनाहरु बाहिरिन थालेको उनको बुझाई छ । 

 सिलवालका अनुसार यसरी बलात्कारका घटना हुनुमा २ कारणले काम गरेको छ । पहिलो जनचेतनाको अभाव र दोस्रो प्रविधिको चरमा दुरुपयोग ।

सिलवालले यस्ता घटना न्यूनीकरण गर्न दुईवटा काम सँगसँगै गर्नुपर्ने जरुरी रहेको सिलवालको सुझाव छ । ‘देशैभर जनचेता फैलाउने र त्योसँगै अपराधीलाई कडा भन्दा कडा कारवाही हुन्छ भन्ने कुरापनि दर्शाउने । यो भयो भने केहीहदसम्म यस्ता घटनामा कमी आउछ’, सिलवालको दाबी छ ।  

यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाका अनुसार यसरी श्रृङ्खलावद्ध बलात्कारका घटना हुनुमा चेतना अभाव नै हो । ‘चेतनाको अभावले नै यसमा काम गरेको देखिन्छ ’ ओझाले रातोपाटीसँगको टेलिफोन सम्पर्कमा भने ‘यसको दीर्घकालिन समाधान भनेको नागरिकमा चेतना बढाउनु नै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप